काठमाडौंबाट मेयर उठ्ने घोषणा गरेकी 'मिस नेवा २०११' की विजेता सुनिता डंगोल अब उपमेयरमा उठ्ने भएकी छन्। उनलाई नेकपा एमालेले काठमाडौंमा उपमेयरको उम्मेदवार बनाएको हो।
उनले आगामी स्थानीय तहको निर्वाचनमा आफू काठमाडौं महानगरपालिकाको मेयरमा उठ्ने बताएकी थिइन्। स्वतन्त्र उम्मेदवार दिने वा कुनै दलबाट उठ्नेबारे उनले निर्णय लिइनसकेको पनि बताएकी थिइन्।
शनिबार एमालेले काठमाडौंका लागि आफ्ना उम्मेदवार चयन गरेसँगै सुनिता उपमेयरका लागि लड्ने भएकी हुन्।
उनले पहिल्यैदेखि राजनीतिमा आउने इच्छा रहेको उल्लेख गर्दै सेतोपाटीसँग भनेकी थिइन्, 'यो हिजो सोचेर आज घोषणा गरेको कुरा होइन। यो लामो समयदेखिको तयारी थियो र यसपालि सही समय हो जस्तो लागेर उठ्ने भनेकी हुँ।'
३१ वर्षीया सुनिताको परिवारिक पृष्ठभूमि एमाले नै हो। काठमाडौंको लगन टोल निवासी सुनिता सम्पदा बचाऊ अभियानमा सक्रिय छिन्। उनी रञ्जना लिपि प्रवर्द्धनकी अभियान्ता पनि हुन्।
केही समय अघिसम्म उनी नेपाल टेलिभिजनमा बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालन गर्थिन्। २०७६ सालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा राष्ट्रियसभामा भएको कार्यक्रममा उनी उद्घोषक समेत थिइन्।
राजनीतिक रूपमा बाहिर भए पनि एमाले समर्थक भएको, सेलिब्रेटी अनि महिला भएकाले उनलाई टिकट दिइएको श्रोतले बताएको छ। यद्यपि एमालेको महानगर कमिटी भने सुनितालाई उम्मेदवार बनाउने निर्णयसँग सन्तुष्ट छैन।
काठमाडौं महानगरका एमाले अध्यक्ष निर्मल देउलाले सचिवालयसँग उम्मेदवारको टुंगो लगाउने अन्तिम अधिकार रहेको बताए। ‘यस बारेमा म अहिले धेरै प्रतिक्रिया दिन्नँ। सचिवालयले उम्मेदवारको टुंगो लगाउन सक्छ,’ उनले भने।
हेर्नुस्, सुनिता डंगोलसँग केही समयअघि सेतोपाटीले गरेको कुराकानीको भिडिओः