नेकपा एमालेले धरानको मेयरमा मञ्जु भण्डारी सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। हालकी उपमेयर भण्डारी एमाले केन्द्रीय सदस्यसमेत हुन्।
एमाले केन्द्रीय सचिवालय बैठकले धरानको मेयरमा अध्यक्ष केपी ओलीनिकट भण्डारीलाई अघि सार्दा उपमेयरमा दसबुँदे पक्षधर पदम इस्वो लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
दसबुँदे पक्षका नेता भीम आचार्यको गृहजिल्ला सुनसरीको धरानमा दुई पक्षबीच तीव्र प्रतिस्पर्धाको अवस्था छ। अब भण्डारी र लिम्बूले जसपाबाहेकको सत्ता गठबन्धनसग प्रतिस्पर्धा गर्ने छन्।
धरानमा भागबन्डा नमिलेपछि जसपा गठबन्धनबाट बाहिरिएको छ। धरानमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी गठबन्धनमा कायम छन्। गठबन्धन तर्फबाट मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले टिकट पाउने पक्का भए पनि उम्मेदवार टुंगो लागेको छैन।
धरानमा २०७४ को चुनावमा मेयर र उपमेयरसहित बहुमत वडा एमालेले जितेको थियो। तत्कालीन मेयर तारा सुब्बाको निधनपछि २०७६ मा भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राईले मेयरमा जितेका थिए।