(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
ताराप्रसाद बस्याल ८१ वर्षका भए। केही दिन पहिले बुटवल गोलपार्कस्थित शिलालय मन्दिरमा भेटिएका थिए। आफ्नो उमेरका दमालीहरूसँग गफिइरहेका ताराप्रसादसँग सेतोपाटीले गरेको भलाकुसारी:
नमस्ते बुवा, आराम हुनुहुन्छ?
आरामै भएर यसरी हिँड्डुल गर्न गफ गर्न सकेको छु।
तपाईंको घर कहाँ हो नि?
घर त पाल्पाको बगनासकाली गाउँपालिकाको गुँवा हो। अहिले बुटवलमा बस्छु।
बुटवलमा बस्न थाल्नुभएको कति वर्ष भयो?
केही महिना पाल्पा, केही महिना बुटवल बस्ने गरेको त १२/१५ वर्ष भयो। आठ वर्षभन्दा बढी भयो धेरैजसो यतै बस्छु।
घरमा कोको हुनुहुन्छ?
आफ्नो घर पाल्पामा त कोही छैन ताला लगाएर बुटवलमा झरेको हो। बुटवलमा अझै घर बनाइएको छैन। हामी बुढाबुढी र एउटा छोरो भाडामा बसेका छौं। एउटा छोराको परिवार अस्ट्रेलिया छन्। एउटा छोरी हुन्। उनी पनि विवाह भएर आफ्नै घरमा छिन्।
छोराछोरीले कतिको सुख दिएका छन्?
सुख दिएका छन्। बजारमा राखेका छन्, सुख नमानेर पनि भएन।
तपाईंले काम गर्ने उमेरमा के काम गर्नुभयो?
मैले अहिलेको आधा उमेर भारतमा बिताएँ। १५/१६ वर्षको उमेरमा भारत गएको थिएँ। काम गर्दै जाँदा सिँचाइ विभागमा काम गर्न थालेँ। उपदान लिएर २२ वर्ष पहिले निस्किएको हुँ।
अहिले दिनहरू के गरेर बिताउनुहुन्छ?
के गर्नु छ र काम त। बुटवलको भिडभाडमा बसेर पहाडको बाँझो छोडेको जग्गा र ताला लगाएको घर सम्झियो बस्यो। साँझ बिहान घरभित्रै बसिन्छ। बिहान खाना खाएपछि एकछिन यस्तै बाटोतिर घुम्न निस्किन्छु। कहिले को भेटिन्छ, कहिले को भेटिन्छ गफ गर्यो बस्यो। बुढाबुढी भएपछि दिन कटाउने काम नै ठूलो हुने रहेछ।
बस्नलाई पहाडमा राम्रो कि बुटवलमा?
जे कुरा पनि उमेर छँदा र उमेर ढल्किएपछि फरक हुने रहेछ। हातगोडा चल्ने बेलासम्म पहाडमै राम्रो लाग्थ्यो। अब हातगोडा चल्न छोडे। आफ्नो खेतबारी हेर्न पनि जान सकिन्न पहाड राम्रो लागेर के गर्नु बुटवल नै राम्रो लाग्न थाल्यो अहिले त। पहाड बसेर काम गरेर खान सकिन्न।
तपाईंलाई के गर्न मन लाग्छ?
अब त के काम गर्ने हो र! उमेरैमा रहेछ सबै कुरा हुने उमेर गएपछि जाँगरसँगै रहर पनि हराउने रहेछ। पहिले घुमफिर गर्न मन लाग्थ्यो। आफन्तहरू भेट्न जाने गर्थें, अहिले चिन्न पनि छोडियो।
तपाईंलाई सबभन्दा बढी के खान मन लाग्छ?
खानाभन्दा पनि भोक मिठो हुने रहेछ। यो मिठो त्यो नमिठो भन्ने केही छैन। भोक लागेको बेलामा खानेकुरा जे भए पनि कति मिठो हुन्छ। टम्म पेट भरिएको छ भने जति मिठो खानेकुरा पनि मिठो लाग्दैन। अब त आहा! यो चिज खान पाए हुन्थ्यो भन्ने केही छैन।
तपाईंको स्वास्थ्य कस्तो छ?
त्यति ठूलो विमार त अहिलेसम्म केही छैन। थोरै प्रेसर (उच्च रक्तचाप) छ त्यसको औषधि खान्छु।
रातिमा निद्रा कत्तिको लाग्छ?
निद्रा पनि राम्रै लाग्छ। अहिलेसम्म निद्रा नलागेर उठ्नुपरेको छैन।
तपाईंलाई ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने केही छ?
मैले सानो उमेरदेखि नै आफैले कमाउन थालेको हुँ। थोरै थोरै भए पनि पैसा नभएर केही खान पाइनँ, लगाउन पाइनँ भन्ने केही भएन। अहिले पनि केही कुराको अभाव छैन।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभयो?
म त सधैं खुसी खुसी। कहिल्यै दबिएर दु:खी भएर बस्न परेन। न भोको, न भकारी। धेरै पैसा भयो भनेर मात्तिएर हिँड्ने पनि कहिल्यै भइनँ, आज खान लाउन पुगेन भनेर अभावमा बस्न पनि कहिल्यै परेन। सात वर्षको उमेरदेखि यताको धेरै कुराहरू याद आउँछ। अहिलेसम्मको उमेर सधैं एकनासले बित्यो।
सबभन्दा धेरै दु:खी कहिले हुनुभयो?
दु:खी भएर पनि बस्नु परेन। बुवाआमा बित्दा दु:ख लाग्यो तर, मान्छे जन्मिएपछि एकपटक जानैपर्छ भनेर चित्त बुझाएँ।
तपाईंको मनमा बसिरहेको कुनै पीर छ जुन यस्तो नभइदिएको भए हुन्थ्यो भन्ने केही?
मनमा केही पनि पीर छैन। म जस्तो केही कुराको पीर चिन्ता नभएको मान्छे कमै छन् होला।
तपाईंलाई आफ्नो टोलसमाज कस्तो लाग्छ?
गाउँको जस्तो सहरको टोलसमाज नहुने रहेछ। गाउँघरमा एकअर्काको सुखदु:ख मतलब हुन्थ्यो बजारमा सबैलाई आफ्नो मात्रै मतलब। म पनि यहाँको टोलसमाजसँग घुलमिल हुन खोज्दैछु।
तपाईंलाई नेपालको राजनीति कस्तो लाग्छ?
म त राजनीतिमा कहिल्यै चलिनँ। सबै कुराको मतलब हुने उमेरसम्म भारतमा बिताएँ। बुढेसकाल लागेपछि यहाँ आएर राजनीतिप्रति केही चासो भएन।
सरकारले, राजनीतिक दलका नेताहरूले कस्तो काम गरेका छन् भन्ने लाग्छ?
यिनले कहिल्यै पनि राम्रो गरेनन्, अब पनि गर्दैनन्। राणा शासन, पञ्चायत, बहुदल, गणतन्त्र जे भने पनि सबै एउटै हुन्। अरूभन्दा राजा महेन्द्रको बखतमा अलि राम्रो थियो। महेन्द्र केही वर्ष बाँचेको भए देशमा धेरै राम्रो हुन्थ्यो।
तपाईंलाई नेपालका नेताहरूमध्ये सबभन्दा मनपर्ने नेता को हो?
कुन नेता मन पर्ने भन्ने खोई। दलका नेताहरूमा सबभन्दा मनपर्ने मनमोहन अधिकारी थिए। देशलाई राम्रो गर्नेहरूमा पृथ्वीनारायण शाह, महेन्द्र र मनमोहन यत्ति मात्रै हुन्।
तपाईंले चुनावमा भोट त दिनुहुन्छ?
भोट त हाल्छु। मन परेनन् भनेर मैले भोट नदिए पनि एउटाले त चुनाव जितिहाल्छ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
यसलाई भोट दिएको भनेर त भन्दिनँ।
भोट दिएको पनि तीन वर्ष बित्यो यसलाई दिएँ भनेर किन डराउनुहुन्छ र?
भोट दिने एउटालाई हो एउटाको नाम लिँदा अरू रिसाउँछन्। अब यो उमेरमा किन अरूलाई रिसाउन हाल्ने हो र।
तपाईंको विचारमा सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ?
भ्रष्टाचार बन्द गर्नुपर्यो। आफूले पनि भ्रष्टाचार नगर्ने, भ्रष्टाचार गर्नेहरूलाई पनि कारबाही गर्नुपर्यो। जनतालाई न्याय निशाफ दिनुपर्यो। अदालत स्वतन्त्र हुनुपर्यो।