(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
मनकला पन्थी केही दिन पहिले होराइजन चोकमा भेटिँदा आफ्नै उमेर समूहका महिलाहरूसँग कुराकानीमा मस्त थिइन्। एउटा घरको पेटीमा बसेर कुराकानीमा मस्त तिनै मनकलासँग मैले कुराकानी गर्न खोजेपछि एक छिन उनी अलमलमा परिन्। मैले आफू पत्रकार भएको र सेतोपाटीको लागि कुराकानी गर्न खोजेको भन्दै आफ्नो परिचय दिएपछि उनी कुराकानी गर्न राजी भइन्। तिनै मनकलासँग गरिएको भलाकुसारी।
आमा नमस्ते, आराम हुनुहुन्छ?
अहिलेसम्म त आरामै छु नानी।
तपाईं कति वर्षको हुनुभयो?
म जन्मिएको एक सय सालमा हो अहिले ८१ वर्ष पुगें कि!
तपाईंको घर कहाँ हो?
मेरो घर त खास अर्घाखाँचीको छत्रदेव गाउँपालिका ठूला पोखरा हो। अहिले छोराहरूसँग यही बुटवल ११ कालिकानगर बैकुण्ठपथमा बस्छु।
बुटवलमा बस्न थाल्नुभएको कति वर्ष भयो?
छोराहरू पहिलेदेखि नै पढ्न भन्दै बुटवलमा आएका थिए। पढेर यतै जागिर खाए। म बुटवलमा बस्न थालेको चार वर्ष भयो। त्योभन्दा पहिले पहाडमै बस्थेँ। अब बुढी हुनुभयो पहाडमा एक्लै बस्न पाउनुहुन्न भनेर मलाई पनि यतै लिएर आएका छन्।
तपाईंको घरमा कोको हुनुहुन्छ?
अहिले त म कान्छो छोरा शङ्कर पन्थीसँग बस्छु। छोराले नगरपालिकातिर जागिर गर्छन्। माइलो छोरा नारायण पनि यतै बुटवलतिरै छन्। जेठो छोरा सालिकराम काठमाडौंमा छन्। छोरीहरू दुइटी हुन् दुबै जनाको विवाह भएर आआफ्नै घरमा छिन्। कान्छी छोरी बुटवल गोलपार्कमा छिन्, ठूली छोरी विदेशमा छिन्।
७८ वर्षसम्म पहाडको शीतलमा बस्नुभयो। अहिले बुटवलमा बस्दा कत्तिको गर्मी मान्नुभएको छ?
गर्मी लागे पनि अब बानी पार्नु पर्यो। यतिका वर्ष शीतलमा बसेर अहिले बुढेसकालमा तराई झर्दा गर्मी त लाग्ने नै भयो। त्यही पनि पङ्खा चलाएर कोठाभित्र बसेपछि शीतल नै हुन्छ।
बस्नलाई पहाड रमाइलो रहेछ कि बुटवल?
आफ्नो जीवन नै पहाड बिताएको मान्छेलाई पहाडै रमाइलो लाग्छ नि। आफन्त नातागोता छरछिमेक सबै पहाडमा छन्। आफ्ना छोराछोरी यतै भए पनि अरू साथीभाइ छरछिमेक सबै उतै छोडिए। आफूले आर्जेको खेतबारीमा अरूले खेती लगाएर खाएका छन् घरमा ताल्चा लगाएर छोडेको छ।
यहाँ आएर साथी, छिमेकी बनाउनुभएको छैन?
गाउँघरमा जस्तो सहर बजारमा कहाँ हुन्छ र! गाउँमा एउटा टोलमा सबै आफन्त दाजुभाइले भरिएको हुन्छ। बजारमा एउटै टोलमा बस्नेहरू पनि आठ दश वटा जिल्लाबाट आएर बसेका हुन्छन्। उनीहरूसँग घुलमिल हुन, चालचलन र रहनसहन बुझ्न नै समय लाग्छ। साँझ बिहान घरबाट बाहिर निस्किन थालेपछि बल्ल आफूजस्तै दुईचार जना साथी भेट्न थालेकी छु।
बुढेसकालमा साथी बनाउन कत्तिको गाह्रो भयो?
सहरमा आए पनि दुख सुख सबैका उस्तै हुने रहेछन्। म जस्तै छोराछोरीको पछि लागेर बुटवलमा बस्न आएकाहरूसँग सजिलै घुलमिल हुन सकेँ। अहिले त सुखदुखका, रमाइला कुराकानी गर्ने गर्छौं।
दिनभरि के गरेर बिताउनुहुन्छ?
घरमा नातिहरू छन्। साँझ बिहान उनीहरूसँगै समय बित्छ। कहिले के भन्छन्, कहिले के भन्छन् समय बितेको पत्तै हुँदैन। दिउँसोमा नातिहरू स्कुल गएपछि खाना खाने एकछिन पल्टिएर आराम गर्ने गर्छु।
तपाईंलाई के गर्न मन लाग्छ?
नातिहरूसँग खेल्ने, घर वरपर डुल्ने यस्तै गर्दा रमाइलो लाग्छ। घरभित्रको केही काम गर्न बुहारीले दिन्नन् आफै गर्छिन्। पहाडमा बसुन्जेल खाना पकाउने सबै आफै गर्थेँ। यहाँ आएपछि केही समय बिरामी भएँ त्यसपछि केही पनि काम गरेकी छैन।
तपाईंलाई सबभन्दा बढी के खान मन लाग्छ?
आहा! यस्तो चिज खान पाए हुन्थ्यो भन्ने केही छैन। भोक लागेको हुनुपर्यो जे भए पनि मिठो लाग्छ।
छोराछोरीले कत्तिको सुख दिनुभएको छ?
भगवानको कृपाले अहिलेसम्म कुनै पनि छोराछोरीबाट असन्तुष्ट हुनुपर्यो भन्ने छैन। सबैबाट सन्तुष्ट छु। अहिले कान्छो छोरासँग बसेको भए पनि मलाई सबैले राम्रो ख्याल गर्छन्।
तपाईंको स्वास्थ्य कस्तो छ?
तीन चार वर्ष भयो स्वास्थ्य त्यति राम्रो छैन। सुगर र प्रेसर देखिएको छ। दुवैको औषधि खान्छु।
रातिमा कत्तिको निद्रा लाग्छ?
निद्रा राम्रै लाग्छ। कहिलेकाहीँ शरीरमा सन्चो छैन भने निद्रा लाग्दैन शरीरमा सन्चो छ भने राम्रोसँग निद्रा लाग्छ।
तपाईंलाई ठिक्क पैसा भए यस्तो चिज किन्ने थिएँ भन्ने केही छ?
यस्तो चिज किन्ने थिएँ भन्ने केही पनि छैन। मलाई जे चाहिन्छ सबै चिज छोराछोरीले पुर्याइदिएका छन्। पहिले गाउँमा बस्दा पनि यस्तो भए हुन्थ्यो भन्ने केही भएन। २०४४ सालमा श्रीमान् नन्दलाल पन्थी बित्नुभएको हो। ५८ वर्षको उमेरमा श्रीमान् बित्दा कान्छो छोरा ४ वर्षका थिए। पाँच जना छोराछोरीलाई धेरै दु:ख गरेर एक्लै हुर्काउने पढाउने गरेँ। अहिले उनीहरूले मलाई केहीको अभाव हुन दिएका छैनन्।
श्रीमान त्यति छिट्टै के भएर बित्नुभएको हो?
श्रीमान भारततिर हुनुहुन्थ्यो। भारतबाट आउँदा बाटोमा अलि अलि रूघा लागेको थियो। पछि छाती पनि दुख्यो भन्नुभयो। घर गएपछि पनि सन्चो भएन। केही दिनपछि बित्नुभयो।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो?
खुसी त श्रीमान हुन्जेल नै भइयो। श्रीमान बितेपछि आत्मबल पनि हरायो। खुसी पनि हरायो। राम्रो लगाउने, मिठो खाने, घुमफिर गर्ने, रमाइलो गर्ने सबै हरायो नि।
तपाईं सबभन्दा धेरै दुखी कहिले हुनुभयो?
दुखी पनि श्रीमान बित्दा भइयो नि। म ४४ वर्षकी हुँदा श्रीमान बित्नुभयो। श्रीमान बितेपछि धेरै पिर पर्यो। घरभरि छोराछोरी छन् उनीहरूलाई के खुवाउने, कसरी पढाउने हुर्काउने भन्ने तनाव र चिन्ताले पनि धेरै समय सतायो नि।
तपाईंको मनमा गढिरहेको कुनै पिर वा यस्तो चिज नभएको भए हुन्थ्यो भन्ने केही छ?
मन गढेको पिर त श्रीमान त्यति छिट्टै नबित्नुभएको भए हुन्थ्यो भन्ने लाग्छ। नातिहरूले कहिलेकाहीँ हजुरआमा हाम्रो हजुरबुवा खोइ भन्छन् त्यति बेला बिर्सिएको कुराले पनि झल्याँस्स बनाउँछ।
तपाईंलाई टोल समाज कस्तो लाग्छ?
यहाँको टोल समाज कस्तो छ मैले बुझेकी छैन। म वरपर कसैको घरमा जाने पनि गर्दिनँ। कहिलेकाहीँ बाहिर फेर हिँड्दा आफ्नै उमेरका बुढाबुढी भेट भए बोल्ने गर्छु। अरू कुन घरको मान्छे कस्तो छ भन्ने थाहा छैन। पहाडको टोल समाज भने धेरै राम्रो छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ भन्ने लाग्छ?
मलाई त राजनीति भन्ने केही थाहा छैन।
तपाईंलाई नेपालको नेताहरूमा को मन पर्छ?
मैले त नेताहरू पनि कोही चिन्दिनँ। नचिनेपछि कुन नेता मन पर्छ भन्नु।
चुनावमा भोट हाल्नुहुन्छ कि नाइँ?
भोट त हाल्छु। गएको चुनावमा भने म बुटवलमा बिरामी थिएँ। भोट लिस्ट गाउँमै भएकोले भोट दिन गइनँ। त्योभन्दा पहिले गाउँमै थिएँ भोट हालेकी थिएँ।
उति बेला कसलाई भोट दिनुभएको थियो?
उति बेला त नेपाली काँग्रेसलाई भोट दिएजस्तो लाग्छ।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
चुनाव हुने बेलासम्म कस्तो मान्छे चुनावमा उठ्छन् त्यसपछि विचार गर्नुपर्ला नि। त्यही पनि छोराहरूले कसलाई भोट दिने भन्छन् उसैलाई दिने नि।
तपाईंलाई सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले त सबभन्दा पहिले युवाहरूलाई रोजगारी दिए हुन्थ्यो। नेपालमा रोजगारी मिल्ने भए कोही पनि विदेश जानुपर्दैन थियो। मेरी ठूली छोरी र ज्वाइँ विदेशमा हुनुहुन्छ। नातिनी पनि जापानमा छिन्। नेपालमा रोजगारी मिल्ने भए त उनीहरू विदेश जानु पर्ने थिएन नि!
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्