नेकपा एमालेले उम्मेदवारी परेको उम्मेदवार बाहेक अन्य चिन्ह हटाएर मतपत्र छाप्नेबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ।
एमाले आइतबार निर्वाचन आयोगलाई पत्र लेखेर भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवार परेको उम्मेदवार बाहेक अन्य चिन्ह हटाउनेबारे आपत्ति जनाएको हो।
आयोगले भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र वैशाख १७ गतेपछि मात्रै छाप्ने निर्णय गरेको छ।
सुरूमा ढुवानी गर्न कठिन हुने स्थान तथा अरू जिल्लामा पठाउने गरी मतपत्र छापिरहेको छ।
भक्तपुरका चार पालिका र ६ वटा महानगरपालिकाको मतपत्र वैशाख १७ गतेपछिमात्रै छापेपनि ढुवानी गर्न कठिन नहुने भन्दै सो निर्णय गरेको थियो।
‘त्यसबारे समाचारप्रति हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ। केही दिन अघि गठबन्धन दलका केही शीर्ष नेताहरूको अभिव्यक्ति यस समाचारसँग मिल्दोजुल्दो देखिन्छ,’ उक्त पत्रमा उल्लेख छ,‘यो समाचार यदी सहि हो भने अन्य पालिकाहरूको भन्दा भिन्न प्रकृतिको यस्तो मतपत्र सरासर गठबन्धनका दलहरूलाई मात्र फाइदा पुग्ने आशयप्रेरित छ।’