(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
जयपुरा सुनार बुटवल- १३ पाखापानी बस्छिन्। पूर्वपश्चिम राजमार्गको किनारमै बसेर मकै पोलेर बसिरहेकी ५० वर्षीय जयपुरासँग सेतोपाटीको लागि गरिएको भलाकुसारी।
तपाईंले मकै पोल्न थाल्नुभएको कति समय भयो?
धेरै भएको छैन। भर्खर एक वर्ष भयो। घरमा त्यसै बस्नुभन्दा मकै पोलेर बसे दिन पनि बित्ने दुईचार पैसा कमाइ पनि हुने भनेर पोल्न थालेकी हुँ।
पहिले के काम गर्नुहुन्थ्यो?
पहिले त घर बनाउने ठाउँमा मजदुरी गर्थें। घर बनाउने काममा इँटा बोक्ने, बालुवा बोक्ने, सिमेन्ट बोक्ने काम १५ वर्ष जति गरेँ। धेरै गह्रुँगो काम गर्दा गाह्रो भएर मकै पोल्न लागेको हो।
मकै पोल्न सजिलो रहेछ कि मजदुरी काम गर्न?
सजिलो मकै पोल्न भए पनि कमाइ धेरै मजदुरी गर्दा हुन्थ्यो। दिनको आठ घण्टा काम गरेर ठेकेदारले ६ सय रुपैयाँ दिन्थे।
मकै पोलेर दिनमा कति कमाउनुहुन्छ?
मकै किनेको पैसा निकालेर दिनमा चार पाँच सय नाफा निस्किन्छ। कहिले तीन सय मात्र हुन्छ। एकदिनमा ३० देखि ५० वटासम्म बिक्री गर्छु।
बिहान कति बजे आउनुहुन्छ?
मकै पोल्न त बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म बाटोमा बस्छु।
घरमा कोको हुनुहुन्छ?
छोराबुहारी, नातिनातिनी र हामी बुढाबुढी छौं। छोरीको विवाह भइसक्यो। बुहारीले अस्पतालमा र छोराले मैनाबगर ग्यारेजमा काम गर्छन्। श्रीमान बिरामी हुनुहुन्छ। दुई वर्ष भयो काम छोडेर बसेको। कहिले ग्यास्ट्रिक हुन्छ, कहिले ढाड दुख्छ।
मकै पोल्ने कामबाहेक तपाईंलाई के गर्न मन लाग्छ?
मनमा केही पनि रहर छैन। जाँगर चल्दा मकै पोल्न आउँछु। जाँगर नचले घरमै बस्छु।
तपाईंलाईं सबभन्दा बढी के खान मन पर्छ?
दालभात तरकारी खान मन पर्छ। माछामासु पनि मन पर्छ। हप्तामा दुई तीन चोटि माछामासु खान्छौं।
तपाईंको स्वास्थ्य कस्तो छ?
स्वास्थ्य अरू त ठिकै छ। दुई वर्ष भयो थाइराइड देखिएको छ। त्यसैले गर्दा हो कि अल्छी लाग्ने, थकाइ लाग्ने, ओठमुख सुक्ने भइरहन्छ। भोक पनि धेरै लाग्छ। दिउँसोमा मकै पोल्दै खाँदै बस्छु।
अरू स्वास्थ्य जँचाउनु भएको छैन?
थला पर्ने गरी बिरामी भइएको छैन। अस्पतालमा के जाने भन्ने हुन्छ।
निद्रा कत्तिको लाग्छ?
निद्रा त लाग्छ। थाइराइडले पनि निद्रा लाग्छ रे त्यही भएर हो कि।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
खुसी त केटाकेटी बेला र बैंसमा भइयो होला। अहिले त काम गरे खान पाइन्छ नगरे भोकै भइन्छ।
तपाईं सबभन्दा धेरै दुखी कहिले हुनुभयो?
आजभन्दा १६ वर्ष पहिले धेरै दु:ख भयो नि।
त्यतिबेला के दु:ख भयो?
मेरो दुई वटा विवाह भएको हो। पहिलेको श्रीमान मानसिक रोगी हुनुभयो। सन्चो हुन्छ कि भनेर १६ वर्षसम्म सँगै बसेँ तर सद्धे हुनुभएन। जतिबेला पनि पिट्ने, कराउने गर्नुहुन्थ्यो। एक ठाउँमा आफुपनि नबस्ने मलाई पनि बस्न नदिने आफु जता हिंड्यो त्यतै हिड्न भन्ने गर्नुहुन्थ्यो। एक्लै हुँदा कुटेर मार्ने पो हुन् की भनेर माईत आएर बसें। अहिलेको श्रीमानको पनि घरजम बिग्रिएको रहेछ। माईतमा बस्दै गर्दा यता मन मिल्यो अनि विवाह गरेको हो। पछिल्लो विवाह गरेको पनि १५ वर्ष बढि भयो। यताका छोराछोरी पहिलो श्रीमती पट्टीका हुन्। तर मलाई राम्रो व्यवहार गर्छन्।
तपाईलाई यस्तो नभईदिएको भए हुन्थ्यो भन्ने केहि छ?
छ नि पहिलेकै घरबार राम्रो भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ। बुवाआमाले खोजेर विवाह गरिदिएको। घर बिग्रियोस्, अर्को घरबार गरौं भन्ने कसलाई पो हुन्छ र! अरूले पनि राम्रो मान्दैनन् नि। अहिले पनि पहिलो घरको सासू-नन्दहरूसँग कुरा भइरहन्छ। १६ वर्ष बिताएको परिवारको माया पनि लाग्छ। श्रीमान पनि बिरामी भएपछि के गर्ने हो र! अरू कुराले मात्तिएको हैन। अहिले घरमै सासूले कुरेर बस्नुभएको छ। मैले यता विवाह गरेपछि भेटघाट त भएको छैन। रूकुम घरमा बाँधेर राखेका छन् भनेको सुन्दा नराम्रो लाग्छ।
पछिल्लो विवाह सल्लाहले गर्नुभएको हो?
विवाह सल्लाहले गरेको त होइन। मेरो माइती यतै थियो, सासूले छोराले कुटेर मार्छ कि भन्ने भयो माइत गएर बस भनेर पठाउनुभयो। यता आएपछि अहिलेको श्रीमानसँग मन मिल्यो अनि विवाह गरेको हो। घरमा ससुरा पनि हुनुहुन्थेन।
तपाईंलाई आफ्नो टोल समाज कस्तो लाग्छ?
राम्रो छ टोल समाज पनि। मिलेर बसेका छौं। सबै आफ्नो काममा व्यस्त भएपछि छरछिमेकमा झैझगडा कम हुन्छ। फाल्तु समय नभएपछि एकअर्काको कुरा काट्ने समय पनि हुँदैन।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ, राजनीति बुझ्नुहुन्छ?
राजनीति भनेको के हो भन्ने नै थाहा छैन मलाई त। थाहा नभएको कुरा के बुझ्ने हो र।
सरकारमा भएकाहरूले ठिक काम गरेका छन् भन्ने लाग्छ कि लाग्दैन?
काम त ठिक गरेका छैनन् जस्तो लाग्छ। राम्रो काम गरेको भए मान्छेहरू गरिब हुनुपर्ने थिएन नि। सबैलाई काम पाइन्थ्यो। दुई चार सयको लागि यसरी बाटोमा घाम, पानी, जाडो केही नभनी बस्न पर्ने थियो र!
तपाईंले चुनावमा भोट हाल्नुभएको छ कि छैन?
अहिलेसम्म भोट नै हालेको छैन। मेरो त नागरिकता पनि बनाएको छैन। नागरिकता नभएको मान्छेले के भोट हाल्ने हो र!
अहिलेसम्म किन नागरिकता नबनाउनुभएको?
पहिलेको घरबाट बनाएको थिएँ त्यहीँ घरमा छोडेर आएँ। यता विवाह गरेर आएपछि बनाएको पनि छैन, उताबाट ल्याएको पनि छैन। नयाँ नागरिकता बनाउनलाई कि पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद गर्नुपर्ने कि मृत्यु भएको हुनुपर्छ रे।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
खै के गरिदिए हुन्थ्यो भन्नु र आफूले केही पढेलेखेको पनि छैन। केही थाहा पनि छैन। सबैलाई काम गरेर खान पुग्ने बनाइदिए हुन्थ्यो।
'हामी आममान्छे' शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्