(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ— सम्पादकीय नोट)
हामी आममान्छे
दाङको तुलसीपुर उपमहानगरपालिका–१२, कपडादेवी गाउँमा किराना पसल चलाउँछन् ४३ वर्षीय कृष्णबहादुर डाँगी। उनको गुजाराको आधार पनि यही हो।
उनी घर बनाउने मिस्त्री काम गर्थे। त्यो काम छाडेर पसल सुरु गरेको सात महिना हुँदैछ। परिवार ठूलै छ। परिवारको खर्च धान्न कृष्णलाई उनकी श्रीमती जमुनाले ठूलो भरथेग गरेकी छन्। सेतोपाटीका लागि मैले उनै कृष्णसँग भलाकुसारी गरेको छु;
यो पसल चलाएको कति समय भयो?
धेरै भएको छैन, अब आउने भदौमा एक वर्ष पुग्छ।
पसल गर्नुअघि के काम गर्नुहुन्थ्यो?
म घर बनाउने मिस्त्रीको काम गर्थे। ठेकेदारले समयमा पैसा नदिएर रुवाउँथे। यसरी कति दिन दुःख गर्ने भन्ने लाग्यो। श्रीमतीसँग सल्लाह गरेर पसल सुरु गरेको हुँ।
यो पसल भएको घर आफ्नै हो?
होइन, भाडामा हो। मासिक तीन हजार रूपैयाँ भाडा तिर्छु। घर पनि यहाँबाट नजिकै छ।
व्यापार कस्तो चलेको छ?
सोचे जस्तो राम्रो छैन। दिन कटाउने बाटो जस्तो मात्रै छ। दैनिक दुई हजारदेखि चार हजार रूपैयाँ सम्मको व्यापार हुन्छ। त्यति हुँदा मैले कमाउने भनेको त्यस्तै चार–पाँच सय जति हो।
परिवारमा कोको हुनुहुन्छ?
वृद्ध बुबाआमा हुनुहुन्छ, दुबै जना ८० वर्षमाथिका। मेरा दाइ बोल्न नसक्ने छन्। म, श्रीमती, दुई छोरी र एक छोरा छौं। सबै सँगै बस्छौं। ठूली छोरी यति बेला आठ कक्षाको जाँच दिँदै छिन्। अरू छोराछोरी पनि सेन्टर मावि, तुलसीपुरमा पढ्छन्। यो सरकारी विद्यालय हो तर राम्रो छ। पहिला नजिकैको महेन्द्र माविमा थिए। पढाइ राम्रो छ भनेर सेन्टर माविमा पठाएको हुँ। बाबुआमालाई छोराछोरीको भविष्यको चिन्ता हुँदो रहेछ।
यो पसल सुरु गर्न कति पैसा लाग्यो?
यो पसलमा एक लाख रूपैयाँ भन्दा बढी लगानी गरेको हुँ। आफ्नै पैसा हो, बैंकमा ऋण छैन। कुनै तनाव पनि छैन। घर गृहस्थीको गुजारा यसैले जसोतसो चलेकै छ। मेरी श्रीमती जमुना विदेशमा छिन्, उनले पनि पैसा पठाउँछिन्।
तपाईंकी श्रीमती विदेश गएको कति भयो?
दस वर्षभन्दा धेरै भयो। घर आउजाउ गरिरहन्छिन्। बिदामा घर आएकी थिइन्, फर्केको चार महिना जति भयो।
तपाईं नगएर श्रीमतीलाई किन पठाउनुभएको नि?
पहिला जान खोजेको त म नै हो। स्वास्थ्य जाँचमा मेरो छातीमा दाग देखियो, म जान पाइनँ। म जोखिम लिएर जानु राम्रो होइन भनेर नजाने भएँ।त्यसपछि श्रीमतीले प्रयास गरिन्। उनको सबै राम्रो देखियो अनि गइन्। घर मैले सह्मालेको छु। श्रीमती गएपछि पहिला आमाले भातभान्सा गर्नुहुन्थ्यो। अब छोरीहरू पनि पकाउन सक्छन्। समस्या छैन।
तपाईंलाई छोराछोरीको मन नपर्ने बानी केही छ कि?
छोरो त अझै सानै छ, उसको के कुरा गर्नु र! छोरीहरू ज्ञानी छन्, आज्ञाकारी छन्। कहिलेकाहीँ पढ्न छोडेर मोबाइल मात्रै हेर्न खोज्दा भने दिक्क लाग्छ। छोराछोरी मोबाइलमा धेरै अलमलिँदा पढाइ बिगार्छन् कि, आफै बिग्रन्छन् कि भन्ने चिन्ता हुँदो रहेछ। उनीहरूकी आमाले पनि बेला बेला सम्झाइरहन्छिन्। आफूले धेरै पढ्न नपाए पनि छोराछोरीले धेरै पढून् भन्ने चाहना हुँदो रहेछ।
तपाईंको जग्गाजमिन कति छ त?
आफ्नो नाममा केही पनि छैन। हामीले चर्चिंदै (भोगचलन गर्दै) आएको जग्गा ऐलानी हो। घरवास भएको १२ धुर मात्रै छ। एकपटक नापी आएको थियो तर नाप्दानाप्दै छोडेर गयो।
सरकारले भूमिहीन र सुकुम्बासीलाई जग्गा दिने भनिरहेको छ, थाहा छ?
थाहा छ तर हाम्रो जग्गा नाप्दै ननापी फर्किएर गए। हामी त बाबुको पालादेखि नै यहीँ बसेको हौं। म जन्मे हुर्केको पनि यहीँ हो। यो जग्गा त हामीले कसो नपाऔंला र! यति जग्गा मिले पनि घरबास त बच्थ्यो!
खासमा त म सुकुम्बासी नै हो। यो चर्चिंदै आएको घरवासभन्दा अन्त कतै केही पनि छैन। सबै किनेरै खाने हो।
तपाईंले बिहे कहिले गर्नुभयो?
२०६३ सालमा भएको हो।
बिहे कसरी भयो?
हाम्रो प्रेम विवाह हो। हाम्रो भेटघाट इन्डियाको हिमाचलमा भएको हो। त्यहीँ माया प्रेम बस्यो। पछि सामान्य रूपमा मागेर बिहे भएको हो। उनी (जमुना) दैलेखकी हुन्।
तपाईं हिमाचलमा के काम गर्नुहुन्थ्यो?
म बाटो बनाउने काममा थिएँ। उनी (जमुना) पनि उनका बुबाआमासँग हिमाचलमै थिइन्। म लक्का जवान थिएँ। त्यतिखेर ड्रिल मेसिन चलाउँथे। बाटो बनाउने काम थियो, ब्लास्टिङ पनि गर्थे। नजिकै भए पनि हामी अलगअलग साइट (काम गर्ने ठाउँ) मा थियौं। अलगअलग सेल्टर (बास) मा बस्थ्यौं। भेटघाट भइरहँदा हेलमेल भयो, मन बस्यो। दुबैको मनचित्त मिलेपछि हामीले बिहे गरेका हौं।
तपाईंले कति पढ्नुभएको छ?
म महेन्द्र माविमा कक्षा सात पढेर काठमाडौं गएको थिएँ। काठमाडौंको गान्धी स्कूलमा कक्षा आठमा भर्ना भएको थिएँ।
तपाईं यहाँ पढ्दापढ्दै अचानक किन काठमाडौं जानुभएको थियो त?
नजिकैको नाताका दाइले भनेर पछि एक जना हाकिमका साथ काठमाडौं गएको थिएँ। ती हामिक यतै तुलसीपुरकै मान्छे थिए। मैले उनको घरमा खाना बनाइदिने र उनले मलाई स्कूल भर्ना गरेर पढाइदिने सर्त थियो। उनी राम्रो मान्छे थिए। पढ्न हौसला दिन्थे। राम्रो पढेपछि के के फाइदा हुन्छ भनेर सम्झाउँथे।
अनि किन पढाइ छाड्नुभयो त?
दाइ बोल्न नसक्ने (बोली नआउने) मान्छे, हलो जोत्न बुबालाई साथ दिने कोही भएन। आफ्नै जग्गाजमिन नभए पनि अधियाँमा खेती गर्थ्यौं। खेत जोत्न अहिले जस्तो मेसिन–उपकरण थिएन। गोरुले जोत्नुपर्थ्यो। बुबालाई सघाउन म पढाइ छोडेर काठमाडौंबाट दाङ फर्कें। हाकिमले त राम्रो पढ, पढाइ छाडेर नजाऊ भनेका थिए तर म बुबाका लागि फर्कें।
आजकाल पनि खेतीपाती गर्नुहुन्छ?
नाइँ, गर्दिनँ; १२ वर्ष जति भयो खेतीपातीको काम छोडेको। हामी सबै चिज किनेरै खान्छौं। अधियाँमा खेत जोतेर खानुभन्दा अरू काममा फाइदा हुन्छ।
तपाईंलाई कुनै स्वास्थ्य समस्या छ कि छैन?
हालसम्म कुनै समस्या छैन। सबै ठिक छ।
रातमा निद्रा कस्तो छ?
मजाको निद्रा लाग्छ। नहुने कुरामा चिन्ता गरेर, आफूलाई गलाएर के गर्नु र!
तपाईंसँग यति बेला हातमा ठिक्क पैसा भए के गर्थें भन्ने लाग्छ?
थोरै भए पनि जग्गा किन्ने थिएँ। त्यो जग्गामा मिहिनेत गर्ने थिएँ र आनन्दले परिवार पाल्ने थिएँ।
यति बेला राज्यले के गरिदिएहुन्थ्यो भन्ने लाग्छ?
गरिब दुःखीलाई नजिकमा रोजगारी मिल्ने व्यवस्था गरिदिए हुन्थ्यो। कलकारखाना खोल्नुपर्यो। सिप सिकाउने व्यवस्था गर्नुपर्यो। तुलसीपुरको राप्ती प्रादेशिक अस्पताल रिफर सेन्टरजस्तो मात्रै भयो। यो अस्पताललाई अलिक विश्वासिलो र भरपर्दो सेवा दिने बनाउन राज्यले ध्यान दिनुपर्यो। बाटो, पुल त बिस्तारै बनाउँदै गए पनि हुन्छ। बालबालिकाको भविष्य उज्ज्वल बनाउन राम्रो शिक्षा दिन सक्नुपर्छ। समयअनुकूल प्राविधिक शिक्षा हुनुपर्छ।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
आफू सच्चा र इमानदार भए सबै राम्रो। समाज सहयोगी छ। केही कारणबस बेलुकी साथीभाइका बीचमा भनाभन भए पनि बिहान एकअर्कालाई बोलाइहाल्ने चलन राम्रो लाग्छ।
तपाईंलाई सबैभन्दा मन पर्ने खाना के हो?
सबैभन्दा बढी नेपाली खाना मन पर्छ, दालभात र गोलभेँडाको चटनी। खसीको भुटेको मासु होस्। तोरी (रायो) को कलिलो साग होस् अनि त के चाहियो र!
गएको निर्वाचनमा तपाईंले कसलाई भोट दिनुभयो?
नेकपा एमालेलाई दिएको थिएँ।
अब हुने निर्वाचनमा कसलाई दिनुहुन्छ?
अब त एमालेलाई दिइन्नँ। नेताहरूले देश खोक्रो पारे। अब त सिधै राजा ल्याउने अभियानमा लाग्छु।
तपाईंलाई सबैभन्दा मनपर्ने नेता को हो?
काठमाडौंका मेयर बालेन शाह र रास्वपाका नेता रवि लामेछाने।
अहिले फर्केर हेर्दा जीवनमा के गल्ती के गरेँ भन्ने लाग्छ?
पढाइ बीचमै छोड्नु नहुने थियो, त्यही गल्ती भयो। घरमा बुबा एक्लै पर्नुभयो भन्ने सोचले म पढाइ छाडेर काठमाडौंबाट आएँ। त्यति त ठिकै थियो तर यहाँ पनि घरनजिकै स्कुल थियो। साँझबिहान काम गर्दै भए पनि पढ्नुपर्ने थियो।