चार दिनदेखि लगातार छलफल गरे पनि कर्णाली प्रदेशमा सत्तागठबन्धनले भागबन्डा टुंग्याउन सकेका छैनन्। उनीहरूले बिहीबारदेखि छलफल थालेका थिए।
आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय छ। भोलि पनि मनोनयन दर्ता गर्न मिल्छ।
तर कर्णाली प्रदेशका पालिकाहरुमा भागबण्डा टुंग्याउन सत्तागठबन्धन दलहरूबीच छलफल भए पनि निश्कर्षमा पुगेका छैनन्।
दलहरुबीच आज पनि छलफल चलिरहेको नेपाली कांग्रेसका कर्णाली प्रदेश प्रवक्ता दमन शाहीले बताए। उनकाअनुसार गए राति १ बजेसम्म पनि दलहरुबीच छलफल चलेको थियो।
गठबन्धनभित्रका एक नेताका अनुसार जुम्ला, कालिकोट, हुम्ला, मुगु, डोल्पा, रुकुम पश्चिम, जाजरकोटभित्रका पालिकामा भागबण्डाका विषयमा मोटामोटी सहमति भइसकेको छ।
‘केही जिल्लामा टुंगो लागेको हो। तर यहाँ शीर्ष नेताबीच कुरा मिल्ने, अनि जिल्लामा गएपछि अर्को असन्तुष्टीको कुरा आउने भएकोले समस्या भएको छ,’ प्रवक्ता शाहीले भने, ‘आज फेरि नेताहरु छलफलमा हुनुहुन्छ, उहाँहरुले मिलेरै जानुहुन्छ भन्ने संकेत देखिएको छ।’
नेकपा माओवादी केन्द्रले ०७४ मा आफूले जितेकासँगै जित सुनिश्चित भएका अरु पालिकामा पनि भाग खोजेको छ। पहिले माओवादीले ७ नगरपालिका र १७ गाउँपालिकामा प्रमुख जितेको थियो।