(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ— सम्पादकीय नोट)
हामी आममान्छे
उनी गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बाहिरको प्रतीक्षालयमा बसिरहेकी थिइन्। सँगै बहिनी पनि थिइन्। मलाई देखेपछि उनीहरू अलमलमा परे। मैले आफ्नो परिचय दिएर सेतोपाटीका लागि कुराकानी गर्न समय मागेँ, उनी कुराकानीका लागि तयार भइन्।
तपाईंको नाम के हो?
मेरो नाम त विष्णु (ठूलो छोरी) को आमा हो।
तपाईंको आफ्नै नाम छ होला नि!
छोरीको नामले बोलाउँदा मैले त आफ्नो नाम नै बिर्सिएँ। आफ्नो नाम त नागरिकतामा लेख्नको लागि मात्रै भएको छ। सबैले विष्णुको आमा भनेर बोलाउँछन्। (उनलाई घरपरिवार, आफन्त, छर छिमेकी सबैले विष्णुको आमा भनेर नै चिन्ने रहेछन्)।
बुवाआमाले राखिदिएको नागरिकतामा भएको तपाईं नाम के हो?
नागरिकतामा त गान्धी गाहा लेखेको छ। बुवाआमाले राखिदिएको पनि त्यही नाम हो तर, त्यो नामले कसैले पनि चिन्दैनन्। विष्णुको आमा भनेपछि सबैले चिन्छन्।
तपाईं कति वर्षको हुनुभयो?
२०१९ सालमा जन्मिएको हो रे, ६२/६३ कति वर्ष कि भएँ कुन्नि!
यहाँ किन आउनुभएको हो?
भाइ (बमबहादुर पेङी) को अस्पतालमा मिर्गौलाको डायलासिस भइरहेको छ। हामी दिदीबहिनी प्रतीक्षालयमा पर्खिएर बसेका छौं।
तपाईंको घर कहाँ हो?
मेरो घर त कहीँ पनि छैन।
तपाईं कहाँ जन्मिनुभयो, अहिले कहाँ बस्नुहुन्छ केही त होला?
जन्मिएको त पाल्पाको बल्ढेङगढी गाउँपालिका सत्यवतीमा हो। बुटवल–७ शिवनगरमा बस्न थालेको ४० वर्ष भयो। तर, आफ्नो घरबास बनाउन सकिएको छैन।
के काम गर्नुहुन्छ?
मैले अहिले त केही पनि काम गर्दिनँ। पहिले यही औद्योगिक क्षेत्रभित्र रहेको चप्पल कारखानामा १६ वर्ष काम गरेँ। त्यहाँ छोडेर ५ वर्ष पाइप उद्योगमा र एकवर्ष त्रिपाल उद्योगमा काम गरेँ। सबै उद्योगमा गरेर २२ वर्ष काम गरेँ। अहिले घरमै बस्छु। श्रीमान् (मेघबहादुर गाहा) ले पनि धेरै वर्ष बस चलाउनुभयो। ७० वर्ष पुगेको भनेर बस चलाउन दिएनन्। अहिले त बुढाबुढी नै त्यत्तिकै बसेका छौं।
तपाईंको घरमा को-को हुनुहुन्छ?
हामी बुढाबुढी भयौं। एउटा छोरा र बुहारी छन्। तीन वटा छोरी हुन्, उनीहरूको विवाह भइसक्यो।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
छोराछोरीबाट धेरै सुख छ। छोराले विदेश गएर कमाएको पैसाले नै अहिले घर चलेको छ। पहिले पनि सात वर्ष विदेश बसेर आएका हुन्। अहिले पनि विदेश जानको लागि म्यानपावर धाइरहेका छन्। नेपालमै केही काम गर्ने भन्ने थियो तर, काम गर्ने जस्तो केही पाइएको छैन। आफ्नै व्यवसाय गर्ने लगानी पनि छैन। बुढाले म बिरामी छु एउटा छोरालाई पनि विदेश पठाउँदा दु:ख बिमार पर्दा कसले रेखदेख गर्छ भन्नुहुन्छ। बुढा सुगर र प्रेसरको बिरामी हुनुहुन्छ। हामीले नजा भनेर पनि भएन घरमा बसेर के गर्ने परिवार पाल्नै पर्यो।
तपाईंलाई सबभन्दा के काम गर्न मन लाग्छ?
मलाई त मन्दिरमा सेवा गर्न मन लाग्छ। मन्दिरमा पूजापाठ भइरहन्छ। मान्छेको भिड भएपछि फोहोर पनि भइहाल्छ सरसफाइ गर्छु। हामी दुई तीन जना साथी छौं, त्यस्तै काममा रमाउने गर्छौं। दिनभरि घरमा यत्तिकै बस्दा अल्छी पनि भइन्छ साँझ बिहान खुट्टा तान्न पनि हुने।
तपाईंलाई के खान मन लाग्छ?
मेरो त मुखै मिठो छ। दाल तरकारी माछामासु जे भए पनि मिठो लाग्ने एउटै हो। आज यो धेरै मिठो यो कम मिठो भन्ने केही छैन।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य त अहिलेसम्म ठिकै छ भन्ने त होला। ठूलै बिमार केही छैन, सबै ठिक छ भन्ने पनि छैन। ग्याष्टिक भइरहन्छ औषधि खानुपर्छ। कहिलेकाहीँ खुट्टा पनि दुख्छन्। खुट्टा दुखे पनि दैनिक १५/२० मिनेट हिँड्छु।
निद्रा कत्तिको लाग्छ?
निद्रा पनि राम्रै लाग्छ। कहिलेकाहीँ मनमा कुरा खेलेर निद्रा लाग्दैन।
मनमा के कुरा खेल्छन्?
कुरा त खेलिहाल्छन् नि! अहिलेसम्म घर छैन, आफ्नो घर नहुँदै मरिने हो कि भन्ने पिर लाग्छ। श्रीमानले धेरै कमाए पनि बचत गर्न सकिएन। समयमा पैसा चिन्न सकिएन। छोराको जागिर छैन सधैं अर्काको देशमा काम गरेर कहिलेसम्म पुग्ला भन्ने लाग्छ।
छोरीहरूको विवाह भए पनि उसको विवाह नहुने बेलासम्म झनै चिन्ता लाग्थ्यो। हामी मरेपछि के गर्ला भन्ने हुन्थ्यो। बुहारी ल्याएपछि त्यो पिर हटेको छ। बुहारी नल्याउँदासम्म मुटु भुकभुक गरिरहन्थ्यो। जहिले बुहारी घरभित्र पसिन्, त्यसपछि त्यो सबै चिन्ता हटेको छ।
चप्पल कारखानामा काम गर्दा सानो सानो घडेरी जोड्न सकेकी थिएँ, अब त्यसैमा एउटा सानो छाप्रो हाल्न पाए सबै पुग्थ्यो भन्ने लागेको छ।
तपाईंलाई ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ?
मेरो लागि त केही किन्न मन छैन, चाहिएको छोरीहरूले किनिदिन्छन्। पैसा भए त एउटा बास बनाउन पाए हुन्थ्यो नि! मरे पनि आफ्नै बासमा मरिन्थ्यो भन्ने लागेको छ।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो?
छोराको विवाह हुँदा नै भए सबभन्दा धेरै खुसी त। अब त छोराले साथी पायो भन्ने लाग्यो। विवाह नहुँदासम्म हामी नभए एक्लै कसरी पकाएर खाला, एक्लै भएको बेला रातिमा केही भए पनि कसले तातो पानी तताएर खान देला भन्ने लाग्थ्यो। अब त एकअर्कालाई साथी भए। म पनि ढुक्क भएँ।
तपाईं सबभन्दा धेरै दु:खी कहिले हुनुभयो?
चालिस वर्ष कुरेर बसेको ठाउँ छोड्नुपर्दा सबभन्दा दु:ख लागेको छ। खासमा अहिले हामी बसेको ठाउँ चालिस वर्षदेखि सुकुम्बासी कुरेर बसेको घडेरी हो। त्यतिबेला श्रीमानको फुपूको छोरीसँग मिलेर तीनवटा सुकुम्बासी घडेरी कुरेर बसेका थियौं। लालपुर्जा पाउँदा एउटा घडेरी हाम्रो नाममा बनाउने भन्ने सहमति भएको थियो। त्यही घडेरीमा छाप्रो हालेर कुरेर बस्यौं। लालपुर्जा लिने बेलामा तीनवटै घडेरी दिदीले आफ्नो नाममा बनाउनु भएछ। अहिले दिदी बितिसक्नु भयो। दिदीको नाममा भएका घडेरी सबै भान्जाको नाममा पास भएका छन्। ४० वर्षदेखि हामी त्यही जग्गामा छाप्रो हालेर कुरेर बसिरहेका छौं। यही विषयमा मुद्दा पनि पर्यो। अहिले केही पैसा दिने सहमति गर्नुभएको छ। आफन्तीबाटै ठूलो चित्त दुखेको छ मेरो त।
आफ्नो टोलसमाज कस्तो लाग्छ?
टोलसमाज त धेरै राम्रो छ। ४० वर्षदेखि यही ठाउँमा बसेकी छु, मिलेर बसेका छौं। अहिले केही पैसा दिन्छौं छाप्रो हालेर बसिरहेको जग्गा खाली गराउनु पर्छ भनेका छन्। पैसा दिएपछि चरङगेमा किनेको घडेरीमा छाप्रो हालेर बस्ने भनेका छौं। टोलछिमेकीले अब यहाँ छोडेर जाने भए भनेर दु:ख मान्नु भएको छ। लामो समय मिलेर बसेको टोलछिमेक छोडेर जानुपर्छ भनेपछि मलाई पनि नरमाइलो लागेको छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ भन्ने लाग्छ?
पहिले त म आफै पनि राजनीतिमा हिँडे। धेरै वर्ष झण्डा बोकेर हिँडियो। अहिले बल्ल राजनीतिले गरिबको भलो हुने रहेनछ भन्ने लागेको छ। गरिबले कसका राजनीतिले के गर्यो र। माथिमाथि पुग्ने सबै धनी ठूलाबडा मात्र रहेछन्, गरिब सधै भुइँमै। मलाई त राजनीति मन पर्न छोड्यो।
पहिले झण्डा बोकेर हिँडे भन्नुभयो, कसको झण्डा बोक्नुभयो?
बोकियो नि कहिले कसको, कहिले कसको झण्डा बोकेँ। नाम त किन भन्नुपर्यो र! अब नभन्ने।
तपाईंलाई नेपालको मन पर्ने नेता को हो?
पहिले पहिले मन पर्थे अहिले कोही पनि मन पर्दैन। मन पराउनुपर्ने आफ्ना मान्छेलाई रहेछ। अब आफ्ना मान्छे मात्र मन पर्छन्।
गएको चुनावमा कसलाई भोट हाल्नुभयो?
पहिलेका चुनावमा सूर्यमा हाल्दै आएको हो। गएको चुनावमा सबैलाई हालेँ भने पनि भयो। पार्टीहरूले गठबन्धन गरेर अर्को पार्टीलाई भोट माग्न मिलेपछि जनताले पनि सबैलाई भोट दिन पाइयो नि!
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अब चुनाव भयो भने कस्तो मान्छे उठेको छ हेरेर बल्ल भोट दिने हो। अहिलेसम्म पार्टी हेरेर दिइयो, अब मान्छे हेरेर दिने।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
हामी जस्ता गरिब दुखीलाई सहयोग गरे हुन्थ्यो। आफ्नो घरबास नभएका कति छन् सबैलाई एउटा छाप्रोसम्म बनाइदिए हुन्थ्यो। सबैका छोराछोरीले नेपालमै काम गर्न पाए हुन्थ्यो। मेरो छोराले पनि सानोतिनो जागिर यहीँ पाए धेरै कमाउने भनेर विदेश जाने थिएन। सरकारले सबैलाई काम दिनुपर्छ।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्