(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दाङको तुलसीपुर उपमहानगरपालिका–१६, बैंचपुर टोलको एउटा पसलअगाडि हालैको एक दिन क्यारेमबोर्ड खेल हुँदै थियो। चार जनाको खेलमा एक जना अलिक पाको उमेरका देखिन्थे। खेल तिनै पाका खेलाडीले जिते।
जितको खुसीमा उन्मुक्त भएर हाँसे। मैले ‘तपाईं त निकै राम्रो खेल्नुहुँदो रहेछ’ भन्दै कुरा सुरू गरेँ। उनले ‘यसै टाइम पास’ गरेको भनेर सामान्यीकरण गरे। फुर्सदको समयमा साथीहरूसँग रमाइलो गरेको भनेर फेरि एकपटक मजाले हाँसे।
उनी रहेछन् ६१ वर्षीय झुपराज घर्ती। खेल उनलै जिते। मैले उनीसँग क्यारेम बोर्ड खेलबाटै सेतोपाटीका लागि औपचारिक संवाद सुरू गरेँ।
तपाईंले क्यारेम बोर्ड खेलेको कति भयो?
भर्खर एक महिना भयो। पहिले कहिल्यै खेलेको थिएन। मेरा छिमेकी पसलवालाले क्यारेम बोर्ड ल्याए। मलाई पनि ल्याउन मन लाग्यो। फुर्सदमा साथीहरूसँग रमाइलो गर्न पाइन्छ भनेर ल्याएको हुँ।
तपाईं के काम गर्नुहुन्छ?
किराना पसल छ। यो पसल मेरै हो, घर पनि मेरै हो। त्यही भएर म पसलतिरै फर्केर खेल्दै थिएँ नि, पसलमा ग्राहक आएको देखिन्छ भनेर।
पसलको व्यापार कस्तो छ?
पहिलाजस्तो छैन। दिनमा २० हजार (रुपैयाँ) भन्दा माथिको व्यापार हुन्थ्यो, आजकाल पाँचसात हजारको मात्रै हुन्छ। त्यसबाट कमाइ हुने भनेको पाँचसात सय (रुपैयाँ) हो।
मेरो पसलमा गाउँका मान्छेलाई चाहिने सबै सामान पाइन्छ। ब्रोइलर (कुखुरा) पनि काट्छु। हेर्नुस् त, उता छ कुखुरा काट्ने कोठा।
तपाईं बस्ने पनि यहीं हो कि अर्को घर छ?
मेरो घर अलिक पर छ, उत्तरतिर। वडा नम्बर १८ हो, बाल्वा। यहाँबाट नजिकै छ।
परिवारमा कोको हुनुहुन्छ?
म, बुढी (श्रीमती) दुई बुहारी र पाँच जना नाति। दुई छोरा अरबमा छन्। एउटा अहिले बिदामा घर आएको छ। जेठोका तीन र कान्छाका दुई छोरा छन्। छोरीको घर प्यूठान हो तर बुटवलमा बस्छन्।
पारिवारिक मेलमिलाप कस्तो छ?
हाम्रो परिवार मिलेको छ। छोराहरूले राम्रो गरेका छन्। म खुसी छु। मलाई कसैले नराम्रो गरेका छैनन्।
तपाईंको जग्गाजमिन कति छ?
जम्माजम्मी २२ कट्ठा छ, १२ कट्ठा खेत र १० कट्ठा बारी। त्यसको उत्पादनले खानलाउन पुगेकै छ। तनाव छैन।
तपाईंको बिहे कसरी भयो?
मागी बिहे भएको हो, २०३८ सालको माघमा। म १८ वर्षको थिएँ। रोल्पाको सुकीदह गाउँपालिका, मगर गाउँकी केटीसँग बिहे भएको हो। केटी बुबाले रोज्नुभएको थियो। उतिखेरको चलन त्यस्तै थियो, बुबाआमाले भनेको मान्ने।
बाजा बजाउँदै धुमधामसँग बिहे भएको हो, १९ वटा त नगरा मात्रै थिए। जन्ती पनि मस्तै (धेरै) थिए।
बिहे हुनुअघि चिनजान थियो कि थिएन?
थियो, हाम्रो एउटै गाउँ हो। कहिलेकाहीँ बोलचाल पनि हुन्थ्यो तर आपसमा गाढा सम्बन्ध थिएन। बिहेपछि माया बस्यो। मेरी श्रीमती वैशमाली ५८ वर्ष पुगी, आज पनि उत्तिकै माया गर्छे।
तपाईंले कति पढ्नुभयो?
मैले कक्षा ६ सम्म मात्र पढें। बुढी (श्रीमती) ले त कत्ति पनि पढेकी छैन। लेखपढ गर्न जान्दिन।
किन ६ कक्षासम्म मात्र पढ्नुभयो?
त्यो बेलाको रोल्पाको के कुरा! पछौटे समाज थियो, त्यसमाथि गरिबी! स्कुल जाने बाटो जंगलको, उकालो–ओह्रालो थियो। दिनमा चार घण्टा हिँड्नुपर्थ्यो।
दिनदिनै हिँड्न गाह्रो भएपछि म स्कुलतिरै साथीको घरमा बसिदिन्थे। भण्डारी खलकका मेरा साथी थिए। म हिँड्नका दुःखले साथीको घरमा बस्न थालेपछि बाआमाले पढाइ छुटाइदिए।
तपाईं पहाडबाट दाङ कहिले आउनुभयो?
२०६३ सालमा आएको, १८ वर्ष भयो। अचानक यता आएका हौं। सुरूमा होटल गर्न भनेर आएका थियौं। त्यतिबेला रोल्पामा माओवादीको असर थियो। दिनदिनै तनाव हुन्थ्यो।
त्यस्तो परिस्थितिमा गाउँ फर्कन मन लागेन अनि जग्गा किनेर यतै (दाङमै) बस्न थालेका हौं।
दाङमा सम्पत्ति कसरी जोड्नु सक्नुभयो त?
मैले साउदी अरब गएर कमाएको थिएँ। त्यही पैसाले तुलसीपुरको बरुवा गाउँमा एक लाख ६० हजार रुपैयाँमा एउटा घडेरी किनेको थिएँ। त्यो घडेरी अलिकपछि तीन लाख ६० हजारमा बेचेर जग्गा किनेँ। रोल्पाको जग्गा बेचेको केही पनि थियो।
तपाईं कामका लागि कहिले विदेश जानुभएको थियो?
म पहिलोपटक ३७ वर्षको छँदा साउदी (अरब) पुगेको थिएँ। त्यसबेला ६ वर्ष बसेँ तर कमाइ भएन। कम्पनीको काम नै भएन, बस्नखान मात्रै दियो।
त्यो बेला गाउँमा यस्तो अप्ठ्यारो परिस्थिति थियो कि अहिलेका केटाकेटीलाई सुनाउँदा पत्याउँदैनन्। यताबाट माओवादीले लखेट्ने उताबाट प्रहरीले, जिन्दगी निकै कठिन थियो।
मलाई माओवादीमा जान मन थिएन। ज्यान जोगाउनकै लागि म २०५४ सालमा भागेर काठमाडौं गएको थिएँ।
काठमाडौंमा लुकेर बस्नुभन्दा विदेश जानु राम्रो भनेर घरसल्लाह भयो अनि २०५७ सालमा अरब पुगें।
काठमाडौंमा लुकेर बस्दा साढे दुई लाख रुपैयाँ खर्च भएको थियो। पहिलोपटक अरब जाँदा हवाईजहाज भाडा ८५ हजार (रुपैयाँ) लागेको थियो।
तपाईंलाई माओवादीले धेरै दुःख दिनुको कारण के थियो?
हाम्रो घरपरिवारका सबै जना कांग्रेस थिए। मेरा बुबा बलबहादुर घर्ती गाउँको मुखिया हुनुहुन्थ्यो। हुन त उहाँ २०३९ सालमै बित्नुभएको हो तर हामी बुबाले देखाएकै बाटोमा हिँड्यौं।
आमा चार वर्षअघि ७३ वर्षको उमेरमा बित्नुभयो। बुबाको काल (मुत्यु) पछि जेठादाजु मुखिया हुनुभयो। म पनि मुखिया भएको थिएँ। हामी पुस्तौनी मुखिया परिवारका हौं।
२०५४ सालपछि सरकारले त्यो नियम फाल्यो। गाउँमा तिरो उठाउन छुट्यो।
म नेपाली कांग्रेस, रोल्पाको संस्थापकमध्ये एक हुँ। अहिलेका लुम्बिनी प्रदेशप्रमुख कृष्णबहादुर घर्तीको साथसंगत थियो। त्यस्तै कारणले होला माओवादीले दुःख दिएको।
अबरमा ६ वर्ष बस्दा कमाइ भएन भन्नुभयो, त्यसपछि के गर्नुभयो?
कमाइ नभए पनि ज्यान जोगाउने आधार भएको थियो। देशमा अलिक शान्ति भयो अनि फर्केर आएँ। त्यसपछि फेरि गएर चार वर्ष काम गरें।
म कोल्डस्टोरमा काम गर्थें। मासु काट्ने काम पनि गरेँ। क्यासियर, सेल्सम्यान, लेबर सबै काम गरेँ। अनुभवले सबै सिकाउँदो रहेछ।
त्यति बेला नौ लाख रुपैयाँ ऋण लागेको थियो, विदेशकै कमाइले तिरेँ। तुलसीपुरमा घडेरी पनि किनेँ।
साउदी अरब जानुअघि के काम गर्नुहुन्थ्यो?
म झन्डै १० वर्षजति इन्डिया (भारत) बसेँ। बिहेलगत्तै कमाउन भनेर इन्डिया गएको थिएँ। आउजाउ गरिरहन्थेँ। एकपटक श्रीमतीलाई पनि लगेको थिएँ। उसको उपचार गर्नुपर्ने थियो।
इन्डियामा कति कमाइ भयो?
ज्याला मजदुरी गरेर के कमाइ हुनु! श्रीमतीको उपचार र खाइपिइमा बराबर भयो। जवानीले पनि बिगार्दो रहेछ। त्यो बेला १० दिन काम गरेपछि १५ दिन डुलेर खाने बानी भयो। साथीभाइसँग लागेर हिँड्ने बानी भयो। कमाएको पैसा बचेन।
तपाईंको माथिपट्टिका तीन वटा दाँत रहेनछन् नि, के भएको हो?
ओ हो! म त मरेर बाँचेको मान्छे, अविस्मरणीय छ।
इन्डियामा टमाटर खेतीमा काम गर्थें। एक दिनको कुरा, साँझपख थोरै रक्सी खाएको थिएँ। साहुको बन्दुक मागेर राति टमाटर हेर्न निस्केका थिएँ, भिरबाट खसें।
मैले बन्दुक भिरेको थिएँ। जंगलको बाटो थियो। भाग्यले म अलिक तल मालु (लहरे वनस्पति) को झाँङमा अड्किएछु।
म त झाङमै उत्तानो परेको थिएँ रे। माछा मार्न गएका मान्छेले तेस्रो दिन देखेछन्। गाउँमा हल्ला भएपछि त्यहाँबाट निकालेर साहुले अस्पताल पुर्यएछन्। त्यही बेला दुईवटा दाँत झरेका हुन्।
बीचको एउटा दाँत थियो। मुखमा नसुहाउने भयो अनि अस्पताल गएर निकालिदिएँ।
तीन दिनसम्म पनि तपाईंको खोजी भएनछ?
कसले खोजी गरोस्! साहुले केटो भागेर गयो भन्ने ठानेछ। मेरो होस आउँदा अस्पतालमा थिएँ। भाँच्चिएको दाँत निलेको रहेछु। डाक्टरले अस्पताल आउन अझै ढिलो भएको भए तिमीलाई बचाउन मुस्किल हुने थियो भने।
म तकदिर (भाग्य) ले बाँचे, मालुको झाँङले नरोकेको भए त म सिधै सतपौली गंगामा खस्थें। भिरमा बन्दुकसँगै लड्दा त्यो पड्केको भए पनि बाँच्ने थिइनँ। मेरो भाग्यले बन्दुक पड्किएन।
निको भएपछि उपचारको खर्च ज्याला मजदुरी गरेर साहुलाई तिरें।
तपाईंलाई कुनै स्वास्थ्य समस्या छ कि?
अल्सर थियो, दुई वर्ष औषधि खाएपछि निको भयो। नेपालगञ्ज र काठमाडौंमा उपचार गराउँदा दुई लाख रुपैयाँ खर्च भयो। अहिले पनि कहिलेकाहीँ दुख्छ, औषधि खान्छु।
अस्ति एकाएक चक्कर लाग्यो, डाक्टरलाई देखाएँ। रिपोर्ट हेरेर त सुगर (मधुमेह) पो छ भनिदियो। सुगर त सामान्य हो, त्यसलाई पनि के रोग भन्नु! त्यसबाहेक अरू केही छैन।
रातमा निद्रा कस्तो छ?
मज्जाको निद्रा लाग्छ। म धेरै चिन्ता गर्ने मान्छे होइन। नहुने कुरामा किन चिन्ता गर्नु! बरु श्रीमतीलाई समस्या भएको छ। गएको साउनमा सानो नाति हिँड्न सिक्दै थियो, बाटोतिर गएछ।
नातिलाई गाडीले हान्ला भनेर दौडिएर जाँदा श्रीमती लडेर घुँडामा चोट लाग्यो। घुँडाको अपरेसन गर्नुपर्यो। बि एन्ड बी अस्पताल (काठमाडौं) अपरेसन गर्दा साढे चार लाख रुपैयाँ खर्च भयो।
अहिले राम्रो हुँदै छ तर दुःख पाई। दिसापिसाब गर्न पनि बोकेर लैजानुपर्थ्यो।
तपाईं एक्लै हुँदा के गर्न मन पराउनुहुन्छ?
म त कोही नभएको समयमा बाँसुरी फुक्छु। रहरले एउटा किनेर ल्याएको थिएँ तर बजाउन जानिँदो रहेनछ। बाँसुरीको धुन खुब मन पर्छ। जसोतसो बजाउँछु।
जीवन के रहेछ?
जीवन त संघर्ष हो नि! जस्तो बनाउन चाह्यो, त्यस्तै बन्दो रहेछ। मन मारेर बस्दा केही पनि हुँदैन। आँट गर्दा सबै थोक हुन्छ।
तपाईंलाई सबैभन्दा धेरै मन पर्ने परिकार के हो?
दालभात, तरकारी भए पुग्छ। राँगाको मासु धेरै मन पर्छ तर अल्सरवालाई पच्दैन। ज्यादा गलाएर खानु भन्छन् तर टेस्ट (स्वाद) आउँदैन।
मलाई त डाक्टरले मसला र चिल्लो पनि नखानू भनेका छन् तर अलिअलि खाइहाल्छु।
अझै मदिरापान चल्दै छ?
आजकाल खाँदिनँ, चार वर्ष भयो छाडेको। गुट्का, चुरोट र सुर्ती त कहिल्यै खाइनँ। हामी मगर जातिले देउतालाई रक्सी चढाउनुपर्छ, चढाएपछि चाख्नुपर्छ।
मैले २० वर्षको उमेरमा रक्सी खान सुरू गरेँ। बुबाको काल (मृत्यु) पछि डर मान्नुपर्ने मान्छे कोही भएन। बुबा भइदिएको भए रक्सी खाने थिइनँ होला।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
समाज राम्रो छ, सहयोगी छ तर एउटा समस्या देख्छु। सबै मान्छे ठूलोठालु बन्न थाले, सानो कोही ठान्दैन तर जानेको केही छैन।
जमिनदारले अहिले पनि सताएकै देख्छु। कानूनविपरीत काम गर्ने मान्छे पनि देख्छु तर गाउँमा मानिसहरू मिलेर बसेका छन्। सबै सहयोगी छन्।
पछाडि फर्केर हेर्दा के गल्ती गरें भन्ने लाग्छ?
पढाइ छोड्नु हुने थिएन। जीवनकै सबैभन्दा ठूलो गल्ती त्यही हो जस्तो लाग्छ।
अझै पनि गर्न पाए हुन्थ्यो भन्ने केही काम कि?
छैन। अबको दैनिक जीवन हाँस्दै, रमाइलो गर्दै बिताउन पाऊँ, त्यत्ति हो।
धेरै होइन, साथमा ठिक्क पैसा भए के गर्थें भन्ने लाग्छ?
सबैभन्दा पहिला यो पसल र घर जोड्दा लागेको ऋण तिर्ने थिएँ। जम्माजम्मी २५ लाख (रुपैयाँ) ऋण छ।
मैले त छोराहरूलाई दुई कट्ठा जमिन बेचेर ऋण चुक्ता गरौं भनेको छु। छोराहरू नआत्तिनू, मिलेर तिर्छौं भन्छन्। म ढुक्क भएर बसेको छु।
तपाईंले गएको चुनावमा भोट दिनुभयो?
दिएँ। मैले त भाले (चुनाव चिह्न) रोजें। ‘मंगोल नेसनल अर्गनाइजेसन’ बाट राजबहादुर घर्ती उम्मेदवार हुनुहुन्थ्यो। उहाँलाई नै भोट दिएँ। म वडा नम्बर १८ मा पार्टीको अध्यक्ष पनि हुँ।
अघि कांग्रेस हुँ हुनुहुन्थ्यो, कसरी मंगोल नेसनल अर्गनाइजेसनमा पुग्नुभयो त?
रूख चिह्न भएको कांग्रेसले हँसिया हतौडामा भोट दिनू भनेर उर्दी जारी गरेपछि मैले स्वीकार गर्न सकिनँ अनि कांग्रेस छाडें। रोल्पामा छँदा म १३ वर्ष कांग्रेसको इकाइ सभापति थिएँ।
अब हुने चुनावमा कसलाई भोट दिनुहुन्छ?
फेरि पनि भालेमै त होला तर अब उम्मेदवार पनि हेर्छु।
नेपालमा तपाईंलाई सबैभन्दा धेरै मन पर्ने नेता को हो?
भीम रावल। उहाँ प्रष्टवक्ता हो भन्ने लाग्छ।
यति बेला राज्यले के गरिदिएहुन्थ्यो भन्ने लाग्छ?
राम्रा अस्पताल, राम्रा स्कूल र राम्रो बाटो बनाइदिनुपर्यो। सरकारी कार्यालयमा नागरिकको काम फटाफट हुनुपर्यो। देशको विकास हुनुपर्यो। ढाँटछलको राजनीति हुनु भएन। नागरिकले दुःख पाउनु भएन।
सरकारले ध्यान दिनुपर्ने मुख्य कुरा यही हो।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्