(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
वैशाख ३० गते दिउँसो तुलसीपुर उपमहानगरपालिका–७, खर्चवा गाउँको एउटा घरअगाडि एक पुरूष पिपलको छहारीमा एक्लै बसेका थिए। उनी रहेछन् ३८ वर्षीय सुनिल विक। सामुन्नेको घर उनकै रहेछ।
मैले उनीसँग चिनजान गरेँ। आफूले सेतोपाटीका लागि कुरा गर्न चाहेको बताए। उनी राजी भए। रोजगारीका सिलसिलामा तीन पटक विदेश गएका रहेछन्। एक वर्षयता घरमै रहेछन्।
आजकाल के गर्दै हुनुहुन्छ?
खासै केही गरेको छैन। घर बस्ने, खाने र दिन कटाउने जस्तो मात्रै भएको छ।
परिवारमा कोको हुनुहुन्छ?
बुबा, आमा, मेरो छोरो, माइलो भाइ र कान्छो भाइकी श्रीमती एकै घरमा छौं। कान्छो भाइ मलेसियामा छ। बहिनीहरूले एउटै घरमा सहोदर दुई भाइसँग बिहे गरेका छन्।
छोरा तपाईंहरूका एक्ला सन्तान हुन्?
होइन, छोरी पनि छिन्। उनको बिहे भइसक्यो। ज्वाइँ सुनचाँदीको कालीगढी काम गर्नुहुन्छ।
तपाईंहरूको बिहे कसरी भएको थियो?
बिहे हुनुअघि हाम्रो चिनजान र देखभेट थिएन। पहिले हाम्रो घर तुलसीपुरको मोतीपुरमा थियो। यता (खर्चवा गाउँ) आएको १४ वर्ष भयो। वडा एउटै हो, गाउँ मात्र फरक। मागी बिहे भएको हो। केटी माग्न बुबाआमासँग म पनि गएको थिएँ। केटीका ठूलाबासँग कुरा भएको थियो।
बिहे हुँदा म १५ वर्षको थिएँ, ऊ १३ वर्षकी थिई। बिहे भएको २३ वर्ष पुग्यो। तर अहिले हामी सँगै बस्दैनौं।
तपाईंले कति पढ्नुभएको छ?
जम्मा पाँच कक्षा पास गरेको हुँ। घरको आर्थिक स्थितिले गर्दा पढ्न पाइनँ। हामी पाँच जना छोराछोरी थियौं, बुबाआमा ज्याला मजदुरी गर्नुहुन्थ्यो।
म सबैभन्दा जेठो हुँ। बुबाआमा काममा जाँदा मैले नै भाइबहिनीको रेखदेख गर्नुपर्थ्यो। घरको काममा लाग्नु परेपछि पढाइ छुट्यो। बुबा काठको काम गर्नुहुन्थ्यो। मैले उहाँलाई पनि सघाउनुपर्थ्यो।
तपाईं पनि रोजगारीका लागि विदेश जानुभयो?
तीनपटक गएँ। पहिलोपटक साउदी अरब (सन् २००७ मा) गएको थिएँ, १७ महिनामै फर्कें। त्यसपछि पाँच वर्ष घर बसेर कतार गएँ। त्यहाँ एक वर्ष बसेर फर्कें। फेरि पाँच वर्ष घर बसेर कतार नै गएँ, दुई वर्ष बसेर फर्केको १३ महिना भयो। बिदामा आएको थिएँ, फेरि गइनँ।
तपाईंले दुई वर्ष कतार बस्दा घरमा कति पैसा पठाउनुभएको थियो?
मैले जम्मा १३ लाख (रुपैयाँ) पठाएँ। विदेश जाँदा पाँच लाख रुपैयाँ ऋण लागेको थियो। त्यसमा एक लाखजति थपियो होला।
तपाईंको जग्गाजमिन कति छ?
यही घरबास भएको १२ धुर मात्रै हो, त्यै पनि ऐलानी। यो जग्गा किनेको १४ वर्ष भयो। अन्नपात सबै किनेर खाने हो।
तपाईंको स्वास्थ्य कस्तो छ?
राम्रो छ, कुनै पनि समस्या छैन तर घरायसी तनावले राति निद्रा लाग्दैन। छोराले पढाइ छाड्नु, स्कुल पढ्दै गरेकी छोरीले आफै बिहे गर्नु; यस्तै कारणले राति निद्रा लाग्दैन। तै निद्रा लाग्छ कि भनेर रक्सी खाएर सुत्छु। रक्सीले त मान्छेलाई झन् कमजोर र बर्बाद बनाउँदो रहेछ। हप्ता दिन भयो रक्सी खाएको छैन।
यति बेला तपाईंसँग खर्च गर्न सक्ने ठिक्क पैसा भए के गर्नुहुन्थ्यो?
विदेशमा कमाएर जग्गा किन्ने थिएँ, एउटा घर बनाउने थिएँ। भोलि छोरी माइत आउली, घर भए पकाएर खान पाउली। छोराका लागि अलिकति जग्गा हुने थियो।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
आफ्नो बिहे गर्दा र छोराछोरी जन्मिँदा खुसी लागेको थियो तर बिहे भएको २१ वर्षपछि खटपट भइरहेको छ।
तपाईं धेरै दुःखी कहिले हुनुभयो?
श्रीमतीसँग मिल्ती नहुनुजस्तो अर्को दुःख के हुन्छ र! अझै पनि मलाई विश्वास छ, ऊ मलाई माया गर्छे, मलाई सम्झेर आउँछे। एक दिन सम्झाएर घर ल्याउँछु। अस्ति उसले मलाई अर्को बिहे गर भनी। म बिहे त गर्दै गर्दिनँ, बरू यो जीवन यसै बिताइदिन्छु।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
मलाई भरोसा नै समाजको लाग्छ। समाज सहयोगी छ। दुःखसुखमा साथ दिने समाज छ। आफू राम्रो भए सबै राम्रो हुन्छ जस्तो लाग्छ।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ?
उद्योगधन्दा खोलेर रोजगारी दिए हुन्थ्यो भन्ने लाग्छ। युवाहरू विदेश जानु नपरे हुन्थ्यो। विदेश गएर ८० हजार कमाउनुभन्दा आफ्नै ठाउँमा परिवारसँग रमाउँदै ३० हजार कमाउन पाए ठूलो कुरा हुने थियो।
तपाईंले गएको चुनावमा भोट दिनुभयो?
म विदेशमा थिएँ। भोट दिन पाइनँ। त्यसअघिको चुनावमा नेकपा एमालेलाई दिएको थिएँ।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब त सबै कुरा बुझेर मात्र दिने हो।
तपाईंलाई सबैभन्दा धेरै मन पर्ने नेता को हो?
रवि लामिछाने, उनी देश विकासका लागि काम गर्न सक्ने नेता हुन् भन्ने सुनेको छु। चितवनमा राम्रो गरेका छन् भन्ने पनि सुनेको छु।
अन्तिममा के भन्न चाहनुहुन्छ?
श्रीमतीलाई एउटा सन्देश पठाउन चाहन्छु– उनी छिट्टै घर आऊन्। उनले धेरै पढेकी त छैनन् तर यो कुरा अवश्य पढ्नेछिन्।
म मेरा गल्ती सच्याउन तयार छु। रक्सी खान्नँ। मलाई धेरै गाह्रो भएको छ। तिमी छिट्टै आऊ।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्