पीपलबोट डटकम

सेभेन डेज इन टिबेट- ३

मुद्दती मायालुको उपहारको रसिलो आँपले मुख मिठ्याउँदै हामी फिर्ता हिँड्यौं। उनीसँगको संक्षिप्त मुलाकात हाम्रो सम्झनामा मौज्दात रहिरहने भयो। उनी साइकल मोड्दै आएको फोटो मैले खिच्न भ्याएको रहेछु, त्यसलाई सेभ गरेँ। जूम गर्दै हेरेँ।

cover-story

नारायण वाग्ले

@narayanwagle

‘चाइना डेली’ मा अल्मलिने धेरै पाना हुँदैन। सिट दायाँ पर्यो, त्यो पनि बाटा हिँड्नेतिर। मोबाइल निकालेर अन् गरेँ। अघि डाउनलोड गरेका सामग्री आँखामा अपलोड गर्न थालेँ। एयरहोस्टेसले कुन बेलादेखि आँखाको बल्छी थापिरहेका रहेछन्, मेरो कठालो समात्ने गरी आइपुगे। ‘मोबाइल अफ् गर्नोस्,’ उनले भने।

‘एयरपोर्ट मोडमा राखेको छु।’

‘अफ् गर्नोस् भनेको बुझ्नुभएन?’ उनको चिनियाँ स्वर अलि खस्रै थियो।

मैले स्क्रिनमा जहाजको चित्र जनाउने ‘एयरपोर्ट मोड’ देखाएँ, ‘ई...।’

‘चीनमा यसले काम गर्दैन,’ उनले भने।

मेरो छेउमा सिट परेका सज्जन अघिदेखि बोलिरहेका थिए, मैले पहिलोपल्ट उनीतिरको कान चनाखो पारेँ। उनले एयरहोस्टेसको प्रवक्ता भएर भने, ‘चीनमा काम गर्दैन भनेपछि गर्दैन, गर्दैन।’

‘किन होला?’

‘उनीहरूको आफ्नै संसार छ,’ उनले भने, ‘संसारको नियम आफूकहाँ लागू गर्नेभन्दा आफ्नो नियम संसारमा लागू गर्ने हिसाबले बढेका छन्।’

मैले मोबाइल अफ् गरेर खल्तीमा घुसारेपछि ती छिमेकी सिटका सज्जनसँग दौत्य सम्बन्ध कायम गरेँ।

उनले भने, ‘मेरो विचारमा तपाईं आज ल्हासा पुग्नुहुन्न।’

‘तपाईं नि?’

‘म त चेन्दू जाने हो।’

‘यो ल्हासा जाने जहाज होइन र?’

‘तपाईंहरूलाई पहिला ल्हासा ओराल्नुपर्ने हो,’ उनले भने।

‘ओराल्दैन र?’

‘जहाजले बिहानैदेखि ढिलो गरिरहेको छ,’ उनले भने, ‘ल्हासाको आकाश गडबड हुनासाथ पाइलटले जोखिम लिँदैनन्।’

‘अनुभवी हुनुहुँदो रहेछ।’

‘धेरैपल्ट उडिसकेँ,’ उनले भने, ‘हामीलाई एउटा बियर घाटा लाग्छ।’

‘बियर?’

‘ल्हासा जाने जहाजमा पानी मात्र खुवाउँछन्, ल्हासाबाट चेन्दू जाने उडान त डोमेस्टिक भइहाल्यो,’ उनले भने, ‘काठमाडौं–चेन्दू चाहिँ अन्तर्राष्ट्रिय रूट हुने भएकाले ड्रिंक दिन्थे।’

उनले हित्तचित्त मिसाएपछि हाम्रा हातहरू मिले। परिचय लेनदेन भयो। उनी रहेछन्, भक्तपुर जगातीका कृष्णभक्त दुवाल। पढाइले इन्जिनियर, पेशाले प्राध्यापन। हाल भने भवन निर्माण सामग्री उत्पादन गर्ने व्यवसायी।

पुल्चोक इन्जिनियरिङ कलेजमा पढेका र नेपाल इन्जिनियरिङ कलेजमा दस वर्ष पढाएका कृष्णभक्तले दुई वर्षयता चीनको एघारौं–बाह्रौं भ्रमण गर्दै रहेछन्। चीनको कुनै सहरमा आयोजित प्रविधि मेला हेर्न र ताक परे नयाँ प्रविधि खरीद सम्झौता गर्ने तयारीसाथ मुठी कसेर आएका रहेछन्।

‘मैले पाँच जना इन्जिनियर ल्याएको छु,’ उनले भने, ‘चीनले छिटोछिटो प्रविधि विकास गरेको हुन्छ, नहेरी कसरी थाहा हुन्छ?’

‘प्रविधि कम्पनीहरू पनि घुम्नुहुन्छ?’

‘घुमिन्छ, कम्पनीहरूमा कहीँ न कहीँ नेपाली इन्जिनियर पनि भेटिन्छन्,’ उनले भने, ‘कति त आफ्नै विद्यार्थी पनि।’

‘चीनमा नेपाली इन्जिनियर?’

‘वीच्याट्मा सक्रिय ‘नेपाली इन्जिनियर इन चाइना’ समूहमा मात्रै दुई सय जना सदस्य छन्।’

‘वीच्याट्मा?’

‘हाम्रा लागि चीन ठूलो मौका बन्दैछ, हेर्नोस्,’ उनी भन्दै थिए पाइलटको आवाजले हस्तक्षेप गर्यो। आकाशवाणी आयो, कृष्णभक्तले अघि नै त्यसको भविष्यवाणी गरिसकेकै थिए। ल्हासामाथि पुग्न लागेका रहेछौं, तर आकाशले अवतार बदलिदियो। हामी बित्थामा दुई घन्टा पर हुत्तिएर एक रात त्यतै गुजार्नुपर्ने भयो।

उनले भने, ‘बियर घाटा लागेरै छाड्यो हेर्नोस्।’

काठमाडौं–ल्हासा रूट पनि त अन्तर्राष्ट्रिय हो। सवा घन्टाको यात्राका लागि झन्डै हजार डलरको टिकट ठटाउँछन्। त्यति रुपैयाँमा त अमेरिका, युरोपको टिकट पाइएला। तै पनि पानी मात्र किन दिने रहेछन्? एयरहोस्टेसलाई सोधुँ भने अब खोपडीबाट सोचाइ पनि अफ् गर्नोस् भनिदिन के बेर?

बाटो कटाउन मैले कृष्णभक्तलाई कोट्याइरहेँ। उनी कसरी चीन आउन थाले? इन्जिनियरिङ पढाउने विज्ञले किन व्यवसायतिर आँखा लगाए?

भक्तपुरमा उनको परिवारका दुइटा इँट्टाभट्टा अझै रहेछन्। काठमाडौंमा माटो कम हुँदै गएपछि कति इँट्टाभट्टा त आसपासका धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोकतिर सरिसकेका छन्। उनले पारिवारिक विरासत थाम्नुपर्ने हो तर यसो विचार गर्दै जाँदा त्यसमा नैतिक प्रश्न देखे।

इँट्टाले माटो सखाप पार्ने रहेछ, वातावरण प्रदूषण गर्ने रहेछ र भट्टाले खनिज तेल स्वाहा हुने रहेछ। घोत्लिँदै जाँदा उनलाई आफ्नो ज्ञान र बाहिरको विज्ञानको तालमेल जान्न मन लाग्यो।

नेपालमा घरहरू झन् झन् बन्ने भए, सहरहरू झन् झन् बढ्ने भए। इँट्टाको विकल्प केही त होला? एउटा रिपोर्ट पढे, ‘रातो इँट्टाका घर बनाउने हो भने चीनको एकतिहाइ माटो सिद्दिन्छ।’

चिनियाँहरू के गर्दा रहेछन् त भन्ने जान्न चीन आए। प्रविधि हेरे। फर्केर गए। गुगल सर्च गरे। चिनियाँ कम्पनीहरू भन्दा बहराइनको एउटा कम्पनीको ब्रोसरको भाषा आधिकारिक लाग्यो। चिनियाँहरूले बाहिरको प्रविधि चोर्छन् भन्ने उनलाई छाप परेको थियो। सक्कली प्रविधिमै किन नजाने भन्ने निधो गरेर बहराइनीसँग सम्पर्क गरे।

बहराइनीले व्यवसायको आधा हिस्सा दिने हो भने प्रविधि हस्तान्तरण गर्ने सर्त राख्यो। लौ त गरौं भनिदिए। गोर्खा इको प्यानल नाममा वातावरणमैत्री भवन निर्माण सामग्री उत्पादन गर्ने कारखाना स्थापना भयो।

‘मैले चीनलाई चिनेको रहेनछु,’ उनले भने, ‘बहराइनी प्रविधि भनेर ल्याएको त चिनियाँ नै पो रहेछ।’

व्यवसाय गर्न बाहिर संसारबारे थाहा हुनुपर्ने अनुभव पाएपछि उनी चीनका सहरहरूमा प्रविधि मेला भरसक नछुटाउने भएछन्।

चीनले पूर्वाधार विस्तारका लागि प्रविधि विकास गर्दैछ। ऊ धमाधम विकासको प्रक्रियामै छ। तीस वर्षदेखि लगातार आर्थिक वृद्धिदर उच्च राख्न खन्या छ, पुर्या छ, बना छ, ठड्या छ, के गर्या के गर्या जस्तो लाग्छ, तर अहोरात्र केही न केही गरिरहेको छ।

गत वर्ष मात्रै सडकमा २६ हजारभन्दा बढी पुल थपेछ। त्यसमध्ये साढे तीन सयभन्दा बढी त एक माइल लामा रहेछन्। संसारकै ठूलो जलविद्युत, संसारकै उच्चस्थानको रेल, संसारकै लामो नहर बनाउने देशले इन्जिनियरिङमा छलाङ मारिरहने नै भयो। सहर त ऊ रातारात ठड्याउने गर्छ भनिन्छ, कुनै पनि सहरमा कुनै पनि बेला बहुतले आवासीय भवन उभ्याइदिन्छ। सिङ्गो बस्ती नै सारिदिन्छ।

‘तर चीन दुइटा छ है,’ उनले भने, ‘एउटा त चिटिक्क चिप्लो विकास भइरहेको। अर्कोचाहिँ गरिबी र अव्यवस्थाले जकडिरहेको। एकपल्ट बेइजिङमा एयरपोर्ट पुग्न हतार हुँदा भित्रभित्रै लैजाँदै थिए, भित्री बस्तीहरू पुगेपछि मलाई चीनको अर्को तस्बिर छ्याङग भयो।’

सडक खन्ने, पुल बाँध्ने, सहर बसाउने र समृद्धिको सपनाअनुसार फास्टट्रयाक, एक्सप्रेस वे, सुरूङ मार्ग, रेलमार्ग के–के रेखा खिच्नु छ खिचिहाल्ने त रहेछन्। समस्याका ठूल्ठूला लक्षण पनि विस्तारै अर्थतन्त्रको भीमकाय शरीरमा देखा पर्दैछन्। पूर्वाधारमा गरेको लगानीबाट घाटैघाटा छ भनिँदैछ।

न्यूयोर्क टाइम्सले गरेको एउटा रिपोर्टअनुसार त सरकारी संस्थानहरूले स्थानीय सरकारहरूलाई ऋण दिएर बनाउने त्यस्ता पूर्वाधार आयोजनाबाट असुल उपर हुन सकिरहेको छैन। सक्ने पनि देखिँदैन।

लामा अत्याधुनिक पुल होउन् कि एक्सप्रेस वे– प्रयोग गर्ने गाडीबाट सवारी शुल्क असुल्नुपर्यो, त्यसो गर्दा त्यस्ता पूर्वाधार सवारी नपुगेर लगभग रित्तै देखिन्छन् भन्ने रिपोर्ट रहेछ। पटके कर तिर्नसक्ने हैसियतका जनताको संख्या कि त ह्वातहुत्तै बढाउनुपर्यो।

चीन सरकारले सन् २०१५ मा एक्सप्रेस वेहरूबाट मात्रै ४७ अर्ब डलर घाटा बेहोर्नुपरेछ, जुन अघिल्लो वर्षभन्दा दोब्बर हो रे। पूर्वाधारमा लगानी नगरौं देश विकास नहुने, गरौं घाटा बढिरहने परिबन्दलाई एक जना चिनियाँ विज्ञले ‘दोहोरो धारको तरबार’ भनेका छन्। जुन धार चलाए पनि चोट पारिहाल्ने।

चेन्दू ओर्लिएपछि चिनियाँ महानगरको पूर्वाधार झलक पाउन बेर लागेन। जहाज बिसाएको ठाउँदेखि आगमन कक्षसम्म हामीलाई पुर्याउने बसले पन्ध्र मिनेटजति दूरी पार गर्दा विमानस्थल जति भव्य देखिन्थ्यो, त्यति गतिविधि थिएन। सुनसानै त होइन, तर खाली–खाली नै थियो।

ल्हासा फर्किने यात्रुलाई छुट्याएर अर्को बस चढाउनुअघि अध्यागमनको काम फटाफट गराए। त्यसपछि सैनिक गतिमा हामीलाई हिँडाउँदा चिनियाँ मुद्रा साट्ने बैंक देख्दादेख्दै पनि रोकिन भ्याइएन।

कृष्णभक्तले भनेका थिए, ‘हामी नेपालीलाई एउटै होटलमा राखिदेऊ भन्नुपर्छ है। हाम्रो जहाज पनि भोलि बिहान मात्र उड्दैछ।’

उनीजस्ता अनुभवीलाई पनि झुक्याउने गरी हामीलाई बेग्लै बसतिर हुर्याइसकेका थिए।

बसले पौने घन्टा सुविस्ताको चिप्लो सडक गुडाएर हामीलाई एउटा पाँचतारे होटलमा थन्काइदियो। त्यो सडक पनि सुनसानै त होइन, तर खाली–खाली नै थियो।

होटल लबीमा कोठाको चाबी लिने लाम लाग्दा–नलाग्दै थाहा भयो, कोठा साझा गर्नुपर्ने रहेछ। विदेशीहरू पार्टनर छैन भने खोज्न थाले। अर्कै टोलीका एक जना गोराले निकै गौर गर्दै मलाई ताकिरहेको मैले आभाष पाएँ। उनी प्रेमिका बनाउने वा फकाउने गरी मतिर आँखाको पछ्यौरा तन्काउँदै थिए। म मूर्तिसरह प्रतिक्रियाविहीन भइरहेको बुझेर उनले मुख फोरे, ‘हेइ म्यान, डु यु वान्ट टु शेयर?’

हाम्रा पाँच जना दक्षिण अफ्रिकीमध्ये दुई जना पुरूष एउटामा र तीन जना महिला अर्कोमा खाँदिने भए। ज्योति र रामप्रसाद त व्यावसायिक साझेदार नै भए। ममात्र अर्घेलो थिएँ जतिखेर ती विदेशीले मेरो जवाफ खोजे। मैले ज्योतिलाई भनेँ, ‘म त निदाउन सक्दिन है।’

उनी रिसेप्सनिस्ट भाइकहाँ पुगेर मेरा लागि सिङ्गल रूम किन चाहिन्छ भन्ने अथ्र्याउन मेरो क्यारिकेचर गर्न थाले। म टाढाबाट हेर्दै थिएँ, उनले मेरो हुलिया निकाल्दै कुप्रो परेको, लठ्ठी टेक्ने, बूढो, अशक्त, रोगी हो भन्ने चित्रण गरे। म ख्वाक ख्वाक खोकिरहन्छु भन्ने जनाउन उनले खोकी पनि निकाले। निदाउनै सक्दिन भन्ने भान पार्न गालामा हात राखेर ओल्टीकोल्टी फेरिरहनुपर्ने बढाइचढाइ गरे।

साथीको चतुर्याईंले आर्ज्याको एकल चाबी मेरो हातमा पर्दा चेन्दूको सबभन्दा राम्रो चरा समातेजस्तो नहोस् त?

होटलको अर्को सूचना थियो, डिनर टाइममै खाइदिनू। डाइनिङ हल पस्दा अंग्रेजी बुझ्ने कोही कर्मचारी थिएन। न खानाको डेक्चीमा परिकारको नाम अंग्रेजीमा लेखिएको थियो। यसो डाडू चलायो, के हो के हो? के हालेको छ के? त्यस्तोमा पेट भर्ने एउटै काइदा हो– छानेर निकाल्ने।

मैले प्लेटभरि भात हालेँ, सितासँग गाँसिएर आएका चिजबीच अलग्याएर त्यहीँ राखिदिएँ। त्यसपछि अर्को कुनै डेक्चीबाट सबैथोक अलक्क छुट्याएर सागका तान्द्रा मात्र आफ्नो भागमा हालेँ। ती दुईथोक राखेको प्लेटमा सायद संसारकै सबभन्दा सरल परिकार थिए। चपस्टिक्सले चप्काउँदा निस्तो बिल्नो हुने चान्सै थिएन।

रामप्रसादले मेरै सिको गरे। भात छुट्याए, साग हुँडले। थपौं भन्दै हामी दुई भाइ त्यही दुइटा डेक्ची ताक्दै गयौं। एउटा डेक्ची त रित्तिसकेको थियो। त्यही हाम्रो बे्रकफास्ट, त्यही हाम्रो लन्च र त्यही हाम्रो डिनर थियो। बिहान हिँडेदेखि पानीको भरमा त्यत्रो आकाश छिचोलियो। चेन्दु मोडिएपछि बदामका केही दानाको प्याकेट नेप्किनले बेरेर दिए क्यार। वा, त्यस्तै केही।

हाम्रा अघिल्तिर ज्योतिको प्लेट भने सायद संसारकै समृद्ध थियो। मीठो मसिनू मानेर उनले सबथोक हाल्दै प्लेटलाई सगरमाथा आकार दिएका थिए। हरेक डेक्ची खोल्दै डाडू पन्यू उज्याए, फेरि थप्न गए। कुन भाँडामा के खानेकुरा छ भन्ने उनी कसैलाई सोध्दैनन्, आफ्नै पेटसँग बात् मार्छन्।

‘नखाने चिज कसैले पनि राख्दैन,’ उनले भने, ‘नाइँनास्ती गर्दै हिँड्ने हो भने कहाँ के खान पाइन्छ कसरी थाहा हुन्छ?’

उनको प्रश्न नै यस्तैउस्तै हुने गर्छ, के खान हुन्छ के हुँदैन भन्ने नियम कसले बनाएको हो? भोक लागेको छ खाऊ, लागेको छैन उग्राऊ।

जे भए पनि मिठाई वा फलफूल चाहिँ थिएन है भन्दै हामी बाहिर निस्क्यौं र रिसेप्सनमा डलर साट्न तम्सियौं। पालो फेर्न आएकी रिसेप्सनिस्टले हाम्रो अंग्रेजी नबुझेर अनि हामीले उनको चिनियाँ नबुझेर उनले आफ्नो मोबाइल टेबलमा राखिन्। अनुवाद गर्ने एप खोलिन् र त्यो मोबाइल ज्योतिको मुखतिर झोसिदिइन्। उनले डलर साट्नुपर्यो भनेको आवाज चिनियाँ भाषामा उल्था भइवरी जवाफ आइसकेछ।

मुद्रा सटहीको सुविधा त मरू। नो चान्स।

यत्रो ठूलो महानगरमा उपाय कसो नलाग्ला? हामी तीन सदस्यीय जुलुसमा फटाफट परिणत भयौं। फराकिलो पैदलमार्गमा अरू कोही हिँडिरहेको थिएन। सुनसानै त होइन तर खाली–खाली नै थियो।

साइकलमार्ग भने गुल्जार रहेछ। चीनमा साइकल फेरि बौरिएको छ भन्ने रिपोर्टहरू छन्। तीस वर्षअघिसम्म संसारकै साइकल राजधानी भनिने देशले आफ्नो त्यही पहिचान फर्काउने लक्ष्य गर्दैछ। त्यतिबेला बेइजिङबासीमध्ये ६० प्रतिशत साइकल चढेरै काममा जान्थे रे। कार बजार उग्र भएपछि त्यो संख्या दस प्रतिशतमा झरेछ। सवारी जाम र प्रदूषणले चिनियाँ सहरहरू बिग्रिएनन् त?

सरकारले साइकल युग फर्काउने नीति लिएपछि बजारका शक्तिहरूले तरक्की गर्दै रहेछन्। जिपिएसले सघाउने मोबाइल एपमा आधारित साइकल साटफेर सेवा सुरू गरेर। त्यस्ता कम्पनीहरू भकाभक बढ्दै रहेछन् जसले साइकल स्ट्यान्डमा बिजुली पैसा घोट्ने व्यवस्था गरिदिन्छन्। जसले पनि जहाँबाट पनि साइकल निकाल्न सक्छ अनि सहरको कुनै अर्को गन्तव्यमा फेरि अर्को स्ट्यान्डमा छाडिदिन।

त्यसरी साटफेर गर्ने साइकलको संख्या अघिल्लो वर्ष साढे २४ लाख थियो रे, गत वर्ष त १ करोड ९० लाख पुगेछ। यो वर्षभरिमा पाँच करोड पु¥याउँदै रहेछन्।

साइकलसँग मेरो एकतर्फी माया त्यहाँ थपिने एउटा किस्सा एकछिनमा तयार भयो। साइकलमा खुर्रर आएकी मायालु हृदयकी एउटी अपरिचिताका कारण।

साइकलमार्ग किनार सुग्घर ठेलामा फलफूलै फलफूल देख्न थालेका थियौं। भुइँकटहर, आँप, मेवाजस्ता उष्ण तापक्रम जनाउने फलफूलसहित। हाम्रो कस्तो हरिणको चाल हगि? ल्हासा जानु चेन्दूको बाटो। काठमाडौंभन्दा होचो ठाउँ। झन्डै समुद्री सतह हो कि क्या हो? ‘अल्टिच्युड’ लाग्ने ठाउँ जान ‘लो’ लाग्ने ठाउँमा झारियौं।

ज्योतिको एउटा गोपनीयता भंग गरिदिइहालुँ। उनको कमजोरी फलफूल हो। देख्नै हुँदैन, कोपरिहाल्छन्। खल्तीबाट डलर निकाल्दै साहुनीलाई देखाए। साहुनीले ‘नो, नो, नो...’ गरिन्। ज्योतिले फेरि हाउभाउबाटै फकाउन थाले, जति डलर लिए पनि हुन्छ जुन फलफूल जति दिए पनि हुन्छ, लौन बहिनी, मलाई कृपा गर ...।

साइकलमार्ग हुँदै राति घर फर्किरहेका कामकाजी तरूणतपसीहरूले हाम्रो चालमाल सायद अचम्मको माने। ज्योति हातमा डलर नचाउँदै बोल्दै थिए, जुन ठेलावाल साहुनीले नबुझेर चीनकै प्रतिष्ठामा आघात पुग्लाजस्तो भइसकेको थियो। एउटी युवतीले टाढैबाट हामीलाई लक्ष्य गरिरहेकी रहिछन्, औषधी किन्नझैं हतारिँदै आइन् र हाम्रोछेउ साइकल अड्याइन्। साहूनीसँग सोधिन् अनि हामीतिर फर्केर कुन फलफूल खान खोजेको हो बुझ्न खोजिन्।

हामी हेर्दै थियौं, हाम्रा अघिल्तिरको गतिविधि फटाफट भयो। ठेलावालीले जोखिन्, साइकलवालीले सुर्केथैलीझैं पर्स निकालेर पैसा तिरिन्। अनि एक झोला फलफूल हाम्रो हातमा थमाएर सुइँकुच्चा साइकल कुदाइन्। रंगीचंगी आफ्नो साइकलकै रंगको पातलो स्वेटर र नीलो पाइन्टमा फिटफाट बहिनी कारखानाको ड्युटीबाट फर्किएकी हुनुपर्थ्यो।

धेरै धन्यवाद छ है भन्नुभन्दा पहिल्यै उनी अदृश्य भइन्। धन्यवाद भन्ने शब्द सायद चल्ती खाताबाट निस्कन्छ। उनले मुद्दती खाताको व्यवहार गरेकी थिइन्, जसको ब्याज जिन्दगीमा जहिले भेट्यो जति तिरे पनि हुन्छ। साइकलले बिजुली चम्किने गति नपक्रिएको भए ज्योतिले हातमा खेलाइरहेको डलर उनले थाहा नपाउने गरी खल्तीमा घुसारिदिनेवाला थिए।

मुद्दती मायालुको उपहारको रसिलो आँपले मुख मिठ्याउँदै हामी फिर्ता हिँड्यौं। उनीसँगको संक्षिप्त मुलाकात हाम्रो सम्झनामा मौज्दात रहिरहने भयो। उनी साइकल मोड्दै आएको फोटो मैले खिच्न भ्याएको रहेछु, त्यसलाई सेभ गरेँ। जूम गर्दै हेरेँ।

आँपले मत्मतिएपछि होटलछेउ उत्तिकै अग्लो तर साइनबोर्ड नभएको विशाल भवनको जाँचपड्ताल गर्ने सूर कस्यौं। रंगीन अक्षरहरू भित्ताका बिजुली पर्दामा झुत्तिरहेका थिए, तर कतै अंग्रेजी अक्षरको बियाँ पनि खसेको थिएन।

प्रांगण टेक्नासाथ हातहतियारसहितका निजी सुरक्षाकर्मी चल्मलाउन थाले। वाकीटकी चलाए। त्यतिविधि अग्लो फराकिलो भवनभित्र कहाँ के भइरहेको छ केही आभाष पाउन सकिन्थेन। संगीत घन्किएझैं थियो। तर, कुनै ग्राहक आउँदै वा जाँदै गरेको थिएन। सुनसानै त होइन, तर खाली–खाली नै थियो।

सुरक्षाकर्मीले हाम्रो लबज नबुझेर रिसेप्सनतिर पठाइदिए जहाँ एक युगल सुरक्षाकर्मी त्यसैगरी मोबाइल एप खोल्दै हाम्रो चाहना केरकार गर्न थाले। प्रहरी कार्यालय हो कि कराउके वा मसाज पार्लर? वा भिडियो पार्लर वा रोदीघर? कर कार्यालय त होइन वा क्यासिनो? उनीहरूले हामीसँग के गर्न चाहन्छौ भन्ने हाउभाउबाट सोधिरहे र चिनियाँ भाषाको ब्रोसर एउटा ट्याब्लेटमा देखाए, जसलाई बुझ्न सके मात्रै पनि हाम्रो वैतरणी पार हुने थियो।

केही सीप नचलेपछिको घटना हो। उनीहरूले हामीलाई खेद्दै लखेटेका होइनन्, तर कतै सिसिटिभीमा रेकर्ड भएको छ भने हाम्रो परिस्थिति पक्कै फरक देखिने छैन।

(क्रमश:)...

तस्बिर: नारायण वाग्ले

सेभेन डेज इन टिबेट

All rights reserved with setopati.com