स्थानीय निर्वाचन २०७९ को लागि उम्मेदवारी दिने आज पहिलो दिन हो।
कर्णाली प्रदेशमा पनि जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय र पालिकाका निर्वाचन अधिृकतको कार्यालयमा काम सुरू भईसकेको छ।
आज पहिलो दिन सुर्खेतको मुख्य निर्वाचन अधिकृतको कर्यालयमा खासै चहलपहल बढेको छैन। केही समयअघि वीरेन्द्रनगरस्थित जल तथा मौसम पूर्वानुमान कार्यालय रहेको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा वीरेन्द्रनगर नगरपालिकाको उम्मेदवारी समेत दर्ता गरिन्छ। केही दलका प्रतिनिधि तथा स्वतन्त्र व्यक्तिले मनोनयन पत्र लिनेबाहेक अरू गतिविधि नभएको सहायक निर्वाचन अधिकृत उज्ज्वल रावलले बताए।
उनका अनुसार अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)का प्रतिनिधि र स्वतन्त्र रुपमा उम्मेदवारी दिन चाहने केही व्यक्तिले मनोनयन पत्र लिएका छन्।
स्थानीय तह निर्वाचन २०७९मा सुर्खेतबाट २५ दल सहभागी हुन पाउनेछन्।
वीरेन्द्रनगरमा नेकपा एमालेले भोलि उम्मेदवारी दर्ता गर्ने भएको छ। भोलि १ बजेका लागि एमालेले समय मागेको छ।
सुर्खेतसहित कर्णाली प्रदेशमा गठबन्धनबीच भने अझसम्म पनि सहमति जुट्न सकेको छैन। कुन पालिकामा गठबन्धन भित्रका कुन दलले नेतृत्व लिने भन्ने विषयमा चार दिनदेखि चलेको छलफलको निश्कर्ष अझै निस्किएको छैन।