सुदूरपश्चिमका सात जिल्लामा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ।
एमाले प्रदेश कमिटीका अनुसार बझाङ, बाजुरा, डोटी, दार्चुला, डडेल्धुरा, अछाम र बैतडीमा उम्मेदवारको टुंगो लागेको छ।
अब प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै उम्मेदवारको टुंगो लगाउन बाँकी रहेको छ।
आइतबार सबै पालिकाका उम्मेदवार छनोट गरेर सोमबार मनोनयन दर्ता गर्ने नेकपा एमाले सुदूरपश्चिम कमिटीले जनाएको छ।
कैलालीको धनगढी उपमहानगरपालिकामा मेयरका लागि रणबहादुर चन्द र उपमेयरमा कन्दकला राना थारूलाई उम्मेदवार बनाउने निश्चित भएको छ।
अब जिल्लाका १२ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन बाँकी छ।
उता कञ्चनपुरमा भने सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन बाँकी छ।