नेपाली कांग्रेसले नेकपा (एमाले) सर्वोच्चको आदेशबाट जन्मिएको पार्टी भएको बताएको छ।
आइतबार सार्वजनिक गरेको कांग्रेसको स्थानीय निर्वाचन २०७९ को घोषणा पत्रमा एमाले सर्वोच्चबाट आदेशबाट जन्मिएको उल्लेख छ।
एमालेले अहिलेको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशी भन्दै आएको छ।
‘नेकपा एमालेका अध्यक्ष ओलीले निरन्तर सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई अवमूल्यन, व्यंग्य र कटाक्ष गर्दै आउनुभएको छ। तर नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुरेन्द्र पाण्डे, स्थायी समिति सदस्य तथा सांसद घनश्याम भुसाल र सांसद भीमबहादुर रावलले समेत प्रतिनिधि सभा पुनर्स्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरियोस् भनी सर्वोच्च अदालत जानुभएको थियो,’ घोषणापत्रमा भनिएको छ,‘यसैगरी नेकपा एमाले स्वयं र नेकपा माओवादी केन्द्र सर्वोच्च अदालको आदेशबाट जन्मिएका पार्टीहरू हुन्। सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा एमालेको वैधानिक हैसियत माथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनुहोला?’