(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
अर्घाखाँचीको शीतगंगाकी अनिता अधिकारी बुटवलमा फलफूल व्यापार गर्छिन्। केही दिनअघि बुटवलको कालिकापथमा ठेलामा फलफूल राखेर बेच्दै गरेकी ३४ वर्षीया अनितासँग भेट भयो। मैले उनीसँग सेतोपाटीका लागि केहीबेर भलाकुसारी गरेकी छु।
के छ तपाईंको खबर, आराम हुनुहुन्छ?
अहिलेसम्म आरामै छु। भोलि त कसैले देखेको छैन!
फलफूल व्यापार थालेको कति समय भयो?
यो ठाउँमा सुरू गरेको गएको भदौमा हो। त्यसअघि बुटवलकै अर्को ठाउँमा पसल गर्थ्यौं। व्यापार गर्न थालेको पाँच वर्ष भयो।
व्यापार गर्नुअघि के काम गर्नुहुन्थ्यो?
पहिले त श्रीमान मलेसियामा हुनुहुन्थ्यो, म घरमा थिएँ। खेतीपातीको काम हुन्थ्यो।
श्रीमान मलेसियामा कति वर्ष बस्नुभयो?
धेरै बस्नुभएन, तीन वर्ष जति बस्नुभयो। विदेशमा पनि भनेजस्तो राम्रो भएन। परिवारसँगै बस्ने भनेर यतै हुनुहुन्छ।
अहिले श्रीमान के काम गर्नुहुन्छ?
हामी दुबै जनाको व्यापार यही हो। म साँझबिहान घरको कामधन्दामा हुन्छु, श्रीमान व्यापार गर्नुहुन्छ। म घरधन्दा सकेर छोराहरूलाई स्कुल पठाउँछु र दिउँसो आउँछु।
एक दिनमा कति व्यापार गर्नुहुन्छ?
व्यापारको त टुंगो नै हुँदैन। कहिले तीन हजार (रुपैयाँ) को मात्रै बिक्री हुन्छ। कहिले आठ–दश हजारको पनि हुन्छ।
नाफा कति हुन्छ?
नाफाको पनि टुंगो हुँदैन। थोकमा फलफूल ल्याउँदा कस्तो मूल्य परेको हुन्छ, त्यसैअनुसार नाफाघाटा हुने हो। थोकमा पनि एकरूपता हुँदैन। फलफूल महँगो छ।
हामी पेटी (काठको बक्सा) मा राखेर ल्याएको फलफूल किन्छौं, रोज्न पाइँदैन। ग्राहकले रोजेर लैजानुहुन्छ।
पेटीमा किन्दा दुईचार वटा बिग्रिएका, फुटेका, किच्चिएका पनि हुन्छन्। केही दिन बिक्री भएन भने सुक्छ, सड्छ। त्यो पनि जोडेर मूल्य राख्नुपर्छ। नाफा धेरै बस्दैन।
फलफूलको जुस पनि बनाउनुहुँदो रहेछ, फलफूल र जुसमध्ये केमा बढी नाफा हुन्छ?
रसिलो फलफूल छ भने जुस बेच्दा राम्रो फाइदा हुन्छ तर जुस खान आउने धेरै हुँदैनन्। किन्नेले फलफूल नै खोज्छन्।
फलफूल व्यापार सुरू गर्दा कति लगानी गर्नुभएको थियो?
लगानी त सानो हो। सुरूमा २० हजार जति लगाएका थियौं। अहिले मिक्स्चर थपेका छौं।
एक पटकमा कति रुपैयाँको सामान ल्याउनुहुन्छ?
एकपटकमा २०–२५ हजारको आउँछ। धेरै बिक्री भएर सकिन लाग्यो भने तुरून्तै पनि ल्याउन सकिन्छ।
यो व्यापारबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
सुरूआत भएर हो कि त्यति सन्तुष्ट हुने गरी व्यापार भएको छैन। अहिले त अरू क्षेत्रको व्यापार पनि त्यस्तै छ। बिस्तारै बढ्ला भन्ने आशा छ।
घरमा कोको हुनुहुन्छ?
अहिले बुटवलमा हामी बुढाबुढी (श्रीमान्–श्रीमती) र दुई छोरा छौं।
छोराहरू कति उमेरका छन्?
ठूलो छोरो १२ वर्षको भयो, कान्छो छोरो बल्ल चार वर्षको छ।
हप्तामा कति दिन व्यापार गर्नुहुन्छ?
कुनै दिन पनि बन्द हुँदैन। सधैं पसल राख्छौं।
तपाईंलाई व्यापारबाहेक अरू के गर्न मन लाग्छ?
अहिले त यसैमा रमाइलो लागेको छ। अरूतिर ध्यान छैन। एक दुई वर्ष यही व्यापार गरेर हेरौं, कस्तो हुन्छ! खर्च धान्न सकिएन भने अर्को व्यवसाय सोच्नु पर्ला।
घुमफिर गर्न, सिनेमा हेर्न कत्तिको मन लाग्छ?
मन त लाग्छ तर समय हुँदैन, पैसा पनि चाहियो। अहिले छोराहरू सानै छन्। उनीहरूलाई हुर्काउनु छ, पढाउनु छ।
तपाईंलाई मन पर्ने खाने कुरा के हो?
खानेकुरा यो मिठो, त्यो नमिठो भन्ने केही पनि छैन। भोक लागेको हुनुपर्छ, सबै मन पर्छ। फलफूलमा अरूभन्दा केरा बढी मन पर्छ।
आफ्नै पसल छ, केरा कत्तिको खानुहुन्छ त?
दिनदिनै खान्छु। बोक्रा अलिअलि कालो हुन लाग्यो भने ग्राहकले किन्नुहुन्न। त्यस्तो केरा हामी नै खान्छौं।
मालभोग केरा बोक्रा कालो हुन थाल्दा मात्र भित्र राम्रोसँग पाकेको हुन्छ तर ग्राहकलाई मन पर्दैन।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म ठिकै छ। कुनै औषधि खानु परेको छैन।
रातमा निद्रा कस्तो छ?
निद्रा त राम्रो लाग्छ। श्रीमान बेलुका पसल बन्द गरेर घर आउनुहुन्छ। खाना खाएर सुत्दा ११ बजेको हुन्छ। बिहान पाँचै बजे उठ्नुपर्छ। सुतेपछि निदाइहाल्छु।
अहिले तपाईंसँग खर्च गर्न सक्ने केही पैसा भए के गर्नुहुन्थ्यो होला?
पैसा नभएर होला, कुनै योजना छैन। पैसा भयो भए यही पसल अलिक व्यवस्थित बनाउँथें होला।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
ठूलो बाबु (छोरो) कक्षामा फर्स्ट (प्रथम) भएर पुरस्कार लिएर आउँदा सबभन्दा धेरै खुसी हुन्छु। ठूलो बाबु अहिले कक्षा ६ मा पढ्छ। पढाइ राम्रो छ, सधैं फर्स्ट हुन्छ।
सबभन्दा धेरै दुःखी कहिले हुनुभयो?
ससुरा बुवा बित्दा धेरै दुःख लाग्यो। गाउँमै विद्युतको पोल ढलेर लाग्यो, ७२ वर्षको उमेरसम्म पनि कुनै समस्या थिएन। औषधि खान पर्ने थिएन।
एक्कासि पोल ढलेर टाउकोमा लाग्यो, हातखुट्टा भाँच्चिए। नौ महिना भरतपुर अस्पतालमा राखेर उपचार गरायौं। उहाँले धेरै दुःख पाउनुभयो। आखिरमा बित्नुभयो।
विद्युत् प्राधिकरणले उपचार खर्च दियो कि दिएन?
कहाँ दिनु! एक पैसा पनि दिएन। उपचारमै १५–१६ लाख (रुपैयाँ) खर्च लाग्यो, सबै ऋण खोज्नु पर्यो।
यस्तो नभइदिएको भए हुन्थ्यो भनेर तपाईंको मनमा गढेको कुनै पिर छ कि?
ससुरा बुवाको त्यस्तो घटना नभइदिएको भए हुन्थ्यो भन्ने लाग्छ। एकदम टाठो हुनुहुन्थ्यो। कुनै रोग थिएन। त्यो दुर्घटना नभइदिएको भए धेरै वर्ष राम्ररी बाँच्नुहुन्थ्यो।
त्यो घटना नभएको भए हामीलाई ऋण पनि लाग्ने थिएन। आखिर बुवाको ज्यान गयो, पैसा पनि गयो।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
पहाड गाउँको टोलसमाज धेरै राम्रो छ। छरछिमेकमा सानोतिनो काम पर्दा पनि सबै जुटेर उति खेरै पार लगाउँछन्।
यहाँ (बुटवल) को पनि ठिकै छ। आफ्नो घर भएको ठाउँमा र भाडामा बसेको ठाउँमा टोलसमाजले गर्ने व्यवहार अलिक फरक भइहाल्छ।
टोलसमाजमा हुने सामाजिक काममा घरधनी नै गइहाल्नुहुन्छ। हामी हाम्रो व्यापारमै व्यस्त हुन्छौं।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ?
खोई! राजनीतिबारे त मलाई धेरै थाहा छैन। राम्रोसँग चलेको छ जस्तो पनि लाग्दैन।
किन राम्रोसँग चलेजस्तो लाग्दैन?
देशको राजनीति कसरी चलेको छ भन्ने हेर्न स्कुल र अस्पताल गए पुग्छ। राजनीति राम्रो भइदिएको भए शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने थियो।
एउटा परिवारले दुई जना बच्चा पढाउन सक्ने अवस्था छैन। बिरामी भएर केही दिन अस्पताल बस्नुपर्यो भने घरजग्गा बेच्नुपर्छ। यस्तो पनि राजनीति हुन्छ र!
नेपालमा काम गर्न कुनै पनि क्षेत्र सुरक्षित छैन। दिनदिनै हजारौं युवा विदेश जान्छन्। राजनीति ठिक नभएर त हो नि यस्तो भएको।
चुनावमा भोट दिनुभएको छ कि छैन?
भोट दिने त जनताको अधिकार हो नि, मैले पनि दिएकी छु।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
मेरो नाम अर्घाखाँचीमा छ। गएको चुनावमा बाबु (छोरो) सानो थियो, जान सकिनँ। प्रदेशको चुनावमा मेरा मामा (प्रदेश सांसद रामजी घिमिरे) एमालेबाट उठ्नुभएको थियो, उहाँलाई नै दिएँ।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
अब त भोट दिन गइन्नँ।
भोट दिने जनताको अधिकार भन्नुहुन्छ, गइन्नँ पनि भन्नुहुन्छ, किन?
कुन पार्टीका, कुन नेतालाई भोट दिएर जनताले के पाए भन्नुहोस् त! आफ्नो व्यवसाय बन्द गरेर, खर्च गरेर टाढाबाट जानुपर्छ, चुनाव जितेपछि नेताले जनतालाई चिन्दैन।
तपाईंलाई मन पर्ने नेता को हो?
पुराना नेताहरू कोही पनि मन पर्दैन। मेरा मामा पनि पुरानो पार्टीमा हुनुहुन्छ। उहाँले आफ्नो क्षेत्रमा विकासको काम अलिअलि गर्नुभएको छ तर जति गर्न सक्नुहुन्थ्यो त्यति गर्नुभएन भन्ने लाग्छ।
नयाँ आएका नेताहरूमा बालेन साह र रवि लामिछानेले केही गर्छन् कि भन्ने लागेको छ। उनीहरूको पनि काम हेर्न बाँकी छ।
सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले सबैभन्दा पहिले रोजगारी सिर्जना गर्नुपर्छ। देशमा रोजगारी भयो भने युवाहरू विदेश जानु पर्दैन। काम गर्ने युवा देशमा बसेपछि विकास पनि छिटो हुन्छ।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्