कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरका उम्मेदवारको अन्तिम टुंगो लगाएको छ।
उम्मेदवारको अन्तिम निर्णय गर्न बनेको एमालेको प्रदेशस्तरीय कमिटीले मेयरमा मोहनमाया ढकाल र उपमेयरमा निलकण्ठ खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
एमालेबाट वीरेन्द्रनगरको मेयरको उम्मेदवार बनेकी ढकाल अहिले उपमेयर छन्। मेयरको टिकट पाएपछि ढकालले आज उपमेयरबाट राजीनामा दिँदैछिन्। ‘पार्टीले समावेसितालाई ख्याल गर्दै मलाई मेयरमा उठाउने निर्णय गरिसकेको छ, त्यसैले आज म राजीनामा दिँदै छु,’ ढकालले सेतोपाटीसँग भनिन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका बालाराम शर्मा मेयरमा पराजित हुँदा उपमेयर उठेकी ढकालले जितेकी थिईन्। त्यो बेला मेयरमा नेपाली कांग्रेसबाट उठेका देवकुमार सुवेदीले जितेका थिए।
उपमेयरमा ढकालले १६ हजार ६८ मत ल्याएर जित्दा प्रतिद्वन्द्वी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ मत ल्याएकी थिईन् भने माओवादीकी हरिमाया शर्माले ४ हजार ६ सय ८९ मत ल्याएकी थिईन्।
ढकाल उपमेयर हुँदा आफ्नो पाँच वर्षे कार्यकालमा विवादरहित जनप्रतिनिधिमध्ये पर्छिन्।
२०५५ सालबाट विद्यार्थी राजनीति सुरू गरेकी ढकाल २०५६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुर्खेतको सहसचिव भइन्।
अखिल नेपाल महिला संघको जिल्ला हुँदै प्रदेश तहसम्म काम गरेकी ढकाल अहिले एमालेको केन्द्रीय सदस्य छिन्। उनी अहिले अखिल नेपाल महिला संघको सचिवालय सदस्य पनि हुन्।
उनले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन् भने कानुनमा स्नातक गरेकी छन्।
यस्तै एमालेबाट वीरेन्द्रनगरको उपमेयरको उम्मेदवार बनेका खनाल हालका वडा अध्यक्ष हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनबाट उनले वडा नम्बर ४ को वडा अध्यक्ष जितेका थिए।
खनाल नेकपा एमालेको वीरेन्द्रनगर नगर कमिटी अध्यक्षसमेत हुन्।