नेकपा एमालेले उदयपुरमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीका जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले जिल्लाको आठ वटै पालिकाको उम्मेदवार टुंगो लगाएको जानकारी दिए।
घिमिरेका अनुसार बेलका नगरापालिकाको प्रमुखमा दुर्गाकुमार थापा र उपप्रमुखमा जिरा राईलाई उठाउने निर्णय भएको छ। यस्तै चौदण्डीगढी नगरपालिकामा प्रमुखमा कालु लामा र उपप्रमुखमा मणिकादेवी दुलाललाई उठाइने भएको छ।
यसैगरी त्रियुगा नगरपालिकाको प्रमुखमा भागवत रावत र उपप्रमुखमा महेश्वरी राईलाई उठाइएको छ। कटारी नगरपालिकामा भने यसअघि प्रमुख रहेका ज्ञानेन्द्र श्रेष्ठलाई नै दोहोर्याइएको छ। उपप्रमुखमा भने गीता खड्कालाई उठाएको छ।
उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा गोपाल खत्रीको उम्मेदवारी टुंगो लाग्दा उपाध्यक्षको नाम भने केहीबेरमा टुंग्याइने अध्यक्ष घिमिरेले जनाए। बाँकी तीन वटा गाउँपालिकाको उम्मेदवारी भने टुंगिएको उनले बताए। जसअनुसार ताप्ली गाउँपालिकाको अध्यक्षमा बाबुराम राई र उपाध्यक्षमा मानकुमारी थापालाई उठाइएको छ।
यसैगरी रौतामाई गाउँपालिकाको अध्यक्षमा भरत थापा र उपाध्यक्षमा मानकुमारी ठकुरीलाई उठाउने भएको छ। लिम्चुङबुङ गाउँपालिकामा भने अध्यक्षमा राजकुमार राई र उपाध्यक्षमा कुमारी कार्कीको नाम टुंगो लागेको छ।
उदयपुरमा चार नगरपालिका र चार गाउँपालिका गरी जम्मा आठ वटा स्थानीय तह छन्।