स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक केन्द्रीय कार्यालय सानेपामा बसेको छ।
आज बिहान ११ बजेदेखि बैठक जारी छ। कार्यसम्पादन समिति बैठकअघि सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरेका थिए।
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कार्यसम्पादन बैठक शनिबार स्थगित गरेर पदाधिकारी र पूर्वपदाधिकारीसँग संवाद जारी राखेका थिए।
कांग्रेसले महानगर र उपमहानगरका लागि केन्द्रबाट उम्मेदवार छान्न लागेको छ। कांग्रेस विधानअनुसार उम्मेदवारलाई टिकट दिन केन्द्रीय संसदीय समिति बन्नुपर्छ। तर सभापति देउवाले संसदीय समिति बनाएका छैनन्।
कार्यसम्पादन समितिमार्फत् नै टिकट दिने तयारी गरिएको एक नेताले बताए। कार्यसम्पादन समितिमा पदाधिकारीसहित शीर्ष नेताहरू सदस्य छन्।
कांग्रेसले छ मध्ये काठमाडौं, ललितपुर र विराटनगर महानगरको मेयर पाएको छ भने अन्य केहीमा उपमेयर र उपमहानगरमा पनि कतै मेयर र कतै उपमेयर लिएर सत्तागठबन्धनसँग चुनावी तालमेल गरेको थियो।