निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज (आइतबार) र भोलि (सोमबार) उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ।
बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिनेछ।
यही वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आइतबार र सोमबार उम्मेदवारको मनोनयनका लागि आयोगले समय दिएको हो।
यसपालि चुनावमा सत्तागठबन्धनका पाँच दल र नेकपा एमालेसहित बनेको अर्को गठबन्धनबीच प्रतिस्पर्धा हुने देखिएको छ।
उम्मेदवार हुन कस्तो योग्यता चाहिन्छ?
नेपालको संविधान अनुसार गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य, नगर/उमहानगर/महानगर कार्यपालिकाको प्रमुख उपप्रमुख, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिनका लागि निम्न योग्यता चाहिन्छ।
- नेपाली नागरिकता
- मनोनयन दर्ता गर्ने मितिसम्ममा२१ वर्ष उमेर पुरा भएको हुनुपर्छ।
- सम्बन्धित पालिकामा मतदाता नामावलीमा नाम भएको हुनुपर्छ। वडा सदस्यका लागि सम्बन्धित वडामा नाम भएको हुनुपर्छ।
- कुनै कानुनले अयोग्य नभएको हुनुपर्छ।
के के कागजात चाहिन्छ?
- अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- धरौटी राखेको बैंक भौचर वा नगद रसिद
- दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र
- सम्बन्धित पालिकाको कुनै वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
- उम्मेदवारको स्वघोषणा
वडा अध्यक्ष र वडा सदस्यका लागि
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- धरौटी राखेको बैंक भौचर वा नगद रसिद
- दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र
- सम्बन्धित वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
- उम्मेदवारको स्वघोषणा
दलित महिला वडा सदस्यका लागि
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
- धरौटी राखेको बैंक भौचर वा नगद रसिद
- दलको उम्मेदवारको हकमा उक्त दलले प्रदान गरेको औपचारिक पत्र
- सम्बन्धित वडामा मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
- सम्बन्धित गाउँपालिका, नगरपालिका, वा अधिकार प्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा।
- उम्मेदवारको स्वघोषणा
उम्मेदवारले राख्नुपर्ने धरौटी
- वडा सदस्य- ५०० रूपैयाँ
- वडाअध्यक्ष- १००० रूपैयाँ
- अध्यक्ष, उपाध्यक्ष-१५०० रूपैयाँ
- प्रमुख, उपप्रमुख -१५०० रूपैयाँ
(महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा बिपन्न व्यक्तिको हकमा धरौटीमा ५० प्रतिशत छुट)