दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई उम्मेदवार बनाएको छ।
पाँच दलीय गठबन्धनको भागबन्डामा तुलसीपुरको मेयर कांग्रेसको भागमा परेको थियो।
गिरी नेपाली कांग्रेसबाट २०५६ सालमा निर्वाचित पूव सांसद समेत हुन्। उनी दुई कार्यकाल नेपाली कांग्रेस दाङको जिल्ला सभापति भइसकेका नेता हुन्। तर, २०७४ सालको निर्वाचनमा गिरी नेकपा एमालेका घनश्याम पाण्डेसँग तुससीपुरको मेयरमा पराजित भएका थिए।
गिरी आफूलाई स्वर्गीय नेता खुमबहादुर खड्काको अनुयायी भन्न रुचाउँछन्।
त्यस्तै गठबन्धनबाट तुलसीपुरमा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जोगबहादुर राना मगर उपमेयरका उम्मेदवार बनेका छन्।
हक्की स्वभावका मानिने राना मगर यसअघि नेकपा एमाले दाङको उपाध्यक्ष र कार्यबहाक अध्यक्षको भूमिका निर्वाह गरि सकेका नेता हुन्।
घोराहीको मेयरमा माओवादीबाट शर्मा
पाँच दलीय गठबन्धनको सहमति अनुसार घोराही उपमहानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रको भागमा परेको थियो।
माओवादीले मेयरमा केन्द्रीय सदस्य हेमराज शर्मा (डायमन्ड) लाई उम्मेदबार बनाएको छ। उनी दाङ जिल्ला सह-इञ्चार्ज हुन्। डायमन्ड माओबादी युद्धकाल उत्कर्षमा पुग्दै गर्दा निकै चर्चामा रहेको नाम हो।
त्यस्तै नेपाली कांग्रेसबाट २०७४ सालमा मेयरमा भिडेका भुपबहादुर डाँगी अहिले उपमेयरको उम्मेदवार बनाइएका छन्।
कांग्रेसको भागमा उपमेयर परेपछि गठबन्धनले डाँगीलाई उपमेयरको उम्मेदवार बनाएको हो।
डाँगीले २०७४ सालको निर्वाचनमा घोराहीका मेयर नरूलाल चौधरी भन्दा करिब ४ हजार कम मत पाएर पराजित भएका थिए।
डाँगीले पनि आफूलाई स्वर्गिय नेता खुमबहादुर खड्काको हिस्सेदार ठान्छन्। यसपटक पनि पार्टीले घोराहीमा डाँगीको नाम मेयरका लागि एकल रूपमा प्रस्ताव गरेको थियो। तर, दलीय भागबन्डाका कारण अहिले उनी उपमेयरमा भिड्न बाध्य भएका हुन्।