(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनप्रसाद श्रेष्ठ बुटवल ११ प्रगतीनगर रङ्गशाला मार्गमा बस्छन्। उनले आफ्नै घरमा श्री न्यु भैरव पोल्ट्री सप्लायर्ससँगै आफैले फ्रेस हाउस समेत सञ्चालन गरेका छन्। केही दिन पहिले फ्रेस हाउसमा मासु काट्दै गर्दा भेटिएका धनप्रसादसँग हामीले सेतोपाटीका लागी कुराकानी गरेका छौं—
पोल्ट्री सप्लायर्स र फ्रेस हाउस सञ्चालन गर्नुभएको कति वर्ष भयो?
म २०५८ सालदेखि बुटवलमा बस्न थालेको हो। त्यही वर्षदेखि नै यो व्यवसाय पनि सुरु गरेको हो। व्यवसाय सुरु गरेको अहिले २५ वर्ष हुन लागेछ।
त्यो भन्दा पहिले के गर्नुहुन्थ्यो?
म नेपाली सेनाबाट सेवानिवृत्त भएर बसेको हुँ। नेपाली सेनामा १६ वर्ष सेवा अवधि पूरा गरेपछि २०५७ सालमा नायक पदबाट सेवानिवृत्त भएँ। पछि मकाउ जाने तयारी गरेको थिएँ। झन्डै एक वर्ष त्यसैका लागि यताउता गर्दा बित्यो। मकाउ जाने प्रयास सफल भएन त्यसपछि यही व्यवसाय सुरु गरेँ।
अहिले यो व्यवसायबाट कति सन्तुष्ट हुनुहुन्छ, मकाउ जान नपाउँदा कस्तो लागेको छ?
अहिलेको लागि त भाग्यले नै भिसा नलागेको भन्नु पर्ला। त्यतिबेला जे भयो राम्रै भयो जस्तो लाग्छ। मलाई विदेश जान पाइनँ, नेपालमै बस्नुपर्यो भन्ने कुनै पछुतो छैन। अहिले म आफ्नो व्यवसायलाई राम्रैसँग चलाइरहेको छु। पैसाले त मानिसलाई कहिल्यै पनि पुग्दैन होला। तर, को कतिमा सन्तुष्ट हुन सक्छ भन्ने मुख्य कुरा हो। म अहिलेसम्म जसरी बसेको छु सन्तुष्ट नै छु। १६ वर्ष राष्ट्रको सेवामा लागेको व्यक्तिलाई नेपालमै केही गरेर बस्न पाउँदा सन्तुष्ट नहुने कुरै भएन। २०५८ सालतिरको कुरा फरक पनि थियो। नेपालमा माओवादी युद्ध चरम अवस्थामा पुगेको थियो त्यही कारण पनि विदेश जान खोजेको थिएँ। अहिले त केही छैन खुसी छु। आफ्नो देश, परिवार साथीभाइसँग बसेर सानो तिनो व्यवसाय गर्न पाइन्छ भने किन विदेश जानु।
के के पाइन्छ तपाईंको सप्लायर्समा?
ब्रोइलर कुखुरा र अण्डा पाइन्छ। कुखुरा जिउँदो र काटेको दुवै पाइन्छ। फ्रेस हाउसहरूले काटेको कुखुरा लैजान्छन्। हामी यहीँ काटेर भुत्ला फालेर विक्री गर्न मिल्ने बनाएर पठाउने गर्छौ। कुखुरा भुत्लाउने पानी तताउने मेशिन सबै छ।
कहाँ-कहाँ पठाउनुहुन्छ?
यही बुटवल वरपरका फ्रेस हाउसहरूमा जान्छ। उहाँहरूले कति चाहिने हो अर्डर गर्नुहुन्छ त्यसपछि काटेर पठाउने गर्छौं।
अहिले कत्तिको व्यापार हुन्छ?
पहिलेजस्तो व्यापार अहिले छैन। पहिले त एक दिनमा ३/४ लाखसम्मको पनि व्यापार भयो। ठूलो भोलुमको व्यापार थियो पहिले। अहिले दिनमा ८०/९० हजार सम्मको व्यापार हुन्छ। अहिले व्यापारको भोलुम पनि घटाउँदै लगेको छु। धेरै तनाव नलिइ सानो-तिनो गर्ने भन्ने सोच छ अहिले त।
तपाईंलाई अहिले व्यापार किन घट्यो होला भन्ने लाग्छ?
पहिले थोरै सप्लायर्स हुन्थे। जति छन् तिनै सप्लायर्समा मात्र जानुपर्ने बाध्यता थियो। बुटवलकै कुरा गर्ने हो भने मैले सुरु गर्दा सात आठ जना मात्र सप्लायर्स थियौं। अहिले जताततै सप्लायर्सहरू खुलेका छन्। सप्लायर्सको नाम र संख्या पनि पहिले हातका औंलामा गन्न सकिन्थ्यो भने अहिले कापीको तिन चार पन्ना भरिन्छ। व्यवसायमा प्रतिस्पर्धा छ। मानिसहरूले माछा मासु खान पनि कम गरेको हो कि जस्तो पनि लाग्छ। हुन त आम्दानी घट्दै गएपछि खर्च गर्ने क्रम पनि स्वतः कम भइहाल्छ। होटेल रेस्टुरेन्टमा गएर खाने उमेरका उपभोक्ता विदेशमा छन्। त्यही भएर पनि व्यापार घटेको होला।
जिउँदो कुखुरा र अण्डा कहाँबाट ल्याउनुहुन्छ?
पहिले नारायणगढ, पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, नेपालगन्जसम्म फर्ममै पुगेर ल्याउने गर्थेँ। कुखुरा ल्याउने र मासु सप्लाइ गर्ने आफ्नै गाडी पनि थियो। अहिले कति कुखुरा चाहिने हो अर्कै सप्लायर्सले यहीँ ल्याइदिन्छन्। आफै जान पनि परेन। आफै गएर ल्याउँदा अलि दु:ख भए पनि धेरै नाफा निस्किन्थ्यो भने अहिले कम नाफा निस्किन्छ।
दिनमा ८०/९० हजारको कारोबार हुँदा नाफा कति निस्किन्छ?
धेरै नाफा छैन अहिले त। अरू व्यापारमा २०/२५ प्रतिशतसम्म नाफा लिन पाइन्छ, निस्किन्छ पनि। ८०/९० हजारको बिक्री गर्दा ६/७ हजारसम्म नाफा निस्किन्छ होला। घर भाडा बुझाउन परेन। कामदार राखेका छैनौं। बुढाबुढी मिलेर काम गर्छौं। हाम्रो घर खर्च राम्ररी चलेको छ।
व्यवसाय सुरु गर्दा कति लगानी गर्नुभएको थियो?
सुरुमा ५० हजार जति लगानी भएको थियो। देविनगर चौपारि नजिकै एउटा सटरमा फ्रेस हाउसबाट सुरु गरेको हुँ। दुई-तीनवटा दाउ, अचानो, ढक तराजु, केही कुखुरा, पोलिथिन किनेर व्यवसाय सुरु गरेको थिएँ। अहिले त ६०/७० लाख भन्दा बढी लगानी भएको छ होला। पहिले कुखुरा स्टोर गर्ने खोर थिएन। अहिले आफ्नै जग्गामा खोर बनाएको छु। मापदण्ड पूरा गरेर घरमै फ्रेस हाउस बनाएको छु। फ्रिजहरू छन्। यी सबै यही व्यवसायबाट भएको आम्दानीले बनाएको हुँ।
यो व्यवसाय दर्ता गर्दा, सञ्चालनको अनुमति लिँदा कत्तिको झन्झट बेहोर्नुभयो?
व्यवसाय सुरु गर्दा त मैले केही पनि झन्झट बेहोर्नु परेन। सजिलैसँग दर्ता गर्ने, अनुमति दिने भयो। नगरपालिका, वाणिज्य कार्यालय, राजश्व कार्यालय जता-जता दर्ता गर्ने अनुमति लिनुपर्ने हो, सबैतिर लिएको छु। हरेक वर्ष व्यवसाय नवीकरण पनि गर्छु।
बाहिरबाट कुखुरा अण्डा लिएर आउँदा कुनै झमेला बेहोर्नुभयो?
त्यस्तो झमेला त धेरै पर्यो। पहिले कुखुरा बोक्ने गाडीमा जाली जडान गरेको हुँदैनथ्यो। गाडीमा जाली भएन भनेर प्रहरीले बाटेमा दुख दिन्थ्यो। यी कुखुरा कहाँका हुन् भारतबाट ल्याएका हुन् की भनेर पनि दु:ख दिन्थ्यो। पहिले किसानहरूले पनि फर्म दर्ता गरेको नहुने। बिल काटेर कारोबार गर्ने प्रचलन पनि कम हुन्थ्यो। गाडी रोक्ने चेकजाँच गर्ने हुन्थ्यो। अहिले बिलहरू अनलाइनमा हुन्छन् सजिलो छ।
तपाईंलाई आफ्नो व्यवसायबाहेक अरू के गर्न मन लाग्छ?
व्यवसाय बाहेक अरू त केही गर्न मन लाग्दैन। सदैभरि यही पसलमा भिड लागे हुन्थ्यो भन्ने लाग्छ।
साथीभाइ र परिवारसँग घुमफिर गर्ने रमाइलो गर्ने कत्तिको गर्नुहुन्छ?
यो व्यवसाय कहिल्यै बन्द गर्न नमिल्ने व्यवसाय पर्यो। तर पनि गोदाममा जिउँदो कुखुरा सकिएको मौका पारेर कहिलेकाहीँ घुमफिर गर्न निस्किन्छौँ। जीवनमा रमाइलो पनि गर्नुपर्छ भन्ने लाग्छ।
तपाईंको घरमा को-को हुनुहुन्छ?
घरमा श्रीमती शर्मिला श्रेष्ठ, छोरा र बुहारी छन्। एउटा छोरी हुन् उनको विवाह भएर आफ्नै घरमा छन्। बुवा भाइसँग बस्नुहुन्छ।
तपाईंलाई सबभन्दा बढी के खान मन लाग्छ?
मलाई मिठो गरी पकाएको छ भने सबै चिज मन पर्छ। माछासामुको कुनै रहर छैन। दाल भात तरकारी, फलफूल यस्तै मन पर्छ।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
उनीहरूले सुख नै दिने भन्दा पनि उनीहरूका कारण दुख भएको छैन। अहिलेसम्म छोराले पनि हामीलाई सघाई रहेको छ तर, केही समय विदेश जान्छु भन्दै छ। जान मन लागेको भए जा भनेका छौँ।
तपाई आफैले व्यवसाय चलाउनु भएको छ। विदेश नगएर ठिक गरेछु भन्नुहुन्छ तर, छोरालाई भने किन पठाउन थाल्नुभएको?
मेरो चाहना र छोराको चाहना एउटै हुने कुरा भएन। म नेपालमै सन्तुष्ट हुन सकेँ। थोरै धेरै पेन्सन पनि आउँछ। व्यवसायबाट पनि केही आम्दानी हुन्छ। म सन्तुष्ट छु। तर, छोराको लागी नेपालमा पर्याप्त नहुन सक्छ। मैले त विदेश जानुभन्दा यही व्यवसायलाई अझै राम्रो बनाएर चलाउने गर भनेको छु तर, उसले मान्दैन। एक पटक विदेशमा गएर पैसा कमाउन गर्नुपर्ने दुख र पैसाको महत्त्व बुझेर आओस् भन्ने चाहना पनि हो। विदेशमा कत्तिको दुख गरेपछि बल्ल पैसा कमाउन सकिने रहेछ भन्ने अनुभव लिन पनि पर्छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य त अहिलेसम्म राम्रो छ। कुनै बिमार भएर औषधी खानुपरेको छैन।
रातिमा कत्तिको निद्रा लाग्छ?
निद्रा पनि धेरै लाग्छ। निद्रा लागेन भनेर राती उठ्नुपर्ने तनाव लिनुपर्ने केही परेको छैन।
तपाईंलाई पैसा भयो भने यस्तो चिज गर्थें भन्ने केही छ?
पहिलेदेखि नै जागिर भएकोले सानो तिनो पैसाको अभाव त कहिले पनि भएन। अलि धेरै पैसा भए अहिले एक तला भएको घरलाई दुई तिन तलाको बनाउन हुन्थ्यो। गाडी किन्न हुन्थ्यो।
तपाई सबैभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
म सत्र वर्षको हुँदा विवाह भएको हो। केटाकेटी बुद्धि भएर पनि होला विवाह हुँदा धेरै खुसी भएको थिएँ। हुन त सानोमै विवाह भएकोले अहिले आफू जवान छँदै छोराछोरी दुवैको विवाह गर्न पाइसकिएको छ।
सबैभन्दा धेरै दुखी कहिले हुनुभयो?
म धेरै दुखी त कहिल्यै भइनँ। आमा बित्नुहुँदा दु:ख लाग्ने भइहाल्यो । आमालाई स्तन क्यान्सर थियो २०७९ सालमा बित्नुभयो। त्यसबाहेक दुखी भएर बस्नु परेको छैन।
तपाईंको मनमा गढेर बसेको पिर वा यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने कुनै कुरा छ?
आमा बित्दा जम्मा ६३ वर्षको हुनुहुन्थ्यो। गम्भीर रोग नलागेको भए अझै १५/२० वर्ष केही हुने थिएन की भन्ने लाग्छ। अप्रेसनपछि ठिकै भएजस्तो लागेको थियो। तर, भित्रभित्र फैलिरहेको रहेछ बचाउन सकिएन।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोल समाज राम्रै छ। सबै मिलेर बसेका छौं। मिलेर बस्नुपर्छ भनेर सबैलाई भन्छौँ पनि। रङ्गशाला मार्गदेखि पश्चिमतर्फको यो सुकुम्वासी बस्ती हो।
पहिले विभिन्न ठाउँबाट आएका मान्छेले जग्गा रोकेर बसेका हुन्थे कहिलेकाहीं झैझगडा पनि हुन्थ्यो। पछि उनीहरूले जग्गा बिक्री गरेर अन्यत्र गए। जग्गा किनेर बस्नेहरू एक आपसमा मिलेर बस्न थाले। अहिले राम्रो टोल बस्ती बनेको छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ भन्ने लाग्छ?
नेपालको राजनीतिको त कुरै नगरौँ। राजनीतिको कुरा सुन्न पनि मन लाग्दैन मलाई त। राजनीति ठीकसँग चलेको भए नेपाल यस्तो हुने थियो र?
राजनीति कस्तो हुनुपर्थ्यो?
राजनीतिले त सबै जनतालाई रोजगारी दिलाउन सक्ने हुनुपर्थ्यो। अहिले घरहरूमा कोही पनि युवा छैनन् सबै विदेशमा छन्। गाउँघरमा बुढाबुढी र केटाकेटी मात्र बसेका छन्। जनता देशमा जति बस्छन् त्यति विकास हुने हो। सबै व्यवसाय रोटेसनमा चल्थे। खाने, लगाउने उमेरका जनता देशमा नभएपछि सबै व्यवसायमा नराम्रो असर गरेको छ।
तपाईंलाई सबभन्दा मन पर्ने नेपालको नेता को हुन्?
पहिले त केपी ओली सबभन्दा बढी मन पर्थे। अहिले मन पर्न छोड्यो। पहिले केपी ओलीले भनेका कुरा ठिकै हुन् भन्ने लाग्थ्यो अहिले त गफ मात्र गर्नुभएको रहेछ भन्ने लाग्न थालेको छ।
चुनावमा भोट हाल्नुहुन्छ?
भोट हाल्ने त नागरिकको अधिकार नै भयो हाल्छु नि।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
भोट त अहिलेका अर्थमन्त्री विष्णु पौडेललाई दिएको हो। उहाँले बुटवलको विकासका लागी धेरै काम गर्नुभएको छ।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट हाल्नुहुन्छ?
अब त खोइ चुनाव नै बहिष्कार गर्ने हो की भन्ने लाग्न थाल्यो। सिस्टम नै खराब भएपछि एक दुई जना नेता राम्रो भएर केही नहुने रहेछ।
तपाईंलाई सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
अहिलेको सरकारले सबैभन्दा पहिले जनतालाई रोजगारी दिन पर्यो। आफैले केही गर्छु भन्नेहरूलाई काम गर्ने वातावरण बनाइदिने र अरू क्षमता दक्षता भएकाहरूलाई रोजगारी दिने। त्यो सँगै हाम्रो समस्या भनेको लालपुर्जाको समस्या हो। मैले यो घडेरी किनेको २०५८ सालमा हो अहिलेसम्म लालपुर्जा पाउन सकेको छैन। यो किनेको घडेरी हो। पक्की घर बनाएको छ तर, घर घडेरी धितो राखेर बैङ्कबाट ऋण निकाल्न पाउँदिन। यस्ता समस्या भएका बुटवलमा हज्जारौं छन् भने नेपालमा त लाखौँ छन्। त्यस्ता जग्गाको लालपुर्जा दिए मात्रै पनि उनीहरूले त्यही जग्गाबाट ऋण निकालेर व्यवसाय गर्थे। बेरोजगारीहरूको संख्या पनि घट्थ्यो।