कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट १३८ किलोमिटर गुडेपछि जाजरकोटको सदरमुकाम खलंगा पुगिन्छ। चुनावी माहोलका बीच खलंगालाई नै पहिलो गन्तव्य बनाएर वीरेन्द्रनगरबाट हिँडे म। दिउँसो १ बजे सुरू भएको मेरो मोटरसाइकल यात्रा बेलुका साढे ७ बजे मात्र टुंगियो।
यी जिल्लाका धेरै सडक-बाटा यहाँको राजनीति भन्दा जटिल र कमसल छन्। मधेसका जिल्लामा निर्वाचन रिपोर्टिङ गरिरहेका सेतोपाटी सहकर्मीका स्टोरी म पनि चाखसँग पढिरहेको छु। चितवनका मतदाताले घर अघिको चिल्लो सडक, बिजुली, खानेपानी, टेलिफोन लगायतको सुविधा भोगेर पनि विकास भएन भनेर नेताहरुलाई गाली गरेको पढेको छु।
ती मतदाता यहाँ आइपुगे भने के भन्दा हुन्! हुन त देश विकास भएन, हाम्रो जीवन कठिन भयो भन्ने मुद्दा अमेरिकाका मतदाताका पनि हुँदा हुन्।
कर्णालीका धेरै जिल्लामा भने विकास साँच्चैनै हराएको छ। यहाँका सडक, बाटा र अन्य पुर्वाधारले त्यही सम्झाइरहन्छन्। तर हिजोको भन्दा आज सुविधा बढेको छ भनेर चित्त बुझाउने होला!
सौभाग्यवस्, हिउँदका बेला खलंगासम्म पुग्न खासै असहज छैन। सडक सबै कालोपत्रे भइसकेको छ। खलंगा नजिकैको एउटा खोला (पासागाड) माबाहेक अरू खोला र नदीमा पुलहरू बनिसकेका छन्। पुल बन्न बाँकी त्यही खोलाले वर्षाको समयमा भने कहिलेकाहीँ मोटरसाइकल र पैदल यात्रीलाई केही समय वारि-पारि नै अड्याइदिन्छ।
छिन्चु–जाजरकोट जोड्ने सडकमा सल्यानको पनि केही भाग पर्छ। सुर्खेतबाट जाजरकोट जान पूर्वी सुर्खेतमा पर्ने भेरीगंगा र गुर्भाकोट नगरपालिकाको यात्रा गरेपछि सल्यानको दक्षिण भागमा पनि केही दुरी यात्रा गर्नुपर्छ। जुन वनगाडकुपिन्डे नगरपालिका पर्छ।
सल्यानको वनगाड र सुर्खेतको सिम्ता गाउँपालिकाको सिमाना भेरी नदीले छुट्याउँछ। सिम्ताको पूर्वी सिमाना जाजरकोट हो। छिन्चु–जाजरकोट सडक खन्डअन्तर्गत सल्यानको वनगाड र सुर्खेतको सिम्ता जोड्न भेरी नदीमाथि पुल बन्न १२ वर्ष लागेको थियो।
२०६१ सालबाट सुरू भएको पुल आयोजनाको काम २०७२ को अन्तिमतिर मात्र सकियो। पुल सञ्चालनमा आएपछि भेरी नदीमाथि तैरिने फेरी विस्थापित भयो।
मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको रिपोर्टिङ गर्न 'सेतोपाटी टिम' कात्तिक १८ गतेदेखि नै मुलुकका विभिन्न जिल्लाका चुनावी मैदानमा छ।
मतदाताको रोजाइ के छ, उनीहरूको क्षेत्रमा विकासका मुद्दा के छन्, मुलुको राजनीतिकाबारे उनीहरू के भन्छन्, गठबन्धनबारे के भन्छन्, नयाँ र पुराना दलबारे के भन्छन् भन्ने बुझ्ने र हाम्रा पाठकसामु लैजाने हाम्रो ध्येय हो। सोहीअनुसार कात्तिक १९ गते मेरो यात्रा जाजरकोट तय भएको थियो।
एक दिनको सदरमुकाम बसाइपछि कात्तिक २१ गते जिल्लाको पूर्वी भेग नलगाड नगरपालिकातर्फ पुनः यात्रा तय भयो। नगलगाडको केन्द्रसम्म जान सदरमुकामदेखि झन्डै २५ किलोमिटर यात्रा गर्नुपर्छ। यो कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पालाई बाँकी नेपालसँग जोड्ने एक मात्र सडक मार्ग पनि हो। सडकको ट्र्याक खोल्ने काम पूरा भइसके पनि बीचमा पर्ने खोला तथा नदीहरूले डोल्पासम्म सिधा यातायात भने सञ्चालनमा आएका छैनन्।
जाजरकोट र रूकुमको बीचमा पर्ने ठूलीभेरी नदीको किनारैकिनार बनेको सडकमध्ये केही खण्ड भने पक्की बनाउने काम सुरू भइसकेको छ।
नलगाड पुगेपछि मैले कुरा गरेका पहिलो मतदाता हुन् २२ वर्षीय लालबहादुर बिक। 'तपाईंहरूले मत दिएर जिताइसकेपछि तपाईंको क्षेत्रमा उनीहरूले विकासका कस्ता काम गरिदिएको भए हुन्थ्यो भन्ने लाग्छ?'
मेरो प्रश्नमा उनी एकछिन अलमलिए। उत्तर दिनुभन्दा पहिले आफ्नो दुखान्त सुनाए।
लालबहादुर तीन वर्षअघि भारतको उच्च हिमाली क्षेत्रमा भारी बोक्ने काम गर्न गएका रहेछन्। उनीसँगै उनका बुवा, भाइ, दिदी र भिनाजु पनि एकै ठाउँमा काम गर्थे। भारी हिमपात भएपछि उनीहरू फसेछन्। झन्डै दुई सातासम्म बाटो छिचोलेर हिउँबाट उम्किएका उनीहरू सबैले आफ्नो शरीरका कुनै न कुनै अंग गुमाएका छन्।
'हामीलाई त भारत नगई नहुने! रासन बोकेर क्याम्पसम्म लैजाने काम पाएपछि ज्याला पनि अलि धेरै हुने रहेछ,' लालबहादुरले भने, 'तर त्यहाँ हामी पाँच जनाले कमाएको पैसा सकिएर पनि उपचार गर्न ६–७ लाख रूपैयाँ ऋण गर्नुपर्यो।'
लालबहादुरका दुवै खुट्टाका पैतालाको आधा भाग उपचारका क्रममा चिकित्सकको सल्लाहमा काटिएको छ। उनका बुवाका हातखुट्टा सबै काट्नुपरेको छ। भाइको पनि पैताला काटिएका छन्। दिदीको खुट्टाको औंला काटिएको छ भने भिनाजुका दुवै हात काटिएका छन्।
'अहिले बुवा ह्वीलचियरमा हिँड्नुहुन्छ। हामी तीन भाइबहिनीलाई जुत्ता नभई कतै हिँड्नै हुँदैन,' उनले भने, 'हामीले जिताएर गएकाहरू सरकार बनाउँछन्, आफू मन्त्री हुन्छन्। हामीजस्ता अपांगता भएकालाई भत्ता मात्र दिनुभन्दा केही गरीखाने योजना ल्याइदिए हुन्थ्यो। भत्ताले त के नै पुग्छ र।'
उनका बुवालाई सरकारले 'क' वर्गको अपांगता परिचयपत्र दिएको रहेछ। भिनाजुले 'ख' वर्गको, लालबहादुर र उनका भाइले 'घ' वर्गको परिचयपत्र पाएका छन्।
जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत रूकुम र जाजरकोटलाई जोड्ने ठूली भेरी नदीमाथिको पुलको छेउमा लालबहादुरको खुद्रा पसल छ। परिवारको जीविका चलाउन थोरै कमाइ त्यसबाट पनि हुन्छ।
उनको दुखान्त सुनिसकेर फेरि लालबहादुरलाई विकासका कुरातिर मोडेपछि उनले सामान्य तीनवटा आवश्यकता दर्शाए- वडासम्म बाह्रै महिना चल्ने सडक, गाउँमा बिजुली र राम्रोसँग काम गर्ने टेलिफोनको टावर।
जाजरकोट अहिले पनि दुर्गम जिल्लाहरूको सूचीमा पर्छ। दुर्गमको पनि दुर्गम नलगाडका गाउँका मतदाताको सुरूमै त्योभन्दा ठूलो अपेक्षा हुने कुरै भएन।
हामीसँगै छेउमै बसेका मानबहादुर बिक र प्रकाश बिकलाई पनि विकासका मुद्दाबारे सोधेँ। 'गाउँमा बिजुली अहिलेसम्म पनि बाल्न पाइएको छैन।। कृषि सडक खनेदेखि सञ्चालनमा छैनन्,' मानबहादुरले भने, 'यिनै कुरा हुन् हामीलाई चाहिएको त। यसबाहेक बेरोजगारी समस्या समाधान गर्नतिर पनि उहाँहरूले पहल गर्नुपर्यो। सिकेको सीप नै सदुपयोग गर्न नपाइने हामी गाउँलेहरूको समस्या छ।'
मानबहादुरले भनेका कुरामा प्रकाशले समर्थन जनाए। यी तीन जनामध्ये लालबहादुर र प्रकाशले यो पटक प्रतिनिधि सभामा एमालेका उम्मेदवारलाई भोट दिने योजना बनाएका छन्। प्रकाशले भने कसलाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन्। उनीहरू तीनै जना संघीय र प्रदेश निर्वाचनमा पहिलोपटक मतदान गर्दै छन्।
नलगाडमा एउटा राष्ट्रिय गौरवको आयोजना छ। ४२० मेगावाट क्षमताको नलगाड जलविद्युत आयोजनाको परीक्षण सुरूङ मात्र खनेर छोडिएको छ। यो आयोजना पूरा गर्नुपर्ने कुरामा भने त्यहाँका स्थानीयले त्यति ध्यान दिँदैनन्।
मैले नलगाड–५ का प्रवेश सिर्पालीलाई यो आयोजनाका बारेमा के भन्नुहुन्छ भनेर सोधेँ।
'पहिलो कुरा त यहाँ शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराकै विकास हुन सकेको छैन। गाउँमा बिजुली बल्नै बाँकी छ। शुद्ध खानेपानीको व्यवस्था नै छैन,' उनले डोल्पा जोड्ने सडक देखाउँदै भने, 'ऊ त्यो सडक डोल्पा जोड्ने हो, अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन। यति ठूलो हाइड्रोपावरको सामान ल्याउन पनि त त्यो सडक बन्नुपर्यो नि।'
अहिलेको प्रतिनिधि सभामा एमालेका उम्मेदवारलाई भोट दिने योजना बनाएका प्रवेशले दलहरूको गठबन्धनलाई विकासको बाधकका रूपमा बुझेका रहेछन्। 'अघिल्लो पटक गठबन्धन भयो, हामीले गठबन्धनकै उम्मेदवार जिताएर पठाएका हौं,' उनले भने, 'पहिले गठबन्धन गर्दा उहाँहरू एकअर्काको भरमा परेर काम नगरेको महशुस भएको छ। अब त किन गठबन्धनलाई साथ दिनु र!'
नलगाड–७ का मनवीर दमाई नगर कार्यपालिकाको कार्यालयनजिकै आफ्नै घरमा सिलाइकटाइको काम गर्छन्। केन्द्रमै भए पनि खासै काम नपाउने मनवीरलाई सांसद भएर जानेहरूले गरिबको समस्या समाधान गर्नतर्फ ध्यान दिऊन् भन्ने लाग्छ।
'भोट माग्न आउने मात्र होइन, जितेर गएपछि पनि त आफ्नो क्षेत्रका जनतालाई के कस्तो छ भनेर बुझ्न आउनुपर्छ,' उनले भने, 'बिहान खाएपछि बेलुका के खाने भन्नेहरू पनि त मतदाता छन्। उनीहरूको समस्या बुझेर समाधानका लागि काम गर्नुपर्छ।'
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनबाट उठेका माओवादीका उम्मेदवारलाई मत दिएका उनले अहिले कसलाई मत दिने भन्ने निधो गरिसकेका छैनन्।
नलगाडका केही मतदातासँग कुरा गरिसकेपछि सदरमुकाम फर्किँदा बाटोमा भेटिने मतदाताहरूसँग कुराकानी भयो।
सदरमुकाम नजिकैको रिम्ना बजार जाजरकोटको व्यापारिक केन्द्रमध्येको एक हो। जाजरकोट–डोल्पा सडक खन्डका लागि ठूली भेरी नदीमा पुल बनिसकेपछि रिम्नाको भित्री बजार सुनसान छ। मुख्य सडकमा भने व्यापार चम्किएको छ।
भित्री बजारमै चिया पसल गर्दै आएका ४५ वर्षीय नरबहादुर रानाले भोट कसलाई दिने भन्ने टुंग्याइसकेका छैनन्। यसअघिको निर्वाचनमा उनले गठबन्धनबाट चुनाव लडेका शक्तिबहादुर बस्नेतलाई मत दिएका थिए।
'म अहिले पनि उम्मेदवार हुनुभएका शक्ति बस्नेतसँग केही वर्ष सहयोगीका रूपमा काम गरेको मान्छे हो। उहाँ कयौंपटक मन्त्री हुनुभयो तर जिल्लाका लागि खासै काम गरेजस्तो लाग्दैन,' उनले भने, 'मैले त कसलाई भोट हाल्ने भनेर निधो गरेको छैन। तर जनताले नयाँ मान्छेको अनुहार हेर्नुपर्छ कि जस्तो लाग्छ।'
शक्ति बस्नेतसँग भेट हुँदा पनि आफूले बारम्बार उनलाई यस्ता प्रश्न गर्ने गरेको नरबहादुरले बताए। गाउँमै रोजगारी सिर्जना गरेर युवाहरूलाई विदेश जान नपर्ने वातावरण बनाउन जनप्रतिनिधिहरूले काम गर्नुपर्ने उनको भनाइ छ।
पहिले एमाले–माओवादी गठबन्धन हुँदा शक्ति बस्नेतलाई मत दिएका भेरी नगरपालिका–१ रिम्नाकै ५८ वर्षीय दुदबहादुर राना पनि अहिले कसलाई मत दिने भन्ने निर्णयमा पुगिसकेका छैनन्। विकासका मुद्दामा भने उनले सिँचाइ र खानेपानीलाई मुख्य आवश्यकता ठानेका छन्।
'नेताहरूसँग बिहान–बेलुकाको खाना ल्याइदेऊ त कसले भन्छ र!,' सडकमाथिको सुख्खा बारी र मुनि बग्ने भेरी नदी देखाउँदै उनले भने, 'यहीँ तलतिर भेरी बग्छ, हाम्रा बारी सुख्खा छन्। जितेर गएपछि नेताहरूले यस्ता कुरा बुझ्नुपर्यो।'
मत कसलाई दिने भन्ने विषयमा आफ्ना घरपरिवारको एकै निर्णय हुने उनले बताए।
जाजरकोटमा एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र छ। अहिलेको निर्वाचनमा पाँच दलीय गठबन्धनबाट शक्तिबहादुर बस्नेत प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। यसअघि नेकपा एमाले र नेकपा माओवादीबीच गठबन्धन हुँदा पनि उनै बस्नेत प्रतिनिधि सभामा सांसद चुनिएका थिए। उनी २०७० सालयता लगातार सांसद चुनिँदै आएका छन्।
यसपालि नेकपा एमालेबाट निरज आचार्य पहिलोपटक चुनावी मैदानमा उत्रिएका छन्। अहिले सांसदका रूपमा 'ह्याट्रिक' गर्ने दाउमा रहेका बस्नेत र संसदमा बाटो पहिल्याउने दाउमा रहेका आचार्य जाजरकोटमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
जाजरकोटमा भेटिएका मतदातामध्ये अधिकांशले यसपालि गठबन्धनका उम्मेदवारलाई मत दिने बताए। गठबन्धनका उम्मेदवारलाई मत दिन्छौं भन्ने २० जना मतदाता भेटिए। एमाले उम्मेदवारलाई मत दिने १६ जना। तत्कालै निर्णय गरेका छैनौं भन्ने मतदाता १९ जना थिए भने एक जना मतदाताले यसपटक कसैलाई पनि मत नदिने बताए।
भेरी नगरपालिका–१३ कुदु गाउँका ५६ वर्षीय ठगेन्द्र बस्नेतले यसपालि पनि गठबन्धनका उम्मेदवारलाई मत दिने सोच बनाएका छन्। अघिल्ला निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने गरेका उनले अहिले कांग्रेस गठबन्धनमा भएकाले गठबन्धनकै उम्मेदवारलाई मत दिने बताए।
जाजरकोटबाट जितेर जाने जनप्रतिनिधिले अपेक्षाअनुसार काम भने गर्न नसकेको उनको भनाइ छ।
'भोट त दिनैपर्यो। भोट दिएपछि अब पछिका दिनमा केही गरिहाल्छन् कि भन्ने आशा पनि हुने भयो,' भेरी पारि पर्ने रूकुम पश्चिमको चौरजहारी बजारसँग आफ्नो बस्तीलाई तुलना गर्दै ठगेन्द्रले भने, 'त्यही पारिको बजारमा घरघरै खानेपानीका धारा छन्, सिँचाइ छ। यो पनि त्यस्तै गाउँ हो तर अहिलेसम्म ती केही काम भएका छैनन्।'
अहिलेको निर्वाचनमा कसलाई मत दिने भन्ने निर्णय नगरेका मतदातामध्ये अधिकांश पहिले शक्ति बस्नेतलाई मत दिएकाहरू थिए।
गिटी बनाउने ढुंगा संकलन गर्दै गरेकी नलगाड–७ की सुरिताकुमारी थापाले यसपटक कसैलाई मत नदिने बताइन्। 'धनीले आफ्नो पेट भर्ने, गरिबलाई जितेकाहरूले फर्केर नहेर्ने गरेपछि बारम्बार किन भोट दिने भनेर अहिले त नजाने भनेकी छु,' २०७४ को निर्वाचनमा शक्ति बस्नेतलाई भोट दिएकी सुरिताकुमारीले भनिन्।
जाजरकोटका मतदाताहरूको मुख्य मुद्दाहरूमा शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, रोजगारी, सिँचाइ, खानेपानी, विजुलीनै हुन्।जाजरकोटबाट फर्किएपछि वीरेन्द्रनगर नपुग्दै सुर्खेतको पूर्वी क्षेत्रका मतदाताहरूसँग भेट्ने मेरो योजना बन्यो।
१२ वर्षमा बनेको त्यही पुलको एक किलोमिटर यता सल्यानको सल्लीबजार पर्छ। यो बजार सल्यानका प्रमुख व्यापारिक केन्द्रमध्येको एक हो। सुर्खेतको सिम्ता क्षेत्रका मतदातासँग भोलिपल्ट कुरा गर्न पायक पर्ने भएकाले म सल्लीबजारको एक होटलमा बसेँ। सल्लीबजारमा केही वर्ष मात्र भयो व्यवस्थित होटल बन्न थालेको।
भोलिपल्ट सल्लीबजारदेखि जाजरकोटतर्फकै सिम्ता गाउँपालिकाका केही मतदातासँग कुरा गरेँ। सुर्खेतमा दुइटा निर्वाचन क्षेत्र छन्। तीमध्ये पूर्वी क्षेत्र १ नम्बर निर्वाचन क्षेत्र हो। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको क्षेत्र पनि यही हो।
सडक, पुल, स्वास्थ्य जस्ता केही कुरामा यो क्षेत्र प्रदेश राजधानीपछिकै दोस्रो राम्रो मानिन्छ।
त्यो दिन सिम्ता क्षेत्रमा मैले सबभन्दा पहिले कुरा गरेका ६३ वर्षीय दिलबहादुर नेपालीको ६ कट्ठा जग्गा ऐलानी छ। २०५६ सालबाट भोगचलन गर्दै आएको उक्त जग्गाको स्थायी लालपुर्जा अझसम्म मिलेको छैन। छिन्चु–जाजरकोट सडक बनेपछि अहिले उनको त्यो जग्गा सडक छेउमै पर्छ।
लालपुर्जा भए जग्गा धितो राखेर व्यवसाय गर्ने दिलबहादुरको योजना त पूरा भएन। अब पनि लालपुर्जा पाएर छोराछोरीलाई व्यवसाय गर्न सहज होस् भन्ने अपेक्षा उनले गरेका छन्।
दिलबहादुरले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा एमाले उम्मेदवार ध्रुवकुमार शाहीलाई मत दिएका थिए। अहिले भने गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई मत दिन चाहन्छन्।
सुर्खेत–१ मा २०७४ मा पनि खड्का र शाहीबीच नै प्रतिस्पर्धा भएको थियो। शाहीको दल एमाले र माओवादीबीच गठबन्धन भएपछि एक्लै चुनाव लडेका खड्काको संसद यात्रामा त्यस बेला ब्रेक लागेको थियो।
अहिले खड्कालाई भोट किन दिन चाहनु हुन्छ भन्ने मेरो प्रश्नमा दिलबहादुरले भने, 'हाम्रो क्षेत्रबाट पार्टीको दोस्रो पदमा पुगिसकेको मान्छे हो। उहाँ भोलि सभापति हुँदै प्रधानमन्त्री बन्न पनि त सक्नुहुन्छ नि!'
सुर्खेतको पूर्वी क्षेत्रका सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका र भेरीगंगा नगरपालिकाका मतदातासँग कुरा गर्दा कांग्रेस उपसभापति खड्काप्रति उनीहरूको बढी अपेक्षा देखियो।
सिम्ता–६ राकमका ७८ वर्षीय चेतबहादुर सार्की हरेक आम निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई भोट दिँदै आएका छन्। अहिले पनि उनले आफ्नो मत नबदल्ने निधो गरेका छन्। तर कांग्रेसका खड्काको भावी नेतृत्व प्रधानमन्त्रीसम्म पुग्ने अपेक्षा उनको छ।
'यति उमेरसम्म एमालेलाई नै भोट हाल्यौं, अब आफ्नो भोट त के बदल्नु र!' चेतबहादुरले भने, 'भोट दिएर जिताए भने हाम्रा क्षेत्रका नेता खड्का माथि नेतृत्व गर्ने सम्भावना भएका हुनुहुन्छ।'
गुर्भाकोट–१० का नोखविर ओलीले खड्कालाई विकास गर्ने नेताका रूपमा हेरेका छन्। यसअघि एमालेका उम्मेदवारलाई मत दिएका उनले अहिले गठबन्धनबाट उठेका खड्कालाई नै दिने बताए।
सुर्खेत–१ मा गठबन्धनबाट उम्मेदवार खड्का आफ्नो संसद यात्रामा 'कमब्याक' गर्ने दाउमा छन्। २०७४ को निर्वाचनबाट खड्काको यात्रामा ब्रेक लगाएका एमालेका शाही दोस्रो पटक संसद जाने दाउमा छन्।
सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ मा सेतोपाटीले कुरा गरेका मतदातामध्ये ५७ जना गठबन्धनका उम्मेदवार खड्कालाई मत दिने पक्षमा छन्। नेकपा एमालेका उम्मेदवार शाहीलाई मत दिन्छु भन्ने २४ जना छन्।
अहिल्ये निर्णय गरेका छैनौं भन्ने मतदाता १२ जना थिए। अहिले कसलाई र पहिले कसलाई मत दिएका थियौं भनेर भन्न नचाहने ६ जना मतदाता भेटिए। दुई जनाले भने यसपाली कसैलाई मत नदिने बताए।
भेरीगंगा–४ बाहुनचौरकी ३१ वर्षीय सरिता बुढाले अहिले कसलाई मत दिने भन्ने निर्णय गरिसकेकी छैनन्। आफ्नो गाउँमा भएका असुविधाहरूलाई समाधान गर्ने प्रतिबद्धता गर्ने उम्मेदवारलाई मत दिने उनले बताइन्।
'घरमा धारा जोडिएको भए पनि बर्खामै १०–१२ दिनमा एकपटक पानी आउँछ। खडेरीमा अरूको कुवामा गएर पैसा तिरेर पानी ल्याउनुपर्छ,' उनले भनिन्, 'वरिपरिका खोलाले बर्खामा बच्चाबच्चीलाई स्कुल जान रोकिदिन्छ। यस्ता समस्या समाधान गर्ने प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट हाल्ने हो म।'
अहिलेको निर्वाचनमा एमालेका उम्मेदवारलाई मत दिन्छु भन्ने अधिकांश मतदाता आफ्नो पुरानो रोजाइको दल नफेर्ने सोचमा छन्।
सुर्खेतको पूर्वी क्षेत्रमा कुरा गरेकामध्ये मत दिन नचाहने एक मतदाता गुर्भाकोट–५ की तोली कामी हुन्। यसअघि कांग्रेसका उम्मेदवारलाई मत दिँदै आएकी उनले मतदाताका समस्या बुझ्न जितेकाहरू नआउने गरेपछि यो पटक भोट नहाल्ने सोच बनाएको बताइन्।
सुर्खेतको छिन्चु बजार कर्णाली प्रदेश प्रवेश गरेपछि सुरूमा भेटिने पहिलो व्यापारिक केन्द्र हो। सुर्खेतको प्रमुख व्यापारिक केन्द्रमध्येमा पर्ने यो बजारको भित्री बाटोमा पसल गर्दै आएका ७२ वर्षीय भीगराम वली पनि यो पटक मतदानमा सहभागी नहुने निर्णयमा पुगेका छन्।
'यी पुराना दलहरूको योजना भनेकै बाह्य मुलुकले दिएका अनुदान कार्यान्वयन गर्ने र नागरिकता विधेयक पास गर्ने हो। देशका लागि लेखेर दिएका एजेन्डाहरू कार्यान्वयन हुनेखालका छैनन्,' भीगरामले भने, '२०७४ मा एमालेलाई भोट दिएँ, अब त दिक्क भएर भोट कसैलाई नदिने भनेको छु।'
अहिले राजनीतिमा आएका नयाँ युवाहरूलाई पनि पुराना दलका पुराना नेताहरूले काम गर्न नदिने तर्क उनले गरे।
अहिले कसलाई मत दिने भन्ने विषयमा भन्न नचाहेका भेरीगंगा–१२ का ४९ वर्षीय टोपबहादुर बिसीले आफूले राजनीतिमा युवा अनुहारको आवश्यकता महशुस गरेको बताए। उनीहरूले 'एक्सन' मा काम गर्न सक्ने तर्क उनले गरे।
'सकेसम्म त यता पनि रवि लामिछाने, सागर ढकाल जस्ता युवाहरू उम्मेदवार हुनुपर्छ,' काठमाडौंका मेयर बालेन शाहको उदाहरण दिँदै उनले भने, 'नयाँले एक्सन लिएर काम गर्न सक्छन्। काठमाडौंकै मेयरलाई हेर्दा थाहा भइहाल्छ नि।'
दलहरू बीचको गठबन्धनलाई भने नेताहरूले आफ्नो पदलाई निरन्तरता दिने माध्यमका रूपमा उनले बुझेका छन्। 'उति बेला पनि गठबन्धन भएकै हो, पछि संविधानमाथि नै प्रहार गर्नेसम्मका काम भए,' टोपबहादुरले भने, 'त्यो हेर्ने हो भने अबको गठबन्धन के देशका लागि हो भन्ने बुझ्न सकिएला र!'
सुर्खेतको पूर्वी क्षेत्रका मतदाताका लागि उक्त क्षेत्रमा खानेपानी, सामुदायिक विद्यालयको शिक्षामा सुधार, पक्की बाटोलाई नै विकासका मुख्य एजेन्डाभित्र राख्नुपर्ने देखिएको छ।
जाजरकोट र पूर्वी सुर्खेतका मतदातासँगको भेटघाटपछि दैलेखका मतदातासँग भेट्न मेरो मोटरसाइकल हुँइकियो।
दैलेख अहिले सुगम जिल्लाको सूचीमा पर्छ। तर दैलेखका मतदाताका मुद्दा पनि उही छन्। दैलेखका ७८ जना मतदातासँग कुरा गर्दा खानेपानी, सिँचाइ, स्वास्थ्य, शिक्षा, सडक, रोजगारी जस्ता मुद्दानै उठाए।
दैलेख यात्राको सुरूमा भेटिएका मतदाता दुल्लु नगरपालिका–१२ का ५४ वर्षीय टेकबहादुर खत्री दाहाल थिए। उनले गठबन्धन दलहरूका नेताका लागि पद जोगाउने 'माध्यम' भएको बताए। तैपनि गठबन्धनकै उम्मेदवारलाई मत दिने सोच उनले बनाएका छन्। पहिले पनि उनले नेपाली कांग्रेसलाई मत दिँदै आएका थिए।
'गाउँमा सिँचाइको कुलो भए पनि दीर्घकालीन छैन। सडक अझैसम्म सुधार हुन सकेको छैन,' आफ्नो क्षेत्रका समस्याबारे टेकबहादुरले भने, 'बेरोजगारीको समस्या त यहाँ पनि अन्यत्र जस्तै त हो।'
दैलेखमा दुइटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन्। दुइटै क्षेत्रमा गरी मैले ७८ जना मतदाता भेटेँ। उनीहरूमध्ये गठबन्धनका उम्मेदवारलाई मत दिन्छु भन्ने २२ जना भेटिए। यस्तै एमालेका उम्मेदवारलाई मत दिन्छु भन्ने १७ जना थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई मत दिन्छु भन्ने ७ जना, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लाई दिन्छु भन्ने ३ जना र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिन खोजेको तर पक्का निर्णय नभइसकेको भन्ने मतदाता ३ जना थिए।
कसलाई मत दिने भन्ने निधो गरेको छैन भन्ने मतदाता २० जना भेटिए। यसपटकको निर्वाचनमा मतदान गर्दिनँ भन्ने ४ जना थिए। यस्तै कसलाई मत दिने भनेर भन्न नचाहने दुई जना थिए।
यसअघिको निर्वाचनमा एमालेका उम्मेदवारलाई मत दिएकी दुल्लु नगरपालिका–१२ की २९ वर्षीया तिर्थाकुमारी खड्काले यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिने सोच बनाएको बताइन्।
तिर्थाकुमारीका श्रीमान ६ वर्षदेखि वैदेशिक रोजगारीमा छन्। युवाहरू विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने व्यक्तिको खाँचो भएको उनले औंल्याइन्। 'मेरो श्रीमान् ६ वर्षमा विदेशबाट घर आएर फेरि जानुभएको छ। यतै रोजगारी भए त किन जानुपर्थ्यो र!,' उनले भनिन्, 'अब काम गर्ने मान्छे चाहिएको छ। अहिले घन्टीलाई भोट दिनेकी भन्ने सोच हो। तैपनि निर्णय त भइसकेको छैन।
यसअघि कांग्रेसलाई मत दिँदै आएका डुंगेश्वर गाउँपालिका–६ का ४३ वर्षीय यामबहादुर हमालले पनि अहिले आफ्नो मत परिवर्तन गर्ने सोच बनाएका छन्। '२०५८ सालमा मैले यो बजारमा घर बनाएको हुँ। त्यति बेलै ट्र्याक खुलेको सडक अझ साँघुरै छ,' सुर्खेत–दैलेख जोड्ने सडकको डुंगेश्वर खन्ड देखाउँदै उनले भने, 'पुराना दलभन्दा पनि उनीहरूको ढिलासुस्तीदेखि दिक्क लागेको छ। अब त नयाँ दल घन्टीलाई मत दिने कि भन्ने सोचेको छु।'
गुराँस गाउँपालिका–४ साल्तडाकी २४ वर्षीय करूणा शाही पहिलोपटक प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न लागेकी छन्। तर कसलाई मत दिने भन्ने निर्णय गरिसकेकी छैनन्।
'भोट कसलाई दिने भन्ने त त्यही दिन निर्णय गर्छु होला, तर राम्रो मान्छे छान्ने हो,' करूणाले भनिन्, 'दुई वर्षअघि गाउँमा खनेको बाटोमा अहिले मोटरसाइकल पनि जाँदैन। स्थानीय तह निर्वाचनमा भोट माग्न आउँदा ग्राभेल गर्छु भने तर गरेनन्। त्यस्तालाई भोट दिएर पनि के गर्नु!'
मैले आफ्नो चुनावी मैदान यात्राका क्रममा जाजरकोट, सुर्खेत र दैलेखका २३५ जना मतदातासँग कुरा गरेँ। उनीहरूमध्ये अनिर्णीत मतदाता र एमालेलाई मत दिन्छु भन्ने मतदाताको संख्या लगभग बराबर थियो। भेटिएका कुल मतदातामध्ये अनिर्णीत मतदाता ५१ जना थिए भने एमालेलाई मत दिन्छु भन्ने मतदाता ५७ जना थिए। अनिर्णित रहनेमा पहिले एमालेलाई मत दिएका धेरै मतदाता छन्।
यस्तै अहिलेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत दिन्छु भन्ने मतदाता ९९ जना थिए। राप्रपालाई मत दिन्छु भन्ने मतदाता ७ जना, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिन्छु भन्ने मतदाता ३/३ जना थिए।
यसैगरी कसलाई मत दिन्छु भन्न नचाहने मतदाता ८ जना र भोट दिन्नँ भन्ने मतदाता ७ जना थिए। मतै नहाल्ने संख्यालाई बाहिर राख्दा मैले कुरा गरेका कुल मतदाता, २२८ जनामध्ये गठबन्धनलाई मत दिनेहरू झन्डै ४४ प्रतिशत थिए। त्यस्तै एमालेलाई मत दिने २५ प्रतिशत, राप्रपालाई दिने ३ प्रतिशत, नेमकिपा र राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनेहरू १/१ प्रतिशत भेटिए।
जाजरकोट, सुर्खेत र दैलेख तीन जिल्लाका मतदाताहरूको कुरा सुन्दा यसपालि यहाँ गठबन्धन र एमालेकै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। एमालेभन्दा गठबन्धनलाई मत दिन्छु भन्नेको संख्या धेरै छ। एमालेले अनिर्णीत मत पूरै तान्न सके मात्र गठबन्धनसँग कडा टक्कर हुने देखिन्छ। गठबन्धनले भने अनिर्णीत मतको आधा मात्र तान्यो भने पनि उसले जित्ने सम्भावना बलियो छ। त्यस्तै अनिर्णीत मत एमाले वा गठबन्धन कसैलाई नआएर अरू दलमा छरिए पनि गठबन्धनलाई सजिलो हुने देखिन्छ।