(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
गुल्मीको अस्लेवाकी ६६ वर्षीया भिमकला पाण्डे पछिल्लो तीन वर्षदेखि रूपन्देहीको तिलोत्तमास्थित ड्राइभर टोलमा बस्दै आएकी छन्। केही दिनअघि जिल्ला प्रशासन कार्यालय परिसरमा भेटिएकी भिमकलासँग सेतोपाटीको लागि गरिएको भलाकुसारी।
जिल्ला प्रशासन कार्यालयमा के कामको लागि आउनुभएको हो नि?
पासपोर्ट (राहदानी) बनाएर राख्नुपर्यो भनेर आएकी थिएँ। काम भने बन्ने भएन।
काम किन बनेन?
मेरो नागरिकता अर्कै जिल्लाबाट बनाएको हो। नागरिकताका अक्षरहरू स्पष्ट भएनन्, अर्को बनाउनुपर्छ भनेका छन्। अर्को नागरिकता बनाउन त्यही जिल्लामा जानुपर्ने रहेछ। नागरिकताा बनाएपछि पासपोर्ट बनाउन फेरि आउनुपर्ने भयो।
तपाईंको घर कहाँ हो?
मेरो खास घर गुल्मीको अस्लेवा हो। अहिले तीन वर्षदेखि रूपन्देहीको तिलोत्तमा ड्राइभर टोलमा बस्छु।
पहाडको जग्गाजमिन बिक्री गरेर आउनुभएको हो?
कहाँ बिक्री गर्नु त्यत्तिको छोडेर आएको छ। घरमा पनि ताला लगाएर छोडेका छौं।
अहिले दिनभरि के काम गरेर बिताउनुहुन्छ?
साँझ-बिहान खाना पकाउने, घर सरसफाइ गर्ने यस्तैमा बित्छ दिन त। पहाडमा बस्दा दु:ख गरियो, अहिले घरधन्दा बाहेक केही काम छैन। पहिले गुल्मीको तम्घासमा होटल गरेर बसेका थियौं।
घरमा कोको हुनुहुन्छ?
अहिले त घरमा श्रीमान (थानेश्वर पाण्डे) र ममात्रै छौं। दुई जना छोरीहरू काठमाडौं बसेर पढ्दै छन्। दुई जनाको विवाह भएर आफ्ना घर गइसके। एउटा छोरा हुन् उनी अस्ट्रेलिया छन्।
छोराछोरीले कत्तिको सुख दिएका छन्?
छोराछोरीबाट त धेरै खुसी छु। बिरामी हुनुहुन्छ अब दु:ख नगर्नुस् भनेर नै पहाडबाट बुटवलमा ल्याएर राखेका छन्। उनीहरू बाहिरतिर भए पनि साँझ- बिहान सोधीखोजी गरिरहन्छन्। त्यही त हो नि सुख दिने भनेको।
बिरामी भएर बुटवलमा आएको भन्नुभयो, तपाईंलाई के समस्या छ?
उमेर बढ्दै गएपछि बिमार पनि केके लाग्ने रहेछन्। मुटुको समस्या देखिएर तीन वर्ष भयो औषधि खान थालेको। प्रेसर बढ्ने, छाती ढुकढुक हुने, धेरै भिडभाडमा जाँदा चिटचिट हुने गर्थ्यो। औषधि खान थालेपछि ठिक भएको छ। त्यसपछि पाठेघरमा मासु पलाएको भनेर दुई वर्षअघि त्यसको पनि अपरेसन गरेँ।
तपाईंलाई घरधन्दा बाहेक के गर्न मन लाग्छ?
मोबाइलमा फेसबुक, टिकटक हेर्छु, त्यसैमा रमाइलो लाग्छ।
फेसबुक, टिकटक चलाउन जान्नु हुन्छ?
छोरीहरूले मोबाइल किनेर सबै बनाइदिएका छन्। यिनै हेरेर रमाइलो गर्नुस् भन्छन्। म आफूले टिकटक बनाउने गरेकी छैन। मोबाइल खोलेपछि अरूले बनाएका आफै देखिन्छन्। तिनै हेर्दा रमाइलो लाग्छ।
तपाईंलाई सबभन्दा के खान मन लाग्छ?
आहा! यस्तो खान पाए हुन्थ्यो भन्ने केही छैन। सबभन्दा मन पर्ने चिया र मही हो।
चिया दिनमा कति पटक खानुहुन्छ?
गर्मी समयमा बिहान र दिउँसो गरेर दुई पटक खान्छु। जाडो समयमा त चार पाँच पटक पनि खाइन्छ। गर्मीमा घरमै दही जमाएर मही पनि खान्छु।
तपाईंलाई निद्रा कत्तिको लाग्छ?
निद्रा त्यति राम्रो लाग्दैन। मस्त निदाउने भनेको कहिलेकाहीँ मात्रै हो।
किन निद्रा लाग्दैन, मनमा केही कुरा खेल्ने गर्छन्?
मनमा अलिअलि कुरा खेलिहाल्छन्। चार जना छोरी छन्। दुई जनाको विवाह भए पनि दुई जनाको विवाह गर्न बाँकी छ कस्तो घर पर्ने हो भन्ने हुन्छ। एउटा मात्र छोरा उनी पनि विदेशमा छन्। उनको पनि कहिले घरजम गर्ने भन्ने कुरा खेल्छन्।
तपाईंलाई ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ?
त्यस्तो ठूलो रहर केही छैन। रहर लाग्यो भनेर ठूला ठूला सपना देख्न पनि भएन। आफ्नो क्षमता अनुसार मलाई चाहिएको चिज छोराछोरीले सबै किनिदिएका छन्। मसँग जे छ त्यसमै खुसी छु।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो?
अहिलेसम्मको समय धेरैजसो त एकनासले बितेको छ। छोराछोरीले पढाइमा पास भयौं भन्दा सबभन्दा धेरै खुसी लाग्ने रहेछ। उनीहरू पास हुँदा, जागिर पाउँदा खुसी हुन्छु। छोराछोरीले बाटो बिराए गलत बाटोमा हिँडे भन्ने चिन्ता पनि छैन। त्यसैमा म त धेरै खुसी र भाग्यमानी छु भन्ने लाग्छ।
तपाईं सबभन्दा धेरै दुखी कहिले हुनुभयो?
त्यस्तो धेरै दुखी पनि कहिल्यै हुन परेको छैन। कहिलेकाहीँ केही कुराले चित्त दुखे र दुखी भए पनि सबैलाई सुनाउने कुरा पनि भएन। अरूलाई सुनाएर दु:ख कम हुने पनि होइन। म सधैं खुसी छु।
तपाईंको मनमा गढेर बसिरहेको कुनै पीर वा पछुतो केही छ जुन, यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने केही?
ठूलो पीर केही छैन। पहाडमा बसेर पाँच जना छोराछोरीलाई हुर्काउने र राम्रो शिक्षादिक्षा दिनु नै ठूलो कुरा हो। तर उमेर छँदा अझै धेरै गर्न सकिन्थ्यो कि भन्ने लाग्छ। उमेरमै अलि धेरै कमाउन सकेको भए अहिले छोराछोरीलाई धेरै भारी पर्ने थिएन त्यसमा केही पछुतो लाग्छ।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
टोलसमाज त धेरै राम्रो छ। हामी गुल्मीमा पनि अस्लेवा र तम्घास गरेर दुई ठाउँ बस्यौं। त्यहाँ दुबै ठाउँको टोलसमाज राम्रो थियो। बुटवल आएको पनि तीन वर्ष भयो यहाँको पनि राम्रो छ। टोल समाज राम्रो भएको भएर नै छोटो समयमै घुलमिल हुन सक्यौं। पूजाआजा, विवाह, ब्रतबन्ध सबैमा टोलछिमेकीले खोजीनिती गर्छन्।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, ठिकसँग चलेको छ भन्ने लाग्छ?
नेपालको राजनीति त ठिक छैन, कुहेको जस्तो लाग्छ।
किन, कसरी कुहेको जस्तो लाग्छ?
राजनीति नकुहेको भए नेपालमै केही काम गर्छु भन्ने केटाकेटीलाई किन नेपालमै राख्न सक्दैनन्। कति खर्च गरेर दु:ख गरेर पढेका छन्। पढेपछि जागिर नपाएर भौंतारिएको देख्दा कति पीडा हुन्छ। म पनि छोरीहरूसँग कहिलेकाहीँ काठमाडौं जान्छु। त्यहाँ जाँदा जनताका छोराछोरीहरूमा तनाव देख्दा मेरो मन कुँडिन्छ। मेरा छोरीहरूले जति दु:ख गरेका छन्, अरूका छोराछोरीले पनि त त्यस्तै दु:ख गरेका होलान् नि। यो सबै फोहोरी राजनीतिले गर्दा भएको हो।
तपाईंलाई नेपालको सबभन्दा मन पर्ने नेता को हो?
मलाई त मन पर्ने नेता नै छैनन्। मदन भण्डारीले कस्तो काम गर्थे काम हेर्न नपाउँदै बितेर गए। उनका भाषण सुन्दा बाँचेका भए राम्रो काम गर्थे भन्ने लाग्छ। अहिलेका त कोही पनि राम्रा छैनन्। सबै एउटै हुन्।
तपाईंले गएको चुनावमा कसलाई भोट दिनुभयो?
२०७० सालपछि चुनावमा भोट नै हालेकी छैन। गएको चुनावमा म बुटवल आइसकेकी थिएँ, भोट दिनकै लागि गुल्मी जान मन लागेन। २०७४ सालमा गुल्मीमै भए पनि भोट दिन गइनँ। २०७० सालसम्म भने एमालेलाई भोट दिँदै आएकी थिएँ।
पछिल्ला चुनावमा भोट हाल्न किन मन लागेन?
मैले भोट दिएर के भयो र भन्ने लाग्यो। हामी पहिलेदेखि नै त्यही पार्टीलाई भोट दिएकाहरूलाई कुनै वास्ता नगर्ने तर, चुनावका बेला दुई चार हजारमा बिकेर भोट दिनेहरूलाई हाईहाई गर्ने। त्यस्तो देखेपछि भोट दिन जानै मन लागेन।
अहिलेको अवस्थामा चुनाव भयो भने भोट दिन जानुहुन्छ?
त्यहाँ कस्तो मान्छे उठ्छ विचार गरेर बल्ल जान्छु। देशका लागि केही गर्छु भन्ने जस्तो मान्छे उठ्यो भने भोट दिन जान्छु। मेरो एक भोटले पनि जित हार हुनसक्छ।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
नेपालमै पढेर यहीँ बस्छु देशको सेवा गर्छु भन्ने छोराछोरीलाई सरकारले काम गर्ने वातावरण मिलाइदिनुपर्छ। नेपालमै प्रशस्त काम पाइने हो भने काम गर्नकै लागि कसैका छोराछोरी विदेश जाने थिएनन्।