नेकपा एमालेले नेपालगञ्ज उपमहानगरको मेयर उम्मेदवारमा पशुपति दयाल मिश्रलाई छानेको छ। शनिबार बसेको सचिवालय बैठकले मिश्रलाई मेयर पदका लागि उम्मेदवार बनाएको हो भने शान्ति ढकाललाई उममेयर।
मिश्र गत मंसिरमा मात्र एमाले प्रवेश गरेका हुन्। उनी हृदय त्रिपाठीको स्वतन्त्र समूहमा आवद्ध थिए। झन्डै पाँच वर्षअघि राष्ट्रिय जनता पार्टीको सहमहामन्त्री रहेका मिश्र उक्त पार्टी त्यागेर त्रिपाठी समूहमा आएका थिए।
यद्दपि मिश्रले २०७४ सालको संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट सूर्य चिह्न लिएर सांसदका लागि लडेका थिए। सूर्य चिह्नबाट चुनाव लडेका मिश्र संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईसँग पराजित भए। राईको २१ हजार ५७५ मत आयो भने मिश्रको १५ हजार ९५१ मत आयो।
त्यसयता त्रिपाठी समूहमै रहेका मिश्र गत मंसिरमा मात्रै एमालेमा प्रवेश गरेका थिए।
बाँकेको हिरमिनियाका बासिन्दा हुन् मिश्र। पञ्चायतकालमा उनी तत्कालीन हिरमिनिया गाविसको प्रधानपञ्चका लागि चुनाव लडेका थिए। त्यसपछि उनी कहिले पार्टी त कहिले स्वतन्त्र भएर राजनीति गर्दै आएका छन्।
बहुदलपछि नेपाली कांग्रेसमा प्रवेश गरेका उनी २०५४ सालमा हिरमिनिया गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। कांग्रेस त्यागेर उनले राजपा प्रवेश गरेका थिए।
उनी व्यापार-व्यवसायमा पनि संलग्न छन्। कर्णाली विकास बैंकका पूर्व अध्यक्ष र ओम प्लान एन्ड फर्निचरका सञ्चालक हुन्।
उपमेयरका लागि भने एमालेले यसपालि पनि शान्ति ढकलालाई नै रोजेको छ। यसअघिको चुनावमा पनि ढकाल एमालेबाट नेपालगञ्ज उपमहानगरको उपमेयर उम्मेदवार थिइन्। तर कांग्रेसी उमा थापा मगरसँग पराजित भएकी थिइन्।