नेकपा एमालेले घोराही उपमहानगरपालिकामा नरूलाल चौधरीलाई दोहोर्याएर मेयरको उम्मेदवार बनाएको छ। उपमेयरमा भने हुमा डिसीलाई उम्मेदवार बनाउने निर्णाय गरेको छ।
चौधरी यसअघि २२ हजार ३० मत ल्याएर घोराही उपमहानगरको मेयरमा निर्वाचित भएका थिए। त्यतिखेर उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपबहादुर डाँगीलाई ४ हजार ५ सय ४६ मतले पराजित गरेका थिए।
मेयरको पहिलो कार्यकालमा उनले गरेका दुई कामको धेरैले प्रशंसा गर्छन्। उनकै कार्यकालमा फोहोर व्यवस्थापनबाट बायो ग्यास प्लान्ट स्थापना हुनुका साथै कृत्रिम जलाशय निर्माण गरिएको थियो।
सिँचाइका लागि नहर, भित्री गाउँसम्म पक्की सडक, खेल मैदान बनाउन जग्गा खरिद र कतिपय विद्यालयको भौतिक संरचना निर्माण गर्नुलाई पनि घोराहीका स्थानीयले उनका राम्रा काम भन्ने गरेका छन्।
तर बिग्रिएर थन्किएका गाडीको नाममा इन्धनको बिल बनाएर संस्थागत भ्रष्टचारमा मलजल गरेको, शिक्षामा सामान्य सुधार पनि नगरेको, हरित सहर बनाउँछु भनेर निर्वाचन बेला गरेको बाचा पूरा नगरेको भन्दै उनको आलोचना हुने गरेको छ।
एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका चौधरी पूर्वपत्रकार हुन्।
२०५२ सालमा रेडियो नेपालको जागिर सुरू गरेका चौधरीले २०५४ सालमा रेडियो नेपाल छाडेका थिए। उनले रेडियो नेपालमा थारू भाषाको समाचार पढ्थे। २०५४ सालमा चौधरी एमाले दाङको कमिटी सदस्यमा निर्वाचित भएपछि रेडियो नेपालको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएका थिए।
२०२४ सालमा साविक रामपुर गाविसमा जन्मिएका चौधरीले व्यवस्थापन संकायमा स्नातक गरेका छन्। उनी शिक्षकसमेत भएका थिए।
स्कुले जीवनदेखि नै अनेरास्ववियुबाट राजनीति सुरू गरेका चौधरी २०५४ सालमा तत्कालीन रामपुर गाविसको पार्टी अध्यक्ष र २०६९ सालमा एमाले दाङको जिल्ला अध्यक्ष भइसकेका छन्।
घोराहीमा उपमेयरको उम्मेदवार छानिएकी हुमा डिसी एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य र अखिल नेपाल महिला संघ दाङकी निर्वाचित अध्यक्ष हुन्। गएको फागुनमा उनी अखिल नेपाल महिला संघकी दाङ अध्यक्ष चुनिएकी थिइन्।