(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ— सम्पादकीय नोट)
हामी आममान्छे
चेतन राना बुटवल देवीनगरमा रेष्टुरेष्ट चलाउँछन्। केही दिन पहिले भेट्दा उनी रेष्टुरेण्टमा आएका ग्राहकलाई चिया पकाउँदै थिए। बिहान ६ बजेदेखि राति ९/१० बजेसम्म नै रेष्टुरेण्टमा व्यस्त रहने ४६ वर्षीय चेतनसँग सेतोपाटीका लागि गरिएको भलाकुसारी।
अहिले व्यापार कस्तो छ?
व्यापार नै छैन भन्दा पनि हुन्छ। सबैतिर आर्थिक चलायमान भए पो होटल व्यवसाय पनि चल्छ। अरू क्षेत्रको व्यवसाय ठप्प भएपछि होटल मात्र कसरी चल्ने हो र!
मानिससँग पैसा भयो बाहिर गएर खाउँ भन्ने हो, सबैका गोजी खाली छन्, व्यापार सबै ठप्प छ। दिनभरी सटर खोलेर बस्न मात्रै भएको छ। अलि अलि भएको व्यापार पनि उधारो हुन्छ। त्यही उठाउन गाह्रो हुन्छ।
उधारो पनि फसेको छ?
छ नि! चिया खाजा खाएको पनि एक डेढ लाख रुपैयाँ उधारो फसेको छ। रेष्टुरेण्टमा आएर खाजा अर्डर गरेपछि खाएर पैसा दिन्छन् होला भन्नुपर्यो। खाएपछि भोलि ल्याएर दिन्छु है भन्दै उठेर हिँड्छन्। अहिले फोन गर्दा उठ्दैन। फोन नउठाएपछि कहाँ खोज्दै जानू! अहिलेको अवस्थामा एक डेढ लाख रुपैयाँ ठूलै हो नि।
घर आफ्नै हो कि भाडामा लिनुभएको?
घर आफ्नै भए त भइहाल्थ्यो नि! भाडामा लिएको हो। यही एउटा सटरको मासिक १० हजार भाडा तिर्छु। पानी बत्ती गर्दा महिनाको १५ हजारभन्दा बढी पुग्छ।
तपाईंले रेष्टुरेण्ट चलाउनुभएको कति वर्ष भयो?
रेष्टुरेण्ट सञ्चालन गरेको तीन वर्ष जति भयो। ठ्याक्कै आर्थिक क्षेत्र ठप्प भएको बेला परेछ। रेष्टुरेण्टबाट फाइदा होला भन्दा विदेशबाट अलि अलि बचत पनि सकिन थाल्यो।
तपाईं विदेश पनि जानुभएको थियो?
यो रेष्टुरेण्ट चलाउनुभन्दा पहिले विभिन्न देशमा गरेर १३ वर्ष बसेँ। दुबईमा साढे ५ वर्ष, मकाउमा ५ वर्ष र कतारमा साढे २ वर्षगरी १३ वर्ष बसेर अब नेपालमै केही गरौं भनेर आएको थिएँ। फेरि उतै जानुपर्छ कि जस्तो लाग्न थाल्यो। विदेशबाट ल्याएको पैसा सबै होटल सञ्चालन गरेपछि सकिन थाल्यो।
विदेशबाट आउँदा कति पैसा ल्याउनुभएको थियो?
चालिस पचास लाख जति ल्याएको थिएँ। कहिले सेयर बजार भन्यो कहिले होटल भन्यो सबै सकिन थाल्यो।
सेयरमा राखेको लगानी त डुबेको छैन होला नि?
कहाँ सेयरमा लगाएर पनि ५० प्रतिशत घाटा खाइयो। सेयर माथि उकासिएको बेलामा लगानी गर्न पुगिएछ, पछि सबै घट्यो एकैपटक घाटा खाइयो।
कति लगानी गर्नुभएको थियो?
श्रीमान श्रीमतीको गरेर ८/१० लाख रुपैयाँ लगानी भएको थियो।
तपाईंको घर कहाँ हो?
मेरो घर त स्याङ्जाको कालीगण्डकी-३ भुस्टुङ हो। त्यहाँ आमा र दाइ बस्नुहुन्छ। म २०५६ सालदेखि बुटवलमा बस्दै आएको छु। बुटवल शुक्रपथमा दिदीको घर छ। दिदी भिनाजू युकेतिर हुनुहुन्छ।हामी दिदीकै घरमा बसेका छौं। बुटवलमा आफ्नो घर बनाउन सकिएको छैन।
घर परिवारमा को को हुनुहुन्छ?
घरमा श्रीमती र दुई छोराछोरी छन्। छोराछोरीले पढ्दै छन्। श्रीमतीले पहिले स्कुल पढाउँथिन्। यही रेष्टुरेण्ट सुरू गरेपछि उनी पनि दिउँसो २ बजेदेखि मलाई सघाउन आउँछिन्। दिउँसो दुई तीन बजेदेखि रेष्टुरेण्टमा ग्राहक अलि आउँछन्।
तपाईंलाई होटल व्यवसायसँगै अरू के गर्न मन लाग्छ?
मन लागेर के गर्नु होटलबाट धेरै फुर्सद पनि हुँदैन। फुर्सद हुँदा व्याडमिन्टन खेल्न, भलिबल खेल्न मन लाग्छ। पहिले गाउँमा हुँदा भलिबल खेलिन्थ्यो। बुटवलमा बस्न थालेपछि व्याडमिन्टन खेल्न थालें। अहिले पनि कहिलेकाहीँ व्याडमिन्टन प्रतियोगिता हुँदा भाग लिन्छु।
तपाईंलाई सबभन्दा के खान मन पर्छ?
सबभन्दा खान मन लाग्ने त नेपाली खाना हो। घिउ हालेर दालभात तरकारी खान मन पर्छ। म:म खान्छ मन पर्छ।
म:म नेपाली खाना हो र?
होटल रेष्टुरेण्टहरूमा यति धेरै पाक्छ कि नेपाली खाजा जस्तै भइसक्यो। चाइनिज परिकार भने पनि अहिले नेपालमा सबभन्दा बढी रूचाइने म:म नै हो।
तपाईंको स्वास्थ्य कस्तो छ?
अहिलेसम्म त्यति ठूलो समस्या छैन। दुई तीन वर्ष भयो प्रेसरको औषधि खान थालेको छु। प्रेसरले पनि धेरै असर गरेको थिएन चेक गर्दा अलि बढेको देखियो। डाक्टरले समयमै औषधि खायो भनेपछि ठूलो समस्या आउँदैन भनेपछि खान थालेको खाएको खाइ भइयो। साँझमा एउटा ट्याब्लेट खाएर सुत्छु।
स्वास्थ्य नियमित परीक्षण गर्नुहुन्छ?
लामो समय विदेशमा बसेको भएर होला नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ भन्ने थाहा छ। वर्षको एक दुई पटक बिरामी नभए पनि स्वास्थ्य परीक्षण गरिरहन्छु।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
मलाई जस्तो निद्रा लाग्ने मानिस संसारमै अर्को कोही छैन होला। साँझमा सुत्यो कि भुसुक्क निदाइहाल्छु। एकैपटक बिहान ५ बजे बल्ल बिउँझिन्छु।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो सम्झना छ?
सबभन्दा धेरै खुसी त छोरी जन्मिँदा भएको थिएँ। बुवाआमालाई पहिलो सन्तान जन्मिँदाको खुसी फरक हुने रहेछ। छोरी जन्मिएपछि जिम्मेवारी सहितको खुसी थपिएको थियो।
तपाईं सबभन्दा धेरै दु:खी भएको क्षण नि?
दु:खी भएको क्षण त्यति सम्झनामा छैन। बुवाआमाले दु:ख गरेर भए पनि राम्रैसँग हुर्काउनुभयो, पढाउनुभयो। आफैले केही गर्छु भनेपछि बल्ल घर छोडेर हिँडेको हो। घर छोडेर हिँडेपछि पनि १३ वर्ष विदेश बसेँ। आर्थिक रूपमा त्यति ठूलो समस्या भोग्न परेन। अहिलेसम्म खुसी नै छु।
तपाईंको मनमा बसिरहेको कुनै पीर वा यस्तो भइदिए हुन्थ्यो भन्ने केही छ?
मनमा बसेको पीर त केही छैन। मैले पीर चिन्ता लिएर पनि बस्दिनँ। जे हुन्छ भइरहन्छ आफूले कर्म गर्दै जाने हो। छोराछोरीलाई राम्रोसँग पढाएर विवाह दान गरिदिन पाए हुन्थ्यो भन्ने छ अरू ठूलो चाहना केही छैन।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोल समाज त राम्रो छ। मिलेर बसेका छौं। टोल सरसफाइ गर्ने, छरछिमेकीका सुखदु:खमा सरसहयोग गर्ने हुन्छ। अहिलेसम्मलाई टोल समाज राम्रै छ। आफूले अरूलाई नराम्रो नगरेपछि अरूले पनि आफूलाई नराम्रो गर्दैनन्। सबै आफ्नो व्यवहार अनुसार हुने हो।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ भन्ने लाग्छ?
नेपालको राजनीति त खत्तम लाग्छ। राजनीति गर्ने नेताहरू सबै चोर जस्तो लाग्छन्। राजनीति राम्रोसँग चलेको भए जनताले यसरी दु:ख पाउनुपर्ने थियो र? खराब राजनीतिले देशलाई खत्तम बनाउने भयो।
तपाईंलाई सबभन्दा बढी मन पर्ने नेता को हो?
मन पर्ने नेता नै कोही छैन भन्दा हुन्छ। अहिलेसम्मलाई गुल्मीका चन्द्र भण्डारी अलि राम्रा हुन् कि भन्ने लाग्छ। हुन त काम गर्ने ठाउँमा नपुगेको भएर होला उनले काम गरेको हेर्न पाइएको छैन। काम गर्ने ठाउँमा पुगे बल्ल उनी पनि कस्ता हुन् भन्ने थाहा हुन्थ्यो।
तपाईंले गएको निर्वाचनमा कसलाई भोट हाल्नुभएको थियो?
मैले त चुनावमा भोटै नहालेको २७/२८ वर्ष भयो। २०५४ सालमा स्याङ्जामै हुँदा भोट हालेको थिएँ। त्यतिबेला नेपाली कांग्रेसलाई भोट हालेको हो। शंकर पाण्डेको झोला बोकेर पनि हिँडियो। त्यसपछि विदेशतिर लागेपछि भोट हाल्ने मौका मिलेन। गएको चुनावमा नेपालमै भए पनि भोट हाल्न जान मन लागेन। मतदाता नामावली स्याङ्जामा छ बुटवलबाट खर्च गरेर भोट हाल्न जान मन लागेन।
अहिलेको अवस्थामा चुनाव भयो भने के गर्नुहुन्छ, भोट हाल्न जानुहुन्छ?
कसलाई भोट हालेर के भयो र! मलाई त भोटै हाल्न मन छैन।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
सरकारले गर्ने नै हो भने पढ्नको लागि भन्दै विदेश जाने युवाहरूलाई रोक्नुपर्छ। अहिले देशमा जति आर्थिक संकट देखिएको छ त्यसको प्रमुख कारण विद्यार्थी भिसामा विदेश जानेहरूका कारण पनि हो। कामदार भिसामा विदेश गएकाहरूले कमाएर नेपाल पठाउँछन्। दुई चार वर्षपछि नेपाल फर्किन्छन्।
तर, विद्यार्थी भिसामा गएकाहरू फर्किएर आउलान् जस्तो लाग्दैन। २५/३० लाख ४० लाखसम्म खर्च लगाएर पढ्न गएकाहरूले लगानी उठाउनै सात आठ वर्ष लाग्छ। त्यसपछि कमाइ हुन थालेपछि नेपाल बिर्सिदै जान्छन्। नेपाल फर्किने त टाढाको कुरा यहाँको सम्पत्ति विक्री गरेर बुवाआमालाई पनि उतै लैजान्छन्। अनि कसरी नेपालको विकास हुन्छ? सरकारले विद्यार्थी भिसामा विदेश जानै दिनु हुन्न।