धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार गाेपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्।
आइतबार बिहान धनगढी चाैराहबाट समर्थककाे र्याली र बाजागाजासहित मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर हमालले उम्मेदवारी दर्ता गराएका हुन्।
२०७४ सालकाे स्थानीय तह चुनावमा कांग्रेसका नृपबहादुर वडसँग हमाल पराजित भएका थिए। वडले १४ हजार ३ सय २४ र हमालले ११ हजार ५ सय २७ मत पाएका थिए।
धनगढी सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हाे। पछिल्लो पाँच वर्षको अवधिमा यहाँ १६ हजार ७ सय २१ मतदाता बढेका छन् ।
२०७४ सालमा पुरूष ३७ हजार ८६६ र महिला ३८ हजार ५६१ गरी जम्मा ७६ हजार ४३० मतदाता रहेकोमा अहिले बढेर पुरूष ४५ हजार ९२४ र महिला ४७ हजार २२४ गरी कूल मतदाता संख्या ९३ हजार १५१ पुगेको छ।
वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा उनीसँगै स्वतन्त्र रूपमा धनगढी वडा नम्बर ४ मा सिद्धराज पनेरू, वडा नम्बर ५ मा पदमराज भट्ट, वडा नम्बर ९ मा रमेश बिष्ट, वडा नम्बर १४ मा याम लामिछाने मगर, वडा नम्बर १५ मा कमलसिंह ढाँटले वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्।
हमाललाई समर्थन गरेर थप केही वडामा अध्यक्ष र सदस्य पदमा अरूले पनि उम्मेदवारी दिन लागेका उम्मेदवार सिद्धराज पनेरुले सेतोपाटीलाई बताए।