धनुषाको गणेशमान चारनाथ नगरपालिकाका निर्वतमान मेयर रामबाबु यादव लोकतान्त्रिक समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) बाट फेरि मेयरमा टिकट नपाएपछि उनी लोसपा प्रवेश गरेका हुन्। लोसपाका प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरिया र जिल्ला अध्यक्ष परमेश्वर साहले उनलाई आइतबार पार्टी प्रवेश गराएका हुन्।
लोसपाले उनलाई मेयर टिकट दिने निर्णय गरेको जिल्ला अध्यक्ष परमेश्वरले जानकारी दिए।
जसपाबाट टिकट नदिँदा यादवका समर्थकले आज बिहान टिकट वितरण भइरहेको स्थानमा होहल्ला र तोडफोड गर्न थालेपछि विवाद भएको थियो। विवादको क्रममा जसपा नेता-कार्यकर्ताबीच कुटाकुटसमेत भएको थियो।
लोसपाले धनुषाका अधिकांश स्थानीय तहका उम्मेदवारसमेत टुंगो लगाइसकेको अध्यक्ष परमेश्वरले बताए।
उनका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका मेयरमा मनोज चौधरी, नगराइन नगरपालिकाका मेयरमा राजेश चौधरी, धनौजी गाउँपालिका अध्यक्षमा जिवेन्द्र झा, औरही गाउँपालिका अध्यक्षमा प्रमोद यादव, जनकनन्दनी गाउँपालिका अध्यक्षमा सुनिल मण्डल, विदेह नगरपालिकाको मेयरमा नरायण मण्डल, सहिदनगर नगरपालिकाका मेयरमा विनोदकुमार रोहिता, हंसपुर नगरपालिकाका मेयरमा रामज्ञान मण्डल, मिथिला विहारी नगरपालिकाका मेयरमा अकबर नदाफ, धनुषाधामका मेयरमा सुर्यनाथ यादव, मिथिलाका मेयरमा राजकुमार थापा, बटेश्वर गाउँपालिका अध्यक्षमा अजय राउत र क्षीरेश्वरनाथको मेयरमा रामराज महतोलाई टिकट दिइएको हो।