नेकपा एमालेले इटहरी उपमहानगरपालिका मेयरका लागि अघि सारेका याम सुब्बा एमाले इटहरीका अध्यक्ष हुन्।
हालका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमलाई पछि पार्दै मेयरको टिकट हात पार्न सफल सुब्बा पछिल्लो १० वर्षदेखि इटहरीको पार्टी अध्यक्ष छन्।
उनले अब पाँचदलीय सत्ता गठबन्धनसँग मेयरका लागि प्रतिस्पर्धा गर्ने छन्। सत्ता गठबन्धनले मेयरमा कांग्रेस र उपमेयरमा एकीकृत समाजवादीका उम्मेदवार उठाउँदै छ।
कांग्रेसबाट उम्मेदवार छनोट भइनसके पनि एकीकृत समाजवादीले उपमेयरमा केशव विष्टलाई अघि सारेको छ। विष्ट राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य-सचिव हुन्।
एमालेले उपमेयरमा उम्मेदवार बनाएकी संगीता चौधरी सहकारी क्षेत्रमा क्रियाशील छिन्। सामाजिक ऊर्जा सहकारीकी अध्यक्ष उनी अखिल नेपाल महिला संघ सुनसरीकी सहसचिवसमेत हुन्।
थारू समुदायको बाक्लो बसोबास रहेको इटहरीमा उक्त समुदायको मत तान्ने ध्येयसहित एमालेले उनलाई अघि सारेको हो।
मेयर उम्मेदवार सुब्बा र उपमेयर उम्मेदवार चौधरी दुवै एमालेमा अध्यक्ष केपी ओली निकटका नेता हुन्।