(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दाङको तुलसीपुर उपमहानगरपालिका–६, रजौरास्थित एउटा डेरी, फलफूल तथा तरकारी पसलमा ग्राहकको प्रतीक्षामा थिइन् ४१ वर्षीया कमला चौधरी। उनले यो पसल चलाएको दुई वर्ष भयो।
उनी पसलका लागि मासिक तीन हजार रुपैयाँ भाडा तिर्छिन्। सँगैको सटरमा दिदीको किराना पसल छ। यी दुबै पसल भएको घर दिदीकै हो। कमलाको आम्दानीको मुख्य स्रोत त्यही पसल हो। यो दुई वर्षमा व्यवसायको अनुभव पनि हासिल गरेकी छन्।
हामीले उनै कमलासँग संवाद गरेका छौं।
कस्तो चल्दै छ तपाईं व्यापार?
ठिकै छ। यसरी काम गर्दा आफ्नो गर्जो टर्दो रहेछ।
दैनिक कति रुपैयाँको व्यापार हुन्छ?
अलि राम्रो भएका दिन सात हजार रुपैयाँसम्मको हुन्छ। कम हुँदा पनि २५ सयभन्दा घटेको छैन।
पसल चलाउन कत्तिको सजिलो रहेछ?
काममा मेहनत नगरी कहाँ हुन्छ र! यो पसल चलाउन पनि धेरै मेहनत चाहिन्छ। म बिहान चार बजे उठेर हिँड्दै तरकारी र फलफूल लिन गइसक्छु।
तुलसीपुर बसपार्कको पुलमुनि, त्यहाँबाट बाहिनी चोक र सब्जीमण्डी पुग्छु। पुलमुनि र बाहिनी चोकमा गाउँघरबाट किसानले ल्याएको ताजा तरकारी पाइन्छ। सब्जीमण्डीबाट फलफूल ल्याउँछु।
सधैँ यी तीन ठाउँमा पुग्नुपर्छ?
एक चिज एक ठाउँमा, अर्को चिज अर्को ठाउँमा पाइन्छ। व्यापार गर्ने नै केही कमाउन हो। गाउँघरबाट किसानले ल्याउने तरकारी ताजा हुन्छ, अलिकति सस्तो पनि हुन्छ।
यति मेहनत गर्दा तपाईंलाई दैनिक कति नाफा हुन्छ?
नाफा त अवस्था हेरेर हुन्छ। दैनिक पाँच–सात सय रुपैयाँसम्म बचत हुन्छ। तरकारी र फलफूल तत्कालै बिक्यो भने राम्रै नाफा हुन्छ। नबिकेर अर्को दिन राख्नुपर्यो भने नाफा घट्छ। कहिलेकाहीँ त आफ्नो डोको पनि ढल्छ (घाटा हुन्छ)। पहिला त घाटा हुँदा आत्तिन्थें, अहिले आत्तिन छोडेँ। अर्को दिन नाफा हुन्छ भन्ने आशा गर्नु पर्दो रहेछ।
आफूले पसल सुरू गरेपछि अरू पनि केही फाइदा भयो कि?
फाइदा भयो नि। व्यापार गर्ने व्यावहारिक ज्ञान भयो। धेरै खाले मान्छेसँग संगत भयो। मान्छे चिन्ने अवसर मिल्यो। व्यापार गर्दा चलाख हुनु पर्दो रहेछ, सावधानी अपनाउनु पर्दो रहेछ भन्ने पनि जानेँ। म आफ्नै मेहनतले आत्मनिर्भर हुन सकेकी छु। रोजेर तरकारी र फलफूल खान पाइएको छ।
पैसा बचत गर्नसक्ने भएकी छु। मासिक पाँच हजार रुपैयाँ समूहमा बचत गर्न सकेकी छु। आफूलाई मन परेको लगाउन, खान पाएकी छु। पैसाको तनाव धेरै छैन।
यो पसल कसरी सुरू गर्नुभएको हो?
हामीले २०७५ सालमा तुलसीपुरको रजौरामा घर बनायौं। बच्चाबच्ची हुर्केपछि म घरमा एक्लै भएँ। एक्लै बस्दा दिक्क हुन्थेँ। श्रीमानले तिमी तरकारी र फलफूल पसल गर भनेर आइडिया दिनुभयो। दिदीसँग कुरा गरेपछि घरनजिकै दुई वर्षअघि पसल सुरू गरेकी हुँ। मेहनत अनुसार कमाइ पनि भएकै छ। समय बिताउन पनि सजिलो भएको छ।
परिवारमा कोको हुनुहुन्छ?
मेरा श्रीमान सूर्य चौधरी सशस्त्र प्रहरीमा सई (सब इन्स्पेक्टर) हुनुहुन्छ। अहिले तुलसीपुरमै कार्यरत हुनुहुन्छ। उहाँको पेन्सन हुन अब चार वर्ष बाँकी छ। हाम्रो छोरो २१ वर्षको छ। ऊ अमेरिका पुगेको नौ महिना भयो। पहिला क्यानडा गएको थियो। दुई वर्ष त्यहाँ बसेपछि उतैबाट अमेरिका छिरेको हो। उसले १२ कक्षा पास गरेको छ।
छोरी पनि छिन् १६ वर्षकी, प्लस टु पढ्दै छिन्। विदेशबाट छोराले पनि पसल नछाड्नू भनेको छ। श्रीमानले पनि आडभरोसा दिनुभएको छ। छोरी पनि फुर्सदमा सघाउँछिन्। मलाई कुनै समस्या छैन।
तपाईंको बिहे कसरी भएको हो?
प्रेमविवाह भएको हो। मेरो माइती घर तुलसीपुरको गौरीगाउँ हो। कर्मघर दंगिशरण गाउँपालिकाको डाँडाचिस हो। मैले गाउँकै सरकारी विद्यालयमा पाँच कक्षासम्म पढेँ। मेरा श्रीमानले एलएसली पूरा गर्नुभएको छ।
उहाँ (श्रीमान) की बहिनी चन्द्रकला र म साथी थियौं। त्यो चिनजाले एक दिन तुलसीपुर बजारमा किनमेल गर्न गएका बेला उहाँसँग देखादेख भएको थियो। त्यति बेला म १६ वर्षकी थिएँ।
बहिनी साथी भएपछि दाइसँग पनि चिनजान भयो। अलिकपछि हामी प्रेममा पर्यौं अनि भागेर बिहे गर्यौं।
प्रेमको प्रस्ताव पहिला कसले राखेको थियो?
पहिला उहाँले नै राख्नुभएको हो। मलाई चिठी पठाउनुभएको थियो। गाउँको सानो केटो आएर चिठी दिएको थियो। त्यो चिठी पढ्न निकै खुलदुली भएको थियो। मन ढक्क फुलेको थियो। लुकेर एक्लै सुटुक्क पढेँ।
म सानै छु भन्ने लाग्यो, पत्रको जबाफ पठाइनँ। बीचमा भेट हुँदा लाज लाग्थ्यो, थोरै बोलचाल हुन्थ्यो। बोल्नेभन्दा बढी इशाराले काम चल्थ्यो।
त्यति बेला अहिलेजस्तो सामाजिक सञ्जालको प्रचलन थिएन। उहाँले चिठी पठाएको दुई वर्षपछि मैले पनि म बिहे गर्न तयार छु भनेर लेखेर पठाएँ। त्यसपछि भागेर बिहे गर्यौं।
पाँच कक्षासम्म मात्रै पढ्नुभएछ, पढाइ किन छोड्नुभएको थियो?
त्यतिखेरको काँचो बुद्धि, मलाई पढाइको महत्त्व थाहा भएन। सम्झाउने, बुझाउने पनि कोही भएन। गाउँको स्कुल पाँच कक्षासम्म मात्रै थियो। अर्को स्कुलमा जान मन लागेन। म त गौरीडाँडामा साथीहरूसँग गाई चराउन जान पाए खुसी हुन्थेँ। दिनभरि साथीहरूसँग खेल्यो, उनीहरूसँग हाँस्यो, रमायो। त्यसभन्दा बढी सोचाइ नै भएन।
पढाइ छोडेको कुरा सम्झिँदा आजकाल कस्तो लाग्छ?
पढाइ छोडेर ठूलो गल्ती गरेछु भन्ने लाग्छ। व्यापारमा कहिलेकाहीँ अलमल हुँदा नपढेकोमा पछुतो लाग्छ। पहिला त छोराछोरीका सामु पनि लाज लाग्थ्यो। उनीहरू साना हुँदा होमवर्क (गृहकार्य) सिकाइदिनुस् भन्थे, मलाई नरमाइलो लाग्थ्यो।
तपाईंको स्मृतिमा बालापनको के कुरा बढी आउँछ?
म सानो छँदा धेरै हाँस्थें, साथीहरूसँग जति बेला पनि रमाउथेँ। हाँस्ने, खेल्ने त्यो खुसीको संसार सम्झिन्छु। गाई चराउन जाँदा दिउँसो हामीलाई घरका मान्छेले मार (थारू जातिले दिउँसो खाने विशेष प्रकारको खाजा) लगिदिन्थे। त्यो मार लौकाको भाँडोमा राख्ने चलन थियो।
साथीहरूसँग रमाउँदै डाँडोमा खेलेको याद आउँछ। एकअर्काका घरबाट ल्याएको मार डाँडामा सँगै बसेर नुनखुर्सानीसँग खाएको याद आउँछ।
म सानो छँदा माटोको हाँरी (भाँडो) मा खान पाक्थ्यो। त्यो खानेकुरा निकै स्वादिलो हुन्थ्यो। बबई (नदी) पारी तुहीखोला पुगेर भाँडा बनाउने माटो ल्याउने चलन थियो। त्यो चलन आज छैन।
म आमाको नजिकै बसेर उहाँले गुन्द्री र पटकी बुनेको हेरेर रमाउँथेँ। मलाई पनि बुन्ने रहर हुन्थ्यो। आमासँगै बस्दाको याद पनि आइरहन्छ।
गाउँघरका साथीहरूसँग माछा मार्न गएको पनि याद आउँछ। म जुकासँग साह्रै डराउँथेँ। एकपटक गौरी तालमा जुका लागेपछि म चिच्याउँदा साथीहरू डराएका थिए। त्यो जुका साथीले तानेर फालिदिएकी थिई।
थारू जातिमा तपाईंलाई मन पर्ने कुरा केके हुन्?
हाम्रो गैरी गाउँमा दसैंमा नाच हुन्थ्यो। हामी खुब नाच्थ्यौं। गाउँभरिका दिदीबहिनी जम्मा भएर नौ दिनसम्म पैंया लगाउँथ्यौं। आजकाल त्यो नाच हुँदैन।
दसैंमा लोग्ने मान्छेहरू मातेर आपसमा लड्न थालेपछि त्यो नाच हुन छोड्यो। थारू जातिमा कसैलाई कुनै समस्या पर्दा सबैले सघाउने चलन छ।
यसरी सघाउने कामलाई ‘बेगारी’ जाने भन्छन्। आज पनि त्यो प्रचलन कायमै छ।
थारू जातिको गाउँमा कसैलाई दुःख पर्यो भने ऊ एक्लै हुँदैन। एकले अर्कोलाई निःस्वार्थ सहयोग गर्छन्। मलाई पनि बेगारी जान खुब मन पर्थ्यो।
थारू जातिमा मन नपर्ने कुनै कुरा पनि छ कि?
म त भाग्यमानी हुँ जस्तो लाग्छ। मेरा श्रीमान जाँडरक्सी खानुहुन्न। छोराछोरी पनि खाएका छैनन्। मैले पनि कहिल्यै रक्सी खाइनँ। दसैंमा देउतालाई चढाएको रक्सी एक जनाले थोरै चाख्नुपर्छ, म पनि चाख्छु।
चाडपर्व आउँदा रक्सी धेरै खाने, हल्लाखल्ला गर्ने, आपसमा झगडा गर्ने घटना मलाई मन पर्दैन। अर्को कुरा, थारू समुदायले पढाइलाई अझै महत्त्व दिनुपर्छ भन्ने लाग्छ।
तपाईंलाई आफ्नो समाज कस्तो लाग्छ?
मलाई त हाम्रो टोलको जस्तो शान्ति अन्त कतै छैन जस्तो लाग्छ। टोलमा धेरै जना शिक्षक छन्, कोही कर्मचारी पनि छन्। समाज शिक्षित हुँदा व्यवहार पनि राम्रो हुँदो रहेछ।
हाम्रो समाज धेरै राम्रो छ। आजकाल होहल्ला र झगडा पनि छैन। सबै एकअर्कालाई सम्मान गर्छन्। मिठो बोल्छन्। समाज सहयोगी छ।
तपाईंलाई गाउँ मन पर्छ कि सहर बजार?
मलाई त गाउँ नै मन पर्छ। म गाउँमै जन्में, हुर्कें। बिहेपछि श्रीमानको गाउँमा बसेँ। यता (बजारमा) बस्न थालेको सात वर्ष भयो, गाउँको जस्तो सरल जीवन बजारमा छैन। गाउँमा जस्तो आनन्दको जीवन सहरमा छैन।
सहरमा घडेरी कहिले किन्नुभएको हो?
मेरा श्रीमानले २०६५ सालमा आफ्नै कमाइले किन्नुभएको हो। हामीले घरबाट केही पनि लिएका छैनौं। जम्मा साढे दुई लाखमा किनेको घडेरी हो। अहिले त यो घडेरीको ३० लाख जति पर्छ होला।
यति बेला तपाईंको साथमा केही पैसा भए के गर्नुहुने थियो होला?
पैसा भए यो पसल ठूलो गराउने थिएँ। छोरो अमेरिका जाँदा लागेको ऋण तिर्ने थिएँ। अझै बैंकमा १५ लाख रुपैयाँ ऋण छ।
पैसा भए एउटा सानो गाडी किन्ने थिएँ। श्रीमानले मेरा लागि त्यही गाडीमा सामान ल्याइदिनुहुने थियो अनि म पसल पसल चलाएर बस्ने थिएँ।
रातमा निद्रा कस्तो छ?
निद्रा राम्रो लाग्छ। ठूलो स्वास्थ्य समस्या केही पनि छैन।
म बिहानैदेखि काममा खटेकी हुन्छु। साँझमा छोरीले खाना बनाउँछे। उसले पसलमा पालो दिई भने म खाना बनाउँछु। खाना खाएर सुतेपछि भुसुक्कै निदाउँछु।
तपाईंलाई सबैभन्दा मन पर्ने खानेकुरा के हो?
सुँगुरको मासु, घोंगी र ढिक्री खुब मन पर्छ। मेरो माइती गाउँ होस् कि आफ्नो गाउँ, सुँगुर मारेका दिन मलाई फोन गरिहाल्छन्। म आफ्ना लागि एक धार्नी (पाँच किलो) मासु अर्डर गरिहाल्छु।
तपाईं त पहाडिया लुगा लगाउनु हुँदो रहेछ, होइन?
हामी थारू बठिन्या (किशोरी) को परम्परागत चोल्या (चोली) लगाउन मलाई साह्रै अप्ठ्यारो लाग्थ्यो। त्यो पछाडि पूरै खुला हुन्थ्यो, अगाडि पनि सानो फित्ता मात्रै हुन्थ्यो।
म त जहिले पनि पूरै छोप्ने खालको लुगा लगाउँछु। यस्तै लुगा सजिलो लाग्छ। पूरै शरीर छोप्ने लुगा नै नारीका लागि सजिलो हुन्छ भन्ने लाग्छ।
हाम्रो जातिमा सिन्दुर लगाउने चलन छैन तर म लगाउँछु। सिन्दुर श्रीमानको नासो हो, यसले विवाहित महिलाको पहिचान दिन्छ। सिन्दुर, पोते, चुरा, टिकुलीले महिला हुनुको पहिचान दिन्छ।
फेसनका रूपमा पोते र टीका त सबैले लगाउन थालेका छन्।
तपाईंलाई मन पर्ने नेता को हो?
नेपाली कांग्रेस नेता डिल्लीबहादुर चौधरी, उहाँले नै गाउँघर जाने बाटो कालोपत्रे बनाइदिनुभयो। ठाउँ-ठाँउमा पुल बनाइदिनुभयो। भुइँयार थान बनाइदिनुभएको छ। मन्दिरमा पनि उहाँको सहयोग छ।
उहाँ निकै सहयोगी हुनुहुन्छ। गाउँ घरमा कसैलाई दुःख वा आपत् पर्दा सहयोग गर्नुहुन्छ।
तपाईंले गएको चुनावमा भोट दिनुभयो?
दिएँ, भोट दिनु हाम्रो अधिकार हो। मैले अहिलेसम्म नेपाली कांग्रेसलाई मात्रै भोट दिएकी छु। मेरा बुवा पहिलेदेखि नै कांग्रेसमा हुनुहुन्छ। बुवाले रोजेको पार्टी नराम्रो छ भन्ने लाग्दैन। मेरो दिमागमा कांग्रेस मात्रै छ।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्