प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठक बस्ने भएको छ।
सत्तागठबन्धनबाट महानगर र उपमहानगरमा भएका भागबन्डाअनुसार उम्मेदवार तय र विवाद देखिएका गाउँ/नगरबारे छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको चुनावी समिति बैठक बस्ने भएको हो।
आज बिहान ९ बजेका लागि बैठक बोलाइएको छ। यो बैठकका सुझावअनुसार शीर्ष नेताले विवादित ठाउँमा निर्णय गर्नेछन्।
प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका पाँच दलका शीर्ष नेताको बैठक आज अपरान्ह ३ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको छ।
प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार पनि भेटवार्ता गरेका थिए।
उनीहरूले गाउँ/नगरमा समस्या देखिएका ठाउँमा गठबन्धन गर्ने गरी छलफल गरिरहेका छन्। यसअघि बसेको शीर्ष नेताहरूको बैठकले महानगर र उपमहानगरमा भागबन्डा मिलाए पनि कतिपय गाउँ/नगरमा भागबन्डा मिलेको छैन।
गाउँ/नगरमा गठबन्धनभित्रै मित्रवत प्रतिस्पर्धा र एक्लाएक्लै चुनावमा जानेजस्ता निर्णय भइरहेका छन्।