पाँच दलीय गठबन्धनका तर्फबाट रामेश्वर श्रेष्ठ काठमाडौं महानगरको उपमेयरमा उम्मेदवार बनेका छन्।
सत्तारूढ गठबन्धनको भागबन्डामा परेपछि नेकपा एकीकृत समाजवादीका श्रेष्ठलाई उपमेयर उठाएको हो।
२०४२ सालमा तत्कालीन नेकपा मालेमा आवद्ध भएका रामेश्वर श्रेष्ठ २०४६ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको १२ नम्बर वडा अध्यक्ष भएका थिए।
पार्टीको वडा कमिटी सचिव बनेका श्रेष्ठ ३० वर्षअघि पार्टीको जिल्ला कमिटी सदस्य बनेका हुन्।
नेकपाकालीन समयमा पार्टीको काठमाडौं महानगर अध्यक्ष बनेका श्रेष्ठ अहिले नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य र काठमाडौं महानगरको इन्चार्ज छन्।
२०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं ९ को खबाट एकल नाम प्रस्ताव भएको थियो। तर ओलीको ठाडो निर्देशनमा आफूले प्रदेश सभामा उम्मेदवारी दिन नपाएको श्रेष्ठले बताए। उक्त क्षेत्रमा एमालेका अजयक्रान्ति शाक्य विजयी भएका थिए।
पार्टीमा लामो समयसम्म काम गरेको, काठमाडौंमा संगठित भएको र गठबन्धनसमेत भएकाले आफूले उपमेयरमा जित्ने उनको दाबी छ। एमालेका धेरै मतदाता आफ्नो पार्टीमा रहेको उनको जिकिर छ।
'म काठमाडौंमा जन्मिएर हुर्किएको हो। ३५ वर्षदेखि यहीँ सक्रिय छु। अब आफ्नै ठाउँमा काम गर्छु,' उनले भने,'हामीले महानगरको बजेटको २० प्रतिशत शिक्षा र स्वास्थ्यमा ३० प्रतिशत खर्च गर्छौं। महानगरपालिकाको आफ्नै अस्पताल बनाउँछौ। शिक्षामा क्रान्तिकारी छलाङ मार्छौं।'
उनले गठबन्धनबाट आएका जनप्रतिनिधिले फोहरलाई व्यवस्थापन गर्न प्रोत्साहन गर्ने बताए।