(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
रूपन्देहीको रोहिणी–४ छिपा गढका ५० वर्षीय सुरेन्द्र प्रसाद चौधरी मालपोत कार्यालय खुल्ने समय पर्खिएर बसेका थिए। बिहान सवा नौ बजेतिर चौपारीमा बसेका सुरेन्द्र पिँठ्यूमा झोला बोकिरहेका थिए। एक्लै चौपारीमा बसिरहेका सुरेन्द्रसँग मैले सेतोपाटीको लागि भलाकुसारी गरेकी छु।
चौपारीमा एक्लै कसैलाई पर्खिएर बस्नुभएको हो?
मालपोत कार्यालय खुल्ने समय पर्खिएर बसेको हो। सानो कामका लागि मालपोतमा आएको अलि छिटो भएछ। अफिस खुल्ने बेलासम्म यही चौपारीमा बसेको नि।
जग्गाको किनबेच थियो कि अरू केही कामले आउनुभएको हो?
जग्गा बिक्री गर्न त छैन। हाम्रो थोरै जग्गा बुवाको नाममा छ। बुवा बित्नुभयो। अहिले त्यही जग्गाको लालपुर्जा अर्कैको नाममा पनि छ रे भनेर बुझ्न आएको हो।
तपाईं के काम गर्नुहुन्छ?
म घरको गाह्रो लगाउने मिस्त्री काम गर्छु।
कति वर्ष भयो मिस्त्री काम गर्न थाल्नुभएको?
धेरै भएको छैन। पाँच छ वर्ष जति मात्र भयो।
त्योभन्दा पहिले के काम गर्नुहुन्थ्यो?
पाँच छ वर्ष विदेशमा गएर बसेँ। काम गर्न कतार गएको त्यहाँ पनि भनेजस्तो भएन। अब नेपालमै बसेर केही काम गर्छु भनेर मिस्त्री काम सुरू गरेको हो।
कस्तो छ अहिले काम, कत्तिको पाइन्छ?
अहिले त काम नै पाइँदैन। मैले दैनिक हाजिरमा काम गर्ने हो। कसैले सानोतिनो केही बनाउन पर्यो भने बोलाउँछन्। महिनामा आठ दश दिन पनि काम पाइँदैन। आफैले ठेक्का लिएर अरूलाई पनि काम दिन सक्ने हो भने अलि कमाइ हुन्थ्यो होला।
एक दिन काम गरेको कति पैसा लिनुहुन्छ?
धेरै छैन। जम्मा एक हजार रुपैयाँ दिन्छन्।
कत्तिको सन्तुष्ट हुनुहुन्छ कामबाट?
महिनामा दस पन्ध्र दिन काम गरेर आठ दश हजार कमाएर के को सन्तुष्टि हुने हो र! कम्तीमा महिनामा २५/२६ दिन काम गर्न पाए बल्ल सन्तुष्ट हुन सकिन्थ्यो। अहिले त घर बनाउनेहरू पनि भेटिँदैनन्। सबैतिर आर्थिक मन्दी छ भन्छन्। त्यसैको मारमा हामी पनि पर्यौँ।
काम नभएको दिनमा के काम गर्नुहुन्छ?
के काम गर्नु घरमा बस्ने। चार वटा बाख्रा छन् तिनैलाई चराउन लैजाने गर्छु।
घरमा को को हुनुहुन्छ?
घरमा श्रीमती र दुई जना छोराछोरी छन्।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
अहिले त पढ्दै छन्। पढेर जागिर खाएपछि बल्ल सुख दिएका छन्।
तपाईंलाई के काम गर्न मन लाग्छ?
आफूले गर्ने काम सधैँ पाइरहे त्यसैमा रमाइलो लाग्छ मलाई त। सधैं काम पाइए हुन्थ्यो भन्ने लाग्छ।
तपाईंलाई सबभन्दा के खान मन लाग्छ?
मलाई त दालभात तरकारी नै खान मन पर्छ। नेपाली भएपछि नेपाली खाना नै मन पर्नु पर्यो।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या त देखिएको छैन। कहिलेकाहीँ ब्लड प्रेसर बढ्छ अरू समस्या छैन।
ब्लड प्रेसर बढ्दा के गर्नुहुन्छ, औषधि खानुहुन्छ?
अहिलेसम्म औषधि पनि खाएको छैन। नुन कम खाने गर्छु।
जँचाउन कत्तिको जानुहुन्छ?
बेलाबेलामा जँचाउँछु।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्रा त लास्टै लाग्छ नि! दिनभरि काम गरेको दिनमा थकाइ लागेर पनि होला काम नभएको दिनमा पनि निद्रा राम्रो लाग्छ।
तपाईंलाई ठिक्क पैसा भयो भने के गर्नुहुन्छ?
थोरै पैसाले केही काम हुँदैन, धेरै पैसा कहिल्यै हुँदैन। धेरै पैसा भयो भने घर बनाउने थिएँ। अहिले दाजुभाइ सबै एउटै घरमा एउटा एउटा कोठामा बसेका छौँ। पैसा भए आफ्नो अलग्गै घर बनाउन हुन्थ्यो।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो?
कहिले धेरै खुसी, कहिले थोरै खुसी हुने भइनँ। सधैं एकनासले चलेको छ।
तपाईं सबभन्दा धेरै दु:खी कहिले हुनुभयो?
दु:खी त बुवाआमा बितेको बेला भइयो। एक वर्षको फरकमा बुवाआमाको मृत्यु भएको हो।
तपाईंको मनमा बसिरहेको कुनै पिर छ?
मैले मनमा पिर लिएर बस्दिनँ। केही पनि पिर छैन।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
धेरै राम्रो छ हाम्रो टोल समाज त। सबै जना मिलेर बसेका छौं। एक अर्कालाई सुखदु:ख परेको बेला सघाउने गर्छौं।
तपाईँलाई नेपालको राजनीति कस्तो लाग्छ?
नेपालको राजनीतिबारे मैले धेरै त बुझेको छैन। तर, ठिकसँग चलेको छ भन्ने जस्तो लाग्दैन।
ठिकसँग चलेको जस्तो किन लाग्दैन?
राजनीति ठिकसँग चलेको भए देशमा धेरै राम्रो हुन्थ्यो नि। सबैले काम पाउने थिए। कोही पनि विदेश जानुपर्ने थिएन। नेपालमा बसेर फाल्तु हुनुपर्ने थिएन। म नेपालमै बसेर काम गर्न खोजेको छु तर, काम पाएको छैन।
तपाईंलाई नेपालको नेता को मन पर्छ?
नेता पनि मैले कोही चिन्दिनँ। मैले धेरै चासो पनि दिन्नँ।
चुनावमा भोट हाल्नुहुन्छ कि नाइँ?
धेरै पहिले दुई पटक भोट हालेको थिएँ। गएको चुनावमा फोटो खिचेर भोटर कार्ड बनाएको थिइनँ। कार्ड नभएपछि भोट हाल्न पाइनँ। अहिले बल्ल कार्ड बनाएको छु। अबको चुनावमा भोट हाल्ने हो।
अहिले चुनाव भयो भने कसलाई भोट हाल्नुहुन्छ?
अहिले त कहाँ भन्न सकिन्छ र कसलाई भोट हाल्ने भनेर। पहिले चुनाव हुने पक्का हुनुपर्यो। त्यसपछि को मान्छे उम्मेदवार हुन्छ हेरेर बल्ल कसलाई हाल्ने विचार गर्नुपर्ला।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले सबैलाई रोजगारी दिए हुन्थ्यो। जसले जे काम गर्न सक्छ, उसको सीप जे छ त्यही अनुसारको काम सरकारले दिए हुन्थ्यो।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्