गोरखामा सत्तागठबन्धनबीच स्थानीय चुनावमा तालमेल नहुने भएको छ।
आठ पटकसम्म सत्तागठबन्धनका जिल्लास्तरका नेताहरूबीच चुनावी तालमेलका लागि छलफलमा बसे पनि भागबन्डाबारे कुरा मिलेको थिएन।
उम्मेदवारी दर्ता गर्ने दिनसम्म दलहरूबीच सहमति नजुटेपछि नेपाली कांग्रेसले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ।
कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले ११ वटै स्थानीय तहमा सोमबार कांग्रेसका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने बताए।
उनकाअनुसार अब सत्तागठबन्धनका दलहरूसँग मित्रवत प्रतिस्पर्धा हुनेछ। केन्द्रले चुनावी तालमेल गर्न हस्तक्षेप गरे पनि अब नमान्ने सभापति न्यौपानेले बताए।
०७४ को स्थानीय चुनावमा ११ मध्ये ९ स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको थियो। २ स्थानीय तह प्रमुख भने नेकपा माओवादी केन्द्रले जितेको थियो।
यसपालि चुनावमा चुनावी तालमेल गर्दा माओवादीले छ वटा स्थानीय तह मागेको थियो। नेकपा एकीकृत समाजवादीले एक पालिका र केही वडा मागेको थियो।
जसपाले भने सुरूदेखि नै मित्रवत प्रतिस्पर्धा भनिरहेको थियो। उसले गठबन्धन बैठकमा नेकपा एमालेले जितेका वडामा भने मिलेर चुनाव लड्नुपर्ने प्रस्ताव गरिरहेको थियो। तर चुनावी तालमेलका बैठकमा जसपाले पछिल्ला दिनमा दुई स्थानीय तह पाउनुपर्ने माग राख्न थालेको थियो।
कांग्रेसले भने ०७४ मा जितेको ९ मध्ये ८ स्थानीय तहमा दाबी छाडेको थिएन।
‘गठबन्धन जोगिएर जान्छ भने हामी लचिलो हुनुपर्छ भनेका थियो,’ सभापति न्यौपानेले भने, ‘कुरा मिलेन, अब मित्रवत प्रतिस्पर्धा गर्ने हो। सत्तागठबन्धनलाई हामी जीवित राख्न चाहन्थ्यौं तर दु:खका साथ भन्नुपर्छ, केही साथीहरूको राजनीतिक अपरिपक्कताले गर्दा हामीले गठबन्धनलाई सँगै लैजान सकेनौं।’
कांग्रेसले आजै बिहान जिल्ला कार्यसमिति बैठकसमेत राखेको थियो। उक्त बैठकले आफ्नै संगठनको बलमा चुनावमा जाने निर्णय गरेको हो।
‘११ वटै स्थानीय तहका सबै पदमा कांग्रेसले एकल उम्मेदवारी दिन्छ,’ आज पार्टी कार्यालय तीनधारेमा भएको पत्रकार सम्मेलनमा न्यौपानेले भने। निर्वाचनबारे थप कुराकानी गर्न पर्ने देखिए गठबन्धनमा रहेका दलहरूसँग संवादका ढोका खुला रहने सभापति न्यौपानेले बताए।
सुरूमा एक्लै चुनाव लड्ने बताएको जसपा गोरखाले हिजोआज भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईमार्फत् चुनावी तालमेल गरेर जान दवाव दिने गरेको आरोप कांग्रेसको छ।
जसपाकै कारण चुनावी गठबन्धन भत्केको आरोप कांग्रेसले लगाएको छ।