अटेरी अभियानका परिकल्पनाकार गनेस पौडेलले पोखरा महानगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन्। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेदवारी दर्ता गराएका हुन्।
उनको प्रस्तावकमा अप्सरा अधिकारी र समर्थकमा सरोज जिसी छन्। उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरूद्धमा आफूले महानगर प्रमुख पदमा उम्मेद्वारी दिएको बताए।
स्थानीय तहमा दलीयभन्दा पनि स्वतन्त्र उम्मेद्वारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्न उम्मेद्वारी दर्ता गराएको उनले बताए। ‘यसमा युवाहरुको पनि चासो बढी रहेको छ। जित लगभग सुनिश्चित जस्तै छ,’ उनले भने।
त्रिपक्षीय मत बाडीने हुनाले ६० हजार मत ल्याएर जित्ने आँकलन गरेको उनले सुनाए। हालसम्म पोखरामा मेयर पदसहित १७ जनाले अटेरी उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्।
अहिले मुख्य राजनीतिक दलका उम्मेदवारबाहेक स्वतन्त्र उम्मेद्वारी घोषणा गरेकाहरुले उम्मेद्वारी दर्ता गराईरहेका छन्।