पीपलबोट डटकम : सेभेन डेज इन टिबेट–४

ल्हासाबाट ल्हास्सो

‘ल्हासा ठूलो सहर भएको छ,यसलाई तपाईँ चाइना टाउन भन्न सक्नुहुन्छ।’कतिसम्म अग्ला भवन बन्न सक्छन् भन्ने सावित गर्ने गरी बहुतले संरचना क्यामरामा भित्रिन खोजे ।

cover-story

नारायण वाग्ले

@narayanwagle

चेन्दूमा राति अबेरसम्म मलाई जूनले एकोहोरो चियाउनुपर्ने गरी मैले झ्यालबाहिर सहरको बिजुली कल्याङमल्याङ चियाइरहेँ।

होटलको सबभन्दा माथिल्लो तलाको फराकिलो कोठामा म एक्लै फत्फताइरहनुपर्ने निहुँ थियो– चिनियाँ भाषाको कखरा पनि नबुझ्नु।

टेलिभिजन च्यानल फेर्न औँला चलाएर पुग्छ र? आजको विश्वमा चिनियाँ नबुझ्ने स्वाँठ बनिरहनुभन्दा बरू केही बेर सहरको स्याँठले सेकिन्छु भन्दै पाइला चाल्न बाहिर हुत्तिएँ। फर्केर जति कोल्टो फेर्दा पनि चिनियाँ निद्रादेवीले आफ्नो भाषाप्रति अनभिज्ञ अतिथिलाई माफ दिन आलटाल गर्दै पोलिटब्युरोकै निर्णय कुर्नुपर्ने भान पारिन्।

‘परदेशमा हरेक रातका निद्राहरू घरकै छायामा’ फर्केर सुत्न खोज्दा रहेछन्।

कापी किताब जति लगेजमा कोचेर हलुंगो हिँड्न खोज्नु हुँदैन भन्ने चेत पलाउन मैले त्यति चैत्यधाम धाउनैपर्थ्यो। धन्य, कुखुरा बास्नु परेन। भालेको डाँककै बेला तल रिसेप्सनबाट तारन्तार फोन आउन थाल्यो। मानौँ, मैले केही बेर बिलम्ब गरेँ भने आज पनि ल्हासाको आकाशबाटै जहाज फर्किनेछ।

ल्हासा नउत्रेसम्म जहाज कतै काठमाडौंतिर मोडिने त होइन भन्ने शंकाले समेत मेरो कल्पनाको लंका झोस्न थालिसकेको थियो। मैले झ्यालबाहिर हेरेँ। तिब्बती पठार। नांगा डाँडाहरू होइनन् ती, जो भर्खरै देखिएका थिए। ठूला थाङ्का चित्रझैँ गह्राहरू हुन्। अग्ला डाँडाले त कपाल फुलाइसकेका थिए। बीचमा कतै जमिन खोस्रिदैं खोलाखाल्सा त कतै निरविच्छिन्न बगेको नदी गँड्यौलाझैँ तन्किन थाल्यो।

जहाजले उचाइ घटाउँदै लगेपछि भने छाती ढक्क हुन थाल्यो। तिब्बत पुग्नु भनेकै उचाइको सामना गर्नु हो। लेक लगाउनु हो। सास फेर्न सास्ती हुनु हो। हामी माथिल्लो/तल्लो पहाड वा मैदानवासीलाई हिमालयपारिको पठार जहिल्यै पनि परीक्षा हो।

तिब्बत हिँडेर पुग्नु सबभन्दा सञ्चो हो। गुड्नु पनि सुविस्तै हो, बिस्तारै उचाइ आर्जन गर्दै गइन्छ। एक्कासि उचाइमा उत्रिनु चाँहि अलि जोखिमै हो। हाम्रो ज्यान त चराको होइन नि। यो अल्छे ज्यानलाई सुस्तरी उचाइ चढाउँदै लैजानुपर्छ। बुद्धिमानी त त्यही हो तर उड्डयन प्रविधिले हामीलाई पखेटा जोडिदिएको छ।

ल्हासा उपत्यका छिर्नुपहिल्यै, निकै वर विमानस्थल देखापर्दा-नपर्दै जहाजले पखेटा दोबार्न थाल्यो। मैले कतिखेर ज्याकेट निकालेर चेन कसुँला भन्ठान्दै औँलाहरू त्यसैको तयारीमा चलाउन थालेँ। विमानस्थल वरपरका डाँडाहरूमा भसक्कै पीठो पोखिएको ताजा हिउँ रहेछ। कानेटोपी झोलामा हाल्न विर्सिएँ कि भन्नेतिर वित्थामा चिन्तामग्न हुन थालेँ। बाहिरका दृश्य हेर्ने बेला आफूभित्रको द्वन्द्व सग्बगाउन थाल्छ। यात्रा गर्नु भनेको शरीरलाई मात्र टाढा हुत्याउनु हो, चियोचासो भने आफ्नै मनको हुने गर्छ।

काठमाडौं विमानस्थलमा उभिएको चौबिस घन्टापछि हामी ल्हासा विमानस्थलमा सिउसिउ गर्दै उत्रिएका थियौँ। ल्हासामा हामीलाई न्यानो स्वागत अभिवादन गर्न अरू कोही होइन, स्वयम् राष्ट्रपति सी चिनफिङ भीमकाय होर्डिङबोर्ड बनेर उभिएका थिए। उनको मन्द मुस्कानका साथमा आधुनिक चीनका अरू चार प्रमुख नेता दाखिल थिए, माओ, देङ, जियाङ र हु जिन्ताओ।

साथमा, चीनको झण्डा कसरी अग्लिएको थियो भने त्यस पछाडिको डाँडा छोप्ने हिउँ कति बाक्लो होला हेर्न दायाँबायाँ ढल्किनुपर्थ्यो।

काठमाडौंबाट जाउँ कि चेन्दूबाट, तिब्बत टेकेको केही बेरसम्म त साविककै मनस्थितिमा रहन सकिन्छ। एकछिन पछि भने उचाइका लक्षणहरू मायालु स्पर्श गर्दै कुत्कुत्याउन खोज्छन्। त्यस्ता स्पर्शकै शरणमा लुट्पुटिनेहरू भने केही बेरपछि नै मत्मतिन थाल्छन्।

हाम्रो समूहका सदस्यहरू सबै साविक अवस्थामा सही सलामत् भए पनि रामप्रसाद भित्रभित्रै गल्न थालेको अनुहारबाट देखाउँदै थिए। लेक लाग्दैमा ज्यान जाने होइन, सावधानीमात्र अपनाउने हो। हामीले हाम्रा अगुवा माल्कोमलाई हेर्‍यौँ जो तिब्बती पठारमा ओर्लिएपछि झन् पठ्ठो बन्न पुगेका थिए र चञ्चले पाठोझैँ यताउता हिँड्न फुर्केका थिए।

हामी कसैलाई पर्खिँदै थियौं। नभन्दै ल्ह्यास्सो गर्दै कोही हाम्रो अगाडि हाजिर भयो, हाम्रा गाइड। चुच्चे टोपीमुनि उनका चिम्सा आँखा हाँसेका थिए। उनको टोपी सीधा मेरो नाकमा ठोक्किनेगरी तेर्सिएको थियो। मानौं, अब त्यही टोपीले हामीलाई तिब्बतमा केही दिन गाइड गरिरहनेछ।

उनले हामीलाई चौंरीको दूध रङको खादा पहिर्‍याइदिए। हाम्रा लागि रिजर्भ गरिएको मिनीबसमा उनले उद्घोष गरे, ‘तपाईंहरूलाई ल्हासामा स्वागत छ।’

‘धन्यवाद।’

उनले आफ्नो नामलाई छोटोमीठो पार्दै मिङ्मा भने। मिङ्ग्मार कर्मा। उनी गुडिरहेको बसमा ड्राइभरपछाडि हामीतिर फर्केर उभिएका थिए। पानीका बोतल बाँडे। भने, ‘पिउनोस् है, आँत सुक्ला।’

‘हवस्।’

‘अर्को एउटा कुरा ख्याल राख्नुहोला, सबैजनाले,’ उनले भने। हामीलाई झ्यालबाहिर हेर्नै नदिनेझैं गरे।

‘हजोर?’ हामीले आँखा चनाखा पार्‍यौं। उनले भने, ‘होटल पुगेर आज ननुहाउनुहोला।’

‘हवस।’

हामीलाई लेक लागि नहालोस् भन्ने उनलाई कत्रो फिक्री।

‘यी डाँडाहरूमा अस्ति रातिमात्र हिउँ परेको हो,’ उनले चलिरहेको बसमा निहुरिँदै झ्यालबाहिर पर देखाउन भने, ‘अचानक तापक्रम ओर्ल्यो, हावा चल्यो, हिजो तपाईंहरूको जहाज ढिलोमात्र भएन, यहाँ अवतरण गर्नै सकेन।’

काठमाडौंमा असिना उछिट्याउने दर्के झरी पर्दा तिब्बत पनि कठ्यांग्रिएको रहेछ। तर हिउँ पर्नाले तिब्बतमा खुसी छाएको समाचारको भाव उनका ओठ र आँखाबाट सर्किन थाले।

‘हिउँ पर्नु भनेकै आशिष लाग्नु हो,’ उनले लामाको भाषा मिसाए। भने, ‘हामीकहाँ नेपालतिर जस्तो झरी पर्दैन, एउटा दुईटा छिटा पर्‍यो भने अहोभाग्य।’

मैले उनलाई हेरें। तिब्बतको ताजा वर्णन गर्न उनी स्थानीय टेलिभिजन च्यानलको समसामयिक बुलेटिनका एंकर बन्न थालिसकेका थिए।

‘हिउँ नै हाम्रो सिँचाइ हो। पानी त यहाँ पर्दै–पर्दैन। वर्षभरि सुख्खाको सुख्खै। तैपनि तपाईंहरू देख्न सक्नुहुन्छ, खेतीपाती चलिरहेको छ। जौ, गहुँ, ऊवा, आलु नत्र कसरी पसाउलान् र?’

हिउँ लिएर हामी गएजस्तो गरे उनले। त्यसैको खुसियाली त होइन तर उनले नयाँ बाटो हामीलाई ल्हासा लैजाने भए। एक घन्टा छोटो। म पहिला आउँदा दुई घन्टाको फेरो मारेको थिएँ। तेह्र वर्षसम्म पनि तिब्बत नफेरिने गुञ्जायस हुन्छ र? म आउँदा त रेल पनि आएकै थिएन। अब त त्यो रेल चीनले कहिलेसम्म नेपालतिर चलाइदेला भन्नेमा हाम्रो राष्ट्रिय जपना हुन थालिसकेको छ।

हामीले हेर्दाहेर्दै हाम्रो छोटो बस लामो सुरूङभित्र छिर्‍यो। सुरूङको अन्त्यमा उज्यालो आउने नै थियो तर त्यसका लागि केही बेर धैर्य गर्नुपर्ने रहेछ। चीन सानो सुरूङ कहाँ खोतली बस्छ र?

उसलाई ल्हासा छिटो पुग्नु छ।

‘आज घाम झलमल्ल लागेको छ,’ मिङ्माले भने।

‘हामी आएका छौं नि त।’

‘हिउँ अब पग्लिहाल्छ।’

‘कहिलेसम्म डाँडाहरू फेरि मुडुला होलान्?’

‘तपाईंहरू फर्किने दिनसम्म त अलिअलि रहला कि?’

तिब्बतको घाम कडा। संसारको छानो त्यसै भनेका होइनन्। हिउँको तन्ना च्यात्दै विस्तारै घामबारे प्रकाश पार्न पुनः समाचार एंकरको अवतारमा उनी पैदा भए। भने, ‘तिब्बतमा हेर्नोस्, घाम त हिउँदमा पनि टन्न लाग्छ।’

‘हिउँदमा पनि?’

‘हो,’ उनले भने, ‘त्यसैले जति चिसो रात पनि यहाँ कष्टकर हुँदैन।’

सरदर चार हजार मिटर उचाइ भए पनि जस्तोसुकै हिउँदमा पनि दिउँसो १०–१५ डिग्री सेल्सियसभन्दा तापक्रम तल जाँदैन। ल्हासा उपत्यकामा त राति पनि त्यति झर्दैन। हिउँ पनि त दिनदिनै पर्ने होइन। हिउँदमा दुईचार पल्ट फुसफुस पर्छ, कहिलेकाहीं चौंरी, भेडा पुर्ने गरी वर्षिन्छ। तर, यस्तो कडा घाम लागिहाल्छ कि जस्तोसुकै हिउँ पनि सिनित्त पगालिहाल्छ।

तिब्बत घामको भण्डार नै हो। मिङ्माले त्यसको बहिखाता नै राखेका रहेछन्। उनले बसभित्र ड्राइभरको सिट पछाडि उभिँदा हामीतिरै औंला तन्काइरहेका थिए। घरिघरि उनका औंला घाँटीमा झुण्डिएको बुद्धचित्तको मालाका गेडी खेलाउन अभ्यस्त रहन्थे। र, गेडी गन्दै हिसाब जोड्थे।

उनको हिसाबअनुसार, तिब्बतमा वर्षको तीन हजार घन्टाजति घाम लाग्छ। दिनको आठ घन्टाका दरले जोडौं त।

हो।

‘त्यसैले गाउँ–गाउँमा सोलार प्यानलहरू हामी देख्न सक्नेछौं,’ उनले भने, ‘अहिले सौर्य ऊर्जामा हाम्रो जोड गएको छ।’

हाम्रा बसका ड्राइभरको जोड भने तीव्र गतिमै थियो। त्यसलाई तुफान भन्नु अलि ज्यादती हुन्छ कि? तर भर्खर रसाएका डाँडाहरूमुन्तिर खोंच, बारीतिर टुनामुना टुसाएको, चौंरी, भेडा चर्दै गरेको, किसानहरू कूटो लिएर कान्लातिर हिँड्दै गरेको राम्ररी नियाल्न भ्याइएन।

‘तपाईंहरूलाई थप साधारण जानकारी दिन चाहन्छु,’ उनले भने, ‘हाम्रो मुख्य बाली गहुँ, जौ हो, मुख्य आम्दानी भने जडिबुटी।’

‘जडिबुटी?’

‘जडिबुटी औषधि हाम्रो मुख्य आयस्रोत हो, त्यसपछि खनिज पदार्थ,’ उनले भने, ‘तेस्रो भनेको तपाईंहरू हो, पर्यटन।’

हामी पर्यटकहरू नयाँ सडक हुँदै ल्हासा पसिसकेका थियौं। तर पोताला देखिएकै थिएन। भवनहरू भने एकपछि अर्को होडसाथ कुन अग्लो देखिन थाले। कतिसम्म अग्ला भवन बन्न सक्छन् भन्ने सावित गर्ने गरी बहुतले संरचनाहरू क्यामरामा भित्रिन खोजे।

मिङ्माले भने, ‘ल्हासा ठूलो सहर भएको छ, यसलाई तपाईं चाइना टाउन भन्न सक्नुहुन्छ।’

‘चाइना टाउन?’

‘पचास प्रतिशत चिनियाँ भइसकेका छन्,’ बसले बायाँ मोडेर अर्को सडक पक्रियो। ‘यी अपार्टमेन्ट-बिल्डिङहरू देख्दैहुनुहुन्छ नि, साह्रै महँगा छन्।’

‘कति?’

‘कति–कति,’ उनले भने, ‘धनिमानी चिनियाँहरू आएर बस्छन्।’

हगि?

‘हो,’ उनले भने, ‘चीनका ठूला सहरहरूमा वर्षको तीन महिना उधुम गर्मी हुन्छ। त्यतिबेलाको हप्हपी तातो छल्न उनीहरूलाई ल्हासा स्वर्ग नै हो।’

उनले ईशारा गरेजस्ता बहुतले भवन सर्किँदै गएका थिए। उनले थपे, ‘वर्षका तीन महिना यी अपार्टमेन्ट गुल्जार हुन्छन्। उनीहरूले पहिल्यै बुकिङ गर्छन्, जति पनि तिर्छन्।’

‘जति पनि?’

‘एक सन्तान नीतिले गर्दा चीनमा धनी बाबुआमाका बच्चा धेरै पुल्पुलिए। जति पनि उडाउन सक्छन्। आजकल त ठूल्ठूला ज्यान भएका पनि देख्नुहुन्छ, हो, स्वास्थ्य समस्या पनि तिनैलाई छ,’ उनले भने।

उनको व्याख्याकै बीच हामीले बायाँपट्टि पर अलग्ग उभिएको थुम्कोमा पोताला देख्यौं। अब ल्हासा यकिन भयो।

ल्हासाको मुख्य सडकमा बस गुड्न थालेकाले अब होटल नजिक आइसकेको अनुमान गर्न मिङ्मालाई सोध्नै परेन। रामप्रसादलाई भने अलि असुविधा भएको छनक देखिन थाल्यो। चेन्दूको भुईँकटहर पाक्ने होचाइबाट फुत्त उडेर स्याउ फल्ने उचाइ आइएको छ, त्यस्तो बेला पनि लेक लागेको संकेत भएन भने समस्या आफ्नै ज्यानको आन्तरिक हुने थियो। मिङ्माले भनेको सम्झिएँ र पानी घुट्क्याएँ।

होटलको व्यस्त पार्किङमा बस छिराउने ठाउँ खोज्दाखोज्दै हामी जर्‍याकजुरूक गर्न थाल्यौं। चार तारेभन्दा मुन्तिरका होटलमा पर्यटक राख्न नपाइने रहेछ। परम्परागत तिब्बती वास्तुकला झल्काउने होटल लबि छिर्नासाथ पश्चिमा पर्यटकको भिडभाड देखियो।

लबिको पूर्वी कुनामा क्लिनिक रहेछ जहाँ चौबिसै घन्टा डाक्टर उपलब्ध भएको सूचना अंग्रेजीमा थियो। रामप्रसादले आँखा गाडेर हेरे। आपत्कालीन कक्षमा एउटी पश्चिमी महिलाले अक्सिजन मास्क लगाएको अनुहारमा रसिला आँखाले हामीलाई हेरिन्। रामप्रसादले देखे। अनि, छट्पटाउँदै रक्तचाप जाँच्न गए।

धन्य, सेवा निःशूल्क रहेछ। अक्सिजन किन्न परेमात्र दाम चढाउनुपर्ने।

‘म त भोलि नै काठमाडौं फर्किऊँ कि?’ उनले अनुहार फुस्रो पार्दै सोधे।

ज्योतिले सम्झाउन खोजे, ‘भर्खर त आइएको छ। नआत्तिनोस् न।’

‘मैले काठमाडौंमा काम धेरै बाँकी राखेको छु,’ उनले विन्तीभाव गर्न थाले ।

‘जति काम बाँकी राखे पनि बित्दो केही छैन,’ ज्योतिले थपे, ‘आराम गर्नुहोस्।’

उनले पनि आराम गर्न जानेका रहेनछन्। मोबाइलमा झुत्तिन थाले। पर्यटन व्यवसायीका आफ्नै धन्दा, आफ्नै पसारो। काठमाडौं अफिसबाट के-कति बिजनेस डिल भइरहेको छ जानकारी लिन थाले। उनको ध्यान जतिखेर पनि कति पर्यटक कहाँबाट कहिले आउने भए, कति पैसा कसरी तिर्ने भए भन्ने हिसाबकिताब बुझ्न मोबाइलमै गइरह्यो।

एकछिनपछि आएर फेरि भने, ‘मलाई त अलि सञ्चो भएन।’

ज्योतिले सोधे, ‘ब्लड प्रेसर ठीक रहेछ, होइन?’

‘कता-कता के-के भइरहेको छ,’ उनले ढाडमा हात राख्दै भने। हामी होटल लबिमै फन्फनिरहेका थियौं। हाम्रा गाइड हामीलाई कोठाका चाबी मिलाउन व्यस्त थिए। रामप्रसादले बोलाएर सोधे, ‘ए मिङ्मा, काठमाडौं भोलि नै फर्किने टिकट मिलाउन सकिन्छ ?’

‘हत्तेरी,’ ज्योतिले सम्झाए, ‘टिकट त काठमाडौंबाटै पठाइदिन्छन् नि। एक-दुई दिन बसौं, अप्ठ्यारै भयो भने नारायणलाई छाडेर हामी फर्किउँला।’

तिब्बतमा पहिलो दिन जसलाई पनि यस्तैउस्तै हो। त्यो गलफत्तिबीच हाम्रा अगुवा माल्कोम केही सोधपुछ गर्न अघिनैदेखि मिङ्माको ध्यान पर्खिँदै रहेछन्।

‘यहाँ पोष्टकार्ड पठाउने ठाउँ कतै छ कि?’ उनले विनम्र भावमा सोधे।

‘पोताला प्यालेस नजिकै पोष्ट अफिस छ त,’ मिङ्माले भने, ‘हामी भोलि जान्छौं, त्यहीबेला सुटुक्क पसेर तपाईंले किन्न सक्नुहुन्छ।’

‘कस्तो रमाइलो कुरा,’ माल्कोमले भने। उनको अनुहारमा पुतलीहरू तिब्बती खादाको रङ लिएर उडे। म उनलाई सुन्न उभिएँ। उनले भने, ‘म मेरी छोरीलाई यहाँबाट सम्झिन चाहन्छु।’

‘छोरीलाई?’

‘ल्हासाबाट बाबुले पठाएको पोष्टकार्ड कुन छोरीलाई मन नपर्दो हो?’

(क्रमश:)...

तस्बिर: नारायण वाग्ले

सेभेन डेज इन टिबेट

All rights reserved with setopati.com