नेकपा एमालेको १ नम्बर प्रदेश कमिटीसँग रूष्ट बन्दै एमालेका कार्यकर्ताले सदरमुकामस्थित इलामको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्। शनिबार राति उनीहरूले पार्टी कार्यालयमा तालाबन्दी गरेको नेकपा एमाले इलामले जनाएको छ।
स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा जनाधार नभएका व्यक्तिलाई पार्टीले इलाम नगरपालिकाको मेयरको उम्मेदवार बनाउन लागेको भन्दै विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गरेको उनीहरूले बताएका छन्। तालाबन्दी सँगै उनीहरूले पार्टीको कुनै पनि जिम्मेवार पदमा नरहने भन्दै राजीनामा दिएका छन्।
इलाम नगर कमिटी र वडाका २२ जनाले पदबाट सामूहिक राजीनामा दिएका छन्। जनाधार न्यून व्यक्तिलाई उम्मेदवारका रूपमा छनोट गर्न खोजिएको भन्दै आक्रोशित उनीहरूले पार्टीको जिल्ला कार्यालयमा गएराति तालाबन्दी गर्दै राजीनामाको घोषणा गरे।
नेकपा एमालेका नगर अध्यक्ष तिलक ठकुरीले सेतोपाटीसँग भने, ‘स्थानीय कमिटीलाई सुइँको नदिई बाहिर ल्याएको नाममा हाम्रो आपत्ति हो। प्रदेश कमिटीले यो निर्णय नसच्याए तालाबान्दी, राजीनामा फिर्ता हुने सम्भावना छैन।’
इलाम नगरपालिका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निर्वाचन हो।
नगर कमिटीले मेयर उम्मेदवारका लागि धीरेन चेम्जोङ, कृष्ण श्रेष्ठ, नरेन्द्रनाथ भट्टराई र श्यामकृष्ण घिमिरेको नाम सिफारिस गरेको थियो। तीमध्ये भट्टराईको नाम उम्मेदवारका लागि छनोट भएको खबर नगर कमिटीमा आएपछि कमिटी अध्यक्ष तिलक ठकुरी, उपाध्यक्ष दीपेन्द्र चापागाईं, सचिव ठाकुरनारायण श्रेष्ठ, उपसचिवद्वय चित्रमाया गुरूङ र नारद लम्साललगायत सचिवालय सदस्य, नगर सदस्य, केही वडाका पार्टी अध्यक्ष र पदाधिकारीसहितले राजीनामा दिएका छन्।
उपमेयरको उम्मेदवारमा छानिएकी चित्रमाया गुरूङले समेत छुट्टै विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई मेयरको उम्मेदवार बनाए आफू उपमेयरको उम्मेदवार नबन्ने बताएकी छन्। राजीनामा दिएकाले उम्मेदवार परिवर्तन नभएसम्म निर्वाचनमा जान नसकिने अडान लिएका छन्।