कुनै ताल देख्नुभएन भने तपाईँ तिब्बत पुग्नुभएन।
तिब्बतका ताल कतिसम्म ठूला हुन्छन् भने एउटा कुनामा उभिएर हेर्दा अर्को कुना आकाशसम्मै फैलिएको हुनसक्छ।
अमेरिकाभित्र पनि त्यस्तै केही ताल छन् जसका बारेमा एकजना अफ्रिकी मूलका लेखकको उपन्यासमा एउटा पात्र भन्छन्, ‘सबै कुरा अमेरिकासँगै हुनुपर्ने? हुँदाहुँदा समुद्रहरू पनि आफूभित्रै राखेको छ।’
तिब्बतले त्यसैगरी आफूभित्रै राखेको ‘समुद्र’मध्ये हामी जान लागेको ताल ल्हासाभन्दा हजार मिटर उचाइमा छ ।
संसारकै दोस्रो ठूलो त्यो नूनिलो ताल पुग्न एउटा पहाड उक्लिनु पर्नेछ । ५ हजार २ सय मिटर अग्लो भञ्ज्याङमा उभिएर उत्तरतिर फर्किँदा नाम्चो तालले हामीलाई स्वागत गरिरहेको हुनेछ।
कुनै कुनै ठाउँ कस्ता हुन्छन् भने जस्तो भनिन्छ नि, स्वर्गभन्दा दुई कदम वर।
हाम्रा गाइड मिङ्ग्मा हामीलाई हतार–हतार मिनीबसभित्र कोचेर ड्राइभरको पछाडि उभिएका थिए। बुद्धचित्तको मालाका गेडी उनको हातमा खेल्न थालिसकेका थिए। उनी केही भन्न खोज्दै थिए।
एउटा सर्त छ, सूर्यास्तअगावै पुगिहाल्नुपर्नेछ। सूर्यास्तपछि त स्वर्गको पनि ढोका बन्द हुनेछ।
तर ल्हासामा त्यति विघ्न ट्राफिक जाम मैले अनुमान गरेको थिइनँ। पोताला प्यालेसको दर्शन गर्दै फराकिलो सडकमा गुडे पनि हाम्रो बसले ट्रयाक्टरको गति समातेको थियो। कहिले त बरू तीन पाङ्ग्रे रिक्सा नै छिटो।
सहर सकिएपछि पनि सुस्तता सकिएन। स्पिड ब्रेकरहरू राखिएका रहेछन्। वरपर गाउँबस्ती नै छैनन्, सुनसान ठाउँमा पनि किन गति अवरोधक?
चिनियाँ मूलभागबाट ल्हासा पस्ने त्यो राजमार्गमा चिनियाँ पर्यटक बसहरू हुत्तिएर आउने गरेका रहेछन्। चिनियाहरूसँग समय छैन नि त। विश्व जित्नु छ। सडकले धान्न सक्नेभन्दा उग्र होड गर्न थालेछन्।
प्रशासनले कडिकडाऊ गर्न पर्यटक बसपिच्छे प्रहरी खटाएर गति नियन्त्रण गर्न खोजेछ। पर्यटक बसभित्र अनिवार्य ड्युटीमा परेका प्रहरीबाट पनि पार लागेन। एउटा बस चिप्लिएर सडकबाहिर बजारियो। धेरैको ज्यान गयो।
त्यसपछि सडकको ढाडमाथि यसरी स्पिड ब्रेकरहरूको भारी हालिदिएका रहेछन्।
खुट्टा पसार्ने सिटको खोजीमा म बसको ब्याकबेञ्चर बन्न पुगेको थिएँ। वरपर दक्षिण अफ्रिकीहरू थिए। ज्योति र रामप्रसाद अगाडिको सिटमा साउती मार्दै बसेका थिए। अब त रामप्रसाद फकिए होलान्।
ल्हासा टेकेदेखि नै उनी काठमाडौं फर्किहाल्न खोजेका थिए। उनले नाम्चो तालको तीन दिने यात्रामा जान्न भन्दा पनि चैन पाएनन्। म काठमाडौं फर्किन नपाउने हो भने यहीँ ल्हासा बस्छु, आराम गर्छु भन्दै थिए। ज्योतिले पुच्छर निमोठ्दै सम्झाउन थाले, ‘सञ्चो भएन भने हामी फर्कौँला। गएपछि यस्तो ठाउँ पुगियो भन्ने सन्तोष हुन्छ, नगए सधैँको पछुतो।’
चित्त नबुझे पनि तर्क काट्न नसकेपछि ‘हस्’ भन्दै रामप्रसादले पानी पिउन थाले। पानी कम भयो भने लेक लागिलाग्छ भन्ने बुझेर उनी पानी त कसरी पिउन थाले भने माछाले बरू के पाओस्।
अघिल्लो रात पनि रामप्रसादले सडकमा हिँड्दा मलाई सुस्तरी नाडी छाम्न सोधेका थिए, ‘तपाईँलाई मसाज गराउन मन थियो कि?’
मैले फिस्स हाँसेर टारें। उनी भने गम्भीर थिए। जिउ करकर खाएको छ भन्थे। उनको शरीरलाई केही आराम चाहिएको त त्यसै पनि थाहा हुन्थ्यो।
हाम्रो बसले गति पक्रेला जस्तो के भएको थियो सडक साँघुरिन थाल्यो। हजार किलोमिटर परदेखि ल्हासा आउने मालबाहक ट्रकहरूको ओइरो लाग्ने रहेछ।
गाउँले बस्तीहरू बिस्तारै सर्न थाले।
सडक किनारका घरको छतमा याकको सिङ छैन भने त्यो तिब्बत होइन। याकको सिङ भएको छतमा राष्ट्रिय झण्डा फहराएको छैन भने त्यो चीन होइन।
चिनियाँ झण्डाहरू त राजमार्गमा बिजुलीका पोलभरि रहेछन्। टिनका पातामा नटाँसिएका भए हावामा फहराइरहने थिए।
‘यो बाटोमा रेल देखिन्छ, मिङ्ग्मा?’ मैले सोधेँ ।
दिनभरिमा अढाई सय किलोमीटर तय गर्दा एकपल्ट न एकपल्ट रेल कसो नझुल्केला भन्ने लागेको थियो।
‘बायाँपट्टि हेर्नुहोस्, नरेन,’ उनले भने।
लौ हेर, रेल त आएकै रहेछ। नदीपारि भेडा चरिरहेको बादलमूनिको डिलतिर सैनिक रंगमा डिब्बाहरू सर्दैसर्दै ल्हासातिर सोझिए।
संसारकै उच्चस्थान छिचोलेर लामो भूगोलको चक्कर लाउँदै आएको रेल। धरोधर्म, मैले तिब्बतमा पहिलोपल्ट देख्दै थिएँ।
ल्हासामा रेल आउँदै छ भनेर तेह्र वर्षअघि समाचार लेखेकै हातले क्यामरा सोझ्याएँ। फोकस गर्दागर्दै फुत्कियो।
त्यसको गति त सिधै ल्हासा र सिगात्से छिचोल्दै हिमालय छेडेर नेपालतिर ओर्लिएला भन्ने खाले पो थियो।
हरियो रेल कटेपछि बल्ल खैरा बारीहरूको ख्याल भयो। फूलमाला लगाएका याकहरू नारिन थालेका थिए। जोताई सुरू भएछ। किसानहरूले हलो होइन, फाली भएका मेशिन प्रयोग गर्दै रहेछन्।
‘याक आउने उचाइमा हामी पुगेका छैनौँ,’ मिङ्ग्माले भने, ‘यी त जोप्क्यो हुन्, ठिमाहा।’
खानदानी याक उचाइमा बस्छन्। ठिमाहा जति बेसीमा। बेसीको बाटो गुड्दा गुड्दै थाहै नपाउने गरी हामी उपल्लो भेग टेक्दै थियौँ।
केहीबेरका लागि बजार छि¥यौँ। मास्कले ओठ ढाक्दै जर्किनबाट दूध खन्याइरहेकी एउटी पसले बहिनीको आँखाको स्वागतमा लठ्ठिएर म भित्र पसेँ। हातको पार लाउँदै एक बोहोता दही मागेँ। मिङ्ग्मालाई सोधेँ, ‘ल्हासाको भन्दा दोब्बर भाउ छ, किन होला?’
‘दूधै फरक छ नि त,’ उनले भने । चौँरीको उचाइबाट हामी नाक पाइने भेगतिर पुग्दै थियौँ । चौँरी पनि ठिमाही त हो। याककी जोडी भने नाक।
लततत परेको बाक्लो दहीले लठ्ठ पार्ला जस्तो भएर म बसभित्र फर्किएँ। रामप्रसादलाई सञ्चो छैन कि भनेको उनी त मेरो पछिपछि हिँडिरहेका थिए। बरू अघिसम्म हट्टाकट्टा ज्योति भेडाको उन खाँदिएको बोराझैँ सिटमा बाङ्गो परेर सुत्न थाले।
‘ज्योति दाइ,’ रामप्रसादले बोलाए। निधारमा हात राखेर बसभित्र कोल्टी पर्दै उनी सुतेपछि रामप्रसादले बोल्ने साथी पाएनन्।
ल्हासा उपत्यकाका हिउँ लत्पतिएका डाँडाहरू सकिएपछि नै स्थायी हिउँका चुचुरा सुरू भएका थिए। सात हजार मिटर अग्लो एउटा चुली देखाउँदै मिङ्ग्माले भने, ‘यस्ता शिखरहरूमा हिउँ घट्दै गएको छ।’
‘बाह्रै मास?’
‘हो, दस वर्षजति भयो होला,’ उनले भने।
हिमाल पग्लिँदै गएको भनेर हामीलाई सोच्नमग्न बनाएपछि उनले थपे, ‘हामी त्यही चुचुराको ठिक्क उत्तरपट्टि जाँदैछौँ।’
दक्षिण अफ्रिकीहरू क्यामरा निकाल्दै गए। कतै भेडाका बथान। कतै चौँरीका बगाल। लमतन्न चरन उपत्यकाहरू फैलिँदै गएको शिरानतिर हिउँका भकारीहरू। हरेक दृश्यमा पोष्टकार्डको शक्ति थियो।
नाम्चो राष्ट्रिय पार्क सुरू भयो। मिङ्ग्मा प्रवेश टिकट काट्न गए। हाम्रा विदेशी सहयात्रीहरूले खाइलाग्दा झ्याप्पुले कुकुरहरू देखेछन्, हत्तपत्त तिनलाई छाँद हाल्दै फोटो खिच्न लम्किए। ती साँच्चिकै सुन्दर कुकुर थिए जसका रौँ मुलायम थिए र आँखा मदमस्त।
कुनै सुन्दर वस्तुले मन ह¥यो भन्दैमा हतार गर्न नहुने रहेछ।
कोही न कोही कहीँ न कहीँबाट फुत्त निस्केर कतिबेला पैसा माग्न आइपुग्ने रहेछ। भित्तामा कतै सूचना टाँसिएको देखाउँदै उनीहरूले हाम्रा साथीहरूलाई फोटोपिच्छे पैसा असुल्न खोजे।
लौ छिटो गुडिहालौँ, भञ्ज्याङबाट नाम्चो ताल हेर्नुपर्नेछ भन्दै मिङ्ग्माले हतार गरे ।
बसले उकालो नाप्न थालेपछि मैले अगाडि सिटतिर फेरि आँखा बाएँ। रामप्रसाद टाठिँदै गए, ज्योति झोक्राउँदै। उँधोमुन्टो लाएर बसको सिटमा उङ्न थालेका के थिए निदाइ नै सकेछन् ।
अघिसम्म दुबैजना आपसमा सल्लाह गर्दै थिए, केही गरी लेक लागिहाल्यो भने ओरालो फर्किनुपर्छ, ल्हासा नै पुग्नुपर्छ, कतै ट्याक्सी पाइएला नि। उनीहरूले त्यो सुदूर दुर्गम भेगमा कतै ट्याक्सी भेटिएलान् कि नम्बर लिँदै गर्नू है भनेर मिङ्ग्मालाई अह्राउने गरेका थिए।
बस रोकिएको ठाउँ भञ्ज्याङ थियो। हावा कसरी चलेको थियो भने चेन नलगाएको ज्याकेट उडेर मायालु बताससँगै पताका बन्नसक्थ्यो। मिङ्ग्माले बन्दुकको नालझैँ औँला तेस्र्याए। निकै पर समुद्ररूपी तालको एउटा फेरो फिँज काडिरहेको थियो।
बसभित्र फर्किएपछि ड्राइभरको पछाडि उभिएर मिङ्ग्माले भने, ‘हामी अब ओरालो बाटो केहीबेरमा जुन ताल पुग्दैछौँ, त्यो सुतिरहेको छ।’
‘हजुर?’
‘मसँग नरिसाउनुहोला, मैले पहिल्यै ल्हासामा भनेको थिएँ,’ उनले भने, ‘ताल त बरफै बरफ छ।’
आठ घन्टा लामो यात्रापछि ४ हजार ६ सय मिटर उचाइको किनार पुग्यौँ जुन तालमा जता सानो ढुंगा हानिदिए पनि च¥याकचुरूक गर्दै सिसाझैँ फुट्ने रहेछ । कति शान्त परिवेश भने चराहरूको चिँचिँ पनि होहल्ला बन्दै थियो ।
ठूलो ताल वरपर साना चरा हुँदा रहेनछन्। चरा ठूला हुन् कि तिनको आवाजै ठूलो हो? तिनको पछि लागुँ भनेको यता हाम्रा साथी ज्योति हातखुट्टाको पखेटा लुकाएर ओछ्यानमा पल्टिए। ओढ्नेले नपुगेर ओछ्याउन तताउने स्वीच दबाउन थाले।
रामप्रसाद अक्सिजन बोतल किन्न रिसेप्सनतिर लम्किए। अब हाम्रो कोठामा अक्सिजन बोतल र कोपराहरू प्रमुख आकर्षण बन्न पुगे। म बाहिर निस्केको मात्र के थिएँ माल्कोम बुढाले ठिङ्ग उभिएर भने, ‘लौ सूर्य डुब्नुअघि नै डाँडा चढिहालौँ।’
तालको नदेखिने पश्चिमी कुनामा सूर्य डुब्दै गरेको क्षण कस्तो होला हगि भन्दै उनी ठमठम उकालो लागेको मैले टोलाउँदै हेरेँ।
यता ज्योति बान्ता गर्न कोपरातिर झुक्न थाले। लेकले च्याप्यो। उनी र म अझ कति उचाइमा मच्चिएर रातबिरात हिँडेका थियौँ, अहिले भने उनलाई यत्तिले थच्चाइदियो। पेट फेरि हुँडल्यो र फेरि खाटमुन्तिर कोपरातिर निहुरी परे ।
रामप्रसादले ट्याक्सी मगाउन मिङ्ग्मालाई फोन गर्न लगाए।
उनीहरू ल्हासा फर्किने भए।
अक्सिजन बोतल स्याहार्दै गएका दुई भाइलाई ट्याक्सी बाहिर मिङ्ग्मासँगै उभिएर मैले बाई गरेँ। ‘राम्ररी जानू है।’
म कोठामा फर्किएँ। आधाउधी भरिएको कोपरा उचाल्दै होटल बाहिर कुना पारेर मिल्काइदिएँ।
तीनवटा खाट भएको कोठालाई सिङ्गल बनाउने त भएँ, तर उनीहरूसँगै मेरो रूकस्याक पनि ट्याक्सीमा गएछ। कोठामा केही नछुटोस् भन्ने हड्बड गर्दागर्दै उनीहरूले मलाई नाङ्गै त होइन, बुङ्गै भने पारिदिए।
जे लगाएको थिएँ त्यसैले अब दुई दिन गुजारा गर्नुपर्ने भयो।
मिङ्ग्माको मोबाइलबाट ट्याक्सी ड्राइभरलाई फोन लगाएँ। ज्योतिलाई कान थाप्न भनेँ। ‘कस्तो छ तिमीलाई?’
‘हा, मलाई केही भएकै छैन,’ उनले भने।
मानौँ, अघि मैले फालेको कोपरामा केही थिएन। अघि त्यो ओछ्याउनमा कोही सुतेकै थिएन। अघिसम्म बसको सिटमा कोही झोक्राउँदै आएकै थिएन। लेक त हामीलाई लागेको थियो, उनलाई होइन।
म पनि डाँडातिर उक्लिएँ। माल्कोमको टोली झर्दै रहेछ। ‘अलिकति अबेर भयो,’ उनले भने।
सूर्यले पनि कहिलेकाहीँ बढी हतार गर्छ। कसैलाई पर्खिँदैन।
होटल फर्केपछि शौचालयको दर्शन गरेँ। हाम्रो होटलको एउटै ‘टुईलेट’ खुला आकाशमूनि थियो। फलेकले बेरिएको। अरू कोही आइहाल्ला भन्ने शंका लाग्छ भने खोक्दै बस्न मिल्ने रहेछ।
खानापछि डाइनिङ हल खाली भयो। मिङ्ग्माले भने, ‘निद्रा लागेन भने चिया पिउन आउनू है।’
थर्मसको तातोपानीले होटलबाहिर निस्केर दाँत माझ्ने, कुल्ला गर्ने नित्य सफाई सकिएपछि सबैजना कोठा पस्न थाले। मैले सफा औँलालाई बुरूस बनाएँ र दन्तमन्जनको सान्त्वना लिएँ।
पानी नपिऊँ उचाइले च्याप्न सक्थ्यो, पिऊँ खोक्दै शौचालय जानुपथ्र्यो। निद्रा उसै पनि पर्नेवाला थिएन। मिङ्ग्माले चिया पिइरहेको डाइनिङ हल पस्नासाथ बहिनीहरूले मतिर पनि कप तेस्र्याइदिन्थे। फर्केर कोठाको चुकुल खोल्यो। निद्रादेवीसँग ते क्वान्दो खेल्यो। फेरि हा¥यो।
म थर्मसको पानी गिलासमा खन्याउँदै, शौच गर्न निस्कँदै, दोलाईँभित्र घुस्र्रँदै, बाहिर निस्केर कञ्चन आकाशबारे चञ्चल सुस्केरा कविता सिर्जना गर्दै, आढमा संसारकै दोस्रो ठूलो नूनिलो ताल छ भन्ने हेक्का राख्दै, छिमेकी होटलको कुकुर के खान भुकिरहेको हो भन्ने चिन्तन गर्दै, मनन भने केही पनि गर्न नसक्ने हालतमा फेरि थर्मसको मुख बन्द गर्न बिर्को कस्न थालेँ।
बाक्ली निद्रादेवीसँग मैले ते क्वान्दो हारेको मात्र होइन, पातली निद्रादेवीसँग पनि म पछारिरहेँ। फेरि मिङ्ग्मा खोज्दै गएँ। भान्छे बहिनीहरूले पर्यटकसँग आउने तिब्बती सहयोगीहरूलाई चिया सत्कार गर्ने सानो डाइनिङ हलमा बत्ती बलिरहेको थियो।
‘यहाँका होटलमा यत्ति सुविधा पनि धेरै हो,’ उनले भने, ‘पश्चिमा पर्यटकले एडवेञ्चरको स्वाद लिन्छन्, चिनियाँ पर्यटकहरू त प्रायः बस्न मान्दैनन्।’
‘राति?’
‘हो, ल्हासाबाट आउँछन्, फोटो खिच्छन् र फर्किहाल्छन्,’ उनले भने।
म फेरि खाटमा पल्टेर आँखा झिमिक्क गर्ने प्रयासमा कोठा फर्किएँ। सकिन र डाइनिङ हलतिर गएँ।
‘मिङ्ग्मा,’ मैले ढोकाको पर्दा उघार्दै बोलाएँ।
‘अर्को चिया पिउन आउनोस्,’ उनले भने।
‘हेडलाइट छ?’ मैले सोधेँ।
‘केका लागि?’
‘राति ट्वाइलेट कसरी जाने?’
‘लाइट चाहिँदैन नरेन,’ उनले भने, ‘चन्द्रमा उदाइसकेको छ।’
रात कतिखेर सुरू भयो र कसरी सकियो थाहा नभएकाले म आलस्य महाराज बनेर खाटमै खुट्टा खप्ट्याइरहेको थिएँ। माल्कोम बुढा सबभन्दा पहिला उठेर सूर्योदय हेर्ने पदयात्राको नेतृत्व गर्न होटल प्राङ्गणलाई परेड मैदान गराउन थाले। त्यसपछि सानो आरोहण दल तयार गरी तालछेउको अग्लो डाँडा चढाइको अगुवाइ गर्दै हिँडे।
बाहिरको कल्याङमल्याङ सपना हो कि भनेर आफैँलाई सान्त्वना दिँदै बिहानीपखको तन्द्रालाई पूर्णकालीन निद्रा बनाउँदै थिएँ। त्यो गोरखधन्दा पनि धेरै टिकेन। झस्किएर उठीवरी जुत्ता उनेर उकालो लाग्दा माल्कोमको टोली तल ओर्लिँदै थियो। टोलीको अनुहारमा सूर्योदय देख्न भ्याएको सर्वोच्च सांसारिक सन्तोष झल्काउने गरी घामको पहिलो रेखाले मिर्मिरे छाप हानेको थियो।
‘तपाईँ ढिलो हुनुभयो,’ माल्कोमले भने।
मैले न सूर्यास्त भेट्न सकेँ, न सूर्योदय। खालि सूर्यास्त र सूर्योदयको बेला माल्कोमको स्वःफूर्त स्वजागरणमात्र हेर्न पाएँ। उनी कहिले डाँडा चढिरहेका हुन्छन्, कहिले ओर्लिरहेका हुन्छन्, डाइनिङ रूममा पस्यो सबैलाई केही न केही सोधिरहेका नभए सुनाइरहेका हुन्छन्।
‘तपाईँलाई देखेर त डाहा नै हुने रहेछ,’ मैले भनेँ।
‘मलाई जीवनमा खास केही सुर्ता छैन,’ उनले माकले टोपीमूनि आँखीभौँ शान्त पार्दै भने, ‘नातिका बारेमा भने बेलाबेला सोच्ने गर्छु।’
‘नातिका बारेमा?’
‘उसलाई एकप्रकारको मानसिक पक्षाघात छ।’
त्यसो भन्दा उनको स्वर अलिकति खस्रो भएजस्तो मैले महसूस गरेँ। मैले कान टाठा पारेँ र आदरपूर्वक आँखा उनैतिर टाँसिरहेँ। ‘मेरो छोरो कति समर्पित छ भने ऊ अहिले दक्षिण अफ्रिकाभरकै त्यसखाले बाल बिरामीहरूलाई सहयोग गर्ने संगठन खोलेर त्यसको नेतृत्व गर्दैछ,’ उनले भने ।
‘असल बाबु रहेछन्।’
‘म मेरो छोरामाथि गर्व गर्छु, नारायन’ उनले भने ।
छोराप्रति बाबुको गर्वभावको अनुहार देखेँ। ब्रेकफास्टपछि हामी उनकै अगुवाइमा ताल छुन हिँड्यौँ।
दक्षिणमा हिउँले ढाकेका श्रृङ्खला, माझमा बरफे ताल र अगाडि गलैँचा बोकेर उभिरहेका झ्यापुल्ले याकहरू।
हामीले क्यामरा निकालेनौँ मात्र, नचाउनै थाल्यौँ। तर कुरा उही त हो। धेरै सुन्दर वस्तु देख्नासाथ हतार गर्न नहुने रहेछ । कोही न कोही कहीँ न कहीँबाट फुत्त पैसा माग्न आइपुग्ने रहेछ। एउटा याकको फोटो खिचेको यति पैसा भन्ने सूचना कतै सानो अक्षरमा टाँसिएको हुनेरहेछ।
‘मैले एउटा क्लिकमात्र गरेकी हुँ, त्यो पनि पैसा लाग्छ भन्ने थाहा पाएकी भए खिच्ने थिइनँ,’ हाम्रो टोलीकी एक सदस्यले भनिन्।
ती रैथानले किन छाड्थे?
मिङ्ग्माले धेरै ठाउँ त्यसरी मध्यस्थता गरिदिनुपर्ने भयो। पछि भने, ‘हेर्नोस्न कति चाउरिएका छन् याक। खुवाउनु पिलाउनु छैन, पैसा उठाउन दिनभरि ल्याएर तालछेउ बाँधिदिन्छन्।’
हामी तालछेउ चट्टाने पहाड परिक्रमापछि होटल फर्कियौँ। मैले मिङ्ग्मालाई सोधेँ, ‘मलाई एउटा खसखस लागिरहेको छ।’
‘के कुरा ?’
‘यी तन्नेरी लामाको फोटो जहीँतहीँ देखिन्छ।’
‘कर्मा पा?’
‘हो, पहिला त यस्तो थिएन,’ मैले भनेँ।
किशोर उमेरमै तिब्बतको गुम्बा छाडेर नेपालको बाटो भारत बस्न गएका यी सत्रौँ कर्मा पाले अन्तर्राष्ट्रिय ख्याति कमाउँदैछन्। पश्चिमा विश्वविद्यालयहरूमा प्रवचन दिन जाने गर्छन्। तिब्बतमै कसरी लोकप्रिय भए?
‘तिब्बती युवाहरू यिनका भाषण इन्टरनेटमा हेर्छन्,’ उनले भने, ‘मन्त्रमुग्ध हुन्छन्।’
अर्को एक ठाउँ मैले त्यस्तै अर्का लामाको फोटो स्नेहसाथ राखेको देखेँ। ल्हासादेखि एक घन्टा मोटर टाढा पहाडी भित्तामा ड्राक यर्पा गुम्बा। स्रङछङ गम्पोले बनाउन लगाएको भनिने गुम्बामा ‘सांस्कृतिक क्रान्ति’का बेला नास हुनबाट बचेका सम्पदाहरू जतनसाथ राखेका छन्।
‘रेडआर्मीले उधुम मच्चाउनुअघि स्थानीयवासीले केही बुद्धमूर्तिहरू लुकाउन भ्याएछन्,’ उनले भने। कति गुम्बा र स्तुपामा त त्यो उपद्रवका छापहरू अझै देख्न सकिने रहेछ। त्यहीँको एउटा गुम्बाभित्रको सानो अँध्यारो गुफामा दसौँ पञ्चेन लामाको तस्वीरबारे मैले सोधेँ। ती लामा चिनियाँ जेलमा दस वर्ष बन्दी बनेका थिए। अहिले त एघारौँ पञ्चेन लामा छन् जो प्रायः बेइजिङ बस्छन् र पूजापाठका बेला सिगात्से आउँछन्।
मिङ्ग्माले पश्चिम पहाडको भिरालो चरन भूमितिर औँलाको टुप्पो तेस्र्याउँदै सोधे, ‘ऊ त्यहाँ पर देख्नुभयो?’
मैले मेसो पाइनँ। ‘पर्खालले घेरेर राखेको छ नि, त्यो चौँरी चरन हो,’ उनले भने ।
‘ए, हो त हगि?’
‘यो गुम्बाको गुठीजग्गा हो, गुम्बाका चौँरीहरूको चरन।’
‘अनि यता ओरालामा बाख्राझैँ को बुर्कुसी मार्दै झरिरहेको हो?’ मैले दक्षिणपट्टिको भिरालो पाखामा लड्दैपड्दै तल गुडुल्किरहेको आकृति देखाएँ। बाठो बाख्रोझैँ कान्ला कान्ला हाम्फालेका व्यक्ति चिनेर मिङ्ग्मा हाँसे।
मोडहरूको लामो बाटो बसमा घुम्दै जानुभन्दा स्वाटसुट्टै किन नझर्ने भन्ने दुस्साहसी अर्को को हुन्थ्यो होला र? सायद अस्ति मलाई नाम्चो तालमा केही भएको थिएन भन्ने भान पनि उनलाई पार्नु थियो।
बसमा खुट्टा राख्नुअघि माल्कोमले साथीहरूलाई तल भिरमा विभिण्डिरहेको व्यक्तितिर देखाए, ‘यी ज्योति यस्तै हुन्।’
ल्हासा होटल फर्किएपछि रामप्रसादले मलाई फेरि सोधे, ‘मसाज गर्न चाहनुहुन्थ्यो कि?’
‘तपाईँ गर्नोस् न,’ मैले भनेँ।
‘खै कता जाने होला? जिउ करकर खाइरहेको छ,’ उनले भने।
‘हाम्रै होटलमा छ नि,’ मैले उनलाई उकासेँ।
‘गर्नु राम्रो होला?’
‘धेरै राम्रो हुन्छ, रक्तप्रवाह ठीक हुन्छ, मांसपेशीहरू तन्दुरुस्त हुन्छन्,’ मैले भनेँ, ‘तपाईँ गराउनोस्।’
होटल कोठामै सिसे फ्रेमभित्र मसाजको सूचना थियो, फोन नम्बरसहित। हामी बसेको होटलको सडकपट्टि नयाँ भवनको उपल्लो तलामा मसाज पार्लर सचित्र विज्ञापनसहित स्वागतभावसाथ शान्त थियो।
ज्योति यस्ता कुरा सुन्यानसुन्यै गर्न किताब झिकेर पढिहाल्थे। उनी हरेक यात्राअघि काठमाडौंमा नेपाली किताबहरू किन्ने गर्छन्, मानौँ यात्राहरूमा मात्र पढ्न भ्याइन्छ।
रामप्रसाद गए। केहीबेरपछि ज्योतिले मलाई भने, ‘तिमी पनि जाऊ न।’
‘मलाई मन छैन।’
‘रामप्रसादको खल्तीमा चाबी छ,’ उनले भने, ‘ल्याइदिन्छौ कि? मलाई कोठा जानुप¥यो।’
‘तिमी आफैँ जाऊ न,’ मैले भनेँ।
‘मसाज गर्न मैले पठा हो र?’
म रामप्रसाद उक्लिएको भ¥याङ हुँदै सबभन्दा माथिल्लो तला ढप्ढप्क्याउन पुगेँ। हेलो, हेलो, कता हो?
सुनसानै त होइन तर खालि–खालि एउटा हलको ढोकाबाहिर पुगेँ। रामप्रसाद कुनातिर अल्मलिँदै उभिएका रहेछन्। ‘खोइ यहाँ त कोही पनि छैन,’ उनले भने।
‘एक्सक्युज मी,’ उनले र मैले एकसाथ हल्ला गर्न थाल्यौँ, एक्सक्युज अस् पो भन्नुपर्ने गरी। चालचुल कोही नदेखिरहेको बेला मैले रिमरिम उज्यालो हलभित्र कुनामा एकजना तन्नेरीले पर्लक्क परेला पल्टाउँदै बिस्तारै हामीतिर फर्किएको चाल पाएँ। मैले रामप्रसादलाई तानेर बाहिर झारेँ।
‘तिनले सायद कान पनि सुन्दैनन्,’ मैले भनेँ।
‘त्यसो होला र?’
‘आँखामात्र नदेख्ने होइनन्।’
नेत्रहीन मसाज केन्द्रको भव्य बोर्ड झुण्डिएको बाटो हुँदै हामी लबीमा फर्कियौँ।
(क्रमश:)...
तस्बिर: नारायण वाग्ले