आगामी वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा कैलालीमा तीन दल तालमेल गर्ने सहमति भएको छ।
शनिबार भएको छलफलमा जिल्लाका १३ स्थानीय तहमध्ये ७ मा कांग्रेसले प्रमुखकाे भाग पाउने भएको हाे।
नेकपा माओेवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादी पार्टीले २ स्थानीय तहमा प्रमुख पाउने स्रोतले जनाएको छ।
कांग्रेसले प्रमुख पाउनेमा धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, गोदावरी नगरपालिका र बर्दगोरिया गाउँपालिका छन्।
यस्तै, जोशीपुर र जानकी गाउँपालिका प्रमुख पनि नेपाली कांग्रेसले पाउने भएको छ।
माओेवादी केन्द्रले जिल्लामा गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका र मोहन्याल गाउँपालिकामा प्रमुख पाउने भएको छ।
नेकपा एकीकृत समाजवादी पार्टीले घोडाघोडी नगरपालिका र चुरे गाउँपालिकामा प्रमुख पाउने सहमति भएको स्राेतले जनाएको छ।
यद्यपि एकीकृत समाजवादीले उम्मेदवारी भागबन्डा नमिलेको भन्दै असन्तुष्टि जनाएको छ।
एकीकृत समाजवादीका एक नेताले सेताेपाटीसँग गरेको कुराकानीमा सुदूरपश्चिममा स्थानीय तहमा कांग्रेस र माओवादीसँग तालमेल नगर्ने दाबी गरेकाे थियाे।
यी स्थानीय तहका वडामा भने कसले कति पाउने भन्नेमा दलहरू छलफलमा रहेको जनाइएको छ।
सम्भवत: आज नै वडा अध्यक्षकाे लागि उम्मेदवारी टुंगो लगाइने छ।
अघिल्लो निर्वाचनमा कांग्रेसले धनगढी उपमहानगरपालिकामा मेयर र उपमेयर, जाेशीपुर गाउँपालिमा अध्यक्ष, बर्दगाेरिया गाउँपालिकामा अध्यक्षमा जितेको थियाे।
पछि लाेकतान्त्रिक फाेरम कांग्रेससँग मिलेपछि जानकी गाउँपालिकामा पनि कांग्रेसकाे नेतृत्व भएकाे थियाे।
यस्तै, गत निर्वाचनमा टीकापुर नगरपालिकामा उपमेयरमा कांग्रेसले जितेकाे थियाे। माओवादीले कैलारी गाउँपालिका र भजनी नगरपालिकामा जितेकाे थियाे। त्यसबाहेकका पाँच स्थानीय तहमा नेकपा एमालेले प्रमुखमा जितेकाे थियाे।
जिल्लामा एमाले भने १३ वटै स्थानीय तहमा उम्मेदवारकाे टुंगो लगाइसकेकाे छैन। शनिबार उम्मेदवारी लगाउने विषयमा छलफल जारी रहेकाे एक नेताले बताए।