(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ— सम्पादकीय नोट)
हामी आममान्छे
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घुम्तीबाट दुर्गाफाँटतर्फ करिब ७ किलोमिटर भित्री सडक हिँडेपछि पुगिन्छ- पाणिनी गाउँपालिका वडा नम्बर ८ पाली खगडी बजार।
यहाँसम्म पुग्ने सडक केही किमी कालोपत्र गरिए पनि बाँकी धुलाम्मे छ। हामी सडकको धुलो छिचोल्दै खगडी बजार पुग्दा सडक छेउको किराना पसलसँगै होटलमा चिया पकाउँदै थिइन्- मनकला कँडेल।
पानी नपरेको लामो समय भएकोले होला, सडकमा धुलैधुलो देखिन्थ्यो। सवारीले उडाएक धुलोले घरका छाना ढाकिएका थिए।
सडकको धुलो र अगेनाको धुवाँको परबाह नगरी ५१ वर्षीया मनकलासँग हामीले केहीबेर कुराकानी गर्यौं।
किराना पसलसँगै होटल पनि चलाउनु भएको रहेछ, कत्तिको चलेको छ?
गाउँघरको होटल कत्तिको चल्ने हो र, अलिअलि चियानास्ता बिक्री हुन्छ। घरमा भैंसी, बाख्रा छन्, तिनलाई घाँसपात गर्नुपर्छ। श्रीमान् पनि बिरामी हुनुहुन्छ उहाँको स्याहारसुसार गर्ने र नातिलाई स्कुल पठाउने सबै काम एक्लै गर्ने हो। मलाई समय बिताउन पुगेको छ।
यो होटल गर्नुभएको कति समय भयो?
होटल गरेको त १५ वर्ष भयो।
होटल गर्नुभन्दा पहिले के काम गर्नुहुन्थ्यो?
गाउँघरमा अरू के धन्दा गर्ने हो र खेतीकिसानी गर्ने, डिंगाबाच्छा (गाईभैंसी) पाल्ने त्यही त हो।
घरमा को-को हुनुहुन्छ
घरमा श्रीमान् शोभाखर कँडेल, छोरी, ८ वर्षको नाति र म छौं। दुई भाई छोरा विदेश छन्। एउटा छोरा भारतमा छन्। एउटी बुहारी छन्, उनी पनि छोरासँगै गएकी छन्।
१५ वर्ष पहिले यहाँ बाटो खुलेको थिएन होला, होटल चल्छ भन्ने कसरी लाग्यो र खोल्नुभयो?
पहिले हाम्रो घर अलि तल थियो। श्रीमानले दिल्लीमा जागिर गर्नुहुन्थ्यो, बिरामी भएपछि घर आउनुभयो। यहाँ अहिलेको जस्तो गाडी चल्ने बाटो नभए पनि गाउँमा चियाखाजाको होटल चल्छ होला भनेर घडेरी किनेर सुरू गरेको हो। पछि गाडी चल्ने बाटो खुल्यो ठिकै गरेछौं भन्ने लागेको छ अहिले।
तपाईंको श्रीमानलाई के भएको हो?
प्रेसरले हानेर प्यारालाइसिस (पक्षघात) भएको हो, अहिले सुधार भइरहेको छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
त्यति ठूलो विमार त छैन। कहिलेकाहीँ ग्याष्टिक हुने, टाउको दुख्ने, ज्वरो आउने सामान्य नै भए। केही वर्ष भयो प्रेसर (उच्च रक्तचाप) बढेर औषधि खान थालेकी छु।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
घरको काम, डिंगाबाच्छा (गाईभैंसी) को स्याहारसुसार, होटलको कामले दिनभरी थाकेको भएर होला, राती भुसुक्कै निदाउँछु। राती ९/१० बजेतिर सुत्ने हो। चार बजेपछि बल्ल आँखा खुल्छन्।
तपाईंलाई पसल चलाउनेबाहेक अरू के गर्न मन लाग्छ?
जे भए पनि काम गरिरहन मन लाग्छ। त्यतिकै हात खुम्चाएर बस्नै मन लाग्दैन, कहिल्यै त्यसरी बस्न पनि बसिनँ। दिदीबहिनीहरूसँग गफ गर्दै काम गर्दा सबभन्दा बढी रमाइलो लाग्छ। साथीभाइ इष्टमित्र घरमै आउनुहुन्छ गफगाफ गर्नुहुन्छ, श्रीमान् पनि रमाउनुहुन्छ। मलाई पनि त्यसैमा आनन्द आउँछ।
बाहिरफेर घुमफिर गर्न कत्तिको मन लाग्छ?
भ्याएसम्म त मन लागिहाल्छ नि! पोहोर साल ठूलो छोराबुहारीले हामी दुवै जनालाई दुबई लगेर घुमाए। त्यहाँको विकास देखेर छक्क पर्यौं।
सबभन्दा बढी के खान मन लाग्छ?
खानेकुरा यो मिठो त्यो नमिठो भन्ने केही पनि छैन। भान्सामा पाक्ने सबै चिज मन पर्छ। केही रोज्दिनँ। मन लागेको चिज पकाएर खाइहाल्छु। आज सिस्नो खान मन लागेको थियो टिपेर अहिले पकाउँदै छु।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो?
खुसी त सधैभरी नै छु तर पनि ४२ वर्षमा तीनभाइ छोरामुनि छोरी जन्मिदा सबभन्दा धेरै खुसी भएँ। छोराको विवाह हुँदा, नाति जन्मिदा पनि धेरै खुसी भएँ। मानसिक तनाव लिएर बस्न त्यति धेरै परेन।
तपाईं सबभन्दा धेरै दुखी कहिले हुनुभयो?
बुवाआमा बित्नुभयो, श्रीमानलाई प्रेसरले हान्यो त्यतिबेला धेरै दुखी भएँ।
तपाईं मनमा गढेर बसिरहेको कुनै पिर छ, जुन यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने केही?
अरू त केही पीर छैन। श्रीमानलाई सन्चो भएर पहिलेजस्तै काम गर्न सक्ने भए हुन्थ्यो भन्ने लाग्छ। अलिअलि हिंड्डुल गर्न सक्ने हुनुभएको छ अब आफ्नो काम आफैले गर्न सक्ने भए मलाई ढुक्क हुनेथियो।
तपाईंलाई पैसा भए यस्तो चिज किन्ने थिएँ भन्ने केही छ?
पैसा भए त यही व्यापार बढाउन हुन्थ्यो नि! छोरी र नातीलाई पढाउन छ। अरू ठूलो चाहना त केही छैन।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
टोल समाज राम्रै छ। हाम्रो गाउँमा मुस्लिम समुदायको बाहुल्यता भए पनि सबै मिलेर बसेका छौं। सबैले आफ्नो-आफ्नो परम्परा मान्छौं। कसैलाई रोकतोक छैन। एकअर्कालाई दुखः विमार पर्दा सरसहयोग मिल्छ।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ भन्ने लाग्छ?
म आफू राजनीतिमा त्यति हिँड्न भ्याउन्न। तर पनि अहिले त्यति राम्रो राजनीति भएजस्तो लाग्दैन।
तपाईंलाई सबभन्दा मन पर्ने नेपालको नेता को हो?
यो नेता मनपर्छ भन्ने कोही पनि छैन। पहिलेका नेताहरूले काम गरेको हेर्न पाइएन। अहिलेका नेताहरू कसैलाई पनि मन पर्दैन। जनताको लागि काम गर्न भनेर कोही पनि नेता बनेको जस्तो लाग्दैन।
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
भोट त पहिलेदेखि नै सूर्यमा हाल्दै आएको हो। गएको चुनावमा पनि त्यसैलाई हालें।
अहिलेको अवस्थामा चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अब चुनाव भयो भने त सोच्नुपर्छ। पहिलेदेखि भोट दिएको पार्टीप्रति मन मरेको छ।
त्यसरी किन मन मर्यो?
चुनाव जितेर गएकाहरूले फर्किएर हेरेनन्। घरको हालत यस्तो छ। वर्षामा घर नजिकैबाट भल बग्छ, कहिले त्यही भलले घर नै बगाइदिने हो भन्ने पिर छ। पालिकामा गएर धेरै पटक कुरा गरेँ, यहीँ ल्याएर पनि देखाएँ, मरक्क परेर फर्किएर गए। आफैले माया गरेको पार्टी र नेतासँग मेरो धेरै चित्त दुखेको छ। चुनावमा गाउँभरिका दिदीबहिनीलाई जम्मा गरेर सूर्यमा भोट हाल्न लगाएको हो चुनाव जितेर गएपछि सबै बिर्सिने रहेछन्।
तपाईंको विचारमा सरकारले के गरिदिएहुन्थ्यो भन्ने लाग्छ?
नेपालमा पाइलै पिच्छेका धेरै नेता भए। सरकारले राजालाई नै एउटै नेता बनाइदिए हुन्थ्यो भन्ने लाग्न थालेको छ। अहिले त जो नेता छ पार्टीका टाठाबाठा छन् उनीहरूको मात्र प्रगति भएको छ गरिब दुखीहरूले कुनै सहयोग, राहत, उद्धार केही पनि पाएका छैनन्।