(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
यही फागुन १० गते तुलसीपुर उपमहानगरपालिका–६, रजौरास्थित ‘द कराइ स्पोर्ट इभेन्ट रेस्टुँरा’ मा भेटिए २४ वर्षीय अभिषेक तामाङ। त्यस दिन तुलसीपुरमा सुनचाँदी व्यवसायीको भेला थियो। त्यही भेलामा भेटिएका थिए अभिषेक।
उनी सुनका गहना बनाउने कालीगढ हुन्। हामीले उनै युवा कालिगढ अभिषेकसँग कुरा गरेका छौं।
तपाईंको हालचाल के छ?
म ठिक छु, राम्रै छ। आज तुलसीपुरका सुनचाँदी व्यवसायीको भेला छ। त्यसकै लागि आएको हुँ। केन्द्र, प्रदेश र जिल्लाका सुनचाँदी व्यवसायीहरू भेला भएका छन्। आज यहाँको माहोल रमाइलो छ।
तपाईं कहाँको तामाङ?
म काठमाडौंको लप्सेफेदीको हुँ। म ६ वर्षको हुँदादेखि तुलसीपुरमा बसेको छु। म आमासँग यता आएर मामाघरमा बसेको थिएँ।
तपाईं के काम गर्नुहुन्छ?
म सुनचाँदीका गहना बनाउने कालिगढ हुँ। मैले सानै उमेरमा गहना बनाउन थालेको हुँ। गहना बनाएको १० वर्षभन्दा धेरै भयो। अहिले पनि मामाकै पसलमा काम गर्दैछु।
तपाईंले कति पढ्नुभएको छ?
धेरै पढेको छैन, १० कक्षासम्म मात्र हो। घरको आर्थिक अवस्था कमजोर थियो। म पढाइमा राम्रो पनि थिइनँ, पढ्न मन नै लागेन। पढेर केही होला जस्तो पनि लागेन बरू पैसा कमाउनुपर्छ भनेर पढाइ छाडेँ।
परिवारमा को-को हुनुहुन्छ?
मेरा बुवाको ३९ वर्षकै उमेरमा तीन वर्षअघि मृत्यु भयो। उहाँ काठमाडौंमा टेम्पो चलाउनुहुन्थ्यो। अचानक बीच बाटोमा प्रेसरले हानेर मृत्यु भयो।
बुवा बिरामी हुँदा कोरोना भाइरसका कारणले लकडाउन थियो, काठमाडौं जान सकिनँ।
मेरी आमासँग खटपट भएर बुवाले कान्छी श्रीमती ल्याउनुभएको थियो रे, उहाँले पनि बच्चा नहुँदै बुवालाई छाडेको भन्नेसम्म थाहा छ।
मेरी आमा होटल गर्नुहुन्थ्यो रे, बुवासँग होटलमै भेट भएको रहेछ। बिहे भएपछि दुबै जनाले टेम्पो चलाएको कुरा आमाबाट सुनेको थिएँ।
आमा कता हुनुहुन्छ त?
आमा यति बेला इन्डियाको चण्डिगढमा हुनुहुन्छ। उपचारका लागि मैले नै पठाएको हुँ। आमा ४२ वर्षकी हुनुहुन्छ, टाउकोमा समस्या छ। टाउको धेरै दुख्छ। हात खुट्टा पनि दुख्छन्।
आमाकी दिदी चण्डिगढमा हुनुहुन्छ। आमा अहिले त्यहीँ हुनुहुन्छ।
तपाईंको जग्गाजमिन कति छ?
जग्गाजमिन लप्सेफेदीमा छ तर कति छ भन्ने थाहा छैन। म सानैदेखि तुलसीपुरमा बसेको हुँ। बुवाआमाको बिहे इन्टरकास्ट (अन्तरजातीय) हो; बुवा तामाङ, आमा सुनार। इन्टरकास्टले गर्दा समस्या भएछ। आमा लप्सेफेदी जानु भएन।
म पनि निकै ठूलो भएपछि म जान थालेको हुँ। बुवा बितिहाल्नुभयो। हजुरबा र अरू आफन्तले मलाई तेरो सम्पत्ति यति छ भनेका छैनन्। मैले पनि सोधिखोजी गरेको छैन। म सम्पत्ति खोज्न जान्नँ।
आफ्ना बाबुको सम्पत्ति किन नखोज्ने?
मलाई आफ्नै मेहनतले सम्पत्ति जोड्नुपर्छ भन्ने लाग्छ। मेरी आमाले सिकाएको त्यही हो।
तुलसीपुरमा जग्गा छ?
तुलसीपुरको बरूवा गाउँमा एउटा घडेरी छ। त्यो पनि ऐलानी हो। त्यो मामा तुलसीराम सुनारले खोजी दिनुभएको हो। मामाले मलाई काम गर्दै तिरौंला भनेर अढाइ लाख रुपैयाँमा किनिदिनुभएको हो। भविष्यमा त्यही एउटा घर बनाउने सपना छ।
तपाईंलाई पढेर केही हुन्न भन्ने लागेर पढाइ छाड्नुभएछ, आजकाल कस्तो लाग्छ?
अहिले सम्झँदा त पढाइ छाड्नु हुने थिएन भन्ने लाग्छ। सरासर पढेको भए मेरो ज्ञान फराकिलो हुने थियो तर त्यति बेला परिस्थिति फरक थियो।
कस्तो परिस्थिति थियो?
म तुलसीपुरको रानीजरुवामा ठूलीआमा (आमाकी दिदी) को घरमा बसेर पढ्थेँ। मेरी आमा काठमाडौंमा टेम्पो चलाउनुहुन्थ्यो, मलाई खर्च त पठाउनुहुन्थ्यो तर त्यति बेला मेरो मनले अब आफै कमाउनुपर्छ भन्यो।
त्यही सोचले एक दिन ठूलीआमाको घरबाट भागेर तुलसीपुर बजार आएँ, मामा तुलसीरामको घरमा। मैले मामालाई सीप सिकेर कालिगढ हुन्छु, आफै पैसा कमाउँछु भनेँ। मामाले आफ्नै ‘न्यु टीका सुनचाँदी पसल’ मा काममा लगाउनुभयो।
कालिगढी सिक्न कति वर्ष लाग्यो?
पूरै कालिगढी सिक्न चार वर्ष लाग्यो। सुरूमा पायल सफा गर्ने, झुम्का सोझ्याउने, फुलीको खुट्टा हाल्ने, पत्थर राख्ने जस्ता काम सिकेँ।
मुख्य त सुन पिट्न सिक्नुपर्ने रहेछ। मलाई सिनियर कालिगढहरू सुन पिट्न र फुलीको खुट्टा बनाउन जानिनस् भने सुनका गहना बनाउने कालिगढ कहिल्यै बन्दैनस् भन्थे।
कमाइ कहिले सुरू भयो?
थोरथोरै पैसा त सुरूदेखि नै भयो। पायल सफा गर्दा दिनको ३० रुपैयाँ हुन्थ्यो। काम जान्दै गएपछि एउटा फुली बनाउँदा सय रुपैयाँ पाउने भएँ। त्यसपछि त धेरै काम जानेँ। एकदिनमै पाँच सय रुपैयाँ हुन थाल्यो। आजकाल तोलाको हिसाबले कमाइ हुन्छ। एक तोलामा सात हजार रुपैयाँ ज्याला पाउँछु।
तपाईं त बहुमूल्य धातुसँग खेल्ने र गरगहना बनाउने मान्छे, कतिपय मानिसहरू कालिगढले जर्ती बढी देखाउँछन्, सुन निकाल्छन् भन्ने गुनासो गर्छन् नि?
त्यो गतल बुझाइ हो। कालिगढले सुन निकाल्न सम्भव नै हुँदैन। रेत लगाउँदा र पुलिङ (चमक) गर्दा सुन घट्ने खतरा हुन्छ। त्यसरी सुन घट्यो भने कालिगढको ज्यालाबाट पैसा काटिन्छ।
राज्यले जर्तीको मापदण्ड तोकेको छ। त्योभन्दा बढी जर्ती देखाउँदा कालिगढ आफै जिम्मेवार हुनुपर्छ।
मैले कहिल्यै पनि जर्ती बढी देखाएको छैन, सुन निकाल्न त सम्भव नै छैन। म इमानदारीका साथ काम गर्छु। आफ्नो पेसामा कुनै किसिमको बदमासी गर्दिनँ।
तपाईं आफूले चाहिँ चाँदीको औंठी लगाउनुभएको रहेछ नि?
सुनकै औंठी लगाउने चाहना हो तर यति महँगो सुन लगाउने हिम्मत छैन। यो दुनियाँ यस्तै रहेछ। आरनेले राम्रो हतियार खेलाउन पाउँदैन रे! सुनारले सुनका गहना लगाउन पाउँदैन रे!
तपाईंको विचारमा हाम्रो समाजमा सुनको महत्त्व किन भएको होला?
हाम्रो समाजमा म हैसियतावाला हुँ भनेर देखाउने चलन छ, यसैमा होडबाजी छ। सुन एउटा धातु हो। सुनका गहना लगाएर कसैको ज्ञान र क्षमता बढ्ने होइन तर महँगो धातु सुनका गहना लगाउँदा आफ्नो सम्पत्तिको रबाफ देखिन्छ नि।
अर्को कुरा, सुनको भाउ बढेको बढ्यै हुन्छ। सुन छ भने तत्कालै बेचेर पैसा पाउन सकिन्छ। घरजग्गा सुनजति छिटो बिक्री हुँदैन। सुनजति सजिलै किन्न पनि सकिँदैन।
कालिगढ भएर काम गरेको १० वर्ष भइसकेछ, अहिलेसम्म कति पैसा बचत गर्नुभएको छ?
अलिअलि बचत गरेको थिएँ। विदेश जाने चक्करमा सबै स्वाहा भयो। वर्किङ भिसामा जापान जान खोजेको थिएँ। त्यसकै लागि ठूलो बुवासँग एक वर्ष काठमाडौं बसें।
आज होला, भोलि होला भन्दाभन्दै आफूसँग भएको पैसा सकिएर होटलमा चार लाख रुपैयाँ ऋण लाग्यो तर भिसा आएन। पैसा तिर्न नसकेपछि होटल मालिकले मलाई बन्धक बनायो। एक महिनापछि ठूलो बुवाले मलाई निकाल्नुभयो।
तपाईंलाई जापान पठाउन खोज्ने एजन्ट को थियो?
एक जना महिला थिइन्। उनलाई १० लाख रुपैयाँ बुझाएको थिएँ। त्यो पैसा बुझउँदा तीन लाख रुपैयाँ ऋण लागेको थियो। ती महिला सम्पर्कविहीन छिन्। उनले मलाई बैंकको चेक दिएकी छन् तर पैसा पाएको छैन। पैसा पाउने आशाले कतै उजुरी पनि गरेको छैन।
अहिले १० लाख रुपैयाँ ऋण छ। त्यसको ब्याज तिर्नुपर्छ। यो ऋण कसरी तिरूँला भन्ने चिन्ता छ।
कालिगढी काम कहिलेसम्म गर्छु भन्ने लाग्छ?
ऋण थपिँदै गएपछि म तनावमा छु। फलामले फलाम काट्छ भन्छन् नि, विदेश जाने चक्करमा लागेको ऋण विदेश गएरै तिर्न सक्थें कि भन्ने पनि लागेको छ। कालिगढीले मात्रै त मेरो भविष्य राम्रो हुन्छ जस्तो लागेको छैन। यहाँ कमाएको पैसा आफ्नो दैनिक खर्च चलाउन मात्रै हो।
आजकाल त कालिगढको ज्याला पनि घटेको छ। सुनचाँदी पसलमा फलफूल पसलमा जस्तै बार्गेनिङ (मोलमोलाइ) हुन थालेको छ। प्रतिस्पर्धा बढेपछि ज्याला घटेको हो।
कालिगढी पेसा आँखा राम्रो हुँदासम्म मात्रै हो। केमिकल (रसायन) मा काम गर्नुपर्छ। आगोसँग खेलेर बस्नुपर्छ। धुवाँले पनि असर गर्छ।
तपाईंसँग यति बेला ठिक्कको पैसा भए के गर्नुहुन्थ्यो होला?
मेरो सपना आफ्ना लागि ठिक्कको एउटा घर बनाउने हो। गाडी, घोडा किन्ने सौख छैन। घर बनाएपछि आमालाई मस्त पारी राखेर म आफ्नो काम गर्ने थिएँ, बिहे गर्ने थिएँ र आफ्नो काम गर्दै अघि बढ्ने थिएँ।
मलाई मेरो आफ्नै कर्मले स्वाभिमानपूर्वक बाँच्न सकूँ भन्ने छ।
तपाईंलाई कुनै स्वास्थ्य समस्या छ कि छैन?
हालसम्म कुनै समस्या छैन। मैले रक्सी, चुरोट मुखमा हालेको छैन। भविष्यमा पनि मुखमा नपरोस् भन्ने छ। म स्वास्थ्यप्रति सजग छु।
मैले पाँच वर्ष बक्सिङ पनि खेलेँ। जिल्लादेखि क्षेत्रसम्म खेलेँ, पाँच वटा मेडल (पदक) पनि जितेको थिएँ। नेसनल (राष्ट्रिय) गेम पनि खेलेँ। कालिगढीमा व्यस्त भएपछि खेलमा समय दिन सकिनँ।
रातमा निद्रा कस्तो छ?
कहिलेकाहीँ आफ्नो भविष्य र ऋण सम्झँदा छटपटी हुन्छ। साथीभाइले कमाइसके, मैले पनि कमाउनुपर्छ भन्ने कुराले सताउँछ।
तपाईंलाई सबभन्दा मनपर्ने खाना के हो?
कुखुराको मासु र भात मनपर्छ। मलाई आँप र अंगुर पनि मन पर्छ।
पछाडि फर्केर हेर्दा के गल्ती गरेँ भन्ने लाग्छ?
म एक्लै छँदा गम्छु। के गल्ती गरेँ, कहाँनेर चुकेँ, त्यो विचार गर्छु र भविष्यमा गल्ती नदोहोर्याउने संकल्प गर्छु।
पैसा कमाउने काममा बिस्तारै अगाडि बढ्नुपर्नेमा छिटो कमाउने सपना देखेर हामफाल्ने गल्ती गरेँ भन्ने लाग्छ। मैले हालसम्म जति काम गरें, मनले नै गरेँ। कतै सानो चुक भयो। अरू ठिकै छ।
यति बेला राज्यले के गर्नुपर्छ भन्ने लाग्छ?
राज्यले हामीजस्ता युवालाई स्वदेशमै कामको अवसर दिन सक्नुपर्छ। नपढेका युवालाई उनीहरूको रूचि अनुरूप सीप सिक्न तालिम दिनुपर्छ।
राज्यले स्तरीय शिक्षा दिनुपर्छ। सर्वसाधारणका लागि नजिकमा सुलभ र भरपर्दो उपचार सेवा उपलब्ध गराउनुपर्छ। स्तरीय बाटो र पुलपुलेसा बनाउन ध्यान दिनुपर्छ।
तपाईंले गएको चुनावमा भोट दिनुभयो?
अहिलेसम्म भोटर कार्ड (मतदाता परिचयपत्र) नै बनाएको छैन।
देशमा तपाईंलाई मन पर्ने नेता को हो?
काठमाडौंका मेयर बालेन शाह मन पर्छन्। उनले लोभलालच नराखेर काम गरेका छन् भन्ने सुनेको छु। भविष्यमा मनले खाएका राम्रा उम्मेदवार आए भने भोटर कार्ड बनाएर भोट दिन्छु।
तपाईंलाई कस्तो मान्छे मन पर्दैन?
बोलीको मिठास मात्रै भएका तर व्यवहार उल्टो भएका मान्छे मन पर्दैन। मलाई त मुखले मिठो कुरा गरेर ठिक्क पार्नेभन्दा चित्त नबुझेको कुरा स्पष्ट भन्ने मान्छे ठिक लाग्छ।
अहिले हाम्रो देशको प्रधानमन्त्री को छ?
ओहो! कस्तो गाह्रो पार्नुभयो। शेरबहादुर देउवा हुनुहुन्छ कि जस्तो लाग्छ।
होइन, तपाईंले भनेको मिलेन, केपी ओली प्रधानमन्त्री हुनुहुन्छ, तपाईंलाई किन थाहा भएन?
हो र! मैले टिभीमा न्यूज (समाचार) नहेरेको र पत्रपत्रिका नपढेको धेरै भयो। फुर्सद नै हुँदैन।
तपाईं काठमाडौंको मान्छे, आफ्नो पुर्ख्यौली थलोतिरै जाऊँ जस्तो लाग्दैन?
मैले त बसाइँसराइ गरेर तुलसीपुरमै ल्याएको छु। मलाई काठमाडौं जान मन छैन। मैले लामो समय तुलसीपुरमै बिताएँ, यही ठाउँ प्यारो लाग्छ।
मनमा गढेर बसेको कुनै चाहना कि?
सधैंको व्यस्तताले गर्दा म तुलसीपुर पनि राम्ररी घुम्न पाएको छैन। मलाई नेपालका सुन्दर ठाउँहरू घुम्न मन छ। मैले सानै उमेरमा काम सुरू गरेँ, फुर्सद भएन। मेरो आर्थिक स्थिति राम्रो भयो भने केही ठाउँ घुम्छु।