विराटनगर महानगरको मेयरमा टिकट नपाउने भएपछि शनिबार मात्रै जनता समाजवादी पार्टी त्यागेको घोषणा गरेका उमेश यादवले महानगरको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेका यादवले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्।
२०७४ को निर्वाचनमा जसपाबाट महानगर मेयर लडेका यादव तेस्रो भएका थिए। उनी मेयर पदमा दाबी गर्दै गठबन्धनको नाममा मेयर छोड्न नहुने पक्षमा थिए।
‘महानगरमा मेयरमा हामी एक्लै लड्दा पनि जित्ने अवस्थामा जसपाको नेतृत्वले गठबन्धन गरेर अन्याय गरेको छ,’ यादवले भने, ‘मैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको छु।’
अहिलेसम्म विराटनगर महानगरपालिकाको वडा नम्बर ८, ९ र १० मा उम्मेदवारी दर्ता भएको छ।
जसमध्ये वडा नम्बर ९ मा नेपाल सद्भावना पार्टीका किशोरकुमार सलवारले वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् भने वडा नम्बर १० मा स्वतन्त्र उम्मेद्वार माधवराज वाग्ले र वडा नम्बर ८ मा पनि स्वतन्त्र उम्मेद्वार फूल महमदले उम्मेखवारी दिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार १० नम्बर वडामा २ जनाले र वडा नम्बर ९ मा १ जनाले वडा सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन्।