सत्तारूढ दलबीच कर्णालीका आठ जिल्लामा पालिका नेतृत्व भागबण्डाको कुरा मिलेको छ।
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष बिमला केसीका अनुसार हुम्ला, मुगु, कालीकोट, जुम्ला, डोल्पा, जाजरकोट, सल्यान र दैलेखका पालिकाको भागबण्डा मिलेको हो।
सहमति हुन बाँकी सुर्खेत र रूकुम पश्चिमको विषयमा भने शीर्ष नेताबीच नै छलफल गर्नुपर्ने देखिएको उनले बताईन्।
‘अरू जिल्लाको कुरा मिलिसकेको छ, रूकुम पश्चिम र सुर्खेतको विषयमा यहीँका शीर्ष नेताहरू पनि भएकाले उहाँहरु बीच पनि त छलफल हुनुपर्यो भनेर कुरिरहेका छौं,’ अध्यक्ष केसीले सेतोपाटीसँग भनिन्, ‘आजै बेलुकासम्म हामी अन्तिम निश्कर्षमा पुग्छौं।’
कर्णाली प्रदेशमा पालिका भागबण्डा गर्ने विषयमा सत्तारूढ दलका नेताहरू बिहिबारदेखि नै छलफलमा छन्।