पीपलबोट डटकम

सेभेन डेज इन टिबेट- २

हामी आठ ठाउँतिर बाँडिनुपर्यो। मेरो सिट भने दायाँतिर पर्यो। सगरमाथा नदेखी म हिमालय शृंखला काटेर तिब्बत पुग्ने भएँ। म तिब्बत पहिलोपल्ट हिँडेर पुगेको थिएँ। दोस्रोपल्ट गुडेर। तेस्रोपल्ट उडेर। यसपालि पनि उड्ने त भनेको हो तर कथाले सायद द्वन्द्व माग्दै थियो।

cover-story

नारायण वाग्ले

@narayanwagle

मलाई व्यक्तिगत रूपमा चिन्नुभएको छ भने मेरो साथी ज्योति अधिकारीबारे केही थाहा पाउनुभएको हुनुपर्छ। छैन भने माइन्ड नगर्नुहोला।

म एयर चाइनाको काउन्टरअघि कति बेरदेखि उभिरहेको थिएँ, ज्योति भर्खर टुपुल्किएर पनि कति हतार गर्दैछन् भने उनले पाँच जना गोरा (साँच्चिकै गोरा, दक्षिण अफ्रिकी देशका भए पनि) र हामी तीन शेर्पा (तिब्बतमा नेपालीलाई आजकल शेर्पा भन्दा रहेछन्, भारतीय सहरहरूमा के भन्छन् हामीलाई पहिल्यैदेखि थाहा छ। याद भयो? भएन भने अहिले भारततिर मथिङ्गल नघुमाउनोस्, मसँगै तिब्बत उक्लिनु हुनेछ) गरी आठ जनाको पासपोर्ट जम्मा पार्दै ग्रुप चेक–इन गराउन खोजे।

हाम्रो भिसा दुई पन्ना रहेछ, एउटामा विदेशी र अर्कोमा शेर्पा अर्थात् नेपालीका लागि। पासपोर्टमा नटाँसिने समूह भिसा। त्यस्तो पन्ना देखाएपछि बोर्डिङ पास पाइने हुनाले ज्योति नै नाइके बन्नुपर्ने भयो। शीलस्वभावले उनी नाइके नै हुन्।

म तीस वर्षअघि काठमाडौं पस्दा उनी भर्खर लामो प्रहरी हिरासतबाट निस्किँदै थिए। म क्याम्पस पढ्न काठमाडौं आएको थिएँ, साहित्यमा रूचि राख्थेँ र पुस्तकालयहरूतिर गुप्तबास बस्थेँ। उनी पनि क्याम्पस पढ्नै काठमाडौं आएका थिए, तर देश बदल्न राजनीति जरूरी छ भन्दै भूमिगत पार्टीमा सल्किँदै हिँडिसकेका रहेछन्।

आजका जो पुष्पकमल दाहाल छन्, उनको नाम के हो भन्ने थाहा नहुने पञ्चायती जुगमा जुँगाको रेखी हालेका ‘प्रचण्ड’ सँग भेट्ने ज्योति मलाई ठेल्दै अघि बढे। समूह चेक–इन लाइन जति लामो भए पनि यात्रु निस्कँदा समूह नै निख्रने हुनाले एक्कासि काउन्टरसामु पुग्न सकिन्थ्यो।

ज्योति आइए पढ्दापढ्दै स्ववियू सभापति भइसकेका मात्र होइन, प्रचण्डलाई पार्टी प्रमुख बनाउने घटना अर्थात् ‘सेक्टर काण्ड’ अर्थात् काठमाडौंका प्रहरी बिटहरूमाथि छापामार हमलामा सामेल थिए। अरूहरूसँगै पक्राउ खाए। पार्टी प्रमुख ‘किरण’ (मोहन वैद्य) ले राजीनामा गरेर नवयुवक प्रचण्डलाई बाटो छाडिदिए। ज्योतिले निधो गरे, म अब पढ्छु।

त्यस्तैमा एकदिन बाटोमा हिँडिरहेका बेला प्रचण्डले ज्योतिको हात च्याप्प समात्दै भने, ‘भेटेर हामी दुई घन्टा कुरा गरौं।’

उनले सोचे, दुई घन्टा सुन्यो भने त राजनीतिमै फर्किनुपर्नेछ। गएनन्, आफ्नो संकट आफैं टारे। तर, सडकबाट बाहिरिएनन्। ०४६ सालको जनआन्दोलनको पहिलो दिन फागुन ७ गते न्यूरोडमा पहिलो प्रदर्शन गर्ने पहिलो पंक्तिमा सामेल भए। गिरफ्तारी सुरू गर्नुअघिको त्यो ऐतिहासिक जुलुसको फोटोमा उनी अहिलेजस्तै दुब्लोपातलो छरितो छापिएका छन्। शरीरमा पोष हाल्न सायद कहिलेकाहीँ आराम गर्नुपर्छ, जुन उनका लागि सायद औडाहा नै हुन्छ।

(प्रचण्डले हतियार उठाएको केही वर्षमा शाही नेपाली सेना जाग्न थालेपछि ठमेलबाट ज्योति बेपत्ता पारिए। ब्यारेकमा दुई महिनाको कालरात्रिको सास्ती दिँदा पनि सेनाले उनीबाट फुत्काउनुपर्ने सूचना केही थिएन।)

हामी क्याम्पस पढ्दा कक्षाबाट फुत्त निस्केर कविता लेख्न थाल्थ्यौं। हामीबीच तेस्रो साथी थियो, जो वास्तवमै कवि थियो। उसलाई जगाउन हामीले तीन जनाको संयुक्त संग्रह निकाल्यौं। सम्पादनको अड्कोपड्को मैले टारेँ, मुद्रण खर्च ज्योतिले जुटाए। विद्यार्थीका कविताको किताबमा मूल्य तोकेर हुन्छ र? झोलामा हालेर बाँड्दै हिँड्यौं। हाम्रो जोस फ्यास्स भयो, उनको लगानी फुस्सा।

कवि साथीको अंग्रेजी राम्रो भएकाले ठमेलमा जागिर खोजिदिन ज्योतिलाई सजिलो भयो। तर, यस्तैउस्तै के भयो, ज्योतिले हामी आफैं एउटा ट्रेकिङ कम्पनी किन नखोल्ने भन्न थाले।

केही हजार रुपैयाँ र नागरिकताको सक्कली प्रति लिएर पर्यटन विभागमा आइपुग्न उनले उर्दी गरे। विभागअगाडिको चौरमा उभिँदै मैले ठोस वस्तुगत विश्लेषणसाथ आफ्नो मनोगत निश्कर्ष सुनाएँ, ‘तिमीहरू पर्यटन गर, म पत्रकारिता गर्छु। देशमा प्रजातन्त्र आइसकेको छ।’

ज्योति प्रचण्डसँग फुत्किए, म ज्योतिसँग।

मसँग व्यवसायको फिटिक्कै रूचि थिएन, जसरी ज्योतिसँग लेख्ने अध्यावसायको।

उनीहरूले ठमेललाई मुकाम बनाए। जीवन भनेकै घटनाहरूविरूद्ध ठडिने अठोट हो, आँट हो र आँत हो। कवि साथीले एकदिन त्यही मान्यताविरूद्ध आफैं भित्रभित्रै गलेर प्राणत्याग गर्यो। ज्योतिले जसका लागि ट्रेकिङ कम्पनी आँटेका थिए, उही नभए पनि अब आफ्नै लागि जीवनशैली बनाउने दीर्घकालीन संकल्प गरे।

यतिबेला भने उनको तत्कालीन संकल्प हामी आठ जनाकै लागि बायाँपट्टि झ्यालको सिट माग्नु थियो। उनले मतिर फर्केर भने, ‘तिमीलाई थाहा छ हामी माउन्ट एभरेष्टमाथि उड्दैछौं।’

‘हो’

‘हेर्नुपर्दैन त?’

हामी आठ ठाउँतिर बाँडिनुपर्यो। मेरो सिट भने दायाँतिर पर्यो। सगरमाथा नदेखी म हिमालय शृंखला काटेर तिब्बत पुग्ने भएँ।

म तिब्बत पहिलोपल्ट हिँडेर पुगेको थिएँ। दोस्रोपल्ट गुडेर। तेस्रोपल्ट उडेर। यसपालि पनि उड्ने त भनेको हो तर कथाले सायद द्वन्द्व माग्दै थियो।

तिब्बतमा म ज्योतिसँगै तेस्रोपल्ट यात्रा गर्दै थिएँ, जोसँग हिँड्दा केही न केही भाउँतो भइहाल्छ। यसपल्ट उनीसँग एक जना नयाँ व्यावसायिक साझेदार पनि थिए रामप्रसाद सापकोटा, जोसँग मेरो चिनजान थिएन।

चिन्दै जाँदा चरित्रका पर्दा उघ्रिँदै जान्छन्। पावर ग्लास लगाउने, अग्ला तर मभन्दा हृष्टपुष्ट रामप्रसाद हाँसिहाल्दा रहेछन्। रिस उठ्यो भने चाहिँ थमाउन गाह्रो, तर जो रिसायो ऊ हार्यो भनेर ज्योतिले फर्मान जारी गरेपछि फकिइहाल्ने।

संघर्षकालमा ठमेलतिर दुःखमसुखम् धेरै भुक्तमान हुने क्रममै दुई–चार जना विदेशी साथी बनाएछन्। उनीहरूले के सहयोग गरौं भनेर सोध्दा ‘मेरो गाउँमा स्कुल छैन, भवन खडा गर्न पैसा पठाउन सक्छौ’ भनिदिए। पैसा आयो। जग खने। गारो लगाए। छत हाले। भवन तयार भयो। तर, देशले बन्दुक भिरिसकेको अवस्था थियो।

स्कुलका लागि बनेको चिरिचट्ट भवनमा एउटा पक्षले आएर क्याम्प बनाउने भयो। नभए अर्को पक्ष आएर सेल्टर जमाउने भयो। क्याम्प र सेल्टरवाला द्वन्द्व चल्दाचल्दै एकदिन साँच्चिकै गोलाबारूद बर्सियो र एक जना निर्दोष गाउँले मारिए। स्कुल नबनाएको भए भिडन्त हुने थिएन भनेर गाउँलेहरूले दुःखमनाउ गरेको सुनेपछि रामप्रसादको चित्त चुँडियो। उनले वनवास जाने निधो गरे। उनी अमेरिका उडे।

अमेरिकामा यस्तैउस्तै के गर्दै थिए, वर्षहरू बिते। नेपालमा सशस्त्र द्वन्द्व एउटा सम्झौतामा पुग्यो। उनलाई पैसा पठाउने विदेशी साथीहरूले इमेलमा छेड हाने, तिम्रो देशमा शान्ति प्रक्रिया सुरू भइसक्यो, अर्काको देशमा किन अशान्त बसिरहन्छौ?

हो त गाँठे भन्दै सुटकेश बोकेर काठमाडौं फर्किए।

त्रिभुवन विमानस्थलबाट पर्यटकलाई कुखुराका चल्लाझैं डोकोले छोपेर भ्यानमा हाल्नेहरूसँग संगत गरे। दिनहुँ विमानस्थल गयो, लिफ्ट माग्यो, ठमेल फर्कियो। भुइँमान्छेले भुइँबाटै धन्दा सिक्दोरहेछ। उनले मितव्ययी खाले पर्यटक आकर्षित गर्न ट्रेकिङ कम्पनी खोले।

शान्ति प्रक्रियाले पर्यटक बढायो, पैसाको बाढी ल्यायो। कमाइ बढ्दै गएपछि यताउता लगानी गर्न थाले। भैंचालोले व्यवसाय हल्लाउँदा पैसाको फिटफिट भोगेका ज्योतिलाई उनको होटलको केही हिस्सा किनिदिएर रामप्रसाद साझेदार हुन पुगेका रहेछन्।

दुई फरक ट्रेकिङ कम्पनी सञ्चालक र एउटै होटलका साझेदार ती दुई पर्यटनकर्मीलाई उछिन्दै म अध्यागमन कटेर फराकिलो ठाउँ उभिएँ। विमानस्थलको सानो पुस्तक पसलमा ‘पल्पसा क्याफे’ देखेर दंग पर्दानपर्दै गातामा टाँसेको मूल्यले खिसिक्क पार्यो। ज्योतिलाई भनेँ, ‘दिल्लीका प्रकाशकले छापेको यो किताबको मोल दुई सय भारू हो। खासमा एक सय उनान्सय।’

‘बाह्र सय लेखेको छ त,’ उनले भने ।

‘हो टाँसेको छ।’

‘ए बुझेँ, तिमीलाई रोयल्टी एक सय उनान्सयको दरले मात्र आउँछ।’

ज्योति सरासर अघि बढेर आफ्ना गोराहरूका अगुवाको पाखुरा च्याप्दै पसलभित्र पसे। ‘यो मेरो साथी, ऊ त्यहाँ बाहिर उभिरहेको छ नि, उसको उपन्यास हो,’ उनले सायद त्यस्तै केही भनेको मैले बाहिर उभीउभी अनुमान गरेँ।

माल्कोम लिन् पियर्सको उमेर ८२ वर्ष हो भन्ने सायद शरीर विज्ञानका ज्ञाताले मात्र अनुमान गर्न सक्छन्। खाइलाग्दा पठ्ठा देखिन्छन्, जसको रहस्य उनको फुर्तिलो स्वभाव र जे गर्न पनि तम्सिने जाँगर नै हुनुपर्छ। उनले जोसपूर्वक किताब किनिहाल्ने चाँजो गर्दानगर्दै ज्योतिले भाउको गुह्य खोलिदिए। माल्कोमले सोधे, ‘यो ड्युटी फ्री एरिया होइन र?’

संसारको नियम नेपालमा लागू हुँदैन भन्ने उनी जानकार हुनुपर्ने हो। उनी कतिपल्ट नेपाल आएका छन् गन्ती गर्न दुवै हातका औंला दुईपल्ट भाँच्नुपर्छ। फोटोग्राफरका रूपमा सरकारी सेवाबाट अवकाश पाएपछि प्याकेज टुर व्यवसाय थालेका उनी हरेक वर्षजसो स–साना समूह लामो नेपाल यात्रामा ल्याइरहन्छन्।

यसपालि नेपाल र तिब्बत एकसाथ घुम्ने टोली बाँधेर दक्षिण अफ्रिकाबाट आउँदै थिए। आकाशमा उडिरहेको बेलाकै घटना हो। उनीहरू केही बेरमा काठमाडौं पुगिहालिन्छ भन्ने सोचाइले फुरूंग पर्दै गर्दा एउटी साथीको छाति चसक्क गर्यो। हृदयाघात भएको बिरामीका कारण पाइलटले तत्काल आकस्मिक अवतरणको निर्णय गरे। आसपास भारतको एउटा विमानस्थल थियो।

लखनउमा ओर्लिएपछि माल्कोम आफ्नी बिरामी सहयात्रीलाई साथ दिन अस्पताल गए, बाँकी टोलीलाई काठमाडौं उड्न दिए। यता काठमाडौंमा स्वागत गर्न पर्खिएका ज्योति छक्क परे। टोली आइपुग्यो, अगुवा छुटे। एक जना गाइड भाइलाई नेपालगन्ज उडाए, गाडी रिजर्भ गराएर लखनउ गुडाए। माल्कोमले अस्पतालबाटै खबर पठाए, ‘हाम्रो टोलीले अन्नपूर्ण ट्रेकिङ गर्दै गरोस्, म आएर बीचमै ज्वाइन् गर्छु।’

अन्नपूर्ण भेगको मादी हिमाल पदयात्रा गरिरहेको टोलीलाई माल्कोमले फटाफट हिँडेरै भेटे। हिजोमात्र त उनीहरू पदयात्राबाट फर्केका थिए। मझौला उचाइको गोलीगाँठे शरीर टक्क उभ्याएर उनले मसँग दह्रो हात मिलाउँदै भने, ‘संसार घुमेको छु तर त्यहीँ तिब्बत गएको थिइनँ।’

संसार घुमाइको के अर्थ जब ‘संसारको छानो’ नै टेकेको छैन भने! त्यस्तै के सोचेका होलान्, सोचाइले नै सायद मानिसलाई तन्दरुस्त राख्छ, भनौं न सधैं तन्नेरी।

सधैंका तन्नेरीको पछि लाग्दै हामी जहाजको भर्याङ उक्लियौं, जहाँ हामी कसैको सिट नारिएको थिएन।

(क्रमश:)...

तस्बिर: नारायण वाग्ले

सेभेन डेज इन टिबेट

All rights reserved with setopati.com