(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बिहान ९ बजेतिर खड्गबहादुर चेपाङ घाँस बोकेर ओरालो लागिरहेका थिए। चितवनको इच्छाकामना गाउँपालिका–३ ओरेक घर भएका ४९ वर्षीया चेपाङ घाँस बोकेर पृथ्वी राजमार्गमा पर्ने कुरिनटार बजार झर्दै रहेछन्। उनी केहीबेर भारी बिसाएर मसँग गफ गर्न तयार भए।
सुरूमा मैले सोधें-
घाँस बोकेर कता झर्दै हुनुहुन्छ?
कुरिनटार बजार जान लागेको। आज तरकारी थिएन। त्यसैले यो चिउरीको घाँस बोकेर झरेको। बजारमा कसैले किन्यो भने पैसा आउँछ भनेर।
तरकारी पनि बेच्नुहुन्छ?
उत्पादन भएको बेलामा बेच्छु। खोरियामा मकै, गहत, मस्याङ, बोडी, सिमी, काँक्रो, करेला, लौका फल्छ। त्यो लगेर बेच्छु। तरकारी नहुँदा चिउरी, टाँकी, कुटमिरो, खनायोको घाँस लिएर बजार झर्छु।
बारी कति छ?
३ बिघाको लालपुर्जा छ। तर २ बिघाभन्दा बढी कमाउन सकेको छैन। सबै भिरालो जमिनमा छ। जोत्न पनि मिल्दैन। लालपुर्जा छ भन्नुमात्रै हो।
भनेपछि धान फल्ने जमिन छैन?
धान फल्दैन। तरकारी, घाँस बेचेर आएको पैसाले चामल किनेर उक्लने हो।
तरकारी बिक्री गर्न सजिलै छ?
फलाउन सकेको, बोकेर झार्न सकेको बिक्री गर्न गाह्रो छैन। धेरै फलाउनै मुस्किल छ।
परिवारका अरूले सघाउँछन् होला नि?
श्रीमती, छोरा र बुहारी छन्। काम गर्ने म र श्रीमतीमात्रै हो। छोरा १९ वर्षको भयो। २ वर्षजति चरौंदीमा जागिर खाएको थियो। अहिले छोडेर आएको छ। यसै बसेको छ। केही काम गर्दैन। छोरीको बिहे भइसक्यो।
कमाउँदा त दिएको थियो होला नि?
कमायो, आफैंले खाएर भ्यायो। हामीलाई दिएन। छोराबाट आशा गर्नु नै बेकार छ। बरू छोरी ठीक रहेछ। बेला–बेलामा घर आउँदा दुःख भयो तपाईंलाई भनेर केही पैसा छाडेर जान्छे। खाने कुरा किनेर ल्याइदिन्छे। काममा पनि सघाउँछे। छोराबाट यति आशा पनि छैन।
कति समय लाग्छ घरबाट बजार पुग्न?
हिँडेर साढे ३ घण्टा लाग्छ। ३ ठाउँमा बिसाएर बजार पुग्छु। गाउँमा धेरै ठाउँमा गाडी जान थाल्यो। मेरो गाउँमा पुगेको छैन। घरबाट आधा घण्टा उकालो उक्लियो भने मोटरबाटोमा पुगिन्छ। भारी बोकेर त्यत्रो उक्लिने अनि फेरि गाडीलाई पैसा बुझाएर बजार जानेभन्दा आफै बोकेर झर्दा बेस।
खाना खानुभयो?
खाएको छैन। बजारबाट फर्किएपछि बल्ल खान्छु। कहिले त ३–४ नै बज्छ बिहानको खाना खाँदा। बाटोमा चिया खान्छु। दुःख छ जिन्दगी। के गर्नू! केही काम नगर्ने हो भने खानै पाइँदैन।
नाच्ने, गाउने, फिल्म हेर्ने रमाइलो गर्ने गर्नुहुन्छ कि हुँदैन कहिलेकाहीँ?
नाच्न, गाउन रमाइलै लाग्छ। गाउँतिर बेला–बेलामा रमाइलो गर्छु। वनमा घाँस काट्न जाँदा पनि गीत गाउँछु। गीत गाउँदा मनका भावनाहरू कल्पनामा पुग्छ। एकछिनका लागि भने पनि दुःख भुलिन्छ। फिल्म हेर्न नपाएको धेरै वर्ष भयो। १५–१६ वर्षको हुँदा एक्लै हिँडेर आँबुखैरेनीको फिल्म हलमा पुग्थें। १० रुपैयाँको टिकट लिएर हलको सबभन्दा माथि बसेर हेरेको थिएँ। फिल्मको नाम त याद छैन। हिरो राजेश हमाल थिए। अचेल नहेरेको धेरै भयो।
मोबाइलमा हेर्नुहुन्छ होला नि अचेल?
मोबाइल छैन। धेरै खर्च हुन्छ भनेर लिएको छैन। खान नै पुगेको छैन। अरूतिर खर्च गरेर के गर्नू! पहिले रेडियोमा समाचार, गीत सुन्थेँ। त्यो पनि बिग्रियो।
खाने कुरा के मनपर्छ?
मलाई मकैको च्याँख्ला, कोदोको ढिँडो, साग मनपर्छ। बजारतिर गयो भने कहिलेकाहीँ समोसा, मःमः खान्छु। बफ मःमः मिठो हुन्छ।
परिवारमा मेलमिलाप कस्तो छ?
मिलेरै बसेका छौं। श्रीमान–श्रीमती कहिलेकाहीँ सामान्य झगडा त परिहाल्छ। पहिले बच्चा, बच्ची नहुँदा अल्ली धेरै पर्थ्यो। त्यस्तो सबैको हुन्छ। हामी जाँड रक्सी खाँदैनौं। पहिले मैले खान्थेँ। स्वास्थ्यमा समस्या भयो। पैसा पनि धेरै खर्च भयो। अनि पूजा गरेर छाडेँ। छोरा र बुढीले पनि पूजा गरेरै छाडे। रक्सी नखाएपछि झगडा पनि कम हुँदो रहेछ।
स्वास्थ्य कस्तो छ?
कम्मर, ढाड दुख्छ। उकालो उक्लिँदा स्याँस्याँ हुन्छ। उपचार गर्न पनि सकेको छैन। पैसाले कहिल्यै पुग्ने रहेनछ। नजिकको अस्पतालमा राम्रो उपचार हुँदैन। भरतपुर गयो भने खर्च नै धेरै हुन्छ।
राति निद्रा लाग्छ कि लाग्दैन?
निद्रा फिटिक्कै लाग्दैन। मलाई त कसैले रातिको काम दिए पनि हुन्थ्यो जस्तो लाग्छ। श्रीमती, छोरा, छोरी, बुहारी मस्तले घुरेर निदाइरहेका हुन्छन्। आफूलाई निद्रै आउँदैन। म राति मुसा कता–कता हिँड्यो सब थाहा पाउँछु। बिहानीपख बल्ल निद्रा लाग्न थाल्छ।
किन त्यस्तो भयो?
चिन्ता, तनावले होला। पातीको झुप्रो बारेर बस्नेको पनि ऋण त हुने रहेछ। मेरो पनि ऋण छ। भाखामा तिर्न नसक्दा पिर पर्ने रहेछ। त्यही तनावले होला निद्रा नलागेको।
कति छ ऋण?
६० हजार रुपैयाँ पुगेको छ। घर खर्च नहुँदा, परिवारका मान्छे बिरामी पर्दा मागेको थिएँ। तिर्न सकेको छैन।
कतैबाट फ्याट्ट पैसा आयो के गर्न मन छ?
मलाई पैसा भयो भने व्यावसायिक रूपमा बाख्रा पाल्न, २ वटा भैंसी पाल्न मन छ। बारीको घाँस बोकेर यत्रो लामो बाटो हिँड्दा हिँड्दा थाकेको छु। मज्जाले राँगा, भैंसी, बाख्रा पालेर बस्थेँ। १५ वटा बाख्रा त अहिले पनि छन्।
यस्तो खान्थेँ, यस्तो लगाउँथें भन्ने पनि होला नि?
त्यो पनि छ। पैसा भए त राम्रै लगाउँथे, राम्रै ठाउँमा हिँड्थें। राम्रै खान्थें भन्ने मनमा त छ नि। तर पुग्दैन। भनेरमात्रै के गर्नू!
तपाईंलाई सम्झना छ, अन्तिम पटक तपाईं कहिले धेरै खुसी हुनुभएको थियो? के भएर खुसी हुनुभएको थियो?
मेरो जिन्दगीमा खुसी भन्नु नै बिहे गर्नुभन्दा अघि एक्लो जीवनमा थियो। बिहे गरेर अर्काको छोरी घर ल्याएँ। बालबच्चा भए। कहिले बिरामी हुन्छन्, कहिले खानेकुरा हुँदैन। त्यसपछि खुसी त सक्किइहाल्यो।
सारै चित्त दुखेको, दुःख लागेको के सम्झनुहुन्छ?
दुःख त सधैं छ नि जिन्दगीमा। आफ्नो जिन्दगीमा दुःखै दुःख परेको छ, कोसँग चित्त दुखाउनु र!
तपाईंको मनमा बसिरहेको, पिरोलिरहेको वा तपाईंले आशा गरिरहेको यस्तो भइदिए हुन्थ्यो भन्ने केही छ?
सँगैका साथीभाइहरूले धेरै राम्रो गरेका छन्। आफन्तहरूले पनि धेरै नै राम्रो गरेका छन्। आफ्नै भान्जाहरूले मोटरसाइकल किनेर चलाइरहेको देख्छु बजारतिर तर म भारी बोकेर हिँडिरहेको छु। कोही विदेश पुगेका छन्। मैले केही गर्नै सकिनँ। कमायो, खायो, सक्कियो भइरहेको छ।
तपाईंको समाज, टोल, छिमेक कस्तो छ? के मन पर्छ, के पर्दैन?
छिमेक त भन्नुको मात्रै छ। कसैले कसैलाई सहयोग गर्दैन। मेरो आफ्नै भान्जा वडा सदस्य भएका छन्। उनले अरूका लागि त राम्रै गरेका होलान्। बैठकमा छु भन्छन् जहिले पनि। तर हामीलाई त केही पनि गरेनन्।
देशको राजनीतिप्रति कत्तिको चासो छ?
राजनीतिबारे थाहा छैन। समाचार सुन्न छोडेको धेरै भयो। राजनीति भनेको नेताले यो गर्छु, त्यो गर्छु भनेर भोट माग्ने, हामीले हाल्ने त होला। मलाई चासो नै छैन।
सरकारले केके काम गरोस् जस्तो लाग्छ?
जहिले पनि भोट माग्नमात्रै आउँछ सरकार। हामी गरिबको काम भोट दिनेमात्रै भएको छ। सरकारले हाम्रो बास, खानाको बारेमा पनि काम गरिदिए हुन्थ्यो। भोट माग्दा नमस्कार भन्दै आउँछन्। अरूबेला पनि सम्झिए पो हुन्थ्यो।
देशको नेतामा तपाईंलाई को को मनपर्छ?
नेता त कोही मन पर्दैन। कसैले केही गरे पो मन पर्छ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
स्थानीय चुनावमा आफ्नो आफन्त उठे भनेर माओवादीलाई दिएँ। केन्द्रमा एमालेलाई दिएको हुँ।
अहिले चुनाव भयो भने कसलाई दिनुहुन्छ?
आफन्त भनेर भोट दिँदा पनि केही काम लागेन। भान्जालाई भोट दिँदा मामा पनि सम्झिएनन्। बरू बाबु, बाजेको पालाबाटै भोट हालिरहेको पार्टी एमाले हो। जो सुकै उठे पनि त्यहीँ भोट हाल्छु।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्