पीपलबोट डटकम : सेभेन डेज इन टिबेट ५

ल्हासाका खासखुस

उसको कपाल कालो थियो, मुहार गोरो। भूमध्यरेखाको आसपासका अनुहारहरू त्यहीकारण घत्पर्छन्। एशियाली पनि होइनन्, युरोपेली पनि होइनन्। दोसाँधका। त्यस्तै दोसाँधको अनुहारकी त्यो केटी एक्लै थिई। ब्रेडमा जाम दल्न ऊ कति तल्लीन थिई भने उसको अगाडि म बसेको पनि बरू भित्तामा टाँसिएका सोचमग्न लामाले ख्याल गर्न सक्थे।

cover-story

नारायण वाग्ले

@narayanwagle

पर्यटक होटलहरू प्रायः पाहुना पर्खिरहेका हुन्छन्। नभए विदाइ गरिरहेका हुनसक्छन्। कहिलेकाहीँ लाग्छ यी पाटीपौवा हुन्। कोही निस्किरहेको हुन्छ, कोही पसिरहेको।

हरदम हतार। एउटा समाचारको शीर्षक जति पनि स्थीर हुँदैनन यहाँ बस्न आउनेहरू। लबीको काउच नभेटे कुर्चीमा जीऊ अलक्क अड्याएर टेबलभरि नक्शा फिँजाउँदैछन् भने भर्खर आएका हुन्।

पासपोर्ट बुझाउनेवित्तिकै वाइफाइ पासवर्ड दिइहाले भने लबीमै उभीउभी गुगल म्याप जूम गरेर फोटो क्लिक ग¥यो, बस् जाने जहाँ हो हिँडे भयो। गाडीमा गए यति बेर, साइकल चलाए यति पर, पैदल चले ऊ त्यहीँ अगाडिबाट वायाँ लम्क भन्ने खाले सूचना पनि साथमै आउँछ।

हातमा किनमेलका पोका झुण्ड्याउँदै हिँडेका छन् भने विदाइका झोला कस्दैछन् भन्ने बुझे हुन्छ। मलाई त यस्ता होटलका लबीले दोबाटोमा बसेर बटुवा नियाल्ने व्यसनी बढ्लाजस्तो हुन्छ।

पर्यटक होटलका ब्रेकफाष्ट रेष्टुरेन्ट भने मलाई निकै प्रिय लाग्छन्। यस्ता रेष्टुरेन्टले राष्ट्रसंघीय महासभाको झलक दिन्छन्। हामी बसेको होटल प्रायः विदेशी राखिने भएकाले चिनीयाहरू मात्र नदेखिने रहेछन्।

‘टाशी डेलेक’ अभिवादन गर्दै म पनि भिटो पावर लिएरै पसेँ– कोठाको नम्बरसहितको कुपन बुझाएर।

लामाहरूका ठूल्ठूला तस्वीर टाँसिएको रेष्टुरेन्टमा पश्चिमाहरूकै हालिमुहाली थियो। ऊवाको सातू हातले मल्दै डल्लो पारेर मुक्याउँदै नूनिलो चिया बुक्याइरहेको एउटा तिब्बती युवकमात्र त्यहाँ वरपर थियो जो कसैको गाइड हुनुपथ्र्यो।

यस्ता ब्रेकफाष्ट रेष्टुरेन्ट मलाई चाख लाग्ने कारण खानाको विविधताले मात्र होइन। तपाईँसँग कुम ठोक्किन आउने जो कोही पृथ्वीको जुन कुनै कुनाको हुनसक्छ। तपाईँले नामै नसुनेको देश वा खानाको स्वाद बेग्लै पाराले लिने समाजको व्यक्ति तपाईँको टेबलमा खै खै भन्दै बस्न आउनसक्छ।

पर्यटक होटलहरू संसारका विभिन्न पहिचानका संगम नै हुन्। अनुहारको विविधतासँगै भेषभूषा र भाषासँगै भावभंगिमा र हाउभाऊ।

एकाबिहानै पूजाको थाली लिएर मन्दिर हिँड्ने भक्तालुझैँ भोको पेट भर्न भरि प्लेट लिएर म एउटा गोलो टेबलतिर लम्किएँ।

सीधा अगाडि एउटी नवयौवना देखेँ जो आफ्नो कुनै नवजात कल्पनासँग लहडिन चूप बसिरहेकी थिई। मैले त्यही टेबल ताक्नुको कारण सायद उही हुनुपथ्र्यो। उसकै छेऊमा एउटा कुर्ची खाली थियो।

उसको कपाल कालो थियो, मुहार गोरो। भूमध्यरेखाको आसपासका अनुहारहरू त्यहीकारण घत्पर्छन्। एशियाली पनि होइनन्, युरोपेली पनि होइनन्। दोसाँधका। त्यस्तै दोसाँधको अनुहारकी त्यो केटी एक्लै थिई। ब्रेडमा जाम दल्न ऊ कति तल्लीन थिई भने उसको अगाडि म बसेको पनि बरू भित्तामा टाँसिएका सोचमग्न लामाले ख्याल गर्न सक्थे।

टर्की वा ग्रीसतिरकी होला भन्ठानेको थिएँ। उसको अनुहारमा आँखा गाड्ने लोभ त्याग्न सकिन। धेरै आकर्षक अनुहारले मै हुँ भन्नेहरूलाई पनि बेसोमती बनाइदिन्छन्। बेसोमती नै सही, मैले उसलाई हेरेँ। क्वारक्वारती होइन तर घरिघरि आँखा छड्के पारेँ।

कुन उमेर र कुन अदवकी हो भन्ने विस्तारै यकीन गरेँ, ऊ बढीमा चौबीस–पच्चीस वर्षकी हो। अब त भन्न सक्ने भइसकेको थिएँ, ‘तिमी पक्कै सिरियाली हौ।’

हो, रहिछ। सिरियाली केटी एक्लै ‘अल चाइना टूर’मा।

विश्व समाचारको शीर्षक बन्ने देशकी भए पनि हाल ऊ त्यहाँकी बासिन्दा होइन भन्ने थाहा पाउन दिमागका तार खासै तन्काउनुपर्थेन। तर सिरियामा जारी संहारको वेचैनी उसको अनुहारमा पढ्ने ल्याकत भने मैले आर्जन गरेको थिइन। अरूप्रति टिठ जनाउन वा दया देखाउन जति सजिलो छ, आँत बुझ्न र अरूका मनोभाव आत्मसात गर्न त्यत्तिनै कठिन।

‘कति दिन भयो ?’

‘बेइजिङदेखि हिँडेको डेढ महिना भयो,’

‘ओहो,’

‘बेइजिङ चाहिँ कस्तो लाग्यो ?’

‘ग्रेटवाल भएरमात्र बेइजिङ जाने हो,’ उसले भनी, ‘नत्र के हेर्न जाने ?’

‘किन र ?’

‘आकाश नै देखिँदैन।’

हो त, आजकल पर्यटकहरू संसारका त्यस्ता ठाउँ रूचाउँछन् जहाँ धर्तीले ऐना हेर्न पाउने होस्। प्रदूषणले ढपक्क आकाश ढाक्ने सहरहरू आफैँमा विरामी देखिन्छन्। मास्क लाउँदै मन्दिरको फोटो खिच्दा बरू आफ्नो पिण्ड छुट्ला, पुण्य भने के कमाइएला र ?

धन्य, ल्हासाको आकाश कति छ्याङ्ङ छ भने, हुन्छ नि, जस्तो दशैँतिर नेपालमा दशैँ चरो उडेको देखिने निर्मल आकाश। तर नेपाली आकाश पनि अब त कहाँ कञ्चन रह्यो र ? दशैँ आओस् कि तिहार। ठूला एकादशी सकौँ कि छठ पूजा गरौँ आकाश खुल्ने होइन। हाम्रो आकाश त आजकल कुनै ल्होसारसम्म पनि खुलाउन सकिँदैन।

आकाश हेर्न अन्तरिक्षमै पुग्नुपर्ला जस्तो भइसकेको हाम्रो भूगोलको यो फेरोले भने सिरियाली केटीलाई सान्त्वना दिएको थियो। उसले बाक्लो चुल्ठो बाटेकी थिई। ज्याकेट र पाइन्ट पहिरेकी उसको हुर्कौलो ज्यानमा जति जाम दलेको ब्रेड भरे पनि क्यालोरी पुग्ने थिएन। ऊ लामो र वृहद् चिनीया यात्रामा थिई।

ऊसँग बात मारिरहेका दुईजना केटामध्ये एउटाले सोध्यो, ‘ल भन त हामी कहाँको होउँला ?’

‘तिमीहरूको इरान अनुहार छ,’ उसले फ्याट्ट भनिदिई।

उनीहरू हाँसे।

ती ‘इरान अनुहार’ पनि अमेरिकाबासी हुन् भन्ने लबज पहिल्याउन म सक्थेँ। हो, आजको दिनमा को कुन देशको नागरिक भन्ने प्रश्न डोनाल्ड ट्रम्पहरूले मात्र बढी केरकार गर्ने होलान्। नत्र त कसको कस्तो अनुहारमात्र सायद यस्ता ठाउँ सवाल गरिने रहेछन्।

‘सिरियाली अनुहार’ कति सुकोमल ताल गर्दै उठेर गइछ मैले पत्तो पाइन। इरान अनुहारहरू पनि हटे।

उनीहरू गएपछि मैले सोचेँ, नागरिकता लिन भ्याएका छैनन् भने त अमेरिका फर्किन यिनीहरूलाई रोक लागिसकेको छ।

चियाको बाफझैँ टेबलबाट उडेर जाने अपरिचितहरू एकै ठाउँ भेटिने भएकाले पर्यटक होटलका ब्रेकफाष्ट टेबलमा खासै कोही कसैको झ्याउलो हुँदैन। कोही उठेर गइसकेपछि भने उसको भूगोलबारेको राजनीतिको चस्का लाग्ने रहेछ।

मैले खानाका परिकारहरूतिर लोभी आँखा फेरि डुलाएँ। ‘सम्पा’ मुठ्याउन दूधको थर्मस खोज्दै थिएँ ज्योति र रामप्रसाद आइपुगे। ढिलो आउने तर हतार गरिहाल्ने ज्योतिको स्वभाव बुझेर म केही बेरमा बाहिर निस्किएँ।

लबीमा मिङ्ग्मा उभिरहेका थिए। यी गजवका गाइड हुन् ब्रेकफाष्ट पनि घरबाटै खाएर आउँछन्, रातिको खानाका लागि पनि घरै फर्किन्छन्। ड्रिंकसि«ंकको कुनै लत् छैन।

‘नरेन,’ उनले मलाई तान्दै भने, ‘तपाईँलाई थाहा छ तिब्बतमा नेपालीलाई शेर्पा भन्छन् ?’

होला त, नेपालीहरू तिब्बतमा विदेशीलाई सघाउन आउँछन्। तिब्बततिरका हिमाल चढ्न सक्कली शेर्पाकै सहयोग चाहियो, गाइड गर्न, भान्छे बन्न हामीले थालेकै धेरै भयो। तिब्बतीले भन्दा पहिला।

संसारका धनि राष्ट्रहरूको समूह ‘जी ट्वान्टी’ले समेत सहयोगी टोलीको नाम शेर्पा राखेको छ। मैले एकपल्ट सिंगापुरमा जी ट्वान्टीकी एकजना ‘शेर्पा’को साक्षात्कारमा भाग लिँदा सोधेको थिएँ, ‘तपाईँहरूले यो नाम कसरी राख्नुभयो, म्याडम ?’

अष्ट्रेलियाको विदेश मन्त्रालयकी ती उच्च अधिकारी अकमकिइन्। मैले भनेँ, ‘शेर्पाहरू बस्ने देशबाट आएको हुनाले मैले सोधेको हुँ। हजुर, म नेपालबाट हो।’

उनले मुसुक्क हाँस्दै भनिन्, ‘शेर्पा भन्नासाथ जे सन्देश जान्छ नि त्यही भावअनुसार शीर्ष नेतृत्वलाई सघाउने टोलीको नाम राखिएको हो।’

शेर्पा भनेको सहयोगी ? शीर्षस्थ नेतृत्व चाहिँ शेर्पा होइन। उसलाई काँध हाल्ने चाहिँ शेर्पा। म नरेन शेर्पा बनेर हाम्रा गाइड मिङ्ग्मार कर्मासँग उभिएँ। उनको चुच्चे क्यापले मेरो नाक घोचोस् बरू, हामी हाँस्दै केही बेर रेल्ला गरिरह्यौँ।

ल्हासाको आकाश अघि सिरियाली केटीले खोजेझैँ निख्खर देखियो।

‘मलाई अचम्म लागेको एउटा कुरा छ, मिङ्ग्मा,’ मैले भनेँ, ‘तिब्बती केटीहरू जतिखेर पनि मास्क लगाइरहेका हुन्छन्, केटाहरूको ओठमा चुरोट छुटेकै हुँदैन।’

‘गुड अब्जर्भेसन,’ उनले भने।

‘गुडसुड होइन, किन होला जवाफ दिनोस्न,’

‘यहाँको हावा सुख्खा छ नि त,’ उनले भने, ‘गाला र ओठ जोगाउनुपर्छ। हाम्रा दिदीबहिनी सचेत छन्।’

दिदीबहिनीहरूलाई थप सचेत पार्ने ब्युटी पार्लरहरू पनि बढेका रहेछन्। कति तिब्बती युवती त पूरै पश्चिमा केटीको कपाल बनाएर उस्तै चालमा हिँड्न खोजेको पनि देखिएन भने आफूले हेर्न जानिएन।

मिङ्ग्मा हामीलाई दिनभरि तीर्थ गराउँदै थिए। अब दर्शन गर्न थाल्ने भनेकै जोखाङ गुम्बा। नेपाल, चीन र तिब्बतको साझा प्रतीक। नेपालबाट कति बुद्धमूर्तिहरू, वास्तुकला, सीप, श्रम नेपाली राजकुमारीसँगै ल्याएर बनाउन सघाएको।

तिब्बतमा राजा स्रङछङ गम्पोको ठूलो नाम छ। उनले राज्य एकीकरण गरे। नजीकका दुबै छिमेकी राजधानी काठमाडौं र बेइजिङसँग मायाको हात बढाए। राजकुमारीहरूलाई डोलीमा चढाए। नेपाली राजकुमारी क्या त भृकुटी।

दुवै विदेशी बौद्धमार्गी श्रीमतीले राजालाई राजकीय धर्म बनाउन प्रेरित गरे। दुबैले ल्याएका बुद्ध मूर्तिसहितका सामाग्रीहरू सजाएर राखेका छन्। चिनीया श्रीमतीको नाममा भव्य ओपेरा चलिरहेको छ जसको विज्ञापन नै सहरको प्रमुख आकर्षण रहेछ– प्रिन्सेस वेञ्छेङ। ल्हासामा चिनीया पर्यटकका लागि एउटा थप आकर्षण।

स्रङछङ गम्पोका मूर्तिहरू जति ठाउँ छन् प्रायः उनका दुईतिर दुबै रानीहरू छन्। बुद्धधर्म ल्याएकाले तिनको निकै श्रद्धा छ। आयशक्ति बढेर नेपालीहरू पर्यटक बन्दै ल्हासा उत्रिन थाले भने भृकुटीको नाममा पनि त ओपेरा चल्ला नि कुनै दिन।

राजा गम्पोका सन्तान भने तिब्बती श्रीमतीको कोखबाट मात्र भयो। तर विस्तारै राजतन्त्र सकियो, लामाहरूको शासन आयो। दलाई लामाले धार्मिक सँगसँगै राजनीतिक नेतृत्व गर्न थाले। चौधौँ दलाई लामा विस्थापित भएपछि चिनीया कम्युनिष्ट पार्टी।

पोताला दरवारअगाडि हामीलाई उभ्याएर मिङ्माले भने, ‘अहिले यो त संग्रहालय हो। जो बस्ने हुन् उनै छैनन्। आत्मा नै छैन।’

दलाई मंगोलियाली शब्द हो। ज्ञानको सागर। लामा भनेको गुरू। ज्ञानसागर सरी लामा।

छैठौँ दलाई लामादेखि बस्न थालेको दरवार। धार्मिक, राजकीय र प्रशासनिक केन्द्रका प्रतीक रंगहरू रातो, सेतो र पहेँलो खण्ड–खण्ड पोतिएको भव्यतम संरचना।

तल सीधा दक्षिणतिर विशाल परेड मैदान। चिनीया झण्डाहरू। ठूलो होर्डिङबोर्डमा राष्ट्रपति सी चिनफिङको गम्भीर मुद्रा। प्रशासकिय मुकामहरू। फराकिला सडक। पर्यटकको लर्को। चिनीया नै चिनीया। रेल आएपछि त आन्तरिक पर्यटनको आफैँ प्रवर्धन।

‘सेभेन इयर्स इन तिब्बत हेर्नुभएको छ भने दलाई लामा ऊ त्यहाँबाट यता फर्केर हेर्थे,’ मिङ्ग्माले पहेँलो तलाको माथिल्लो झ्यालतिर औँला उचाल्दै भने। तलाहरू चढाए। कोठाहरू घुमाए। ‘ए नरेन,’ उनले मलाई ताके, ‘लामाहरूको आदरका खातिर टोपी खोल्नोस् है।’

‘यी यो ठाउँमा सेभेन इयर्स इन तिब्बतका लेखकले दलाई लामालाई भेट्ने गर्थे।’

अघिल्ला दलाईहरूका कक्ष हेर्दै गयौँ। बाँकी दलाई लामा सबैलाई राखिएको छ, उनीहरूकै निजी कक्षमा। ‘छैठौँ दलाई लामा भने छैनन्,’ उनले भने।

छैठौँ दलाई बेग्लै खालका थिए रे। लामाको अनुशासनमा नबस्ने। ‘गर्लफ्रेन्ड भेट्न तल डाउनटाउन गइरहन्थे, ड्रिंक गर्थे,’ उनले भने, ‘उनका कविताहरू भने तिब्बती बच्चाहरूमाझ आज पनि लोकप्रिय छन्।’

‘विद्रोही कवि रहेछन् त,’

‘उनको शव किन राखिएको छैन भने उनी बितेको कुनै प्रमाण छैन। १७ वर्षको उमेरमा दलाई लामा बने। छिप्पिइसकेका हुनाले पोतालाभित्रको परहेजमा बस्न सकेनन्। एकदिन हराए। २५ वर्षको उमेरमै हराएको हरायै भए। उनको नयाँ अवतार छान्न भने उनले लेखेका कुनै संकेतबाट सजिलो भयो।’

सहरतिर झ¥यौँ। चौँरीको दूधका परिकारहरू। दिउँसोको चरक्क घाममा सजाइएका दही भरिभराऊ बाँसका कपहरू। लौ, अलिकति सम्पा घोलिदिनोस्।

पुराना बजारमा हस्तकलाका सामानको लर्को छ। प्रायः ‘मेड इन नेपाल’ हुन् है भनेर हाम्रो समूहका विदेशीहरू आपसमा कुराकानी गर्दैछन्। बुद्धका चाहे कुनै पनि अवतारका प्रतिमा होउन्। अरनिकोले तिब्बत र चीन आएर मन्दिर बनाए, मूर्तिहरू अझै पनि हाम्रा कालिगढहरूले पठाइरहेछन्। विश्व बजार ‘मेड इन चाइना’ले रजाईँ गरेको छ, ल्हासाका पर्यटकीय पसलहरूले कम्तीमा नेपाली आँखालाई सान्त्वना दिइरहेछन्।

कफीघरमा जसरी कफीको वासना हुन्छ, गुम्बामा त्यसैगरी घिऊको। जुन घुम्यो उही कोठा, बार्दली, बुद्ध मूर्तिमा बत्तीहरू अहोरात्र बलिरहेका हुन्छन् जसमा घिऊ भर्न खटिएका भिक्षुहरूले ठूल्ठूला भाँडा खन्याउँछन्। मिङ्ग्माले भने, ‘चौँरीको घिऊले कहाँ पुग्छ र ? यी त प्रायः नेपालबाट आउने वनस्पति घिऊ हुन् है।’

अँ, घिऊ चिया, नून हालेको चिया। ज्योतिले भने, ‘हामीलाई तिब्बती चिया पिउने पुरानो ठाउँतिर लैजानोस् न मिङ्ग्मा। हामी त गोरा होइनौँ नि।’

हामी तीन शेर्पा आफ्ना गाइडको पछि लाग्दै यस्तो ठाउँ पुग्यौँ जुन चानचुन सय वर्ष पुरानो चियापसल रहेछ। दोहोरीलत्त काठे मेचहरू राखिएको फराकिलो चियापसल तर कति भीड छ भने पाइला पसाउने ठाउँ छैन। एउटा कुना के फेला परेको थियो नून हालेको घिऊ चियाको कित्लीको टुटी सोझ्याउँदै ल्याउलान् भनेको थर्मस आइपुग्यो।

त्यहीँ चिया पियो, त्यहीँ पैसा छाडिदियो। तासको बोट राखिदिएझैँ। उनीहरूले आएर टिप्ने रहेछन्। एक युयान। अर्थात् रूपैया कप चिया। सहुलियको चियापसल।

‘बिहानदेखि रातिसम्म खाली हुँदैन, सस्तो छ र ल्हासाका सर्वसाधारणको ह्याङ्गआउट गर्ने ठाउँ यही हो,’ उनले भने। प्रेमिप्रेमिका भेट्ने होस् कि साथीभाइ। सहरको बैठक यहीँ चल्छ भनिदिए पनि हुने रहेछ। खुसखुसाउनेदेखि ठुस्किनेहरूसम्म स्याउँस्याउँती खासखुस गरिरहँदा रहेछन्।

नूनिलो चिया भेट। चियाको सुरूप्प बजेको छैन भने कानेखुशीभन्दा अलि चर्को स्वरमा सबैजना बोलिरहेको सुनिन्छ।

अरू सबै बोलिरहेका छन् भने हामी किन चूप ? मिङ्ग्मालाई मैले कोट्याएँ। उनी तिब्बतका मधेसी रहेछन्। रोङ्वा। ‘तलको मान्छे’। तल्लो भेगबाट आएका। होचो भूमिबासी। ‘अनुहारले नै चिनिन्छ,’ उनले भने, ‘टाढाबाट हेर्दा तपाईँहरू सबै तिब्बतीलाई उस्तै देख्नुहुन्छ होला, खुट्याउँदै गएपछि फरक छुट्याउन सकिन्छ। रोङ्वा, खाम, शेर्पासहित चार प्रमुख समुदाय छौँ।’

दक्षिण भएकाले उनको गाउँ हरियाली भेग पर्छ। २ हजार ९ समय मिटर अग्लाइमा ठूला रूख त हुने होइनन् तर बुट बुट्यानहरूले हराभरा छ। सिँचाइ खोलाबाटै हुन्छ।

‘ठ्याक्क भूटानको सीमातिर भनेर सम्झनोस्,’ उनले अथ्र्याए, ‘हाम्रो गाउँबाट भूटानी सीमा पुग्न घोडामा एक दिन लाग्छ। म जोङ्खा भाषा बुझ्छु।’

(हालसालैको तनावका कारण चर्चित भएको चीन, भूटान र भारतको त्रिदेशीय सीमा क्षेत्र दोक्लाम भेग भनौँ न।)

‘त्यसो भए ल्हासाको ठीक दक्षिण ?’

‘यहाँबाट गाडीमा दुई दिन,’ उनले भने, ‘हाम्रो गाउँ भने अब रहने छैन।’

चिया आयो। थपौँ थपौँ। उनले यूयानको नोठ निकालेर राखिदिए। सुरूप्प पारे।

‘के अब तपाईँहरूको गाउँ रहने छैन ?’ मैले सोधेँ।

यार्सागुम्बासहितको जडिबुटी औषधी आयोजना आउने भएछ। त्यसका लागि गाउँ नै अधिग्रहण गर्नुपर्ने भयो। बस्ती उठाउने सूरसार चल्दै गरेको बेला उनी हामीलाई डुलाउन ल्हासा आएका छन्।

तिब्बतमा त त्यो नियमित जस्तै सरकारी निर्णय हो। एक हजार जनसंख्यालाई नजीकको सहरमा अपार्टमेन्ट दिइँदै रहेछ। उनले पनि एउटा फ्ल्याट पाउँदैछन्।

‘गाउँदेखि कति नजीक ?’

‘एक दिनको मोटर बाटो,’

‘गाउँलेहरूले मानेका छन् त ?’

‘सुबिधाहरू दिएको छ,’ उनले भने, ‘बूढापाकाले मात्र न्याउरो मुख लाएका छन्।’

‘किन नि ?’

‘गुम्बा यहीँ छ, पूर्खाहरूको थलो यही हो, प्राण यहीँ जाओस् भन्छन्।’

‘तपाईँको परिवार नि ?’

‘बुवाआमा हुनुहुन्छ, श्रीमती र तीन वर्षिया छोरी छन्,’ उनले भने, ‘अब सहर सरेपछि छोरीलाई किन्डरगार्टेनमा राख्छु।’

‘एक सन्तान ?’

‘ठूलो छोरो चीनमा हाइस्कूल पढ्दैछ, छात्रवृत्ति जितेर गयो। बेलाबेला भेट्न जान्छु।’

हामीले उनलाई हे¥यौँ। उनले भने, ‘छोरो वर्षमा एकपल्ट घर आउँछ।’ उनी आफैँ गाउँमा बस्ने भनेकै अफ सिजनमा रहेछ। पर्यटक सिजनमा ल्हासा आउनुप¥यो र पर्यटकसँगै डुल्नुप¥यो।

हामीलाई विदा गरेपछि उनी रूसी समूह लिएर कैलाश पर्वत जानेछन्, त्यसपछि जर्मन समूह लिएर मोटर साइकल टूरमा सगरमाथा आधार शिविर। ‘यो वर्ष दस वटा समूह चलाउँछु,’ उनले भने। हरेक समूहसँग कम्तीमा एक साता रहन्छन्।

‘ल्हासामा डेरा गर्नुहुन्छ ?’

‘बहिनीको घर छ,’ उनले भने, ‘उनको परिवारसँग बस्छु। साइकलमा गुड्छु।’

‘तपाईँको अंग्रेजी गजव छ,’ मैले सोधेँ, ‘कसरी सिक्नुभयो ?’

घोडा चढेर चौँरी चराउन जान थाल्ने उमेरमै उनको गाउँ नजीकको सानो सहरमा होलिडे इन् होटल खुलेछ। उनले बेल व्वईका रूपमा काम थाले। होटलका अमेरिकी प्रबन्धकले वेटर, बेल व्वईहरूलाई राति डेढ दुई घन्टाका दरले अंग्रेजी पढाउन थाले।

एनले दुई वर्ष त्यसरी पढेछन्। भने, ‘त्यसपछि ल्हासामा पर्यटक गाइडको लाइसेन्स लिन निवेदन दिएँ।’

दस वर्षदेखि त उनी गाइड बन्दै डुलिरहेका छन्।

‘एउटा कुरा भनुँ ?’

‘के कुरा ?’

‘मैले बीबीसीमा पनि काम गरेको छु नि,’ उनले मन्द मुस्कान लुकाउँदै भने।

‘ल्हासाबाट ?’

‘लण्डन पनि बसेँ,’ उनले भने, ‘तिब्बतको धेरै सम्झना आयो, फर्किएँ। म रत्तिनै सकिन।’

‘हगि ?’

‘यहाँ फर्केर पनि बीबीसीमा काम गरिरहनु निको लागेन। उनीहरूको उद्देश्य सके मबाट तिब्बतको धेरै काम लिने थियो कि ? मलाई त्यस्तै लाग्यो।’

‘कस्ता काम ?’

‘महिनौँ उनीहरूको पछि लाग्नुपर्ने।’

‘महिनौँ ?’

‘तिब्बतबाट हिमालय पार गरेर तपाईँहरूको भेगतिर झर्ने चराका बारेमा डकुमेन्ट्री हेर्नुभएको छ भने त्यसमा मैले काम गरेको छु। ती चराहरू एकरात नेपालमा बास गर्छन्, अर्को दिन उडेर भारतको राजस्थान मरूभूमि पुग्छन्। जाडो छलेर फर्किन्छन्।’

‘कति चलाख चराहरू, हगि ?’

‘मानिसमात्र बुद्धिमान हो र ?’ उनले भने, ‘तपाईँलाई त्यस्तो लाग्छ ? हँ, नरेन ?’ उनले अर्को सुरूप्प पारे।

हामी बुद्धिमानीपूर्वक चिया भेटी चढाएर हूलमूलमा जोगिँदै बाहिर निस्क्यौँ। बुद्धचित्तको मालाका गेडी हातमा खेलाउँदै उनले हामीलाई होटल पु¥याए अनि क्याप उत्तिकै चुच्चो पार्दै साइकल गुडाउँदै अदृश्य भए।

(क्रमश:)...

तस्बिर: नारायण वाग्ले

सेभेन डेज इन टिबेट

All rights reserved with setopati.com