एमालेले शनिबार पार्टीको केन्द्रीय सचिवालय बैठकमा काठमाडौं महानगरपालिका मेयर उम्मेदवार केशव स्थापितलाई बनाउने निर्णय गरेको छ।
स्थापित यसअघि २०५४ सालमा पनि मेयर निर्वाचित भएका थिए। एमाले विभाजन भएर माले बनेसँगै उनी मालेमा गएका थिए। २०५९ सालमा एमाले र मालेको एकता भएसँगै उनी एमाले फर्किए। तर २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएसँगै उनी दरबारसँग निकट थिए। केही समय काठमाडौं महानगरको मेयर मनोनित भएका थिए।
एमाले छाडेर प्रजापरिषद आबद्ध भएका स्थापित २०६४ को संविधानसभा निर्वाचनमा एमालेमै फर्किएका थिए। एमालेको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका स्थापित त्यसपछि माओवादीसँग नजिकिएका थिए।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले स्थापितलाई उपत्यका विकास प्राधिकरणको प्रमुख बनाएका थिए। तर उनले लामो समय काम गरेनन्।
दोश्रो संविधानसभामा स्थापित संघीय समाजवादीमा पार्टीमा आवद्ध भएका थिए। काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेर पराजित भए। त्यसपछि स्थापित एमालेमै फर्किएका थिए।
२०७४ को स्थानीय निर्वाचनमा स्थापित काठमाडौंको मेयरमा उठ्न चाहन्थे। तर त्यो बेला विद्यासुन्दर शाक्य उम्मेदवार बने। शाक्यलाई जिताउन उनी निकै खटेका थिए। त्यसकै परिणाम उनले २०७४ मंसिरमा भएको निर्वाचनमा प्रदेश सभाको टिकट पाए।
उनी बागमती प्रदेशको भौतिक मन्त्री समेत बनेका थिए। मुख्यमन्त्री डोरमणि पौडेललाई गाली-गलौज र दुर्व्यवहार गरेपछि उनी २०७६ कात्तिकमा बर्खास्तगीमा परेका थिए। त्यही बेलामा उनलाई दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका थिए। यद्यपि यसको कुनै छानबिन भएन।
एमाले विभाजन भएको र सत्ता गठबन्धनले तालमेल गरेकाले स्थापितले जित्न सक्ने भन्दै उनलाई उम्मेदवार बनाउनुपर्ने आवाज एमालेमा उठेको थियो। तर अहिलेका मेयर विद्यासुन्दर शाक्यले पनि फेरि मेयरमा दाबी गरेका थिए। उनलाई दोहोर्याउँदा थप अप्ठ्यारो पर्न सक्ने बुझाइ पनि एमालेमा थियो।
स्थापित २०४७ सालमा गठित एमालेको प्रजातान्त्रिक राष्ट्रिय युवासंघका महासचिव समेत हुन्। यसका अध्यक्ष केपी ओली थिए। त्यो बेलाको ओली र स्थापितको सम्बन्धले पनि अहिले थप काम गरेको बुझाइ एमालेभित्र छ।
स्थापितको पालामा काठमाडौं महानगरमा धेरै काम भएको र उनले नै काठमाडौंमा आकाशे पुल अनि सडक फराकिलो बनाउने कामको सुरू गरेको एमालेका नेताहरूको दाबी छ। त्यही बेलाको उनको छवि, खट्न सक्ने, जनतामा गएर आफ्ना कुरा राख्न सक्ने, मतदातालाई विश्वासमा लिन सक्ने खुबीका कारण उम्मेदवार बनाइएको उनका समर्थकहरू बताउँछन्।
आलोचकहरूले भने उनलाई गफ धेरै गर्ने, अस्थिर स्वभावको नेताका रूपमा समेत व्याख्या गर्छन्।
यो पनि पढ्नुहोस्ः मेयरको उम्मेदवार घोषणा गरेकी सुनिता अब एमालेबाट उपमेयर, को हुन् उनी? (भिडिओ)