(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ— सम्पादकीय नोट)
हामी आममान्छे
तुलसीपुर उपमहानगरपालिका–१९ को छिल्लीकोट राजारजौटाहरूले राज गरेको ऐतिहासिक पहाडी भूभाग हो। यसको सीमाना रोल्पा जिल्लासँग जोडिएको छ। यहाँ मालिका कालिका मन्दिर रहेको छ।
यही चैत २३ गते तुलसीपुर उद्योग वाणिज्य संघले पर्यटन प्रवर्द्धनका लागि मन्दिर पसिरमा आयोजना गरेको छलफलमा भाग लिन जाने क्रममा चुचुर्के डाँडामा खरको छाना भएको एउटा घरमा एक महिला भेटिइन्।
उनी रहिछिन् ६२ वर्षीया नन्दकली वली। मैले आफ्नो परिचय दिएर उनीसँग कुरा गर्न चाहेको बताएपछि राजी भइन्।
मसँग कुरा गर्न बस्नुअघि भैंसी र पाडो शीतलमा सारिन्। अनि नन्दकलीसँग निकै लामो संवाद भयो।
घरमा कोको हुनुहुन्छ?
म एक्लै छु। जेठी बुहारी बाख्रा चराउन गएकी छन्। म यता आएको चार दिन भयो। यहाँ कान्छा छोराबुहारी र जेठी बुहारी बस्छन्।
तपाईं चाहिँ कहाँ बस्नुहुन्छ त?
तल कुटिचौरमा बस्छु। त्यहाँ पनि हाम्रो घर छ, जग्गाजमिन छ। कुटिचौरमा हामी दुई जना (श्रीमान–श्रीमती) र नातिनातिना बस्छौं। त्यता पढाइ गर्न सजिलो हुन्छ भनेर नातिनतिना हामीसँगै बस्छन्। यो चुचुर्केबाट कुटिचौर पुग्न डेढ घन्टा जति हिँड्नुपर्छ।
परिवारमा कोको हुनुहुन्छ?
हामी दुई जना (श्रीमान्–श्रीमती), जेठी छोरी, जेठा छोरा बुहारीतर्फका दुई नाति, कान्छा छोरा बुहारीतर्फका एक नाति र एक नातिनी कुटिचौरमा बस्छौं। चुचुर्के डाँडो र कुटीचौरमा आउजाउ भइरहन्छ, बस्ने मान्छे पनि यतायता भइरहन्छ।
तपाईंका छोराछोरी कति छन्?
चार छोरी र दुई छोरा हुन्। सबै छोराछोरी यही पहाडमा बेथा सहेर जन्माएँ। अहिले जस्तो अस्पताल थिएन। तीन वटी छोरी बिहे भएर आआफ्ना घरमा छन्। जेठी छोरी राजनीतिमा लागेर बिहे नगरी बसेकी छे। जेठो छोरो अमेरिकामा छ।
कुन पार्टीमा हुनुहुन्छ तपाईंकी छोरी?
माओवादी पार्टीमा छे। माओवादीको युद्धमा हिँडेकी थिई। भिडन्त हुँदा खुट्टामा गोली लागेको थियो। बिहे गर भन्दा मान्दिन। चिन्ता त्यसकै लाग्छ।
छोरी घाइते हुनुभएको रहेछ, सरकारले राहत दियो होला नि?
दिएको थियो तर कति दियो भन्ने मलाई थाहा भएन।
ठूलो (जेठो) छोरालाई अमेरिका पठाउँदा कति खर्च भयो?
धेरै खर्च भयो, ९० लाख (रुपैयाँ) जति लाग्यो। गएको भदौमा पुगेको हो। ‘तल्लो बाटो’ जाँदा धेरै ऋण लागेको छ। अहिलेसम्ममा तीन पटक पैसा पठायो। अमेरिकामा पनि एकै ठाउँमा टिक्न सकेको छैन, ठाउँ फेरिरहनु परेको कुरा गर्छ।
छोरासँग कत्तिको कुरा हुन्छ?
फेसबुकमा कुरा हुन्छ। अमेरिका कोही नआओस्, यहाँ कत्ति पनि राम्रो रहेनछ भन्छ, दुःख छ भन्छ। ठूलाले यहाँ कुनै दुःखकष्ट पाएको थिएन। एक किसिमले भन्दा त उसले सुतीसुती खाएको थियो। त्यो बिरोनो देशमा उसलाई गाह्रो भएको छ, कसले हेरचाह गरोस्!
कान्छा छोरा के पेसा गर्नुहुन्छ?
गएको साउनमा मोटरसाइकलबाट लोटेर (लडेर) खुट्टो भाँच्चिएको छ। टाढा जान सक्दैन। घरमै बस्छ, घरमा काम सघाउँछ, गाईवस्तु हेर्छ। पहिला त कताकता कम्पनीमा काम गथ्र्यो। पहिला पनि मोटरसाइकल चलाउँदा अर्कैले ठोकिदिए र हातखुट्टा भाँचिएका थिए। अहिलेको पालि त मान्छे जोगाउन खोज्दा पल्टिएछ।
तपाईंका श्रीमान् के काम गर्नुहुन्छ?
खेतीकिसानी, कुटीचौरमा १४ कट्ठा जग्गा छ। त्यहीँ खेती गरेर खान पुग्छ। चुचुर्के डाँडामा १६ कठ्ठा छ तर यो सबै सुकुम्बासी (ऐलानी) हो। यहाँ त केही पनि फल्दैन। अलिअलि फले पनि बँदेलले स्वाहा पारिदिन्छ। दुम्सीले पनि खान्छ। अहिले गहुँ काट्न भनेर आएकी त बालो एउटै छैन।
चचुर्केबाट कुटिचौर गएको कति भयो?
खोइ! १६ वर्ष जति भयो कि! यहाँ केही उत्पादन नहुने भएपछि कुटिचौरमा जग्गा किनेका हौं। त्यहाँ अन्नपात उत्पादन हुन्छ, खान पुग्छ। सजिलो भएको छ।
चुचुर्केमा किन बसिरहनु भएको त?
तल दाङमा साँघुरो छ। यहाँ मुक्तो (खुला) छ। यो पहाड त सबै आफ्नै जस्तो छ। तल फाँटमा सबै बाक्लै बस्न खोज्दा रहेछन्। सानो आँठी बेरेर बस्नुपर्ने रहेछ। दुःख भए पनि यहाँको जस्तो आनन्द त्यहाँ हुँदो रहेनछ। काम गर्न सके पहाडमा पनि राम्रो छ। यहाँ मालागेडी (सुगन्ध कोकिला) उत्पादन हुन्छ। म यहाँ बस्दासम्म अदुवा पनि राम्रो हुन्थ्यो। त्यही अदुवा र बाख्रापाठा बेचेको पैसाले कुटिचौरमा खेत किन्न सकेका हौं। आज पनि वस्तुचौपाया पाल्न यो ठाउँ (चचुर्के) नछाडेका हौं।
यहाँ वस्तुचौपाया कति पाल्नुभएको छ?
बाख्रा पालेका छौं; माउ, पाठापाठी र खसी गरेर ४० वटा जति छन्। एउटा भैंसी र दुई वटा पाडा छन्। एक हल गोरू पनि छन्। यहाँ जताततै चरन छ। वस्तु जताको पाखामा छोडे पनि हुन्छ। कुखुरा पनि छन्, चल्ला नै ३० वटा जति छन्। चिलले लैजाला भनेर ओड्नाले छोपेकी छु। चुचुर्केमा जस्तो सुविधा कुटिचौरमा कहाँ पाउनु! त्यहाँ त सानो ठाउँ बारेर बस्नु परेको छ।
सबै छोराछोरी चुचुर्केमा जन्मे, हुर्के भन्नुभयो, त्यस बेलाको जीवन कस्तो थियो?
धेरै दुःख थियो; दिनभर काम गर्ने अनि घर आएर चाँखी पिसेर, ढिकीमा कुटेर खाने। तीन खोलाको पानी डोकोमा बोकेर खान्थ्यौं। पानी ल्याउन मात्रै पनि तीन घन्टा लाग्थ्यो। दमार (बाक्लो वनजंगल), उकालो ओरालो हिँड्नुपर्थ्यो। कहिले त भालु पनि भेटिन्थ्यो।
ती दिनका कुरा गरेर साध्य छैन। बीचमा बिसौना हुन्थ्यो। साथमा कक्कड बोकेका हुन्थ्यौं। एकअर्कालाई हाकपारी बोलाउँदै पानीपँधेरो जान्थ्यौं।
पानी लिन र घाँस काट्न एकैपटक २०–२५ जना जान्थ्यौं। सबैले कक्कड, छड्के, झुलो, ढुंगा, साफी बोकेका हुन्थ्यौं। गीत गाउँदै काममा जाँदा रमाइलो हुन्थ्यो। अहिले जस्तो नजिकमा घरहरू भए पो!
अहिलेको जस्तो मोबाइल (फोन) वा टर्चलाइट पनि थिएन।
मेरा छोराछोरी पनि घाँस काटेर मात्रै स्कुल जान्थे। नजिकमा स्कुल थिएन, तल कुटिचौर नै पुग्नुपर्ने। आफूले दुःख पाए पनि सन्तानले नपाऊन् भनेर तल झरेका हौं।
कक्कड खान कसरी सिक्नुभयो?
त्यो बेलाको चलन त्यस्तै थियो। महिला, पुरूष सबै कक्कड खान्थे। घरमा बाआमाले सल्काएर ल्याइदेऊ भन्ने, सल्काउँदा सल्काउँदै तान्न सिकेर अम्मल बस्थ्यो। मैले कक्कड खान छोडेको २३ वर्ष भयो। मेरा श्रीमान् त अहिले पनि खानुहुन्छ।
पहिले र अहिलेको चुचुर्के डाँडामा के फरक भएको छ?
अहिले त धेरै सजिलो भएको छ। अहिलेका मानिस भाग्यमानी हुन्, सोलारबाट पानी तान्छन्। घरमै पानीको धारो आएको एक वर्ष भयो। एक दिन बिराएर आउँदा पनि पुग्छ। हाम्रो गाउँमा धारो आउनुअघि गोगन पानी गाउँमा धारो आयो। त्यहाँ पानी लिन जाँदा पनि आधा घन्टाभन्दा धेरै कुरेपछि मात्रै पालो आउँथ्यो। आफ्नै गाउँमा धारो आएपछि धेरै सजिलो भएको छ।
तपाईंको माइतीघर कहाँ हो?
तुलसीपुरका मेयर टीकाराम खड्कालाई चिन्नुहुन्छ नि! ऊ मेरो आफ्नै भाइ हो। मेरा बुवाको काल (मृत्यु) भएको धेरै वर्ष भयो। आमाको काल हुँदा टीकाराम जम्मा एक वर्षको थियो, म ७ वर्षकी थिएँ। रूखबाट लडेर आमाको काल भएको हो। त्यो बेला हामी चाँचलामा बस्थ्यौं। चाँचला पहिला रोप्लामा पथ्र्यो, आजकाल दाङमै पर्छ। आमा बितेपछि बुवाले हामीलाई दाङ ल्याउनुभयो।
तपाईंहरू कति भाइबहिनी हुनुहुन्थ्यो?
हामी ६ भाइबहिना जन्मेका हौं। अरू मरे, म र टीकाराम मात्रै बाँचेका हौं। आमाको काल भएपछि बुवाले अर्की ल्याउनुभएको थियो। एउटा भाइ जन्मेको थियो, वर्ष दिन नपुग्दै बित्यो। त्यसपछि ती आमा बसिनन्।
मेरो बिहेपछि पनि बुबाले फेरि अर्की ल्याउनुभएको थियो। ती पनि बितिसकिन्। ती आमाबाट पनि एउटी छोरी थिइन्।
तपाईंको बिहे कसरी भएको थियो?
बिहे हुँदा म १५ वर्षकी थिएँ। बिहे गर्दिनँ भनेर चिच्याउँदै रोएँ पनि केही लाग्दैनथ्यो। बुबाले जसलाई दिनुभयो उहीसँग बिहे हुन्थ्यो। मेरो बिहे पनि त्यसरी नै भयो।
सानैमा बिहे गरिदिए पुण्य मिल्छ भन्ने सोच थियो। मेरो बिहे हुँदा हामी दाङ झरिसकेका थियौं। गाउँकै मानिस माग्न आएपछि बुबाले राम्रो घरपरिवार भनेर बिहे गरिदिनुभयो।
तपाईंले लेखपढ गर्नुभएको छ?
घरबाट नजिकै स्कुल थियो तर बाले मलाई पढाउनु भएन। सानै उमेरमा घाँस काट्ने र घरगृहस्थी धान्ने काम लाग्नुपर्यो। म बरियो बाँधेर एक्लै ढिकी कुट्थें। दुई हातले चाँखी पिसेर बा र भाइलाई खाना बनाउँथें।
म आफ्नो नाम पनि लेख्न सक्दिनँ। बाले पाँच कक्षासम्म मात्रै पढाइ दिएको भए पनि कति जाति हुन्थ्यो जस्तो लाग्छ। आफूले पढ्न नपाए पनि छोराछोरी सबैलाई उनीहरूले इच्छा भएसम्म पढायौं।
माइली छोरीको मात्रै आठ कक्षा पढ्दापढ्दै बिहे भयो। अरू सबैले १० कक्षा पास गरेका छन्। साइली र कान्छाले त अझै धेरै पढेका छन्। पढे पनि सरकारी जागिरे भएनन्।
रातमा तपाईंको निद्रा कस्तो छ?
आजकाल त्यति राम्ररी निद्रा पर्दैन। खान पनि मन पर्दैन। ठूलो (जेठो छोरो) अमेरिका जाँदा लागेको ऋण धेरै छ। त्योभन्दा पहिला बस किनेर पनि डुबाए। बैंकको किस्ता धेरै तिर्नुपर्छ। गाउँको ऋण पनि छ।
छोराछोरीको राम्रो देख्न पाए हुन्थ्यो भन्ने लाग्छ तर ऋणको पिर छ।
तपाईंको स्वास्थ्य अवस्था कस्तो छ?
हातखुट्टा दुख्ने, झंकिने समस्या छ। मुटु पनि दुख्छ। उकालो हिँड्दा सास बढ्छ।
यति बेला सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
नजिकमा राम्रो अस्पताल बनाइदिए हुन्थ्यो। हामीलाई चुचुर्के आउन गाह्रो छ। तल्लो बाटो (मालिका कालिकाको बाटो) हामीलाई काम लाग्दैन। हामी हिँड्ने बाटो शिरचौरको हो। अन्नपानी सबै बोकेर ल्याउनुपर्छ। त्यो बाटो बनाइदिए हामीलाई सजिलो हुने थियो। अरू त आफै गरिखाने हो।
तपाईंको सहोदर भाइ मेयर हुनुहुँदो रहेछ, वडा पनि एउटै रहेछ, उहाँसँग केही माग्नुभएको छैन?
वडा एउटै भए पनि आउजाउ गर्न निकै टाढा छ। मैले भाइसँग केही पनि मागेकी छैन। खरको छानो फाल्ने धोको छ। अरूलाई नगरपालिकाले टिन (जस्तापाता) दिएको छ भन्ने सुन्छु। अरूलाई जस्तै मलाई पनि दिन मिल्ने भए टिन मात्रै दिए हुन्थ्यो।
भोट माग्न आएका बेला अरूले पनि टिन मागेका थिए तर कसैले पाएका छैनन्। पानीको धारो आयो तर टिन आएन।
माइत कत्तिको जानुहुन्छ?
तिहारमा गएकी थिएँ। भाइ आफै गाडी लिएर तलसम्म लिन आएको थियो। अस्ति मात्रै भाइका दुई छोरा भेट्न आएका थिए। उनीहरू दुबै जना सरकारी जागिरे छन् भन्ने सुनेकी छु। उनीहरूलाई पनि काममा जानु पर्दो हो।
तपाईंको भाइ मेयर हुनुहुन्छ, उहाँका बारेमा गाउँमा कस्तो कुरा सुन्नुहुन्छ?
कसैले त मा–बैनी धराएको पनि सुनेकी छु। चुनावका बेला भनेअनुसार बाटो बनाएन भनेर हामीलाई पनि सुनाउँदै हिँड्छन्। काम गर्न सकेन भन्छन्।
सबै खान पल्केका छन् भन्छन्। भाइलाई गाली गरेको सुन्दा मलाई पिर लाग्छ।
मेरा लागि मेरो भाइ जत्तिको राम्रो कोही छैन। अरूलाई पिरेर बोल्दैन। मान्छेहरू उसलाई किन गाली गर्छन्, म त बुझ्नै सक्दिनँ।
तपाईं गाउँलेले गरेको गुनासो भाइलाई सुनाउनुहुन्न?
तिहारमा गएकी थिएँ। त्यसपछि गएकी छैन। चाडवाडमा उसको घरमा धेरै मान्छे आएका थिए। कुरै गर्न पाइएन। नराम्रो कुरा भाइलाई किन सुनाउनु भन्ने पनि लाग्छ।
मेरो भाइ सानैमा राजनीतिमा लागेको हो। एकपटक उसलाई तिहार आउनुभन्दा तीन दिनअघि घरबाटै प्रहरीले पक्रेर लगेको थियो। त्यस बेला मलाई साह्रै पिर परेको थियो।
तपाईंलाई सबभन्दा धेरै मनपर्ने खाने कुरा के हो?
आँटो, मकैको रोटा, मकै भटमासको खाजा र मोही खान मन पर्छ। सागपात पनि खुब मन पर्छ। मलाई भात उति मन पर्दैन।
अहिलेको जमाना राम्रो कि पहिलेको?
पहिलाको भन्दा अहिलेको जमाना धेरै सुखको छ, अहिले धेरै सुबिस्ता छ। अहिलेका मान्छे धेरै भाग्यमानी हुन् भन्ने लाग्छ। उतिखेर हामीले धेरै दुःख गर्नुपर्थ्यो, कामैकाम मात्रै हुन्थ्यो। यो पहाडमा मुख धुने पानी पाउन पनि मुस्किल थियो।
तपाईंको भाइ, मेयरले कति पढ्नुभएको छ?
दाङमा पढ्थ्यो। पछि पहाड गयो। कति पढेको छ भन्ने थाहा छैन। मैले सोधेकी पनि छैन।
यति बेला तपाईंको हातमा ठिक्कको पैसा भए के गर्नुहुन्छ होला?
सुनतिर मन जान्नँ, बरु जग्गाजमिनतिर जान्छ। अलिकति जग्गा थप्न पाए छोरा नातिले गरिखाँदा हुन भन्ने लाग्छ।
मलाई बजार पनि राम्रो लाग्दैन, गाउँघरमै आनन्दको जीवन छ। अब अलिकति सुविधा थपिए गाउँ त स्वर्ग जस्तै हुन्छ।
तपाईं परिवारमा कत्तिको खुसी हुनुहुन्छ?
म छोराबुहारी सबैबाट खुसी छु। आफ्नो हातपात छुटेर हो कि, बुढेसकाल लागेर हो, जोडा (श्रीमान्) अलि गनगन गर्न थालेका छन्। पहिलाजस्तो छोराले सबै कमाइ कहाँ दिन्छन् र! उनीहरू पनि आफ्नो भविष्य विचार गर्छन्।
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभयो?
मैले त बिहे भएदेखि नै भोट हालेकी हुँ। हामी नेकपा एमालेका मान्छे हौं। खोइ किन हो, एमाले नै मन पर्छ। भोट पनि एमालेलाई नै दिन्छु।
मेरा भाइलाई कांग्रेसका नेताले थुनाए भन्ने सुनेदेखि मलाई कांग्रेस मन पर्दैन। हुन त हाम्रो घरपरिवारका देवरहरू कांग्रेसमा हुनुहुन्छ।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
देश बनाउने नेता आइदिए हुन्थ्यो भन्ने लाग्छ। जनताले मागेको पुर्याइदिने नेता आउनुपर्छ। विकास गर्ने मान्छेले जित्नुपर्छ।
बाटो बनाइदिने, सिँचाइको कुलो बनाइदिने, पानीको धारा ल्याइदिनेलाई भोट दिने थिएँ। अब त राम्रो व्यक्ति हेरेर भोट दिने हो।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
समाज सबै ठिक छ तर हेपेको र तल पारेको मन पर्दैन। कुटिचौरतिर रक्सी खाएर हल्लाखल्ला र झगडा गर्नेहरू पनि रहेछन्। चुचुर्केमा त्यस्तो छैन।
चुचुर्केको यस्तो एकान्त ठाउँमा बस्दा डर लाग्दैन?
किन डर लाग्नु र! यहाँ कुनै बदमासी हुँदैन। जाली, फटाहा, ठग्ने, लुट्ने कोही छैन। पहाडमा सबै मिलेर बसेका छन्। केही परे वरिपरिबाट जम्मा हुन्छन्। पहिलाजस्तो सम्साँझै ढ्यांग्रो ठटाउँदै हिँड्ने वनझाँक्री छैन, बाघभालु पनि आउँदैन।
यो कुराकानीका लागि तपाईंलाई धेरै धन्यवाद।
तपाईंलाई पनि धन्यवाद। मेरो भाइ टीकारामलाई चिन्नुहुन्छ भने दिदीसँग भेट भएको थियो, दिदीले सम्झेकी छिन् भनेर सुनाइदिनू।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्