कालिकोटको तिलागुफा नगरपालिकामा नेपाली कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएको छ।
गठबन्धन नगर्ने भन्दै तिलागुफा नगर कार्यसमितिको निर्णयअनुसार मेयर र उपमेयरमा कांग्रेसले उम्मेदवारी दर्ता गराएको हो।
कांग्रेसबाट शंकरप्रसाद उपाध्यायले मेयरमा र बसना सिंह शाहीले उपमेयरमा उम्मेदवारी दिएको नेता सत्यबहादुर शाहीले जानकारी दिए।
‘हामीले गठबन्धन नमान्ने र एक्लाएक्लै लड्ने भनेर यसअघि नै निर्णय नगर कार्य समितिबाट गरिसकेका थियौं, त्यही निर्णयअनुसार हामीले आज तिलागुफामा उम्मेदवारी दिएका हौं,’ शाहीले भने, ‘हामीले सिंगल लड्ने कुरा यसअघि नै जिल्ला र प्रदेश कार्यसमितिलाई पनि पत्र लेखेर जानकारी गराइसकेका थियौं।’
उनले नगरपालिकाका अरु ११ वटा वडामा पनि सर्वसम्मत रुपमा वडाध्यक्ष लगायतका उम्मेदवार चयन गरिसकिएको बताए।
०७४ सालको स्थानीय तह निर्वाचनमा तिलागुफामा नेकपा माओवादीले मेयर र उपमेयर जितेको थियो।
यता सुर्खेतमा भने गठबन्धन दलहरुबीच पालिकाको नेतृत्व भागबण्डा गर्ने विषयमा चार दिनदेखि छलफल चलिरहेको छ। बिहीबारबाट सुरु भएको छलफलको अहिलेसम्म निश्कर्ष निस्केको छैन।